19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

षड्यन्त्र

कविता तारामणि राई November 21, 2011, 10:46 pm

खट्प्वाल

लिम्सो भित्तो

झ्यालका काप

अथवा कहीँ कतैबाट

आईरहेछ-

एक तमास षड्यन्त्रको गन्ध

षड्यन्त्रको प्रपञ्च:

-मेरो थात बास उठाउनका लागि हुन सक्छ

-सर्बश्वहरणका लागि हुन सक्छ

-अथवा यसो भनौँ मलाई दुई टुक्रा पारेर

नालीमा फाल्नका लागि हुन सक्छ

जहिले पनि

षड्यन्त्रको खेती

पृथ्वी चेप्टो छ भन्नका लागि हुने गर्दछ

दिनलाई रात बनाउनका लागि हुने गर्दछ

सबभन्दा बढी

सत्यभ्रुण हत्या गर्नका लागि हुने गर्दछ

षड्यन्त्रको सिकार त

जिजस क्राईस्ट पनि भए

र भए

ग्यालिलियो

अब्राहम लिङ्कन

गान्धीहरू क्रमश:

के उसले

मलाई षड्यन्त्रको

अण्डरमाईन बिछ्याएर

शुकरात बनाउन खोजिरहेछ ?

अथवा

ग्यालिलियो वा अरू कोही ?

को बनाउन खोजिरहेछ त्यसले, हँ ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।