18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'अर्थ' भित्रको जीवनदर्शन

कृति/समीक्षा सुमित्रा राई December 9, 2011, 4:54 pm

सानु शर्मा नेपाली साहित्यमा स्थापित क्रमको नाम हो । उपन्यासका फाँटमा निरन्तर सहभागिता जनाउँदै आइरहेकी सानुका हालसम्म तीनवटा औपन्यासिक कृतिहरु आइसकेका छन् । अर्धविराम, जितको परिभाषा र अर्थ गरी तीनवटा उपन्यास मार्फत् उनले आपूmलाई गतिशील लेखिकाको रुपमा उभ्याएकी छन् । नेपाली साहित्यमा महिला साहित्यकारको योगदान, उपस्थिति र गतिशीलता निकै न्यून छ । त्यही न्यूनता, मौनता र चकमन्नतालाई चिर्दै आइरहेकी स्रष्टा हुन् सानु शर्मा ।

मुलतः सिर्जना संसारको आख्यानेतर भन्दा पनि आख्यानमा औपन्यासिक सिर्जनामा तिनी बढी अग्रसर भएको हामी पाउँछौं । अखबारतिर फाद्मफुद्म कविताहरु प्रकाशन गरिरहेकी सानुको उपन्यासमा विशेषः दक्षता पाइन्छ, अभिरुचि देखिन्छ र सहभागिता रहेको ज्ञात हुन्छ । निश्चय नै नेपाली आख्यान साहित्यका निम्ति यो हर्ष, गौरव र उत्साहको विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ ।

नेपाली उपन्यासमा अत्यन्तै थोरै महिला लेखिकाहरुको वर्चश्वपूर्ण सहभागिता रहेको भेटिन्छ । पारिजात, वानिरा गिरी, प्रेमा शाह, पद्मावती सिंह जस्ता अत्यन्तै थोरै महिला लेखिकाहरुले लेखिरहेको सिर्जना संसारमा अब सानु शर्माको आगमनले नेपाली आख्यानलाई एउटा प्रयोग, गति र ऊर्जा दिने प्रबल सम्भावना देखिएको छ । हामी वाङ्मय प्रेमीका लागि यो उत्साह र हर्षको कुरा हो ।

उपन्यासकार सानुको पछिल्लो कृति हो अर्थ । पैरवी प्रकाशन, काठमाडौंले हालै बजारमा उपलब्ध गराएको यो उपन्यासले नेपाली औपन्यासिक सिर्जना यात्रा, उपलब्धि र प्राप्तिको क्रममा एकपटक गम्भीर हुन आव्हान समेत गरेको छ । कथानकताको विराट् अर्थ र मूल्यभित्र आपूmलाई समाहित गराएकी उपन्यासकार शर्माको कल्पना शक्ति भव्य लाग्ने गर्छ । अनेक पात्र र यात्राहरुलाई समेटेर कथानकतासँगै घटनाको विस्तार गराउनु शर्माको कलाकारिता हो सिर्जना संसारको । अकल्पनीय पक्षलाई गाँसेर यथार्थको धरातलमा दगुर्नु सानु शर्माको शैल्पिकक्रम हो, चरित्र हो र प्रयोगधर्मिता हो ।

उपन्यासले विद्रोह बोल्छ । प्रेम, समर्पण, लैंगिक तथ्य र नारीलाई गरिने भेद्भावको चरित्र उपन्यासले बोलेको भाव हो । पुरातन मान्यतालाई प्रश्न गरिरहने यो उपन्यासले एउटा कठोर जीवनशैली अँगाल्न समेत पछि पर्दैन । उपन्यासभित्रको मूल पात्रको नाम हो जिया । जियाको जन्मसँगै सबैखाले अवस्था, स्थिति र परिणतिलाई उपन्यासको कथानकतामा गाँसिएर आउने संवाद, विद्रोह, आवाज र नायकत्वलाई यहाँ स्थान दिइएको छ । परम्परागत पद्धतिलाई चुनौति दिने थोरै आमा वा छोरीहरुको कथा साह्रै मर्ममय पारामा लेखिएको छ ।

