17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्याङ्जाली माटोका उपज: लोकप्रिय गायक शंकर ‘विरही’ गुरुङ

व्यक्तित्व / कृतित्व तुलसी प्रवास December 11, 2011, 4:30 pm

लोक साहित्यका विभिन्न विधा,उपविधामध्ये लोकगीत एउटा महत्वपूर्ण विधा हो । लय वा भाका प्रधान भएर वाणीका रुपमा अभिव्यक्त भएको हार्दिक अनुभूति नै गीत हो । जब लोकले आफ्ना विरह वेदना सौन्दर्य तथा श्रृङ्गार भावलाई सहज र स्वाभाविक पाराले उन्मुक्त स्वर लहरीमा पोख्दछ त्यसले लोकगीतको संज्ञा पाउँछ । जहाँ शिक्षाको प्रकाशले स्पर्श समेत गरेको हुँदैन त्यस्तो समाजमा लोकगीत अझै मौलाउन सक्दछ । शिक्षाले ल्याएको आधुनिकताको भुँवरीमा लोकगीत हराउन पनि सक्तछ ।

लोकगीतमा अन्जानमै भए पनि लय, छन्द, विम्ब, अलङ्कार आदि काव्यात्मक गुणहरू भित्रिएका हुन्छन् । नेपाली लोकगीतको आकर्षक पक्ष भनेको लय हो ,जसलाई भाका वा फाँकी भनिन्छ । लोकगीत रचना गर्ने व्यक्ति अशिक्षित हुने भएकोले उसलाई शास्त्रीय छन्द, अलङ्कार आदिको ज्ञान हुँदैन । आन्तरिक उद्गार जस्तो भाकामा उद्गारित हुन्छ त्यही छन्द बन्दछ । वेदनाको तरङ्गले अभिव्यक्तिको बाङ्गो सोझो जस्तो बाटो समाउँछ त्यही नै अलङ्कार हुन्छ । यसरी नितान्त नैसर्गिक रुपमा लोकगीतको मूल फुट्छ र झर्ना बनेर झर्दछ । वास्तवमा लोकगीत झरना जस्तै हुन्छ । हजारौं वर्ष पुरानो भएर पनि झरनाको पानी नित्य नयाँ हुन्छ, न कहिल्यै सुक्छ ,न कहिल्यै रोकिन्छ बरु उसका जल कल्लोलमा नयाँ–नयाँ संगीत र नव–नव नृत्यहरू थपिंदै जान्छन ।

लोकगीतले लोकको आवाज गुञ्जाउँछ । समाजमा हाँसो र खुसी दुवै छन् । हाँसो, उमंग र रमझमले भन्दा पीडा, दुःख र आँसुले मानवीय संवेदनालाई छिटो प्रभावित पार्दछ । नेपाली समाज अझै पनि संवेदनामुक्त छैन । यहाँ अनेकौं पीडा छन् । बाध्यता छन् । आँसु यहाँको निरन्तर मुहान जस्तै बनेको छ । कहिले कुन परिस्थिति त कहिले कुन बाध्यताले आँसु बगिरहन्छ नेपाली समाजमा ।

बहुरुपी प्राकृतिक छटा , समसामयिक घटना, प्रसङ्ग, ऐतिहासिक दिग्दर्शन, सामाजिक प्रवृत्ति तथा वैयक्तिक बानी व्यहोराको व्यापक चित्रण लोकगीतमा पाइन्छ । रागात्मक प्रेम प्रसङ्ग, विरह—व्यथा, वियोग, चिन्ता, पारिवारिक असन्तुलन, अभाव, पीडा, संघर्षको दुःखद परिणाम, आघात, असन्तुष्टि, कुण्ठा आदिको मनस्थितिबाट प्रायः लोकगीतको प्रस्फुटन हुन्छ । लोकगीतले मनोरञ्जनका साथै जीवन जगतका घतिला अनुभूति तथा मानवीय आदिम मनोवृत्तिसँग भेट गराउँछ । त्यसैले अशिक्षित र असभ्य वर्गको सिर्जना ठानिने लोक धुकधुकीलाई जतिसुकै सभ्य र शिक्षित व्यक्तिले पनि उपेक्षा गर्न सक्तैन । बहुधा लोकगीतहरू हृदयमा उकुसमुकुसिएका तीता—मीठा भावलाई स्वरलहरीमा उडाएर मनलाई हलुङ्गो तुल्याउने धूनमा आफ्नो परिवेशबाट आफैंलाई हराउन, बिर्सन वा ‘स्वान्त सुखाय’को निमित्त उद्गारित हुन्छन् तापनि तिनमा जीवनका लागि गहिरा सन्देश भरिएका हुन्छन्, जसले गर्दा लोकगीत झन् जीवन्त र मार्मिक बन्न पुग्दछ ।

