एकदिन जगतलाई आकाशमा भेटेको थिएँ । हामी बेलायत ओसार्ने जेटमा थियौैं । आकाशमार्गमै उनले मलाई चिने र बोले — आज म ६२ जनाको अभिभावक मार्गदर्शक भएको छु । बेलायती सैन्यका परिवार, बाजे बोजूहरु नेपालदेखि उता बसाइँ सर्नेहरु त्यसरी लहरै सिटमा बसेका थिए । डफ्फा डफ्फा भएर नेपाल बेलायत सर्दै थियो । पछि लन्डनको साहित्यिक कार्यक्रममा पनि उनी उपस्थित भई कविता र विचार सुनाए ।
बेलायती सैन्य जीवन बिताउँदै गरेका कवि जगत नवोदितका सुन्दर कविता बेलाबेला पढ्छु, इमेलमा, फेसबुकमा भर्चुअलि भेट्ता बोल्छु — भाइ के कसो छ ? उनी बोल्छन्— सन्चै छु दाजु, अलिक साहित्य पनि गर्दैछु । गतवर्ष उनी अफ्गानिस्तानमा खटिएको सुनेँ । एक भीषण युद्घमा परी सहयात्री युवराज राईको त्यहीँ अन्त्य भयो जुनबेला म ग्रीनविचका प्रतिध्वनिमाथि लेख्तै थिएँ । कम चिन्ता लागेन ती दिनमा एक नवयुवाभित्रको अत्यन्तै सुन्दर कवि सम्झेर । त्यसैबेलाको गरिमामा उनको र म पनि एक्लो हुने छैन छापियो । कहिल्यै नभुलिने कलापूर्ण एक कविता । उनको अघिल्तिर बोले झैं लाग्यो—
तिम्रो माया सकिए
मरिजाऊँ तिम्रो कसम
लाहुरे दाइ !
र म पनि एक्लो हुने छैन ।
त्यस कविताले अभिव्यक्त जगतको हृदयमा सुसाएको नोस्टाल्जिया नदि माथिमाथि, देउरालीभन्दा माथिसम्म सुनिने थियो । कसले उनलाई यसरी बोलायो—
रानीवनको लालीगुराँस
र न्याउलीको विरही भाका
मुढे लेकको चिसो ठिही
र मझुवाबेंसीको सालको पात
सिमखेतको तिर्खा मेट्ने जरुवा
मूलडाँडाको भारी बिसाउने चौतारी
सबैलाई छोडेर
कान्छा !
म पनि जानेछु एकदिन
कहिल्यै नफर्कने गरी
अर्को पटक छुट्टिमा आउँदा
मलाई भेट्छौ या भेट्दैनौ
था छैन ।
यो सम्झनाको रापमा धपक्क बलेको कवितामा शायद आमा बोल्दै थिइन् । कत्रो दुर्भाग्य ! पछिल्लो छुट्टिमा आउँदा जगतले आमालाई भेटेनन् । सम्झना र दुष्कल्पनाको कत्रो प्रहार, कत्रो भयप्रद चोट र यथार्थता, त्यसमाथिको कस्तो कविता । यसप्रकारले अन्य भूमिमा रहेका स्रष्टाले एक भिन्न यथार्थलाई वाणी दिन्छन्— कहिले मन जन्मभूमिमा अड्याएर कहिले कर्मभूमिको अव्यवस्था, विद्रूपता र जीवनले भोग्ने भयावहतालाई छोएर अफ्गानी चित्रमा उनी बोल्छन्—
निर्दयी युद्धले सबलाई एक चिहान बनायो
स्कुल खोज्नेको भविष्य आधाबाटोमा हरायो