‘अर्थ’ एउटा घटनाप्रधान तर विद्रोहलाई उजागर गरिएको उपन्यास हो । उपन्यासको सबलताबारे प्रसिद्ध उपन्यासकार कृष्ण धराबासीले आमुखमा भनेका छन् =जीवनमा आइपर्ने समस्याहरुबाट मुक्तिको युद्ध लड्ने क्रममा आफ्नो अस्तित्वलाई जुन अर्थ प्रदान गरिन्छ तर के त्यो अर्थ त्यही अर्थको लागि थियो त ? यहाँ एउटी कलिली किशोरी जियाले लडेको अस्तित्वको लडाई र परिवारलाई उठाउन गरेको संघर्षको यात्रामा अर्थहरु खोजिएको छ । गरीबी भित्रको आनाधीयता, आश्रयहीनता र सामाजिक मूल्यहीनता अवस्थाबाट परिवारलाई उठाउन त्यो बालिकाले लडेको लडाई ज्यादै मार्मिक छ । जस्तै दुःखका क्षणमा पनि निराश नभएर, पलायन नभएर, नकारात्मक उपायहरुसँग सम्झौता नगरेर श्रम र मेहनतका भरमा स्थापित हुन उसले लडेको लडाई एकदम नै सकारात्मक छ । ढलिसकेको परिवार फेरि उभिएको छ तर सँगसँगै उभिएका र संघर्षमा सहयात्री भएका उनका बहिनीहरुले जीवनको गम्भीरतालाई नबुझेको देख्दा भने दिक्क लाग्छ । पाठकलाई लाग्ला 'जिया' का बहिनीहरु त्यति गैरजिम्मेवार बन्नुमा लेखकीय कृत्रिम आग्रह हो, तर सामाजिक यथार्थता पनि हो त्यो ।

जिया आजकी नवीन पात्र हो । उसको आगमन नेपाली समाजमा संघर्ष र निरन्तर अग्रगति सँगै धारको उद्घोष गर्ने प्रवृत्तिका रुप लिइदिन उपन्यासकारले आवाज अर्पेको ज्ञान हुन्छ । यो आवाजभित्रको उत्कर्षताले नेपाली समाजमा दमित स्वरको सार्वजनीकीकरण पनि हो कि भन्ने शक्तिशाली छनक हामी पाउन सक्छौं ।

आमालाई छोरी मात्र पाएको फत्तुर लगाएपछि जिया भित्र उठेको क्रोध, कठोरता र क्रुद्धपनाले बिस्तारै सामाजिक चरित्रलाई अस्वीकारको लयमा बालेको पाइन्छ । विविध अप्ठ्यारा र जटिलताका क्रममा आàना संकल्पमा महिला कसरी बढ्न सक्छन् अगाडि भन्ने ñ एउटा कठोर आवाजले आपूmलाई उभ्याउन पुग्छ । उपन्यास भित्र सम्झौताभन्दा विप्लवीपना बढी भेटिन्छ । सामाजिक पुरातन मान्यता र सिद्धान्तलाई क्रान्तिकारीताका दृष्टिले विवेचना गरेको पाइन्छ ।

मीठा संवाद र सिनेमा चरित्रलाई लेखिकाले आत्मसात् गरेको ज्ञान हुन्छ । हरेक पात्र र त्यस प्रवृत्तिले अँगालेका दुःखैदुःख र सन्त्राश श्रृंखला यहाँ भेट्न सकिन्छ । हारका जस्तै पहाडहरु ठडियून् ñ जितलाई अँगाल्ने वातावरण निर्माण गर्न सकिन्छ भन्ने एउटा दुस्साहसलाई उपन्यासले आàनो बेगवान भावनामा लीन गराएको छ । पाठकले एकपछि अर्को पात्र, प्रवृत्ति र परिवेश भेटेर एउटा आवेगपूर्ण स्थितिमा चुर्लुम्म डुबाउन सक्छ । उपन्यासकारको सफलता यहीँनिर भेट्न सकिन्छñ उपन्यासले नारी संवेग र आवेगका सुन्दर पाटाहरु केलाउन सकेको छ ।

सुदूरपश्चिमको धर्तीसँगै डोरिएको उपन्यासले कलिला मानवीय कथासँगै निर्धक्क उभिने प्रयास गर्छ । समाजमा साथ दिने हातभन्दा तिरस्कार गर्ने ओठको घनघोर भीडभाड हुने गर्छ । जिया, आमा र बहिनीहरुलाई स्नेह गर्ने काकाकाकीदेखि अरु थुप्रै अनपत्यारिला अनुहारभित्र लुकेको ग्रामीण चोखोपनाको सुन्दर संयोजन यहाँ छ । नारीको सहिष्णुता र सहनशीलताले स्वीकारेको महान् गाथा उपन्यासको केन्द्रीयता हो । यो प्रमुख भावसँगै अनेक असहजता, अस्वस्थता र असभ्यतालाई जिया वा आमा जस्ता पात्रको भोगाइले छिचोलेकै हुन्छन् । जस्तै अभाव र समस्यामा पनि ममता र परिवारको सम्पूर्णतालाई जीवनकै सार ठान्ने एउटा उच्च आदर्शलाई यो उपन्यासको विम्बबिसौनी मान्नु पर्छ । पाठकहरुले पढिसकेपछि स्वीकार्ने दृश्य पनि यही हो । पाठकका मनमा गहिरोसँग प्रवाहले स्पर्श गर्ने स्वर पनि यही नै हो भन्दा अत्युक्ति नहोला ।