नेपाली लोकगीतको क्षेत्रमा गण्डकी अञ्चलको स्थान अत्यन्तै उच्च छ । यस अञ्चलको स्याङ्जा जिल्ला लोकगीतका दृष्टिले अत्यन्तै उर्वर मानिन्छ । विभिन्न जात—जाति, धर्म—संस्कृतिका मानिसहरूको बसोबास रहेको स्याङ्जाका बस्तीहरूमा नेपाली लोकसाहित्यको भण्डार रहेको महसूस हुन्छ । दिनभरी मेलापात गर्ने, साँझपख थाकेर लस्त परेको शरीर घिसार्दै उकालीका चँौतारीमा भारी बिसाएर मनको भारीलाई हलुङ्गो पार्न छेउको चिलाउनेको पात टिपेर बजाउने यस क्षेत्रका बासिन्दाले लोकसाहित्यलाई नै मनोरञ्जनको प्रमुख साधन बनाएको पाइन्छ । विभिन्न उखान टृक्का, गाउँखाने कथा आदि यस क्षेत्रका बासिन्दाका जिब्रा—जिब्रामा भुन्डिएका छन् । कुनै कुरा गर्न थाल्यो कि प्रसङ्ग, अनुसारका उखान टुक्काको प्रयोगले उनीहरूका कुराहरू सुनिरहुँ जस्तो लाग्छ । त्यसैगरी लोकगीत त यस क्षेत्रको मनोरञ्जनको अत्यन्तै महत्वपूर्ण साधन हो । गाउँमा हुने स्वस्थानी, सत्यनारायणको पूजा, सप्ताह आदिमा गुन्जने भजनका अतिरिक्त युवक र युवतीका दोहोरी गीतहरूले सबै गाउँलेलाई नै मनोरञ्जन प्रदान गरेका छन् । गुरुङ, मगरहरूको समेत घना बस्ती रहेको यस क्षेत्रमा रोदी संस्कृतिले पनि महत्वपूर्ण स्थान ग्रहण गरेको छ । मादलको घिन्ताङ सँगसँगै गुरुङ युवायुवतीमा गुन्जने सालैजोका भाकाहरू यसक्षेत्रमा कालीदासका कोमल पदावली जस्तै सुरम्य र सुललित बनेर पाखापखेराभरि छरिएको पाइन्छ । यस्तै, यस्तै संस्कृतिको धनी स्याङ्जामा तीजका गीत, खेली, चुड्का, बालगीत आदि पनि प्रशस्तै गाइन्छन् । त्यसैगरी विवाह व्रतबन्धमा माहल (माँगल) गाइन्छ । क्षेत्री, ठकुरीहरू विवाहमा खाँडो जगाउँछन् । बेंसीका ठूलाठूला फाँटहरूमा असारे गीतको भाका अलापिन्छ । मगर गाउँमा कौरा र नचरी यहाँ पनि नचाइन्छ । तिहारमा भैलो देउसी, तीजमा झोरा, नवदूर्गामा मालश्री, वनपाखामा बाह्रमासे, हाटबजारमा खेली दोहोरी र झ्याउरेले यहाँको जनजीवनलाई हमेशा रङ्ग रमाइलो र मायाप्रीतिको रस दिइरहेकै हुन्छन् ।

