14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

बन्दी अक्षरहरु

कविता प्रदीप चापागाईं December 3, 2011, 2:33 am

अक्षरहरु

दिमागी सन्दुकभित्र

कैद रहेछन्

बदलिँदो ऋतु

बेसारे मौसम

वा बहुला प्रकृती

केहि होईन

अकारण

अक्षरहरु थुनिएका छन्

र त यी

चेतनाका धर्सा धर्सामा

ज्वारभाटा चलिरहेछ । ।

अक्षरहरु

उड्न चाहन्छन्

असिमीत दूरी

अनि अनन्त गहिराई

छिचोल्न चाहन्छन्

सादा कागज सजाएर

जकेडिनु छैन यि अक्षरहरुलाई

किनकी त्यो सिमीत छ

किताबी भावहरु

वा लत्रीएका तुलहरु

ति कुनै स्वार्थले लेखिन्छन्

सजाईन्छन्

र त अक्षरहरु

सम्भावनाका संघारहरु

नाघ्न चाहन्छन् । ।

कलमहरु

थाकिसकेका छन्

अब अक्षरहरु

त्यही कलममै

दोष नथुपारुँ भन्छन्

निश्चित विन्दु

सायद कतै होला

पर्खिरहेको होला

सायद कुनै गन्तव्यले

त्यसैले अब

नयाँ थालनी हुनु छ

नयाँ बिउ उमार्नु छ

स्वतन्त्र परिवेशमा

उन्मुक्ती चाहन्छन्

यी बन्दी अक्षरहरु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।