17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बसन्त श्रेष्ठका कवितालाई नियाल्दा

कृति/समीक्षा सोमनाथ घिमिरे December 19, 2011, 2:45 am

अन्तरराष्ट्रीय क्षेत्रमा नेपाली साहित्य लेखन फस्टाउदो गतिमा छ । आप्रवासनमा रहेर जीवन वृत्तिका लागि अनवरत संघर्ष गरिरहँदा पनि आफ्नो जन्मभूमिको स्मृति र माया ममताबाट कोही अलग्गिन सक्तोरहेनछ ।नेपालीहरु अहिले विश्वका विभिन्न मुलुकमा छरिए आफ्नो जीवन वृत्ति चलाइरहेका छन् ।विदेश कतिका लागि स्वप्निल गन्तव्य बनेको छ भने कतिका लागि बाध्यता ।मुलुक भित्र वृत्ति- बिकासको अवसर नितान्त साँघुरो रहेकाले लाखौ युवाहरु रहर र वाध्यता दुवैले गर्दा मुलुक बाहिर छरिन पुगेका छन्।तर नेपालीहरु जहाँ पुगेका भए पनि उनीहरुको मन ,भावना र स्मृति आफ्नै मुलुकप्रति केन्द्रित रहने गरेको तथ्य आप्रवासनमा लेखिएको साहित्यले उद्घाटन गर्ने गरेको छ ।नेपालीहरु अमेरिका ,युरोप,अरब जहां पुगे पनि नेपाली मन भावना र स्मृति लिएर जाने गरेका छन् ।उनीहरूलाई मातृभूमि-जन्मभूमिको यादले बारम्बार घच्घच्याइ रहन्छ -सताइरहन्छ ।उनीहरूको स्मृतिपटलमा आफ्नो देश ,आफू जन्मेको ठाउं ,आफ्नो भेषभूषा र संस्कृति सधैँ जीवन्त भएर उत्रिरहन्छ ।उनीहरु आफ्ना मनका सुकोमल भावनाहरुलाई,आफ्ना मीठा- तीता अनुभूतिलाई आफ्ना पीडा-व्यथालाई आफ्नै भाषा नेपाली भाषाका माध्यमले अभिव्यक्त गर्न चाहन्छन्।आफ्नो मातृभूमिबाट टाढा रहनुको पीडाले सधैँजसो छटपटी गराउँछ ।मनमस्तिकमा भवनाका तरङ्गहरु मडारिएर आउँछन् अनि तिनै सुकोमल भावनालाई शब्दचित्रमा उतारेर साहित्य सिर्जनातिर अग्रसर हुन्छन् । त्यही पृष्ठभूमिमा नेपाली साहित्यले अन्तरराष्ट्रिय परिवेशमा आफ्नो स्थान दरिलो बनाउँदैजान्छ -गैरहेको छ । नेपाल बाहिर लेखिन थालेको नेपाली साहित्यले राष्ट्रिय सीमा पारगर्दै विश्वपरिवेशमा मौलिक पहिचान कायम गर्न अनुकरणीय प्रयास गरेको छ ।आप्रवासनमा लेखिएको नेपाली साहित्यले नेपाली भाषा कुनै पनि परिवेशलाई वाणी दिन सक्षम छ भन्ने सन्देश दिएको छ । अन्तरराष्ट्रिय परिवेशमा नेपाली भाषा र साहित्यलाई नयाँ दिशा र नयाँ गति दिन एक होइन अनेक स्रष्टाहरुको योगदान रहेको छ ।नेपाली साहित्यका स्रष्टाहरु विश्वका बिभिन्न मुलुकमा छरिएर आफ्नो रचनात्मक प्रतिभा प्रदर्शन गरिरहेका छन् । मूल प्रवाहको नेपाली साहित्यलाई विशाल परिवेश दिन उनीहरूको प्रतिभाले विशिष्ठ योगदान दिइरहेको छ ।

स्रष्टाहरू आफ्ना भावना र बिचारलाई अभिव्यक्त गर्न मात्र क्रियाशील छैनन् अन्तरराष्ट्रिय रुपमा नै संगठनात्मक सञ्जाल बिस्तार गरेर नेपाली भाषा साहित्यको प्रचार -प्रसारमा दिलोज्यान दिएर लागिपरेका छन् ।बीस वर्ष अगाडि संयुक्त राज्य अमेरिकामा स्थापित भएको अन्तरराष्ट्रिय नेपाली साहित्य समाजले हालसम्म ७० भन्दा बढी मुलुकमा आफ्नो संगठनात्मक सञ्जाल विस्तार गरिसकेको छ ।

वसन्त श्रेष्ठ- आप्रवासनमा बसेर नेपाली भाषा ,साहित्य र संस्कृतिको संरक्षण, प्रवर्धन र बिस्तारमा निरन्तर लागिपरेका अग्रणी स्रष्टा हुन् ।उनले तीन तीनवटा कविता संग्रह प्रकाशित गरेर आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन् भने अन्तरराष्ट्रिय नेपाली साहित्य समाजमा आवद्ध रहेर नेपाली साहित्य सर्जकहरूको अन्तरराष्ट्रिय सञ्जाल विस्तारमा उल्लेख्य योगदान पुर्याइरहेका छन् । कविता विधामा कलम चलाउदै आएका स्रष्टा वसन्त श्रेष्ट आफनो मनमा उठेका भावनाका तरङ्ग लहरीलाई सुकोमल शैलीमा उतार्न खप्पिस छन् ।उनका कविताको भावभूमि एउटै परिवेशमा मात्र सीमित नभै उनको जन्मभूमि तेह्रथुम-म्याग्लुङबजारदेखि सिङ्गो नेपाल हुँदै अमेरिकासम्म विस्तारित छ । उनको सिर्जनशीलता परिमार्जनको उकाली चढ्दै कवि व्यक्तित्व निर्माणतिर उन्मुख छ ।नेपाली साहित्यको कविता विधालाई भावनाको गहिराइ र बिचारको उच्चाइमा पुर्याउन उनी निरन्तर उद्यत र प्रयत्नशील छन् ।सिर्जनाका क्षेत्रमा उनले सम्भावनाका नयाँ ढोकाहरू खोलिरहेका छन् । नेपाली भाषा-साहित्यप्रतिको बिशेष अनुराग र सिर्जनशीलताले उनलाई कवि वसन्त श्रेष्ठका रुपमा सुपरिचित गराइरहेको छ ।उनी अमेरिकी नेपालीका प्रतिनिधि कविका रुपमा स्थापित भैसकेका छन् । समसामयिक नेपाली कविताको प्रमुख धार भनेको सामाजिक न्यायको पक्षमा चेतना प्रवाह गर्दै विद्रोहको

आवाज घन्काउनु हो । आमूल परिवर्तनको पक्षधरता र राजनीतिक अवसरवादप्रतिको आक्रोश समसामयिक कविताको भावभूमि बन्ने गरेको छ । कवि वसन्त श्रेष्ठले पनि आंफूलाई तेही पङ्तिमा उभ्याएका छन् ।