स्याङ्जाका अधिकांश वनजङ्गल तथा प्राकृतिक सुरम्य वातावरणले यहाँको जनजीवनलाई कुत्कुत्याइरहेको हुन्छ । खोलाको कलकलसँगै सबैलाई गुन्गुनाइदिन प्रेरित गर्दछ । स्याङ्जा जिल्लाबाटै रेडियो नेपालमा गीत रेकर्ड गराउने प्रथम कलाकारहरू चन्द्रबहादुर सेन ‘मसाने’, सावित्री शाह आदिको नाम अगाडि आउँछ । यी कलाकारहरू स्याङ्जाली गायन क्षेत्रकै नमुनाका रुपमा परिचित छन् । त्यसपछि चन्द्रबहादुर गाहा, दीलबहादुर श्रेष्ठ, राजेन्द्र लम्साल, देवी अर्याल आदिले स्याङ्जाली माटोलाई लोकगीतका माध्यमबाट सुवासित बनाए । पछिल्लो समयमा आएर नेपालमा लोकगीतको बाढी नै चल्यो । त्यस बाढीमा स्याङ्जाली कलाकारहरू तरङ्गित हुँदै बगिरहे । विभिन्न लोक तथा दोहोरी गीत सम्बन्धी संस्थाहरू स्थापना हँुदै गए । संस्थागत रूपमा पनि स्याङ्जाली कलाकारहरू अग्रपंक्तिमै छन् । पछिल्लो चरणका चर्चित स्याङ्जाली गायकहरूमा पुरुषोत्तम न्यौपाने, रमेश बि.जी.,बद्री पंगेनी, भगवान भण्डारी, शकुन्तला थापा, शर्मिला गुरुङ्ग, रामजी खाँण, पशुपति शर्मा, विष्णु माझी, खुमन अधिकारी शंकर विरही गुरुङ्ग, गोपाल जि.टी.,अर्जुन गैह््रे, घनश्याम रिजाल, पिताम्बर अर्याल आदि रहेका छन् । नेपाली लोकगीतमा स्याङ्जाको योगदान अविष्मरणीय छ भन्ने कुराको प्रमाण स्याङ्जाली कलाकारले गाएका र रचना गरेका हाल बजारमा सर्वाधिक चर्चामा रहेका गीतहरू नै हुन् ।

स्याङ्जाली धुलीमाटोबाटै उठेर लोकगीतमा आफ्नो नयाँ पहिचान बनाउन सफल कलाकार हुन्–शंकर ‘विरही’ गुरुङ । वि.सं. २०३३ सालमा मनकामना–४,आरुखर्क, स्याङ्जामा पिता पिताम्बर गुरुङ र माता हरिकला गुरुङको कोखबाट जन्मेका युवा लोक तथा दोहोरी गायक शंकर ‘विरही’ गुरुङ पछिल्लो समयमा अत्यन्तै चर्चामा रहेका गायक हुन् । अग्रज लोकदोहोरी कलाकारहरुबाट लोकदोहोरी गीतहरु रेडियो नेपालमा सुनेर आफू पनि उनीहरुले जस्तै रेडियोमा गाउने धोको बनाएका ‘विरही’ले रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र पोखराबाट आउने देउराली कार्यक्रममा पहिलो पटक लोकगीत गाएर यस क्षेत्रमा प्रवेश गरेका हुन् । हाल उनी लोकदोहोरी गीतको संरक्षणमा काम गर्ने संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाल, गण्डकीको उपाध्यक्ष पदमा रहेर लोकदोहोरी गीतको संरक्षणमा लागि परेका छन् । साथै, सप्तरंगी सा“स्कृतिक प्रतिष्ठान नेपाल, पोखराका आजीवन सदस्य, अनुशीलन संगीत पाठशाला, पोखरा र तरेली सा“स्कृतिक परिवार, पोखराका सल्लाहकारको रुपमा उनी आबद्ध छन् । त्यसैगरी उनी हिल प्वाईन्ट हाई स्कूल, माटेपानी, पोखरामा लेखा शिक्षक तथा कम्प्यूटर प्रशिक्षकको रुपमा कार्यरत छन् भने उनले व्यवस्थापन संकायमा स्नातकोत्तर समेत गरेका छन् । विभिन्न समयमा आयोजना भएका प्रतियोगितात्मक लोक तथा दोहोरी गीतहरूमा पुरस्कृत भइसकेका विरहीका हालसम्म चारवटा एल्बमहरू बजारमा आइसकेका छन् । “लाग्न थाल्यो आश”(२०६१) विरहीको पहिलो लोकदोहोरी एल्बम हो । त्यसपछि उनको २०६७ मा “खोली तरौँला” बजारमा आयो भने २०६८ मा मात्रै उनका “फोनै आएन” र “आउँदैन र झल्को” गरी दुईवटा एल्बम बजारमा चर्चामा रहेका छन् ।