एकदिन यस्ता जगतसँग मेरो काठमाडौंमा भेट भयो । बन्दुक बिसाएर उनी एकछिनलाई मातृभूमि फर्केका थिए । त्यसैबेला उनले केही हस्तलिखित पानाहरु सुम्पँदै भने— दाजु यसपालि एउटा कवितासङग्रह निकाल्ने सोचमा छु । यसलाई पढिदिएर केही लेखिमाग्ने अनुरोध गर्दछु । “काँचो मुद्दा” शीर्षक कृतिमा लामाछोटा गरी छत्तीस वटा कविताहरु थिए तर म हतारमा थिएँ । हतारमा, मैले कसरी लेख्न सकुँला ? बन्दुकसँगै साहित्यमा लागेका जगतको युवाकाल, आजसम्मै साहित्य सिर्जना, प्रकाशन, सङ्गठन र अध्ययनमा बितेको छ । उनी सीमाहीन बिम्बहरुमा थिए, ग्रिनविचका प्रतिध्वनिमा छन्, यी बेलायती नेपाली डायस्पोराका अनमोल प्रतिनिधि हुन् ।
तर यस्तो विचित्रको यथार्थ बोकेर हृदयमा सिर्जनाको गहिरो तिर्खा लिएर कुधेका आफ्ना भाइका कविताले अर्थात् उनको निर्मल इच्छाले मलाई नछोए केले छोला ? यसरी टाढाटाढा पुगेका नेपालीहरुबाट नेपाली वाङ्मय भण्डार भरिँदो छ, अझ सैन्यकर्मीहरुबाट भएको योगदान ता विशेष उल्लेख्य छ । मैले सम्झेँ— भर्खर मिजास तेम्बे यसैगरी कुद्दै यहाँ आए र एक सङ्ग्रह सुम्पेर गए, अलिक अघि रक्ष राई, काङमाङ नरेश आएर एक प्रशंसनीय कर्म गरेर गए, दयाकृष्ण र गणेश राईले त्यसै गरे, विश्वासदीप गर्दैछन्— मुलिवीर, टङ्क, जया सबैसबै सम्झन्छु, सुरेशजङ्ग, हरिसिंह पनि छन्, सबैलाई सम्झन्छु । सारा उनीहरु नेपाली साहित्यको समृद्धिमा समर्पित छन् । यी बेलायती—नेपाली डायस्पोराका सक्रिय र अविष्मरणीय स्रष्टाहरु ।
सम्झिल्याउँदा जगतले छोएर गए । नयाँ वर्षका दिन गन्ती गर्दै जगतका छुने कविता पढें । फूलझैं कोमल रङ्गीन र अनौठो सुवासले युक्त, अनेक चेतनाका यी सिर्जनाले पाठकलाई साँच्चै छुन्छ ।
डायस्पोरिक लेखनका विशेषताको अन्यत्र पनि चर्चा गरेको छु । एक भिन्न प्रकृतिको मनोभावले हुने सिर्जनाको प्रकृति फेरि मेनस्ट्रिम नेपाली साहित्यको एक स्वरुप— बेलायती—नेपाली भेराइटी । बेलायती नेपाली अति सम्पन्न छ ।
म त्यसपट्टि लाग्दिनँ, अनुसन्धाताले गरुन् । यसको सूची लामो छ । यस्तो अध्ययनलाई दुरुस्त राख्ने काम त्रिविको हो, प्रज्ञा प्रतिष्ठानको हो । तर जगतका कविताको विविधतामा प्रवेश नगरी आज म रोकिन चाहन्नँ ।
आरम्भमा आगो प्रश्न, घाइते फूलसँग दुर्घटना, श्राप जस्ता मुक्तक आकार र बिम्बका रचना छन्— छोटा, छुने, सुन्दरताका डीलमा एक भयङ्कर यथार्थता र झस्काउने विरोधाभाषका वर्तमान चित्रहरु ।
के
असल छोरा हुनु
र
असल श्रीमान् बन्नु
दिन र रात जस्तै कुरा हो ?