-वसन्त श्रेष्ठको पुस्तकाकारमा प्रकाशनमा आएको पहिलो कृति-वसन्त श्रेष्ठका कविता हो । बि.सं.२०६४मा प्रकाशित यो कविता संग्रहमा उनका बीसवटा कविताहरू समावेस छन् ।साहित्यकार तथा पत्रकार गोविन्द गिरी प्रेरणाको कुशल सम्पादन र श्रीमती विद्यालक्ष्मी श्रेष्ठको प्रकाशनमा सार्वजनिक भएको यो कृतिले स्रस्टा वसन्तको सिर्जनात्मक प्रतिभाको राम्रो सङ्केत गरेको छ । कवि श्रेष्ठले आफ्ना अनुभूतिलाई कविताका माध्यमले सार्वजनिकीकरण गरेका छन् । बि.सं.२०१२ साल ,फागुन४ गते वसन्त पञ्चमीका दिन तेह्रथुम जिल्लाको म्याङ्लुङ् बजारमा जन्मिएका वसन्तले ११ बर्षको सानो उमेरमै २०२३सालमा “तिनजुरे” हस्त लिखित पत्रिका सम्पादन गरेर भाषा सेवा र साहित्य सिर्जना जगतमा आफूलाई प्रवेश गराएका थिए । प्रवेशिका परीक्षा पास गरेपछि काठमाडौं प्रवेश गरेका श्रेष्ठको रुची कविता रचना र साहित्यिक पत्रिका प्रकाशनप्रति केन्द्रित रहेकै कारण उनको सम्पादनमा ‘पूर्वेली धुन’ ( 2029)साहित्यिक पत्रिका प्रकाशित भएको थियो । उनी नेपालमा रहदा उनका थुप्रै कविता तथा लेख रचनाहरू बिभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । समय क्रममा उनी अध्ययन र वृत्ति-विकासका लागि संयुक्त राज्य अमेरिका छिरे तर नेपाली भाषा ,साहित्य र संस्कृतिप्रतिको उनको अनुराग र आशक्ति अरु बढ्दै गयो ।उनले अमेरिकाको न्यू ह्यामसाएर विश्वविद्यालयबाट अर्थ शास्त्रमा एम्एस् गरे ।वृति-विकासका लागि उनी अमेरिका नै बसे तर भाषा-साहित्य प्रतिको अनुरागमा कुनै कमी आएन ।उनी अन्तरराष्ट्रिय नेपाली साहित्य समाजमा आबद्ध भएर भाषा- साहित्य सेवामा समर्पित हुँदै क्रियाशील भए ।उनको भाषा साहित्यप्रतिको सेवाभाव र अनुरागकै कारण अमेरिकावासी नेपाली स्रष्टाहरूको विश्वास जितेर उनी १९९८-२०००का लागि अन्तरराष्ट्रिय नेपाली साहित्य समाजको सभापति बने ।उनी अहिले पनि अनेसासमा अवद्ध छन् भने नेपाली साहित्य प्रतिष्ठान,उत्तर अमेरिकाको अध्यक्ष छन् । उनले अनेसासको प्रकाशन “अन्तर्द्रृष्टि” ,एशोसिएशन अफ नेपालीज इन अमेरिकाको प्रकाशन “आवाज” र “इन टच “देखि लिएर उत्तर अमेरिकाका नेपाली कवि र कविताको पनि सम्पादन गरेका छन् ।अमेरिका नेपाली समाजका उनी अहिले पनि सम्पादक सदस्य छन् ।उत्तर अमेरिकामा रहेका नेपालीहरुलाई गोलबन्द गर्दै नेपाली भाषा साहित्य र संस्कृतिको जगेर्ना र प्रवर्धनका लागि उनले खेल्दैआएको रचनात्मक भूमिका नितान्त प्रशंसनीय मात्र नभै प्रेरणाप्रद पनि रहेको छ ।

उनको पहिलो कविता संग्रह “वसन्तका कविता “मा समाविष्ठ बिसवटै कविता मानवीय भावना स्पर्श गर्न उन्मुख छन् ।मुलुक बाहिर छरिएका नेपालीहरूको आफ्नै व्यथा -कथा छन् । उनीहरू सधै शुभ समाचारको प्रतिक्षामा हुन्छन् तर खवर सधै कहाँ राम्रा हुन्छन् र । कविता संग्रहको पहिलो कविता “खवरहरु”मा उनले खवर भित्र अगम्य तागत भएको तथ्य उद्घाटित गर्दै खवरहरूले उत्तेजना फैलाएको अनुभूत गरे पनि अन्तत:सुख र शान्तिको सन्देश आउने आशा उनमा जागृत छ ।उनी निराशावादी छैनन् ।

:-”न्यू योर्क”शीर्षकको दोस्रो कवितामा उनले विश्वविख्यात न्यू योर्क सहरको वास्तविक चित्र उतारेका छन् ।किंबदन्तिको यो बिशाल सहर उनको अनुभूतिमा पनि कहिल्यै सुत्दैन ।,तर सधैं जाग्रत रहने यो सहरमा मान्छे देखेर मान्छे डराउनु पर्ने,सधैं डर बोकेर हिड्नुपर्ने , घर नपसेसम्म सुरक्षित नभइने अवस्थाको चित्रण गरेर उनले अनेकौं रङ्गीन बिश्लेषणले सुशोभित न्यू योर्क सहरको भित्री चित्र उतारेका छन् । कविले अनुभूत गरेको न्यू योर्क सहरमा मान्छे सहरभित्र बाँचिरहेछ या सहर भएर मान्छे बाँचिरहेछ ?खुट्याउन सजिलो छैन ।

-क्रम शीर्षकको तेस्रो कवितामा प्रवासी नेपालीहरूको मनको व्यथालाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएकोछ । परिवारको संझनामा मन व्यथित हुन्छ तर फर्कने गणित नमिलेर बर्षौंसम्म पनि ऊ घर फर्कन सक्दैन । ऊ स्वदेशीबाट विदेशी र नागरिकबाट शरणार्थी बनेको छ । स्वदेशबाट विदेश आउँदा लागेको ऋणादेखि लिएर घर फर्कँदा बोक्नु पर्ने आर्थिक दायित्वको लामो फेहरिस्तले उसको गणित मिल्दैन । स्वदेश फर्कन चाहने उस्को मन सधैं कुँडिएको कुँडिएकै हुन्छ । ऊ आफनो भविश्यसंग नै अनभिज्ञ छ । यो कविताले ठूलो सपना बोकेर विदेश छिरेका नेपाली युवाहरूको आन्तरिक वेदनालाई यथार्थपरक ढंगले चित्रण गरेको छ ।

-देश शीर्षकको चौथो कविता राष्ट्रप्रेमले ओतप्रोत भएको कविता हो । प्रवासमा रहेका कविलाई कहिले काँही आफ्नो देश हराएको भान हुन्छ तर देश अखण्डताको अर्को नाम हो भन्दै उनी हामीसंग यहाँ पनि हाम्रो देश छ भन्छन् । देशको मायाले कविलाई सधैं घच्घचाइरहेको बोध हुन्छ ।

कवि श्रेष्ठमा युग चेतना जाग्रित छ । उनी बिद्रोही स्वरमा युद्धको घोषणा गर्छन् र भन्छन्-पुनर्जागरणका लागि नयाँ इतिहास निर्माणका लागि,आर्थिक -सामाजिक र राजनीतिक अतिक्रमणका विरुद्ध अब म युद्धको घोषणा गर्छु ।

-”क्रान्तिको बिगुल “मा संघर्षशील जीवनका गोरेटाहरू बीचमा कतै हराइरहेको अनुभूत गर्दै कवि देश भित्रको वर्तमान अवस्थामा परिवर्तन ल्याउन क्रान्तिको बिगुल फुक्न अग्रसर छन ् ।झूट ,बेइमान र षड्यन्त्रकारीहरूले अझै देशमा शासन जमाइरहेका र परिवर्तनकामी स्वरहरू दब्दै सुक्दै गएको देखेर ऊनी चुपचाप सुतेर होइन सहीद बनेर बाचौँ भन्ने आग्रह गर्दछन ्।

- ‘एउटा देशको कथा’ शीर्षकको कवितामा कवि देशको इतिहासको निरुपण गर्दै वर्तमानको चित्रण यसरी गर्दछन्:

-समय र परिस्थितिको अन्तराल भित्र

हामी चिरा चिरा परेर फाटिँदैछौं

राष्ट्रियता र अस्तित्वका आस्थाहरु

धमिरा लागेर फाट्दैछ

म आँफैलाई थाहा छैन

हामी किन पछि सर्दैछौं ?

देशको वर्तमान अवस्थाले कसैलाई पनि सन्तुष्टि दिएको छैन । आमूल परिवर्तनका लहरहरू बारम्बार उठे पनि मुलुक अगाडि बढ्न सकेको छैन । सत्तास्वार्थका घिनौना खेलले राष्ट्रियतामाथि नै आँच ल्याउने भय पैदा गरेको छ ।इतिहासले गाएको वीर गाथा गाउन पनि अब लाज मान्नु पर्ने भैसकेको छ ।यस्तो स्थितिले कविलाई मर्माहत बनाएको छ ।

अन्तर-पीडाले छटपटिएको बेला अरूको खुसीको खवरले एकाएक खुसी छचल्किएर आए पनि अन्तत:रमाएर कोही हासँस्न सक्दैन ।खुसी शीर्षक कविताको निचोड त्यही छ ।

-”आस्था”शीर्षकको कवितामा प्रत्येक प्रभातमा सुनौलो किरणको कल्पना गर्ने कवि आफ्नो आस्था बचाउन

प्रयासरत रहे पनि सत्य मतिभ्रम बनेर हिनताबोधको पहाडभित्र अन्तरद्वन्द मच्चाइरहेको अनुभूत गर्छन् र

आफैँसंग -मेरो आस्थाको दियो किन निभ्न खोज्दैछ आज? भनी प्रश्न गर्न पुग्छन् ।

-तिमी कहाँ छौ ?’-यस्मा आफ्नी मायाको खोजीमा रहेका कवि उनलाई जताततै खोज्दा पनि उनी बसेको स्थान खुट्याउन नसकेर यथार्थमा तिमी कहाँ छौ भन्दै अझै मायाको खोजीमा डुबेको अनुभूत गराउँछन् ।

-कवि समतावादी छन्।जातिपाती ,भेदभाव,उचनीच केही नभएको ,सबै बराबर भएको ,रिस-राग ,ईर्ष्या-द्वेश