गुरुङ परिवारमा जन्मेर गुरुङ संस्कृतिलाई नजिकैबाट नियालेका शंकर विरही गुरुङले आफ्ना गीतमा त्यही प्रभावलाई मूर्तरूप दिएका छन् । गुरुङ जातिमा प्रचलित सालैजो भाका लाई उनले यसरी प्रस्तुत गरेका छन् ः

हेर्दामा राम्रो पोखरा बजार सालैजो तल सेती दोभान

अन्त मन छैन देऊ मलाई बैना सालैजो मायाको जोवान

हो निरमाया ख्याल हैन साँचो सालैजो मायाको जोवान

(झिलिमिली पोखरा शहर छ,

चोखो माया लगाउनी रहर छ)२

फोनै आएन (लोक तथा दोहोरी गीति एल्बम –२०६८)

‘सालैजो’ गुरुङ जातिले परम्परादेखि गाउँदै आएको लोकप्रिय भाका हो । यसमा पुरुष र महिलाको आवाजलाई बडो आकर्षक तरिकाले समायोजन गरिएको हुन्छ । रोधी बस्दा गाइने यस्ता गीतहरूलाई आजभोलि रेकर्ड गरेर सबैलाई मनोरञ्जन गराउने चलन बढेको छ । शंकरले पनि आफूसँगै शर्मिला गुरुङको आवाजमा सालैजो गीत एल्बममा समावेश गरेर आफ्नो जातीय पहिचान राखेका छन् । त्यसैगरी उनले यसै एल्बममा फोनै आएन भन्ने दोहोरी पनि प्रस्तुत गरेका छन् । जस्तै ः

केटा ः मायालुले बिस्र्यो कि चटक्कै, फोन गर्दा नि लाउदैन पटक्कै

फोनै आएन, मलाई मेरी मायालुको फोनै आएन

मैले कोशिष गर्दा के भो लाउदै लाएन ।

केटी ः जे जे भन्थ्यौ गरेथेँ तिमीले, कि त सानु बिराएँ कि मैले

फोनै आएन .........

फोनै आएन (लोक तथा दोहोरी गीति एल्बम –२०६८)

वर्तमान प्रविधिले नेपाली लोकगीतका स्रष्टाहरूलाई पनि राम्रै प्रभाव पारेको कुरा यस गीतबाट थाहा हुन्छ । आजभोलि सञ्चारका साधनहरूले माया गर्नेहरूलाई निकै सजिलो बनाएका छन् । तर कहिलेकाहिँ तिनै साधनका कारणले उनीहरूलाई कतिसम्म पिरोल्छ भन्ने कुराको प्रस्तुति यस गीतमा पाइन्छ । यस्तै समसामयिक विषयवस्तुलाई लोकदोहोरीमा टपक्क टिपेर मानिसको मन छुन खप्पिस छन् शंकर ‘विरही’ गुरुङ ।