म गम्भीर सोचमा डुबिरहें ।
अधिकांश यी लघु कविता एक दृश्य उत्पन्न गरी एक स्पर्श छोएर जाने अनुभूति बिम्ब हुन् । कुनै अफ्गानी पात्रको इमेज बुनेर रचिएको श्रापको अन्त्यमा कवि मन थाहा पाउँछ ः
एकपटक पनि तिम्रो स्पर्श
पाउन सकिनँ
तिमी विहानीको शीत
र म
पानीमुनिको ढुङ्गा भएँ ।
जगतको मूल दर्शन यस्तो परस्पर विरोधमा आधारित छ । यो जीवनको सपना र यथार्थमा, कल्पना र भोगाइमा अनुभूत छ । यो किरिङमिरिङ रेखामा हिंडिरहेको जीवन ठीक त्यस्तै छ । तर अन्य प्रकृतिका अनुभूति चित्र पनि छन्— उनलाई लागेको बेलायत, अमेरिका, साइप्रस र अफ्गानिस्तान, नेपाल बारम्बार आइरहेकै छ । नआए पनि यी रचना नेपाली चेतनाले, नेपाली अक्षरले, शब्दले, बिम्बले सहजताले निर्मित छन् । उनी पहिलो पुष्ताका परदेशिय स्रष्टा यो सहजताले लेख्छन् । उनीहरुको चेतनामा एउटा मिश्रित जीवन संस्कृति छ ।
भोलिको पुष्ताले त्यहाँ त्यसरी लेख्न नसक्ने हो कि त्यो चिन्तामा पनि छन् उनी ९हरु० । त्यसैले नेपाली प्रतिभा प्रतिष्ठान जस्तो संस्था जन्माउनेहरुको समूहमा मिसिएर एक सुदूर भविष्यको स्थापनामा पनि लागिपरेका छन् जगत । त्यो भिन्न भूभागमा नेपाली भाषाको कलमी सारेर त्यसलाई निरन्तरता दिने, नेपाली जातिको परिचय सुदृढ पार्ने चेतना बोकेका जगत कवि मात्र होइनन् भाषासहितको चिन्तामा समर्पित एक युवा पनि ।
तर यतिखेर छुने उनका कवितै छन् । एक भिन्न यथार्थ बोल्दै छन् —
यता आएपछि बल्ल बुझेँ
सपना देख्नु जति सजिलो छ
सपना पुरा गर्नु त्यत्तिकै अप्ठ्यारो रै’छ ।
यता पनि उस्तै अप्ठ्यारो छ, देशमा हिँड्ने बाटो बन्द भएको बेला छ। जीवनमा छ आँसु अधिक । सयपत्रीसँग अर्को कटु यथार्थताको सम्झनाका आँसुले धोएको कविता —
सयपत्री
म भने परदेशमा
खाली निधार
खाली माला
बन्दुकधारी जगत, तर उसको सपना हो ‘देश, जनता र सबैको सुरक्षित जीवन’ । एक बन्दुकधारी भिन्न र डराउने आकृति भै उभिन्छ परन्तु भित्रभित्रै एक कोमल मन, संवेदनशील कविता, भावुक प्रेमी, मायालु र छोराहरु सिर्जनाको प्यासले दौडिरहेको छ ।
जगतका सैन्य जीवन सम्झाउने केही भिन्न कविता छन् जसलाई उनले सिपाही र कविता शीर्षक दिएका छन् । ती भित्र दुई व्यक्तित्व भएको सैन्य उभिएको छ । जगतले पनि गणेश, रक्ष आदिले झैं सैन्य साहित्यको सिर्जना गर्दै छन् । यस सिरिजका कविता पढ्दा मलाई त्यस्तो लाग्छ । तर नेपालीमा यस भिन्न सिर्जनाको पनि चरित्र छुट्याएर अध्ययन हुन सकेको छैन । यस सिरिजको अन्तिम कविता पढ्दा कसरी यस्ता कविता रच्ने जगतको मन कहाँ बाँधिएर बस्यो होला झैं लाग्छ सिपाही र साथीमा उनी बोल्छन् ः