मुक्त समाजको अपेक्षा उनले राखेका छन ्-बराबर शीर्षकको कवितामा ।

-’-परदेशमा दशैं” शीर्षकको कविताले स्वदेश बाहिर रहेका नेपालीहरू दशैं जस्तो चाडवाडको बेला आफ्नो गाउँ ठाउँको यादले कति छट्पटाउँछन् ,आफ्नो संस्कृतिप्रतिको मोहले कति मर्माहत हुन्छन् र भावनामा बहेर परदेशमा कसरी दशैँ मनाउँछन् ? त्यो यथार्थ झल्काएको छ ।नेपालीहरू जहाँ गए पनि आफ्नोपना ,आफ्नो परंपरा र आफ्नो संस्कृति बिर्सन सक्दैनन् ।दूरदेशमा बस्दा पनि आफ्नो मनमष्तिकमा आफ्नै देश -आफ्नै संस्कृति प्रिय भएर अङ्कित रहेको हुन्छ ।आफ्नो मौलिक पहिचान नगुमोस् भनेर उनीहरू मनभित्र अनेक पीडा बोकेर पनि आफ्ना चाड-पर्वहरू आफ्नै शैलीमा मनाइरहेका हुन्छन् ।यो वास्तविकतालाई कविले यहाँ उजागर गरेका छन् ।

खै म कसरी बिर्सूँ ?-यो कविता कवि बसन्तको जन्मस्थलो तेह्रथुमको म्याङलुङ बजारमा भएको भीषण आगलागीको दारुण घटनाको स्मृतिपीडामा लेखिएको प्रतीत छ ।कवि जन्मे -खेलेको, हुर्के -बढेको र बिकसित र विस्तारित रुप लिएको म्याङलुङ बजार एकाएक आगलागीमा परेर पूरै ध्वस्त भयो ।उनको स्मृतिपटलमा रहेको म्याङलुङ बजारमा अब भग्नाबेश बाहेक केही रहेन ।पीडादायी यो यथार्थले कविलाई मर्माहत बनाएको छ ।इतिहासको धरोहर बोकेर मौलिक पहिचान कायम गर्दै भौतिक विकासको तीब्र गतिमा अगाडि बढेको म्याङलुङ बजार अकल्पनीय रुपमा अग्निज्वालामा भष्मिभूत भयो ।तर कवि आफनो अतीतलाई बिर्सन सक्तैनन् ।ऊनको मानसपटलमा म्याङलु, बजारको चित्र यथास्थानमा छ ।जन्मभूमिप्रतिको अनुराग र भावनात्मक लगावलाई बाणी दिएर उनले अमर बनाएका छन् ।

-न्हू दँया भिन्तुना’-संकीर्ण साम्प्रदायिक सोचबाट माथि उठेर लेखिएको र वैचारिक घनत्व भएको

कविता हो ।जाति बिशेषको संस्कृति झल्काउदै शुभकामनाको आदान-प्रदान गर्ने परंपरालाई साम्प्रदायिक घेराबाट माथि उठाएर सबै जात-जाति बीचमा शुभकामना आदान-प्रदान गर्ने र ऐकवद्धताको भावना जाग्रित गर्ने उच्च विचारको प्रस्तुतिले कविको विशाल हृदयको परिचय दिएको छ । मुलुकमा अहिले

साम्प्रदायिक एवं जातीय सद्भाव टुटाएर घृणा र विद्वेश फैलाउने कुचक्र चलिरहेको बेलामा कवि गहन जिम्मेवारी बोधका साथ जातीय घेराबाट माथि उठेर सबै जातका साथीहरूलाई न्हूँ दया भिन्तुना ‘भन्दै शुभकामना टक्र्याउँछन्। जाति बिशेषको संस्कारलाई बहुल जातीय संस्कृतिमा रुपान्तरण गर्ने कविको विचार उच्च छ ।

-’परदेशमा ‘ शीर्षकको कविताले परदेशमा छरिएका नेपालीहरुको मनोव्यथालाई सजीव ढंगले चित्रण गरेको छ ।परदेशमा रहँदा आफ्नो देश ,आफ्नो गाउँ ठाउँ -सहर बजारको निरन्तर यादले मानिसलाई कति सताउँछ र अन्तरवेदनाहरू कसरी चर्कँदै जान्छन् भन्ने तत्थ्यबोध कविले गराएका छन् । भौतिक शरीर जहाँ पुगे पनि मानिसको मन आफ्नो देश -आफू जन्मेको ठाऊँलाई विस्मृतिमा राखेर परदेशमा रमाउन सक्दोरहेनछ । ऊ जहाँ-जहाँ पुगे पनि आफ्नो मुटुमा आफ्नै देश बोकेर हिड्छ । परदेशको भौतिक सुखले मात्र मन सन्तुष्ट हुन नसक्ने रहेछ । परदेशमा जति नै सुख-सुबिधा भएपनि आफ्नो देशको सम्झनाले पछ्याइरहेको हुँदोरहेछ । यो वास्तविकतालाई कविले यथार्थपरक ढंगले यहाँ चित्रण गरेका छन् ।

-”याद” -अमूर्त प्रेयसीको याद झल्काउने भावनामा बहेको मीठो कविता हो ।कविको तरङ्गमा यस्तो याद त यसै आइरहन्छ ।

-शवयात्रा’ -शीर्षकको कविता षड्यन्त्रबाट पूरै वंश विनाश भएको एक घटना बिशेषमा केन्द्रित भएर रचिएको देखिन्छ । षडयन्त्रकारीहरू र हत्याराहरूसमेत सामेल भएको सो शवयात्रा गन्तव्यहीन यात्रामा अगाडि बढिरहेको अनुभूत उनले गराएका छन् । हत्याराको निसान बनेको व्यक्तित्वलाई देशभक्त,स्वाभिमानको प्रतीक र अस्तित्वको प्रतिमाको बिशेषणले सुशोभित गर्दै असीम श्रद्धा र माया व्यक्त गरेका छन् । मानवीय संवेदनशीलताले कविको सुकोमल हृदयलाई व्यथित बनाएको छ ।

-सपना “शीर्षकको कवितामा उनी मीठा-मीठा सपना देख्दा देख्दा थाकेको अनुभव गर्छन् भने कहिले सपना आँखा भित्रै सङ्गालिराख्न मन पराउँ छन् । यो कवितामा पनि अनुभूतिको साधारिणीकरण छ ।

-’मन दु:खेको बेला” -यो सङ्ग्रहको अन्तिम कविता हो । शुभ सन्देश र खुशीका लक्षणहरू कतै नदेखेर बाँच्नुको जिजीबिषा नै चिहान बन्नु नै मन दुखाइको कारण रहेको कविले अनुभूत गराएका छन् ।

- बीसवटा कविताको सङ्गालो भित्र समेटिएका प्राय: सबै कविताहरु मानवीय सम्वेदनशीलताले भरिएका छन् ।कवि नेपालभूमिबाट धेरै टाढा छन् तापनि उनीभित्र सिङ्गो नेपाल छ ।विदेशमा बस्दा पनि उनको मन नेपालमै छ र मुलुकबाहिरबाट उनले मुलुक भित्रका यावत घटना नियालिरहेका छन् ।अर्कातिर परदेशमा रहेका नेपालीहरूको अबस्थिति र मनोदशालाई पनि कविले सम्वेदनशील शैलीमा काव्यबाणी दिएका छन् । उनका

कविताले भू-स्वर्ग मानिएको अमेरिकामा नेपाली अथवा आप्रवासीहरूको अवस्था कस्तो छ र उनीहरू कस्तो मनोदशामा र कति कुण्ठा बोकेर बाँचिरहेका छन् भन्ने पनि उजागर गरेका छन् ।

-यो कृतिका भूमिका लेखक तथा - संपादक गोबिन्द गिरी प्रेरणाले वसन्तका कविताको आस्वादमा वसन्तपन छ भनी भनेका छन् भने कवि कहिले बेथितिको किनारा भेट्नका लागि कुसल नाविकको प्रतीक्षा गर्छन् ,कहिले युद्धको घोषणा गर्छन्, कहिले क्रान्तिको बिगुल फुक्छन् त कहिले शवयात्रामा सामेल हुन पुग्छन् भन्दै तर कवि जहाँ पुग्छन् काव्यबाणीका साथ पुग्छन् ,काव्यधर्मका साथ पुग्छन् र एउटा नयाँ आविस्कारका साथ पुग्छन् भनेर यो कृतिका बारेमा सही धारणा व्यक्त गरेका छन् । कवि वसन्तको यो काव्यकृति परदेशीय साहित्यको प्रतिनिधित्व गर्न सक्षम छ भन्नु अतिशयोक्ति ठहर्दैन ।

