14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सडकको गीत

कविता प्रवीण खालिङ November 17, 2011, 2:57 am

जिन्दावाद

मूर्दावाद

भोक हड्‌ताल

लाट्ठी चार्ज

एक हौं

भोट देऊ अनि

होसियारहरू एक हुल भएर अघि बडिसके पछि।

गाउँको खेत बॉंझै छोडेर शहर पस्छन्‌ पसिनाहरू

जण्डिस लागेको रोजगारको हेराल्ड अनि फायल चापेको

थाइसिस खोक्ने गाउँलाई सडकले बस अड्डासम्म ल्याउँछ।

अवसादपछि आत्महत्या गरेका लाशहरू

अप्राकृतिक मृत्युको ठप्पा टासेर घर घर पुर्‍याउँछ

सडकले दिनहुँ जिउँदो लाश बोक्छ

प्रत्येक सॉंझ ढोंगी व्यवस्थालाई थुक्छ।

सडकले

युवाहरूको आत्महत्याको पोष्टमर्टम रिपोर्ट माग्दैन

ठीही र झरीमा दुध बेचेर पढाएको छोरो मर्दा

टोलभरि मरौ परेको खबर कुनै समाचारले छाप्दैन।

व्यवस्थाको तिस्कुलाले चिहान खन्छ

अनि यसैलाई उ प्रजातन्त्र भन्छ।

शहरबाट फर्केको बीपीएल छोरी

एचआईभी पोजेटिभ थियो, बुझ्दैन गाउँ

सुद त कता हो कता हराई पठाउँछ सॉंउ।

आम हड्‌तालको दिन पनि सडकले छुट्टी पाएन

आफ्नो पीर र व्याथाहरूको गीत उसले कहिले गाएन

तर

भक्सवागन बिट्टल र पजेरोहरूका टायरले कुल्चिएको भन्दा

देशको मानचित्र कोरिएको कुर्कुच्चाले कुल्चिन्दा

साह्रै दुख्छ सडकको छात्ति।

निर्धक्क बोकेर हिँड्‌छ

भ्रष्टाचार गर्न नपाएपछि

जुलुस निकाल्ने व्यवस्था परिवर्तनका पक्षधरहरू

सधैं अलपत्र पार्छ त्यसैले देशका कर्णधारहरू

यो सडक तिनीहरूको लाश जस्तो शरीर छात्तिमा उभ्याएर

कुनै चौरस्तामा जनसभा गरॉंउछ

वर्तमानलाई डाकेर प्रजातन्त्र कराउंछ

सत्तामा पुगेपछि त्यो स्वर विस्तारै हराउँछ।

फेरि यो सडकमा

बीपीएलहरू झण्डा बोकेर

टाउकोमा कात्रो बॉंधेर

जिन्दावाद

मुर्दावाद

भोकहड्‌ताल

लाठी चार्ज

एक हौ

भोट देऊ

अनि होसियारहरू भएर ओर्लिन्छन्‌।

गान्तोक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।