18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

देश रोएको बेला

कविता राज कुमार पुडासैनी November 17, 2011, 4:49 pm

आजकाल हरेक रात,

जब म निदाउन खोज्छु

तब मेरो देश मेरो आंखामा आएर बस्छ

अनि म र मेरो देश बेस्सरी रोएको सपना देख्ने गर्छु

भोलिपल्ट जसै जसै देशभित्रका खबरहरु पढ्छु

तसै तसै उही सपनाका कुराहरु मिलेको देख्दा

हरेक बिहानहरु

कस्तो कस्तो नरमाइलोसंग शुरुवात हुन्छन

र हरेक दिनहरु

केवल उदाश उदाश मात्र भएर बित्छन

कहिले कहिं सपनामा शीरको टोपी खस्छ

मेरो आस्थाको धरोहर

खण्डहर- खण्डहर भएर भाँचिदा -

मलाई देशको नक्शा फेर्न खोज्नेहरुसंग टीठ मात्र लागिरहन्छ

मेरो देश यतिबेला गति हराएर कतै अलपत्र परेको छ

मेरो सभ्यता र हिजोको ईतिहासको गति पछ्याउंदै जाँदा

मेरो देश विनिर्माण र एकीकरणका कथाहरु

धुलेपाटिमा मेटिन थालेजस्तो लागिरहेछ

आजकल

नीला आकाश, सन्नाटा, सन्त्राश र भयका दृश्य संगसंगै

कहिल्यै नदेखिएका प्रच्छायाँका बिम्बहरू बनेर चित्रित भईरहेछ्न

र यतिबेला मेरो देशभित्रका सीमा स्तम्भ र नक्शाहरु

फेरबदल हुन थालेका दृश्यहरु देखिरहेछु|

नुवाकोट,हाल: बेल्जियम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।