भावनाका लहरहरू

-----------------------

भावनाका लहरहरू-कवि वसन्त श्रेष्ठको दोस्रो कविता संग्रह हो । मुक्तक शैलीमा लेखिएका एक चालिसवटा कविता यस्मा सँगालिएका छन् । एकातिर नेपाली र अर्कातिर अंग्रेजी अनुवाद सहित मुक्तकहरु सरल शब्दावलीमा भाव संप्रेषण गर्न सफल छन् । कविको मनमा उठेका भावनाका लहरहरूसंग सहृदयी पाठक सजिलै बग्न सक्छ र कवितामा आफै अभिव्यक्त भएको अनुभूत गर्दै आल्हादित हुनसक्छ ।

उनका यी एकचालीस मुक्तकको भाव प्रबाहको धरातल पनि व्यापक छ -कतै उनी प्रेम जगतमा भावनाको गहिराइ छुन पुग्छन् भने कतै प्रकृतिका बिभिन्न रूपरङ्गलाई आत्मसात गर्दै तेसैमा आफूलाई समाहित गर्न पुग्छन् । कतै उनी जीवनको अर्थ खोज्न थाल्छन् भने कतै आफूले देखेको मीठो सपनालाई विपनामा परिणत भएको देख्न चाहन्छन् ।कवि गाउँमा हुर्केर बयली खेल्दै अमेरिकाको विशालतालाई प्रत्यक्ष अनुभूत गर्न पुगेका छन् ।

वसन्तका मुक्तकहरू हृदयस्पर्शी छन् । एउटा प्रेमी प्रेयशीको यादमा एकान्तमा रोइरहन्छ । माया -प्रेमले लेखिएका पत्रहरु धुरु-धुरु रुन्छन् । प्रेमी प्रेयसीको यादमा हराउँछ र पनि प्रेयसीको आवाजलाई ऊ आफ्नो मनमा कैँद गर्छ र वियोगमा पनि आत्मानन्दको अनुभूति गर्छ । प्रेममा जलन,तडपन,घात प्रतिघात सबै

घोलित हुँदा पनि प्रेममा नै जीवनको रङ्ग रहन्छ भन्ने निस्कर्षमा कवि पुगेका छन् ।प्रेममा मिलन पनि हुन्छ-बिछोड पनि हुन्छ । प्रेमी-प्रेमिकाले अनुभूत गरेका संयोग र वियोगका संवेदनशील क्षणलाई कविले शब्दचित्रमा उतारेर सशक्त वाणी दिएका छन् । प्रेयसीको यादले तड्पिएको प्रेमी आफ्नी प्रेयसीलाई पातको तरेलीमा ,आँखाको परेलीमा ,पहाडको कन्दरामा, बुकिफुलमा ,आफ्नै हाँसोमा ,आफनै आँसुमा, आफ्नै मनभित्र,आफ्नै तनभित्र,आफ्नै सासभित्र- फूलभित्र, फूलको वासनामा जताततै खोज्छ तर कतै नपाएपछि यथार्थमा तिमी कहाँ छौ भनेर प्रश्न उठाउँछ । निरन्तर संयोगको ब्यग्र प्रतिक्षामा रहेको प्रेमीलाई बिछोड कदापि मन पर्दैन -सधैँ हरियाली खोज्ने प्रेमीलाई सुख्खा बगर कहाँ मन पर्छ र ? प्रेयसीको वियोगमा छटपटिएको प्रेमी आँफूभित्र उनैको धडकन छामेर आफ्नै हृदयभित्र उनी रहेको आत्मबोध गर्छ ।त्यसैले त कवि 'प्रेम जीवनको वरदान हो’ भन्ने निस्कर्षमा पुग्छ न् प्रेमाशक्त मन प्रकृतिका बिभिन्न स्वरुपमा आँफू अभिव्यक्त भएको मीठो अनुभूत गर्छ ।प्रभातमा ऊ दुबोको टुप्पोबाट शीतको थोपा भएर,ररुखका पातबाट पानी झैँ बर्षिएर एकनासले रोइदिनसक्छ ,मध्यान्नमा झरना बनेर झरिदिन सक्छ-खोला भएर कलकल बगिदिन सक्छ र साँझमा डुब्नलागेको घाम झैँ आफ्नो अस्तित्व मेटाएर सागरमा मिस्सिदिन सक्छ । ऊ कहिले रित्तो बजारबाट मीठो अनुभूति

किन्ने प्रयत्न गर्छ त कहिले आकाशको रुप,बादलको आकार र बतासको गति लिएर जीवनमा रङ्ग भर्न खोज्छ ।प्रेमाशक्त मन भावनाको तरेलीमा कति वहकिन सक्छ त्यो सहजै मापन गर्न नसकिने पक्ष हो तर कविले भने प्रज्वल वाणी दिएर भावनाको गहिराइ चुम्दै आफ्नो सिर्जनात्मक क्षमताको परिचय दिन्छन् ।

कवि वसन्त श्रेष्ठ जीवनवादी सर्जक हुन् । जन्म पछि मृत्यु अपरिहार्य भएकाले उनी मानिसलाई राम्रो काम गरेर शहीदको मृत्यु बरण गर्न अभिप्रेरित गर्छन् ।उनलाई भाव बिनाको शब्द मीठो लाग्दैन भने अर्थ बिनाको जीवन पनि जिउन मन लाग्दैन । कवि जीवनको अस्तित्वलाई आत्मसात् गर्दछन् । तर नचाहँदा-नचाहँदै देखिने कुनै कुनै विभत्स दृश्यले जीवनको मोड नै परिवर्तन हुने आभाष उनलाई हुन्छ ।

जीवनको के भरोशा ? सोच्दानसोच्दै एक दिन एक दिन धर्तिबाट चोला उठ्छ । त्यसैले त कवि कल्पनामा होइन बिश्वास र रहरहरूसंगै बाँच्न चाहन्छन् । हाँस्दै गरेको क्षितिज र रुँदै गरको आकाशमा आफूलाई आत्मसात गर्दै कवि नवजात शिशुको मुहारमा मधुर मुस्कान भएर आफ्नो अस्तित्व कायम गर्न चाहन्छन् ।

उनी जताततै खुशी नै खुसीको आँसुमात्र बगेको देख्न चाहन्छन् र सबैमा प्रेमभाव सिञ्चित गरेर मानिसकै रुपमा देवत्व प्राप्त गर्न चाहन्छन् ।

मानिस कल्पनाशील छ । उस्को आँखामा सधैं-सधै सुन्दर सपना नाचिरहेको हुन्छ ।विपनामा उसको सुन्दर सपना भागी-भागी हिडे पनि ,अब मीठो सपना नदेखुँ भन्ने निस्सार भावनामा बगे पनि आखिर ऊ आफ्नो मीठो सपनालाई विपनामा परिणत भएको देख्न चाहन्छ । मानवीय संवेगको यो पाटोलाई कविले मीठासपूर्ण शैलीमा अभिव्यक्त गरका छन् भने मन हाँसेको बेला बिछोड पनि क्षणिक हुने उनको अनुभूति छ ।

सुखको हाँसो र दु:खको रोदनमा कविले जीवनको अस्तित्व भेटेका छन् ।भावनाको लहर उठाएर अक्षरमा कविता कोर्ने कवि प्रकृतिका अनेक रुप र अनेक रङ्गलाई अनुभूत गरेर शब्द संयोजनका माध्यमले त्यही रुप र रङ्गलाई अभिव्यक्त गर्न चाहन्छन् ।मनले मस्तिकलाई भ्रममा पारेको बेला सागर र आकाश टक्क अडिएको र

पहाड हिँडेको पनि मानिसले देख्न सक्छ -कविलाई कल्पनाको शिखर चढ्ने छुट छ । अव्यक्त भावनाको अभिव्यक्तिलाई नै कविता ठान्ने कविले सारा ब्रहमाण्डका सजीव-निर्जीव बस्तुका कथा-व्यथा अभिव्यक्त गर्ने क्षमता राखेका छन् । गाउँको जङ्गल मासिँदै शहर बिस्तार हुँदै गएकोमा कविको मन असन्तुष्ट छ भने टम्म मिलेर बनेका शहरका अग्ला घरहरु बनाउनेहरू तीनै घरका वरिपरि नमिलेका झूप्राहरूमा बसेको देखेर पनि मन कुँडिएको छ । कवि श्रमजीवी वर्गप्रति संवेदनशील र सहानुभूतिशील देखिन्छन् । कविले जीवनलाई विभिन्न कोणबाट हेर्ने जमर्को गरेका छन् भने जीवनको अर्थ खोज्न पनि उनी प्रयासरत छन् । उनले कहिले

जीवनकै छेउबाट मृत्यु गएको देखेका छन् । लेख्नलाई मन ,देख्नलाई भावना र बुझ्नलाई अनुभूतिको चाहना कविको रहेको छ । आम मान्छेको बोली बोल्ने र खुला आकाश समेट्ने मीठा कविता रच्ने कविको आकाङ्क्षा छ ।

