18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चाँदनीको व्यथाको संछिप्त विवेचना

कृति/समीक्षा सदानन्द अभागी December 23, 2011, 2:59 am
सदानन्द अभागी
सदानन्द अभागी

भूमिका

मोतीराम भट्ट (१९२३ –१९५३) देखि लक्ष्मीदत्त भट्टसम्म (चाँदनीको व्यथा, २०६८सम्म) आइपुग्दा नेपाली गजल विद्याले निकै ठूलो फन्को मारिसकेको छ । मोतीरामभट्टले मोती मण्डली खडा गरेर गजललाई महत्वपूर्ण स्थान दिएको र नेपालमा गजल भित्र्याउने काम गरेका थिए । बि.सं. १९४०ताका मोतीराम भट्टबाटै थालनी भएको गजल लेखन बि.संस २००२(प्रारम्भिक काल )सम्म क्रमिकरूपमा चले पनि बि.सं. २००२–२०३५सम्म प्राय गजल प्रकाशन क्रम अघि बढ्न सकेको थिएन । यस काललाई गजल लेखनको बिलुप्त काल भनेर चिनियो । बि. सं २०३६साल देखि गजल लेखनको कार्य पुन अघि बढ्यो । गजल लेखन क्रमिकरूपमा अघि बढ्दै गयो । बि. सं. २०३६ साल देखि २०५०सम्मलाई गजल लेखनको पुनर्जागरण कालमा गनिन थाल्यो । यसरी नै बि. सं. २०५१ देखि आजसम्मको ( चतुर्थ चरणको) काललाई उर्बरक काल अर्थात विकास कालमा गणना गरेको पाइन्छ । वास्तवमा भन्ने हो भने आजको युग त उत्तरआधुनिक कालको युग हो । २०५१ देखि यताको काललाई पनि पुन बर्गीकरण गर्नु पर्ने समय आइ सकेको छ । आजको युग भनेको उत्तर आधुनिक युग हो र यस युगमा उत्तर मानवले प्रवेश पाई सकेको छ । नेपाली गजलको लेखन प्रवाह पनि सागरको रूपमा प्रवेश गरिसकेको छ ।

कृतिको संक्षिप्त विवेचना

गजलसङ्ग्रह अध्ययान गर्दा गजल अति शिष्ट भाषामा लेखिएको पाइन्छ । यस गजलको चिरफार “चाँदनीको व्यथा माथी दृष्टि गोचर गर्न खोज्दा..” शीस्र्षक दिएर गोर्खे साइँलोले गजल लेखनको इतिबृत देखि हालसम्मको यथार्थतालाई प्रष्ट्याउने कोसिस गर्नु भएको छ । आजको सन्दर्भमा गोर्खे साइँलोले गरेका साहित्यिक गति विधिहरूमा यो अति महत्वपूर्ण काम हो भन्न सकिन्छ । यसरी तन, मन र धन सहित साहित्यिक क्षेत्रमा लाग्ने स्रष्टाहरू निकै कम पाइन्छन् । गोर्खे साइँलो एउटा अनुकरणीय व्याक्ति हुन भन्न करै लाग्दछ । महाकाली साहित्य सङ्गम कञ्चनपुर तथा गुगुल्डी मासिक साहित्यिक पत्रिकाका प्रधान सम्पादक वीरबहादुर चन्द बिश्रामले “शब्द पुष्पका दुई गुच्छा” शीर्षक दिएर लेख्नु हुन्छ –“.समसामायिक राजनैतिक विकृति माया प्रेम आफन्तबाट धोका अन्याय, अत्याचार, पक्षपात र भ्रष्टचार बढेको प्रति भट्टजीका शेरहरुले मार्मिक र मिठासका साथ चोटिलो प्रहार गरेको छ । प्रत्येक शेरहरू पठनीय र मननीय छन् । काफिया र रफिद, तखल्लुसको उचित प्रयोग भएको छ ।” मेरा गन्थन शीर्षक दिएर स्वयं गजलकारले लेख्नु हुन्छ –“.......समाजमा देखा परेका कुसंस्कार विकृति, लुट–कपटपूर्ण व्यवहार, मानवीय संवेदना र आप्mनो जीवनमा आँफैले भोग्न परेका तिता–मीठा अनुभूतिको साथै आपूm बसेको ठाउँमा नदीमा आउने बाढीको प्रवाहबाट मनमा उठेका भावनारूपी ज्वार–भाटाका लहरहरूलाई गजलको संज्ञा दिने घृष्टता गरेको छु ।” गजलकारले चाँदनी र दोधरा जो महाकाली र जोगबूढा नदीको बीचमा पर्दछ र यी दुई नदीको डुवानले गर्दा त्यहाँका जनताले भोग्न परेको दुख, प्राकृतिक प्रकोप, सामाजिक संरचना, आर्थिक पक्ष, छिमेकी राष्ट्रको नेपाल प्रतिको व्यवहार, सीमा अतिक्रमण सुदूरपश्चिको प्राकृतिक सुन्दरता, भौगोलिक विकटताका यथार्थतालाई समेटे रगजल लेख्ने प्रयास गरेका छन् –

