19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सतीले सरापेको देश

कविता मणिराज सिंह December 6, 2011, 10:38 am

टेक्दै मसानका ढिस्काहरू

खेल्दै रगतका फाल्साहरू सित

झण्डा उचालेर वीरताको

फर्कदै थिए जब भीम मल्ल

आफ्नै आमाको काखमा

साँगुरो सुरुङ्गभित्र

कोलाहलका विक्षिप्ततामा रन्थनिएका

प्रताप मल्लहरू

पिचासझैँ भौँतारिएर

घृणाका काँडाहरू उमारेर आँखामा

टाउको छप्काएर आफ्नै भाइको

विद्रुप हाँसो हाँसिरहँदा

सतीले सरापेको

शोकमग्न बस्तीझैँ

अभिशप्त जीवन बाँचिरहेको छ यो देश

टिलपिल टिलपिल चम्किरहेका

ताराहरूका असह्य पीडाबीच

रणबहादुरको बौलेहट्टीपनको

कुरूपतामा रगताम्य

बहादुर शाहको बलिदानको

गर्जनमा उन्मत्त

कङ्कालमय यो देश ।

हुरी बतासको चर्को सुसेलीमा हल्लिएर

भूँइचालोको सम्भावित खतरामा आतङ्कित

अपमानको पीडा सहन नसकेर

भीमसेनझैँ आत्महत्याको प्रयास गर्दै

गोसाइकुण्डतिर भौतारिन्छ

दुर्घटना, अन्र्तघात

र आतङ्कको छायाँमा

लोडसेडिङ्गले गतिहीन र निरर्थक

चौबाटोमा हाहाकार गर्दै

चकमन्नताको मैलो च्यादर ओढेर

दिउँसै आँखा तिर्मिराउने उज्यालोमा पनि

लाटोकोसेरोझैँ झुण्डिएको छ

घरको मूलढोकामा

समयको झापड खाँदाखाँदै

थिलथिलो भएको

सतीले सरापेको देश ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।