निमुखाहरु नबोल्ने होइनन्
नबोलेका पनि होइनन्
निमुखाहरुका आवाजहरु सुनिने तरङ्गसम्म नपुग्नाले
नसुनिनाले तरङ्ग नामिल्नेका आवाजहरु
जब तरङ्गको प्रतिनिधित्व गर्छन्
तब निशब्द निरीह स्वरहरु
भन्न पर्ने कुराहरुबाट किनारीकृत हुन्छन्!
कोहि कसैको अधिनस्थ कैल्यै छैन
अधिनस्थ हुनु आवाज हुनेहरुको स्वभाव पनि होइन
आवाज गरी गरी चिच्च्याई चिच्च्याई
आफु थिचिएको कुरा गर्नसक्नु अनि कुरा गर्नु
थिचिनुबाट उठिसकेको प्रमाण भएपछि
निमुखा हुने त कुरै आएन!
मेरो गाउँ ऐले पुरै टेक्निकल भैसकेको छ
मेरा गीतहरु अंकित भैसकेका छन्
मेरा कविताहरु अनलाइन भैसकेका छन्
मेरा तरङ्ग विश्वका हरेक तक्निकिसँग एकाकार भैसकेका छन्
मजस्ताहरुको हाम्रो गाउँ
ऐले एवेरेस्टजस्तो अग्लो र मरियानाजस्तो गहिरो भैसकेको छ!
तेसैले, मलाई अत्ति नै गर्यो
मलाई गर्नु नगर्नु गर्यो
मेरो केहि चलेन, म त लौ
भन्दै सिरकभित्र मुख लुकाई रोए पनि केहि क्षणमै
जुरुक्क उठेर स्वाभिमानको रक्षार्थ जाइलाग्ने
मेरो समुदाय अमेरिकी चिया श्रमिकभन्दा निम्न थिएन
पौरुषताका लागि नेपोलियनले पनि बोलेको हाम्रा मर्दहरुको अवस्था
रूसमा क्रान्तिका समय रोटीको लाइनमा उभिनेको भन्दा खस्केको कैले थिएन
हातका घाउ माटोले लिपेर जाति पर्ने हाम्रा बाबुहरुको स्तर
अफ्रिकी मजदूरको भन्दा तल थिएन!
हामी बोलिरहेका छौँ
मागिरहेका छौँ
उठिरहेका छौँ
हावामै भए पनि मुट्ठी उठाइरहेका छौँ
हामी त आन्दोलन गर्छौं
आफु अनि आफ्ना ससाना स्कूले नानीहरुसमेत
भोक हड्तालमा बस्छौं !
बोले पछि हाम्रो आवाज अरुले नसुन्ने पक्कै होइन
पहरा,खहरा, मरु, समुद्र, धर्तीको वल्लो छेउदेखि पल्लो छेउसम्म
जब मेरो आवाज पुग्छ, जब म मेरालागि मै बोल्छु
निमुखा त म हुँदै होइन!
प्रिय बन्धु हो!
म त खोलामा गीत गाउने होइन
म त किनारमा बसेर रुने होइन
अनि अन्यपुरुष सर्वनाम मेरो आवाज हुन पनि सक्दैन
मेरो रोजाइको बँचाइ र म हुनु नहुनुको तर्क चडेर
कोहि मलाई निमुखा, किनारीकृत भन्छ भने
मेरो त क्रान्ति त्यहींबाट सुरु हुन्छ ठुलो स्वरैमा!