ऊ सँगै आएकाहरु
धेरैले शहादत पाइसकेका थिए
गएको अन्तिम आक्रमणमा
एक्लिएको थियो ऊ
प्लाटुनका कमान्डर,
ग्रिनेडियर,
रेडियोम्यान वा अरु
कोही थिएनन् उसको साथ
थियो केवल
खिया लाग्दै गरेको पुरानो राइफल
टेकिरहेको धर्ती
ओढिरहेको आकास
र
केही याद हुन खोज्ने सम्झनाहरु
त्यो एकलासमा
ऊ
ठूलो भर गर्दै
बन्दुकलाई बेस्सरी समातिरहेको थियो
कसरी जगतले कुन बेला यति सुन्दर कविता रचे हुनन्— म एकछिन रोकिएर सोचिहेर्छु, फेरि उनका कविता पल्टाएर पढ्न थाल्छु ।
यसप्रकार भिन्न चेतना बोकेको नेपाली कविता प्रचुर मात्रामा लेखिँदै छ । नेपालभित्र लेखिएभन्दा भिन्न भौगोलिक बिम्ब झल्काउने, मानसिक अवस्था झल्काउने, भिन्न जगतको, सिपाहीको, सिपाहीभन्दा भिन्न जगत नवोदितको । बेलायती—नेपाली डायस्पोराको सिर्जनामा जगत नहुँदा एक रिक्तता रहने थियो ।
यति सुन्दर कविता जगतले कुन बेला रचे हुनन् भन्ने कुरा सोचिरहेको थिएँ । त्यसबेला भर्खरै नेपालगञ्जको राष्ट्रिय साहित्य सम्मेलनमा प्रस्तुत आफ्नै कार्यपत्रको एक अंश सम्झिएँ — एक्काइसौं शताब्दीको विश्वसाहित्यका परिप्रेक्ष्यमा नेपाली साहित्यको गन्तव्य ः एक सिंहावलोकन । यहाँ म बोलेको छु— लेखक झैं लेखन पनि अनिर्देशित र स्वस्फूर्त जीवन लेख्ने कला हो । जीवनमा झैं लेखनमा विविधता हुन्छ । त्यो दृष्टिकोणमा र अभिव्यक्ति शिल्पमा प्रकट हुन्छ । लेखन अनिश्चयात्मक र मुक्तान्त कला हो — नत्र सबैले उही कुरा उसै गरी लेख्थे । यो ता व्यक्तिपिच्छेको नित्य आविष्कार हो ।
लेखन समाज ब्यूँझिएभन्दा पहिले उज्यालो देखाउने आविष्कार पनि नत्र यसको गति रोकिन्थ्यो हामी गणितका झैं सूत्र कण्ठ पारेर पुनरावृत्ति लेख्थ्यौं । वर्तमान नेपाली साहित्य यही मुक्तान्त र अनिर्देशित मार्ग लेख्तै छ । लेखनको निर्देशक लेखककै अन्तर्हृदय हो, अरु उपदेशको आवश्यकता छैन । एउटा कुरो टुङ्ग्याउनीमा बोल्नु आवश्यक ठान्दछु— त्यो हृदयले जीवन र प्रेम लेखोस् । कुनै सिद्धान्त आवश्यक छैन ।
मलाई लाग्यो— जगतले त्यसरी नै यी सिर्जना गरे । त्यही सिद्धान्तले । म यहिं रोकिन चाहन्थें, तर जगतका यी हरफले बोलेको एक जीवन दर्शन कसरी सुसाइरहेछ यो मनमा—
खाली आउनु छ
केही नलिई जानु छ
ओ ! अलेक्जेन्डर
बाँचुञ्जेल मान्छे किन सधैं
अरुको खुट्टामा बन्चरो ताक्छ
विश्वविजयी आकांक्षाहरुको पहाड चढ्दाचढ्दै कहीँ नपुग्दै अभिमानको पहिरोले पुरिएर मर्नुपर्ने हाम्रो नियति । त्यस्तो क्षणभङ्गुरता । हाम्रा सारा गर्जनतर्जन अर्थहीन रहेछन । यसरी मलामबाट फर्केपछि एक सरल कवितामा त्यो शाश्वतता छ प्रतिध्वनित ।