18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

युगबोधी चेतनाका दस्तावेजः ‘बिगबेन र समय’

कृति/समीक्षा कृष्ण बजगाईं November 25, 2011, 6:26 pm
कृष्ण बजगाईं
कृष्ण बजगाईं

डा. रुपक श्रेष्ठ डायास्पारोबाट ‘बिगबेन र समय’ कविता कृति लिएर नेपाली साहित्यिमा पदार्पण गरेका सशक्त कवि हुन् । नेपालमा हुँदा अक्षरसँगको सामिप्यता, कलेजको प्राध्यापन पेशा र साहित्य लेखन बेलायत प्रवेशपछि पनि अध्ययन, प्राध्यापन सँगसँगै साहित्य लेखनलाई निरन्तरता दिँदै नेपाली साहित्य भण्डारमा कविता कृति मार्फत सशक्त उपस्थिति जनाएका छन् ।

भूमण्डलीकृत विश्वमा बाँचेका यस युगका मानिस विश्वग्रामका नागरिक हुन् । यी नागरिकहरुको विश्व भरि फैलावट भएको छ र हरेकका आआफ्नो डायास्पोरिक समाज निर्माण भएको छ । त्यही समाजका चेतनशिल, चिन्तशिल कवि डा. रुपक श्रेष्ठले डायास्पोरा, अध्यात्म दर्शन तथा समसामयिक राजनैतिक चेतका कविताहरु लेखेका छन् यस संग्रहमा ।

कवितामा अभिब्यञ्जित विषय वस्तु जन्मभूमि प्रेम, कर्मभूमि प्रेम र आध्यात्मिक दर्शन तथा राजनैतिक दुरावस्थाका बारेमा काब्यिक अभिब्यक्तिका कुशल संयोजन कविले देखाएका छन् । कुनै कृत्रिम विन्यास नगरिएको, अनावश्यक विम्ब र प्रतिकको भारबाट मुक्त यीनका कविता आकर्षक बुनौटका छन् । कविताका विविध शैलीबाट पाठकले फरक रस्वानुभूती गर्नेछन् ।

भिन्न परिवेश, बेग्लै राष्ट्र तथा अलग्गै संस्कृतिमा बसेर लेखिएको यीनका कवितामा अन्तर सास्कृतिक चेतना मुखरित भएको छ । पराया भूमिमा बसेर पनि जन्मभूमिको राष्ट्रिय एकता, मेलमिलाप, राष्ट्रिय अखण्डताका बारेमा ब्यक्त गरिएको चिन्ता र त्यहाँ ब्याप्त अराजकता, दुर्दशा र राजनैतिक विसंगतीलाई कवितात्मक बान्कीमा सजाउने कविको राष्ट्रप्रेम थेम्स नदीको पानी जस्तै अजस्र छ । थेम्स नदीको किनारमा अवस्थित बिग बेनले (क्लक टावर) बताउने समयभन्दा अगाडि र समय बताउन गुञ्जने घण्टको आवाज भन्दा मधुर छन् यीनका कविता । जहाँ वेष्टमिनिष्टर भन्दा प्रगतिशिल, मानविय र विश्व भातृत्व प्रेमले ओतप्रोत भएका कविता लेखेका छन् ।

सुन्दर शब्द शिल्पीको बेजोड प्रस्तुती र युगबोधी चेतनाका यी कविता वर्तमान र इतिहासको दस्तावेज हुन । जहाँ राष्ट्रप्रेम पनि झङ्कृत भएको छ । नेपाली डायास्पोरिक साहित्यमा यस सङ्ग्रहले विशिष्ट स्थान राख्ने छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।