-कवि सुख र दु:ख,भाग्य र कर्मलाई जिउनुको सहारा ठान्छन् । गाउँको सुन्दरतालाई उनी पूर्णैको जुनमा डाँडाको थुम्कीबाट निहार्दछन् । प्रकृतिको रमणीयताले उनलाई भावबिभोर बनाउँछ । तेह्रथुमको गाउँमा हुर्केका स्रष्टालाई गाउँ मन पर्छ ,उनी गाउँलेको अभावग्रस्तता र व्यथा-पीडाप्रति सहानुभूतिशील छन् ।

उनी व्यथा र पीडाको सम्बन्ध थाहा पाउन अभावग्रस्त गाउँलेको जीवनको रोदन र क्रन्दन सुन्न आग्रह गर्दछन् । अभावग्रस्तताले सधैं थिचे तापनि गाउँलेहरूको अतिथिलाई स्वागत -सत्कार गर्ने संस्कारबाट उनी मोहित हुन्छन् । गाउँको वरपिपलको चौतारीले छेउमा बस्न निम्त्याएको उनलाई असाध्यै मन पर्छ । उनलाई आफैंले हुर्काएको फलको रूखमा ऐंजेरू लागेकोमा भने दु:ख लाग्छ ।लेकमा छिटोछिटो दगुर्ने कुहिरो देख्दा घामका लागि यसरी नै कोही न कोही भाग्नुपर्ने रहेछ भन्ने बोध कविले गराएका छन् । यात्रामा सधैं हराउने र बिस्मृतिको धुमिल छायाँमा अलपिने कविले गन्तव्य बाटोमा होइन आँफूमै छ भन्ने आत्मबोध गर्छन् । आकाश र बादलको लुकामरीमा धरति अन्यौलको शिकार बनेको उनको अनुभूति छ । गाउँ-पहाड ,खोला-नाला ,रुख-पात प्रकृतिको सुन्दरता प्रदर्शन गर्दै मिलेर बसेको देख्दा कविको मन आल्हादित हुन्छ । मानव जातिले पनि एकापसमा मिलेर बस्ने सुन्दर कलाको ‍ज्ञान प्रकृतिबाट लिनुपर्ने तत्वबोध उनले गराउन खोजेका छन् । उनी प्रकृति विरूद्ध संघर्षरत हुनेहरूलाई आँफ्नै विरुद्ध संघर्ष गरिरहेको ठान्दछन् भने अहं-ग्रस्त मान्छेलाई मान्छे विरुद्धकै मान्छे ठहर्दछन् । उच-नीचको बिभेदकारी प्रवृतिका विरुद्ध कविले आँफूलाई उभ्याएका छन् । उच-निचको गन्ध मिसिएको पाइलामा उनी कुरुपता मात्र देख्छन् ।

मानिस स्वयं प्रकृतिको सुन्दर उपहार भए पनि ऊ भित्रको अहं भावानाले मान्छे विरुद्ध उभ्याएको उनी ठान्छन् ।

- कवि वसन्त श्रेष्ठका कवितामा मानवीय भावना ,प्रकृतिसित आवद्ध जीवनको सुन्दरता ,आफ्नो गाउँ-ठाउँको परिवेशको मधुर चित्रण भेटिन्छ भने मुक्तक शेलीका उनका छोटा कविताहरु सुकोमल हृदयस्पर्श गर्दै भाव प्रवाहमय बनेका छन् ।पाठकहरुसित आत्मीय सम्बन्ध स्थापना गर्न कवि सपल छन् ।कविको बेगवान अनुभूतिलाई पाठकवर्गले सजिलै आत्मसात् गर्दछ ।उनका छोटा मुक्तकहरुले जीवनको अर्थ खोजेका छन् । नेपालका गाउँ-घर ,डाँडा-काँडा ,पाखा-पखेरा र खोला-नालाहरूको मधुर स्मृतिले सुन्दरानुभूति गराउँदै कविलाई निरन्तर भावोत्तेजित गराइरहेको सहजबोध हुन्छ ।आफ्ना अनुभूतिलाई सरल शब्दावलीमा व्यक्त गर्न कवि खप्पिस देखिन्छन् ।उनको सिर्जनशील कवि-प्रतिभा र लगनशीलताको सुसंयोजन उनका कविताले गरेको सहजै अनुभूत गर्न सकिन्छ ।उनका कवितामा प्रकृति प्रेम र राष्ट्रप्रेमको झझल्को जतातते पाइन्छ ।

-’भवनाका लहरहरू’ -यथार्थमा मुक्तक सङ्ग्रह हो । सिद्धहस्त कविका मुक्तकहरू सुललित शैलीमा बगेर मानव-हृदयलाई सजिलै स्पर्श गर्नसक्छन् र भावनाको गहिराइमा डुबाउन सक्छन् । स्पर्श र अनुभूतिका कविताले संवेदनाका गूढ तथ्यहरूको उद्घाटन गरेको हुन्छ ।बसन्त श्रेष्ठका यी मुक्तकहरु सहज र स्वीकार्य छन् ।यस कृतिको भूमिका लेख्ने क्रममा प्रसिद्ध समालोचक डा.तारानाथ शर्मा भन्नुहुन्छ- “यी छोटा मुक्तकहरू जीवनको अर्थ खोज्छन् ।छन्द र अनुप्रासका जटिल बन्धनहरूबाट उन्मुक्त यी रचनाहरूको भाषा सरल,सहज र सजीव छ र यसभित्रको तीव्र अनुभूतिले हृदय हल्लाउँछ ,मस्तिष्कलाई झंकृत पार्छ र विचारहरूको पल्टन उभ्याएर पाठकको अस्तित्वलाई नै माथिदेखि तलसम्म झक्झक्याउँछ ।”समालोचक शर्माको यो भनाइसंग पूरै सहमति जनाउन सकिन्छ ।कविका छोटा कवितात्मक अनुभूतिहरू स्वाभाविक छन् -आत्मीय छन् । यो कृतिले वसन्त श्रेष्ठको सिर्जनशील कवि व्यक्तित्वलाई राम्रोसंग उजागर गरको छ भन्नु कुनै अत्युक्ति हुनेछैन ।

उज्यालो खोज्ने आवाजहरू

-------------------------------

-उज्यालो खोज्ने आवाजहरू’ -कवि वसन्त श्रेष्ठको तेस्रो कविता सङ्ग्रह हो । १५ असार २०६७ मा प्रकाशित यो कविता सङ्ग्रहमा १९ वटा कविताहरू सँगालिएका छन् । नेपाली भाषा ,साहित्य र संस्कृतिको उन्नयनमा अरू स्रष्टासंग सहकार्य गर्दै आएका कवि बसन्त श्रेष्ठ निरन्तर कविताको आराधनामा छन ्भन्ने कुराको प्रमाण त क्रमिक रुपमा प्रकाशित हुँदै आएका उनका कविताले नै दिएका छन् ।विगत दुइ दशक भन्दा लामो समयदेखि संयुक्त राज्य अमेरिकामा बसेर जीवन-वृत्ति चलाइरहेका कवि श्रेष्ठले परदेशीय जीवनका पीडा र व्यथालाई एकातिर प्रत्यक्ष अनुभूत गरेका छन् भने अर्कातिर असीमित सुख-सुबिधा उपभोगको अवसर प्राप्त भए पनि परदेशमा मन नरमाउने र सन्तुष्टी नमिल्ने भावनात्मक पक्षको उद्घाटन गरेका छन् ।उनकै शब्दमा भन्ने हो भने-’कर्मभूमि जहाँ रहे पनि र जति बर्ष रहे पनि आफ्नो मातृभूमि जस्तो कहिले पनि नहुँदो रहेछ ।’यो कविता सङ्ग्रहमा समाविष्ट अधिकांश कविताहरू परदेशीय मनोदशा उजागर गर्न उद्यत छन् भने स्वदेशको महिमा गानतिर पनि लक्षित छन् ।आफ्ना मनोवेगहरूलाई सुललित शैलीमा काव्यवाणी दिएर सार्वजनिकीकरण गर्न कवि सिपालु छन् ।कवितालाई मनको सुन्दर अभिव्यक्ति ठान्ने कविले मानव जीवनका अनेक पहलुलाई सुन्दर शब्दावलीमा प्रस्तुत गरेर सहृदयी पाठकको मन जितेका छन् ।उनका कवितामा समय-सापेक्ष चेतनाको प्रवाह एकातिर छ भने अर्कातिर वर्तमान परिस्थितिको पनि यथार्थ चित्रण छ ।उनका कवितामा नेपाली माटोको सुवास छ । आप्रवासी नेपालीहरूको जन्मभूमिप्रतिको आशक्ति प्रदर्शन गर्ने प्रतिनिधि कविका रुपमा पनि उनले आफूलाई स्थापित गरेका छन् ।आप्रवासी साहित्यका प्रतिनिधि कविका रुपमा उनको स्रष्टा व्यक्तित्व निरन्तर उकाली चढ्दै छ भन्ने आभास उनको यो तेस्रो कविता सङ्ग्रहले दिएको छ ।