उपन्यासको समग्र पाठकीय मूल्यलाई निबन्धकार युवराज नयाँघरेले विवेचना गर्दै भनेका छन् –अर्थ पढुञ्जेल लागिरह्यो हाम्रै गाउँघरका होची, अर्घेली, असमानता, हेला, हाँसो र छिःछिः दूरः दूरः का श्रृंखलाहरुको पुनः ख्याल हुन्छ । समाजमा छोरा पाउँदा खसी र छोरी पाउँदा फर्सी भन्ने रुढ एवम् पूरातन संस्कारका दृश्यचित्रलाई तिनको भित्री तहसम्म पुगेर क्रोध अनि असहमतिको भावना पोख्ने कार्य भएको छ लेखिकाबाट । बाबु विनाका छोरीहरु, एक्ली आमाको बिजोग र समाजले हरेक मोडमा गर्ने शंका, उपेक्षा र हेला जस्ता थुप्रै सामाजिक पीडाका थुँगाहरु यहाँ देख्न सकिन्छ । निष्ठुरी पिताको छोरा प्रतिको चाहना र चरित्र, बालविद्रोह र प्राप्ति, किशोरी योद्धा र आँट जस्ता थुप्रै चलचित्रमय परिवृत्तमा उपन्यास रचना गरिएको छ । अनौठो लाग्छ उपन्यासको गठन र कथानकता । अनेक पीडा, अकल्पनीय चरित्र र बेमेल स्थितिको निरन्तर आगमनबाट अर्थले पाठकलाई एकोहोरो तान्ने चेष्टा गरिरहन्छ । उपन्यासभरि भेटिन्छ आवेग, उत्कण्ठा र उकुसमुकुसका थुप्रै गुजुल्टाहरु । ती नेपाली चेलीका अव्यक्त कथा जस्ता लाग्छन् ।

'अर्थ' जन्मदेखि सिङगो जीवनभरि आश्रय, आवाज र आत्मीयता खोज्दै भौंतारिएको एक आकुल कथाको श्रृंखला हो । आमाको महत्वभित्र त्यस शब्दलाई आघात पुड्डयाउने समाजको कथा हो यो, व्यक्तिको पर्दाफास हो यो र चरित्रको चिरफार हो यो । अर्थसँगै मानवीय मूल्यका विघटित सन्दर्भले यहाँ ठाउँ पाएका छन् । जियाको पढाइ, संघर्ष, विमति र पारिवारिक मिलापले एकातिर असहज चरित्रलाई यहाँ उभिने वातावरण निर्माण गरेको लाग्छ । अर्कातिर समाजमा देखिने र नदेखिने अनेक कपट, पाखण्ड र कुतत्वको सलह केकस्तो छ भन्ने सविस्तार व्याख्यान पनि छ । थोरै राम्रा र असल पात्र भए पनि विध्वंस समाज र वातावरण सुधार्न सकिन्छ भन्ने झिनो सन्देश पनि उपन्यासको मध्य भागदेखि नै भेटिने अर्को मूल भाव हो ।

उपन्यास पढिरहँदा लाग्छñ आदर्शभन्दा विद्रोह अगाडि छ । सम्झौताभन्दा रुपान्तरणको विजय निश्चित छ । समर्पणभन्दा प्रतिकार आवश्यक छ । यस्ता अरु थुप्रै मानवीय र मानवेतर सन्दर्भलाई सुक्ष्म ढंगले स्वीकार्दै औपन्यासिक गति निर्बाधसँग यात्रा गरेको पाइन्छ ।

जियाका दुःखले मन क्लान्त पार्छ । हृदय छियाछिया पार्छ । कठोरताले मुठी कस्न पुग्छन् पाठकहरु । पिताको अदूरदर्शीता र मूर्खताको वर्णन अर्को चाखिलो पक्ष हो । सन्तानको सृष्टिमा एक भाग माता हो भने अरु बहुल भाग पिता हो ñ यो प्राकृतिक र नैसर्गिक ज्ञानलाई लत्याएर उपेक्षा गर्ने पुरुष चरित्रलाई निकै रोचक र आकर्षक पारामा प्रहार गरिएको छ ।

कृष्ण धराबासीको भनाइ टिप्न मन छñ =उपन्यास संवेगात्मक छ, सन्देशमूलक छ । समसामयिक विषयवस्तु र लि™्गीय, विभेदहरु माथि पनि उपन्यास सशक्त रुपमा प्रस्तुत भएको छ । प्रेमको अनौठो तपस्या पनि उसमा जीवन्त छ । पाठक हरेक पृष्ठमा भावुक हुन्छ, विचारोत्तेजक हुन्छ । उपन्यास पठनीय र चित्ताकर्षक छ ।

