19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बादल र झरी

कविता अच्यूत प्रसाद सिलवाल December 18, 2011, 6:19 pm

ऊ बादल हो

हज्जारौं माईल पर उसको माईती घर छ

जहाँबाट ऊ तात्तिन्छे, रापिन्छे र उठ्छे

मनसुनी र पश्चिम वायूको झोक्काले उसलाई उडाँउछ ।

ऊ मडारिन्छे

उसका दिमागमा विजुलीका झिल्का झिल्किन्छन

ऊ अर्थात बादल पराईघरको पहरामा पुग्छे र ठोकिन्छे

ऊ मन थाम्न सक्दिन र गड्गडाउँछे

अनि आँखाबाट अनायास आँसु खसाल्छे

आँसु अबिरल खसिरहन्छ

मानौं, बादल अहिले बादल रहिन

ऊ झरी हुन्छे र झरिरहन्छे निरन्तर अबिरल

ऊ बादल हो

ऊ गहना बन्छे काली लेकहरुको

ऊ सिगार्छे सेता टाकुराहरु काकाकुलहरु तृष्णा मेट्छन्

जब ऊ आकाशमा छाउँछे

ऊ अर्थात बादल, मायाले भिजेको आर्द छात्ति

नाङ्गा पहरामा टास्छे र गमलङ्ग अङ्गालो हाल्छे

विरहिहरु विस्मृतिका प्रेमकाहानीहरु

वर्तमान विर्र्सिएर सम्झन्छन्

परन्तु भुवादार बादलको कोमल स्पर्श पाएर

पग्लदैन पहरे छात्ती

अनि ऊ मन थाम्न सक्दिन र गड्गडाउँछे

ऊ आँखाबाट अनायास आँसु खसाल्छे

आँसु अबिरल खसिरहन्छ

मानौं, बादल अहिले बादल रहिन

ऊ झरी हुन्छे र झरिरहन्छे निरन्तर अबिरल

पिप्ले ४ चितवन, हाल: किर्तिपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।