-उज्यालो खोज्ने आवाजहरू ‘मा समेटिएको पहिलो कविता ‘वर्तमान ‘ हो ।जीवन-वृत्ति चलाउन र सुखद भविष्य निर्माण गर्न जन्मभूमिबाट हजारौं कोस टाढा बिरानो देश, बिरानो ठाउँ र कहिल्यै नसोचेको गाउँमा जीवनचक्र घुमाउन पुगेकाहरू ज्ञान र शीपलाई बन्धक राखेर आफ्नो पसिना र समय साटिरहेका छन् । वर्तमान उनीहरूको होइन अर्काकै छ । थुप्रै समय बित्दा पनि वर्तमानलाई आफ्नो बनाउन नसकेको पीडालाई कविले हृदयस्पर्शी वाणी दिएका छन् ।आप्रवासी मनको पीडा छचल्किएर ‘वर्तमान’मा अभिव्यक्त छ ।

‘-युग कवि’-युग कवि सिद्धिचरण श्रेष्ठको स्मृतिमा रचिएको यो कविता श्रद्धा सुमनले भरिएको छ ।

-’मन दु:खेको बेला “-मा मानव मनको मिहिन विश्लेषण छ । ंमानिसको मन कहिले खुशी हुन्छ त कहिले दु:खि ।मन दु:खेको बेला मान्छेको मन कठोर ढुँगा बनेर जान्छ-,खुशीमा मुस्कुराउने ओठहरू कलेठी परेर फाट्दैजान्छन् ।सुन्दर सपना देख्ने यी नयनहरू -बीभत्सतामात्र देख्न किन विवश छन् ? कवि आफैंसंग

प्रश्न गर्छन् ।कतैबाट शुभ-सन्देश नपाउँदा खशीका क्षणहरू कतै देखिँदैनन् ।मन दु:खेको बेला उत्पन्न हुने नैराश्यको स्थितिलाई कविले स्वाभाविक रुपमा उजागर गरेका छन् यहाँ ।

-’भावनाको न्यानो श्पर्श’-मा कवि जङ्गलभरिभरी गुराँसका राता थुङ्गाहरू देखिनु पर्ने आशामा हुन्छन् तर बाक्लो कुहिरो र ऐजेरुले गुराँसमात्र होइन बोट नै नदेखिने भएपछि गुराँस फुल्दा हाँस्ने मनलाई नियास्रो लाग्छ ।पहारिलो घाम लाग्ने बिश्वासमा तुषारापात भए पनि भावनाको न्यानो स्पर्शका अनुभूतिभित्र कवि सुन्दरानन्दको बिश्वास कहिल्यै नमेटिने आकाङक्षा राख्छन् ।

- “भाषा :शान्ति र सिर्जनाको “कवितामा उनले कुनै पनि तानाशाही सत्ताले भाषाको मायालाई,कलमको शक्तिलाई र प्रतिभाको भेललाई कदापि रोक्न नसक्ने र जनचेतनाका लहरहरूलाई नेलले बाँध्न पनि नसक्ने तत्वबोध गर्दे निर्माण र विकाससंगै शान्ति र सिर्जनाको बिगुल फुक्न आव्हान गर्दछन् ।

-”मेरो देश’- देशभक्तिको भावनाले ओतप्रोत भएको कविता हो । बुद्धको अहिंसा परमो धर्मको पाठ संसारलाई पढाउने ,कला र संस्कृतिको महत्त्व देश विदेशमा फैलाउने र वीरताको इतिहास निर्माण गर्ने आफ्नो देश बारुद,गोला र हत्याको देश भनेर चिनिन थालेकोमा र कसैको उपनिवेश नबनेको देश आज एकाएक एकादेशमा आफैं हराउनतिर उन्मुख बन्न लागेको देखेर कवि खिन्न हुन पुगेका छन् ।शान्ति त शोषित ,पीडित- उत्पीडित सबैमा समाहित हुनुपर्छ भन्ने धारणा राख्दै शान्ति र विश्वास आ-आफैंभित्र खोज्न र देशको अस्मिताको रक्षा गर्न अमरसिंह र भक्ति थापाको वीरताको रगत आ-आफ्नो छातिमा छाम्न आव्हान गर्दछन् ।

- ‘आँसु “कविता कविको वर्तमान कर्मभूमि संयुक्त राज्य अमेरिकाका ४४औं राष्ट्रपति बाराक ओवामाको शपथ -ग्रहण समारोहको रेखाचित्र हो भन्ने सर्जककै कथन छ ।उनले यहाँ दु:ख- पीडा र व्यथा - वियोगमा आउँने आँसुको होइन आमूल परिवर्तनको चाहनाको प्रतीक बनेर सुनिश्चित भविष्यको उज्यालो तिर मोडिँदा आउने आँसुको चर्चा गरेका छन् । विजयोत्सवमा आँउने हर्षाश्रुले मनोकाङ्क्षित परिवर्तनको अपेक्षा गरेको हुन्छ ।अश्वेत महामानवको बेग्लै पहिचान बोकेर आएका ओवामाप्रति उनको बेग्लै आस्था छ र उनी भेदभावरहित समाज-निर्माणमा उनको बिशेष भूमिका रहोस् भन्ने आकाङ्क्षा राख्दछन् ।

--”तिम्रो मृत्यु “-यो कविता ताप्लेजुङ्को धुन्सेमा भएको हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएका शरद

राईको सम्झनामा लेखिएको हो । दिवंगत राई कवि श्रेष्ठका मित्र हुन् । समय र भूगोलसंगै यी दुइ मित्रबीच दूरीबढेको भए पनि उनको मृत्यु नहुँदासम्म भेटिने संकल्प र विश्वास थियो तर उनी कहिल्यै नफर्किने बाटोमा गएपछि उनको अभाव जीवनभर खड्किने पीडाबोध भएको छ । मृत्यु अवश्यंभावी तीतो सत्य भएपनि

मृत्युको खवर जो कसैका लागि पनि कारुणिक बन्छ । उनको मृत्युमा कविले आफ्नो हार मानेका छन् । आफ्ना घनिष्टतम मित्रको असामयिक अवशानले जसलाई पनि ठूलो अवशादमा पार्दछ । मानवीय संवेगलाई कविले यहाँ राम्रोसंग उतारेका छन् ।

--”समयको गति -”समय गतिशील छ ।यो कसैले रोकेर रोकिन्न ।समयक्रममा भबिष्यको लामो रेखा कोरिए पनि रङ्गीन सपनाको पीरती बाँधिए पनि थुप्रै आकाँक्षा बाँकी रहे पनि समयको गतिसंगै अनपेक्षित परिणामहरू भोग्न मानिस बिवश हुन्छ । कविकै शब्दमा भन्ने हो भने ‘-जीवन सोचे जस्तो हुन्न रहेछ ,थुप्रै आकाँक्षा बाँकी रहे पनि चङ्गा चुडिए झैं चुँडिन सक्तोरहे छ ,माया र प्रेमको धरोहर एक पलमै ढल्दो रहेछ । समयको गतिसंगै जीवन शून्य बन्दोरहेछ । समय बलवान छ,उसको गतिलाई कसैले रोक्न सक्दैन ।कविको अनुभूतिमा स्वाभाविकता छ ।

--’प्रतिक्षा -” कवि नीरव कालरात्रिपछिको सुनौलो बिहानीको प्रतिक्षामा छन् । जुर्मुराएका राष्ट्रियताका प्रतीकहरु यथास्थितिमा चुपचाप चुपचाप शिथिल बनेर थन्किएपछि उनीभित्रको परिवर्तनको आकाङ्क्षा लामो प्रतीक्षाको बिन्दुमा पुग्छ ।हाम्रो समाजमा जति जति परिवर्तन भएका छन् तिनले जन आकाँक्षा अनुरुपको आमूल परिवर्तन ल्याउन सकेका छैनन्, यथार्थमा यथास्थितिले नै निरन्तरता पाएको छ । कवि आमूल परिवर्तनका पक्षपाती छन् र लामै समयको प्रतीक्षामा बसेका छन् ।

--” मधुमास-’ -मधुमास सुन्दर भविष्यको कल्पनामा,सुन्दर भविष्यको विश्वासमा र अविरल मायाको अपेक्षामा अदम्य प्रेमप्रति समर्पित भावनाको प्रतीक हो । कुनै नव-दम्पतिको सुहागरात जस्तो लाज,सङ्कोच,विश्वास ,अविश्वास,शङ्का- उपशङ्काको घेराभित्र मधुमासको गीत बज्दैनबजीटुङ्गिने पो हो कि भन्ने आशंका कविको मनमा उब्जे पनि माया ,प्रेम र विश्वास विपरीत कुनै सम्झौता नगर्ने र हक अधिकार र बलिदानप्रति सधैंसचेत रहने उनले कसम खएका छन् । भावनाको गहिराइमा डुब्दा पनि अधिकार र कर्तव्यप्रतिको सचेता कविको प्रस्तुतिमा देखिने बिशेषता हो ।”तिमी र म अनि हाम्रो प्रेमको कथा ‘-पनि माया साटासाटमा रमेका युगल जोडीको रोमाञ्चकता अनुभूत गराउन सक्षम कविता हो ।