संघर्षको यात्रामा निरन्तर लागिरहने जीवनदर्शनलाई अर्थले अंगिकार गरेको एउटा सघन पाटो हो । अनेक विडम्बनामाझ जीवन चल्नु र त्यो अपरिहार्यताको पक्षमा छ अर्थ ।

यो उपन्यास नारीका पक्षमा सहानुभूतिभन्दा पनि थिचिएका स्वर उराल्ने चेतनापूर्ण सिर्जना हो । उपन्यासले सिमान्तीकृत पक्षलाई आàनो कथा, घटना, पात्र, परिवेश र संवादको रुपमा अंगिकार गरेको छ । यसैले भेद्भावभित्र अटाउन सक्ने सबैखाले रुप र चरित्रलाई यो उपन्यासको साझा पात्र हो, कथा हो र गति हो । कति दृश्य मनै कटक्क पार्ने खालका छन् । व्यक्तिका भोगाइ र स्वीकारोक्तिलाई यहाँ उपन्यासकार सानुले अत्यन्तै कुशलताका साथ लिपिबद्ध गरेकी छन् । प्रेम, परिहास र परिबन्दलाई बाँध्दैñबाँध्दै उपन्यासका समाप्तिमा सबैलाई गतिलो सन्देश दिइएको छ । जितका पछाडिको लामो यात्रा र पराजित गर्ने समाजको हरेक स्थितिलाई प्रच्छन्न शैलीमा सानु शर्माले उपन्यासभरि मौलिक पारामा रच्न सक्षम भएकी छन् ।

उपन्यासमा भरमार अशुद्धि छ । सम्पादन अझै राम्रोसँग नभएको लाग्छ । कथाले मागेको तन्काइ र आयाम दिन लेखिकाले किन कञ्जुस्याइँ गरिन् ? पात्रले खोजिरहेको भावलाई अझ विस्तार हुने वातावरण किन रोकियो ? के हतारो थियो उपन्यासकार सानुमा ? अरु मसिना कुरासँगै यी प्रश्नले घरीñघरी औंला ठड्याउन पुग्छन् ।

नेपाली उपन्यासको इतिहासक्रम हेर्ने हो भने त्यति लामो र धेरै परसम्म रहेको पाइन्न । भएका र लेखिरहेका महिला स्रष्टाहरुमा पनि उपन्यास कीर्ति-कलाको निर्माण र रचनातिर त्यति धेरै अभिरुचिको क्रममा राखेको पाइन्न । एउटा दुस्साहसपूर्ण लेखनी र महत्व बोकेको हुन्छ उपन्यासले । आजको समाजमा औपन्यासिक महत्व र मूल्य उजागर भइरहेको कालबेला हो । यस्तो बेला थोरै उपन्यास लेखिकाको लहरमा उभिएकी सानु शर्मा बलशाली स्रष्टा र उपन्यासकारको सूचीमा दह्रिने प्रबल सम्भावना देखिएको छ ।

भोलिका दिनमा लहडभन्दा कर्तव्य, रहरभन्दा प्रतिबद्धता र गनñगनभन्दा गम्भीरतातर्फ लागेमा सानु शर्माको उपन्यास यात्राले एउटा बलियो परिचय पाउने छ, पहिचान आर्जन गर्ने आधार खडा गरेको छ । 'अर्थ' त्यही क्रमको महत्ताबोध गराउने औपन्यासिक कृति हो । यसले समकालीनताको परिदृश्य जेñजति पस्केको छ, त्योभन्दा लैङगीक भेद्भावले ग्रसित नेपाली समाजको बहुलतालाई शल्यक्रिया गरेको छ । उपन्यासमा कठोर र निर्मल समाजका सबैखाले कुरुपतालाई प्रहार गरिएको छ ।

सानु शर्माको भाषामा काव्य तत्वकोभन्दा प्रहारपूर्ण अभिव्यक्तिले ठाउँ पाएको छ । उपन्यास स्वयम्मा विशालताको परिचय दिने कृति हो । यो विशालताभित्र घटना, पात्र, चरित्र र कौतुहलता नआउने हो भने उपन्यासको आकार ठूलो भए पनि यथार्थमा त्यो लघुñआकारको हुन सक्छ । यस हिसाबले सानु शर्माको औपन्यासिक कृति जित, सफलता र विजयतिरै उन्मुख छ । 'अर्थ' पठनीय मात्र होइन, मननीय उपन्यास पनि हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।