निरन्तरको साधना र लोकदोहोरीप्रतिको लगावले शंकरलाई एउटा नयाँ उचाइमा पुर्याएको छ । गाउँबाट झरेको एउटा कलाकारले एउटै वर्षमा दुईवटा एल्बम निकाल्नु भनेको अहिलेको महंगीमा सजिलो पक्कै छैन । व्यवस्थापन जस्तो गैर साहित्यिक विषय पढेर लेखा र कम्प्युटर पढाउने शिक्षकले लोकगीतमा यसरी समर्पित भएर लागेको देख्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । उनी स्याङ्जाको दुर्गम गाउँमा जन्मे, त्यहीँ रोधीमा रमाए र अध्ययनको सिलसिलामा सहर झरे तर उनको नशा नशामा आफ्नो संस्कृति भिजेको छ । उनले बिर्सेनन् आफ्नो मौलिकता । त्यसैले त आधुनिक शिक्षा लिएर पनि उनी लोकगीतमै रमाउन सकिरहेका छन् । उनको हालसालै बजारमा आएको अर्को नयाँ एल्बम ‘आउँदैन र झल्को’ हो । कतै खेलीगीतको झल्को आउने यस एल्बमले उनलाई एक कदम अझै अगाडि बढाएको छ । जस्तै ः

केटा ः सानु तिम्ले गरेका क्यै कुरा,मलाई नि मन परेका त्यै कुरा

आउँदैन र झल्को, चिनो भनी साटेको पछ्यौरी मलमलको....

केटी ः सम्झ तिम्ले के थियौ भनेको, मर्नसम्म म तयार बनेको

आउँदैन र झल्को, चिनो भनी साटेको पछ्यौरी मलमलको....

आउ“दैन र झल्को (लोक तथा दोहोरी गीति एल्बम –२०६८)

दिनभरी मेलापात गर्ने, साँझपख थाकेर लस्त परेको शरीर घिसार्दै उकालीका चँौतारीमा भारी बिसाएर मनको भारीलाई हलुङ्गो पार्न छेउको चिलाउनेको पात टिपेर बजाउने नेपालीहरुले लोकसाहित्यलाई नै मनोरञ्जनको प्रमुख साधन बनाएको पाइन्छ । यहाँ शंकरले आफू शिक्षित वर्गको गायक भएर पनि लोकगीतको मर्मलाई भुलेका छैनन् । आफू गाउँमै रोधीमै भएको छनक उनले आफ्ना गीतमा दिएका छन् ।

शंकर विरही गुरुङ समयलाई चिन्न सक्ने गायक हुन् । समयको माग अनुसार व्यवसायिक गीत पनि उनले गाएका छन् । एकातिर लोकगीतको संरक्षणमा उनी लागिपरिरहेका छन् भने अर्कोतिर लोकगीतलाई नै व्यवसाय बनाएर जीउने आधारको रुपमा लोकगीतलाई नै अपनाउन प्रयासरत छन् । विभिन्न कार्यक्रमहरूमा आप्mनो प्रस्तुति दिएर दर्शकहरूलाई नचाउनमा पनि उनी माहिर छन् । हालै बजारमा आएको उनको गीतले सबैलाई जुरुक्क जुरुक्क बनाउँछ । जस्तै ः

केटा ः नजरैको तीर हानी हानी, मलाई लट्ठै बनायौ ए नानी

छिनछिन बज्यो चुरा, सानु सुनेर मायाको कुरा म त लट्ठै परेँ हजुर.....

केटी ः हेर्न मलाई हेर्याथे धेरैले, मन चुलबुले भो तिम्रो हेराइले

छिनछिन बज्यो चुरा, सानु सुनेर मायाको कुरा म त लट्ठै परेँ हजुर.....

आउ“दैन र झल्को (लोक तथा दोहोरी गीति एल्बम –२०६८)

यसरी स्याङ्जाली माटोका उपज शंकर ‘विरही’ गुरुङ नेपाली लोकसंस्कृतिका उदाउँदा प्रतिभा हुन् । अहिलेको लोकगीतको प्रतिस्पर्धात्मक बजारमा उनको अलग्गै पहिचान बनेको छ । गुरुङ संस्कृति र समग्र नेपाली लोकगीतको संरक्षणमा उनको प्रयासलाई सबैले साथ दिनु आवश्यक छ । राम्रो अवसर पाएमा र सबैले साथ दिएमा उनीबाट भविष्यमा अझै सुन्दर र सुमधुर गीतको आशा गर्न सकिन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।