-”मृत्युबोध ‘-जन्म पछि मृत्यु अवश्यंभावी छ तापनि विचार र प्रेमका भावनाहरू बेरोक्टोक सल्बलाइरहेको अनुभूति मानिसले गरिरहेकै हुन्छ । मृत्यु चाहेर पनि आउदैन र नचाहेर पनि आउँछ । कसको मिति कहिले पुग्छ कसैलाई थाहा हुँदैन । कवि सधैं-सधैं मृत्युबोध गर्दै त्यसको बिना सर्त र वाध्यताबस प्रतिक्षारत रहेको अनुभूत गराएर शास्वत सत्यको पक्षमा आफूलाई उभ्याएका छन् ।

-’सागर र मन “- मनको चञ्चलतालाई सागरको लहरको चञ्चलतासंग तादात्म्य गराएर कविले सागरको लहरभित्र आफ्नो मनको उद्वेग छामेका छन् । अविरल गतिले दौडिरहेको सागरको लहरसंगै उनको मन पनि अनेकौं कथा-व्यथा बोकेर सुनामी ल्याइरहे छ । मानव मनको चञ्चल अवस्थितिको यहाँ राम्रो चित्रण छ ।

-’मेरो देशको परिवर्तन “-जन्मभूमि नेपालको वर्तमान परिस्थिति र परिवर्तनपछिको आकाङ्क्षाबीच कुनै तालमेल नहुँदा कुँडिएको मनले परिवर्तन त अधोगतितिर पो भएको अनुभूत गर्छ । देशमा भूखमरी छ ,चेलीहरू बेचिँदै छन् । युवा-युवतिहरू विदेशिन वाध्य छन् । शहरमा वत्ती छैन , पानी छैन ,त्रास आतङ्क र अभावको राज छ ।परिवर्तनले शान्ति ,प्रगति र विकास ल्याउन सकेको छैन । मान्छेको खोल ओडेर बुख्याचाहरू बसिरहे छन् । परिवर्तन जड बनेर उभिरहेछ । भाषा र संस्कृतिका मान्यताहरू हराएका छन् । बच्चाहरू युवा भए,युवाहरू बुढा भए तर परिवर्तन हिमाल झैं स्थीर र पहाड झैं अटल भएर बसेको छ । कविले देशको वर्तमान परिस्थितिको यथार्थ चित्र यहाँ प्रस्तुत गरेका छन् । देशको वर्तमान अवस्था जडवत भएपनि कवि आशावादी छन् ,एक दिन न एक दिन चेतनाको लहर उठेर हामीलाई ब्युँझाउने बिश्वास उनमा छ ।

-”उज्यालो खोज्ने आवाजहरू “--मुलुकमा उज्यालो खोज्न हिडेका आवाजहरू कतै बास बस्छन् त कतै राँका बालेर दौडन्छन् ,उज्यालो खस्न नपाउँदै रातपर्न थालिसक्छ ।राँको बोक्ने अगुवाहरू त भेटिन्छन् तर उज्यालो भेटिँदैन ।इमान र नैतिकतालाई त अगुवाहरूले नै राँको संगै जलाएका छन् ।उज्यालो खोज्ने आवाजहरू अराजकताको चपेटामा भीडले कुल्चिएर निमिट्यान्न बन्न सक्ने आशङ्का कविले प्रकट गरेका छन् ।

- “बाल्टिमोर मेरो आँखामा “- यस कवितामा कविले बाल्टिमोर सहरको ऐतिहासिक महत्व दर्शाउँदै महिमा गान गरेका छन् । अमेरिकाले बेलायती उपनिवेश बिरुद्धको लडाइँ जितेर स्वतन्त्रताको झण्डा पहिलोपटक फहराएको ऐतिहासिक शहर बाल्टिमोर हो ।वीरताको निसानी बोकेर यो सहर युगौंयुगदेखि बाँचिरहेछ ।

कविले यो ऐतिहासिक स्थललाई विश्वबन्धुत्वको संगमस्थल र मानवताको रक्षा गर्ने केन्द्रिय स्थल मानेका छन् ।उनले नेपाली कला र संस्कृतिको परिचायक बनेको हिमालयन हाउसको छतमा उभिएर अमेरिकी स्वतन्त्रताको झण्डा फहराइको नियालिरहेका छन् ।

उनले बाल्टिमोरको आँखामा बुद्धको छायाँ र भावनामा सगरमाथाको माया भेटेका छन् ।उनले बाल्टिमोरको हार्वर भरि नेपाली कला र संस्कृतिको झल्को भेटेका छन् ।स्वतन्त्रता ,मानवता ,विश्वबन्धुत्वको भावना र विश्वशान्तिको महत्व र गरिमाले सहृदयी कविलाई भावविभोर बनाएको छ ।

उनको काव्यिक परिवेशमा कर्मभूमि अमेरिका र जन्मभूमि नेपाल एकसाथ उत्रिएका छन् ।

“मन हाँसेको बेला “- यो कवितामा आल्हादित मनस्थितिको स्वाभाविक चित्रण भएको छ ।मन हाँसेको बेला

दु:ख-व्यथा र दर्द-पीडा पनि क्षणिक बन्छन्-जीवन सुन्दर लाग्छ ।कविले यहाँ मानवीय संवेगलाई सहज स्पर्श गरेका छन् ।

-”अब अलिकतिमात्र बाँकी छ “-यो कवितामा कविले पुराना अबशेष हटाउने र समाजलाई रुपान्तरण गर्ने आकाङ्क्षा राखेर परिवर्तनकामीहरूले थकाइमार्न छोडेर जुट्न बाँकी रहेको सन्देश प्रवाह गरेका छन् । जन अपेक्षित परिवर्तनका लागि गाउँ-गाउँका जनता सबका सब आफनो खेत-बारी छोडेर आन्दोलनमा होमिए तर थुप्रैलाई बलिदान दिएर आफ्नै थलो र आफ्नै खलोमा फर्केकाहरूले छलकपट,धोखा र झूटो आश्वासन बाहेक केही पाउन सकेनन् ।

पुरानै शैली ,पुरानै अवशेष बाँकी नै रह्यो ।आमूल परिवर्तनको आकाङ्क्षा थाति नै रह्यो । जनआकाङ्क्षा अनुरुप परिवर्तनले सकारात्मक गति नलिएको देशको वर्तमान परिस्थतिलाई कविले यहाँ साक्षात्कार गराएका छन् । देशको समसामयिक गतिविधि जनआकाङक्षा अनुरुपनभएकोमा कवि व्यथित छन् तर निराश छैनन् ।उनी पुराना अवशेष हटाउन अझै ठल्न बाँकी रहेको निष्कर्षमा पुगेका छन् ।

कवि वसन्त श्रेष्ठका प्रकाशित तीनवटा कविता सङ्ग्रहले उनी भित्रको सिर्जनात्मक प्रतिभाको परिचय दिएको सहजै स्वीकार गर्न सकिन्छ ।साहित्यले मानव समाजका तीता -मीठा प्रसङ्गहरू र मानव मनका यावत अनुभुतिलाई वाणी दिएर आफ्नो परिवेश विस्तार गर्दै आएको छ । कवि बसन्तका कवितामा मानवीय स्वभाव,प्रवृति र चरित्रको प्रष्ट प्रतिबिम्बन देखिन्छ । भौतिक रुपमा उनी मातृभूमिबाट धेरै टाडा छन् तापनि उनमा देशभक्तिको भावना प्रचूर छ । भाषा-साहित्य र संस्कृतिप्रतिको अनुरागले उनलाई सिर्जनाको बाटोतिर धकेलिरहेको देखिन्छ ।भूगोलको कुनै पाटोमा बसे पनि हामी नेपालीको पहिचान

लिएर नै बाँचौं -हाम्रो भाषा ,साहित्य र संस्कृति सधैं बचाइराखौं भन्ने उनको भावना र बिचार छ ।उनीआफ्नो मनमा उर्लिएका भावना र बिचारलाई कविताका माध्यमले सार्वजनिकीकरण मात्र गर्दैनन् अरूलाई पनि प्रेरित गरिरहन्छन् कुशल संगठक भएर । परदेशीय नेपाली साहित्यको वारेमा चर्चा-परिचर्चा गर्दावसन्त श्रेष्ठको सिर्जनात्मक र संगठनात्मक योगदानको उल्लेख नगर्ने हो भने त्यो अधुरै रहन्छ ।

आप्रवासमा रहँदा मातृभूमि -जन्मभूमिको यादले कति सताउँछ र साथी-सङ्गतिको सम्झनाले कति

पिरोल्छ भन्ने बोध उनका कविताले सहजै बोध गराउँछन् । मानव मनका अनेक अनुभूतिलाई आत्मीय

बनेर प्रस्तुत गर्न उनी सक्षम छन् । प्रतीक र बिम्बको प्रयोग गर्दै समय सापेक्ष चेतना प्रवाह गर्न र भावनाको गहिराइमा पाठकलाई

डुबाउन उनी सफल देखिन्छन् । प्रौढताको नजिक पुग्दैगरेका कविको सरल भाषा शैलीले परिमार्जनको शिखर चढ्न बाँकी नै रहेको अनुभूत हुन्छ तापनि उनमा रहेको भावनात्मक उर्जा र सिर्जनशीलताले समयक्रममा नयाँ उच्चाइ र गति लिने अपेक्षा गर्न सकिन्छ । स्रष्टा वसन्तले कर्मभूमि अमेरिकामा बसेर व्यस्त जीवनका बीचमा पनि मातृभूमि,मातृभाषा-राष्ट्रभाषा र साहित्य-संस्कृतिको मौलिक पहिचान कायम गर्न जुन समय खर्चिएका छन् त्यो अरुका लागि पनि प्रेरणाप्रद छ । उनले अमेरिकी-नेपाली समाजलाई नजिकबाट देखे-भोगेका छन् । भौतिक संमृद्धिको नयाँ सागरमा हेलिए पनि विरानो देशमा आत्मसन्तुष्टि मिल्न नसकेको अनुभूतिले आप्रवासी नेपालीहरूलाई आफ्नो भाषा ,साहित्य र संस्कृतिको रक्षा र मौलिक पहिचानका लागि जागरुक रहन निरन्तर अभिप्रेरित गरिरहेको प्रचूर आभास कवि वसन्तका रचनाले दिएका छन् । उनका कतिपय कवितामा आप्रवासी नेपाली मनको दु:ख,दर्द र व्यथाको सङ्गम भेटिन्छ ।यस अर्थमा ऊनी आप्रवासी नेपालीका प्रतिनिधि कवि बन्न पुगेका छन् । परदेशीय नेपाली मनको अव्यक्त भावनालाई सहज बोधगम्य शब्दावलीमा उजागर गर्न जति प्रयत्नरत छन् उत्ति नै सफलताको नजिक पनि छन् । संयुक्त राज्य अमेरिकामा हजारौं-हजार नेपालीहरू अवसरको खोजीमा प्रवेश गरेका छन् । आफ्नो योग्यता ,क्षमता र ग्यानको उपयोग गरेर भौतिक सुख-सुविधाको पनि उपभोग गरिरहेका छन् तर स्वदेशमा जस्तो आत्मसन्तुष्टि अनुभूतिमा छैन । कवि बसन्तकै कथन छ -आफू परदेशिएको पनि थुप्रै वर्ष भैसके छ तर कर्मभूमि जहाँ रहे पनि र जति बर्ष रहे पनि आफ्नो मातृभूमि जस्तो कहिले नहुँदो रहेछ । जिउनुको सौन्दर्यता त आफ्नै जन्मभूमिमा मात्र भेटिँदो रहेछ ।”

कवि वसन्त श्रेष्ठले परदेशीय नेपालीका बाध्यता ,बिबशता, भबिष्यप्रतिको चिन्ता र कथा व्यथालाई आफ्ना रचनामा उतारेका छन् भावना र विचारको सुसंयोजन उनका कवितामा भेटिन्छ । समालोचक डा. तारानाथ शर्माको भनाइमा-” कवि वसन्तका कविता सुललित,सहज र सशक्त छन् ,आफ्नै माटोको सुवासले युक्त छन् । तिनको वेग कञ्चनजङ्घामा प्रवाहित हुने स्वच्छ वायुकै जस्तो अथवा तमोर नदीको कलकल बग्ने सङलो र जीवनदायी जल जस्तै आशावादी र प्रेरणादायी छ ।’ अर्का समालोचक डा.देवी प्रसाद सुवेदीका शब्दमा -”उनका कवितामा फुल्न नसकेका गुराँसहरु,बोल्न नसकेको बुद्धत्व ,उड्न नसकेका शान्तिका परेवाहरू ,विदेशिएका युवा-युवतिहरू र बेचिएका चेलीहरूको अन्तर्वेदना झल्किन्छ ।उनी समसामयिक चेतनाका शिल्पी कवि पनि हुन् । उनी सरल र सर्व-संवेद्य भाषा शैलीका कवि हुन् ।उनी भाषाको जटिल सञ्जाल नबुनिकनै सरल संरचनाद्वारा पाठकहरूलाई आकर्षण गर्छन् ।” उनको काव्यिक बिशिष्टताका वारेमा अर्का कवि तथा “उज्यालो खोज्ने आवाजहरू” प्रकाशनमा ल्याउने एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठको भनाइ छ -एकालापसँग कविता सिर्जना गर्नु र त्यसैमा हराएर एकाकी मनोयोगमा हराउनु उनको दिनचर्या नभै सहचार्य,सहबिचार र सद्भावनाका साथ आफू पनि लेख्ने ,लेख्नेहरुलाई प्रोत्साहित गरेर सँगै लिएर जाने तथा अग्रजहरुको यथा आदर र सम्मान गर्दै नवागन्तुकहरूलाई स्नेह दिनु नै हो ।” कवि वसन्त श्रेष्ठ परिष्कार र परिमार्जनको सिँढी चढ्दै अन्तरमनका अव्यक्त भावनालाई सशक्त वाणी दिन र सम्भावनाका नयाँ ढोका खोल्न निरन्तर लागिपर्ने छन् भन्ने आशा क्रमिक रुपमा प्रकाशनमा आएका उनका कृतिले नै जगाएका छन् । सहृदयी पाठकहरू उनका थप कृतिहरूको प्रतिक्षामा छन् ।

सन्दर्भ सूची

------

१.अधिकारी, ज्ञानु,प्रायोगिक समालोचना केही प्रतिरूप ,काठमाडौं: भुंडी पुराण २०६७ ।

२.एटम,नेत्र ,समालोचनाको स्वरूप ,ललितपुर ,साझा प्रकाशन ,२०६१ ।

३ .गौतम ,लक्ष्मण ,समकालिन नेपाली कविताको बिम्बपरक विश्लेषण ,ललितपुर,साझा प्रकाशन ,२०६०

४.गिरी ,गोबिन्द , सम्पा . बसन्तका कविता ,अमेरिका ,लक्ष्मी श्रेष्ठ ,२०६४ ।

५. प्रसाई, कृष्ण सम्पा.नेपाली समसामयिक कविताहरू ,काठमाडौं ,भट्टराई स्मृति मण्डप ,२०४८

६.लुइटेल ,खगेन्द्र प्रसाद ,कविता सिद्धान्त र नेपाली कविताको इतिहास ,काठमाडौं ,नेपाल राजकीय प्रज्ञा

प्रतिष्ठान २०६० ।

७. सुवेदी ,अभि र अन्य ,सम्पादन ,नेपाली समसामयिक कविताहरू , काठमाडौं ,नेपाल राजकीय प्रज्ञा

प्रतिष्ठान , २०५५ ।

८.श्रेष्ठ ,मधुकृष्ण माधुर्य ,प्र .सम्पा .नेपाल बाहिर नेपाली साहित्य ,काठमाडौं,दिनेश बस्नेत ,२०६२ ।

९.श्रेष्ठ ,बसन्त ,भावनाका लहरहरू ,

१०. श्रेष्ठ ,बसन्त ,उज्यालो खोज्ने आवाजहरू ,

११.शर्मा ,तारानाथ ,प्र.सम्पा. ,उत्तर अमेरिकाका नेपाली कवि र कविता , अमेरिका-क्यानाडा,उत्तर अमेरिकाका

नेपाली कवि र कविता सङ्ग्रह प्रकाशन समिति ,२०६६ ।

१२.शर्मा ,तारानाथ ,नेपाली साहित्यको इतिहास ,तेस्रो संस्करण ,काठमाडौं,नवीन प्रकाशन,२०५१

१२.शर्मा ,मोहनराज र दयाराम श्रेष्ठ ,नेपाली साहित्यको सङ्क्षिप्त इतिहास ,तृतीय संस्करण ,काठमाडौं,

साझा प्रकाशन ,२०४६ ।

१३.सुवेदी होमनाथ ,समुन्द्रपारका समालोचना ,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ,अमेरिका ,२०६७ ।

१४.गौतम ,भारती ,स्मारिका -प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन ,न्यूयोर्क-अमेरिका ,२०६७ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।