चाँदनी र दोधा्राको रमणीय ठाउँ हजुर

थोरै खुसी धेरै व्यथा सम्श्रिण गाउँ हजुर

(गजल–१,पृष्ठ– १)

श्रीलङ्काको टापुजस्तै सत्य प्रेमी बस्ने ठाउँ

माटो लुट्न छिमेकीले सधैं खोज्छ दाउ हजुर

(गजल–१,पृष्ठ– १)

देश भक्त भन्नेहरू शिर झुक्दा नबोल्ने रे

चाँदनीको इज्जतमा चोट पुग्दा नबोल्ने रे

(पृष्ठ –५ गजल –५)

वास्तवमा गजलकारले यथार्थ पोख्न खोजेका छन् । पशुपति नगर देखि दशगजा हुँदै कालापानी सम्म र सुस्ताका जनताले भोगेका र भएको सीमा अतिक्रमणका पीडाहरूमा राज्यको पहल सशक्त हुन सकेको छैन । यसरी नै देशले बोकी रहेको द्वन्द्वलाई पनि गजलकारले समेटेका छन् –

झुपडीमा बस्ने मानिस यातना र हत्या हुँदा

सधैं देख्नुपर्ने भयो आलो खुनको टाटो हजुर

(पृष्ठ–९)

देशको नेतृत्वबर्गको आजको चरित्रलाई कोट्याउँदै देश हाँकने मानिस कस्तो हुनुपर्छ भन्ने तर्फ पनि गजलकारको ध्यान गएको छ –

स्वाभीमानी हुनु पर्छ यो देशलाई हाक्ने मान्छे

स्वार्थ त्यागी हुनु पर्छ सधैं कुर्सी ताक्ने मान्छे

(पृष्ठ –४८)

गजललाई प्रेमिकासँगको वार्तालाप, प्रेमप्रणय, तथा श्रृङ्गाररस वा प्रेमसँग सम्बन्धित गीत, कविता, काव्य आदि नामले बोलाइने चलन छ । गजल जीवन र जगतसँग आवद्ध छ र समाजमा हुने परिर्तनसँग यसमा पनि विविधता आएको छ तापनि श्रृङ्गारिक्ताले अझै पनि प्राथमिकता पाएको छ । यस गजलसङ्ग्रहमा पनि श्रृङ्गाररसको कमी छैन –

हजारी पूmलको बोट कर्ही सार्न सक्या नाई

निष्ठुरीले छोडी गई मन मार्न सक्या नाई

(गजल ८८, पृष्ठ ८८, डोटेली भाषाको गजल)

के नै वाँकी रह्यो अब कोमल दिल टुटे पछि

हृदयमा भाको माया सिसा जस्तै फुटे पछि

(पृष्ठ ४५)

गजलको संरचनामा रहेर गजलकारले गजल लेख्नलाई ध्यान दिएको पाइन्छ भने समष्टिमा भन्नु पर्दा प्राकृतिक सौन्दर्यतामा रमाउँदै, सुदूरपश्चिको परिवेशलाई समाउँदै, विकृति र बिसङ्गतिलाई नियाल्दै सुझाउ र सन्देशलाई अङ्गीकार गर्दै,बिम्ब र प्रतिबिम्बलाई सजाउँदै, गजल यात्रामा लागेका गजल यात्रीको सुन्दर, कोमल,सरल र भावुक बहकाइलाइर्, अपिशैपाल, खप्तड, कैलासको शिर,कैलाली कञ्चनपुरको उर्वरक भूमिमा,चाँदनी र दोधरा, महाकाली जोगबुढा, भारत, चिन र हरिद्वार पञ्चेश्वरमा बगाउँदै खप्तडको कागज र नियालोले गजल लेखाइ गरिएको स्वीकारिएको छ , फाग भजन र देउडालाई आफ्नो लयमा उतारेको छ , संविधानको निमार्णमा आलटाल गर्न नपाईने, देउती थानमा सँगै मर्ने सँगै बाच्ने बाचा कसम खाइएको, पजेरो चढ्ने नेताहरुको प्रवृतिलाई केलाइएको ,गरीबका पिल्सिएका क्रन्दनहरूलाई सजाइएको सहिदका बलिदानहरुलाई स्मरण गरिएको ,भ्रष्टचार गुण्डागर्दी निर्मुलपार्न चाल्नु पर्ने अभियानलाई ठम्याइएको, सहिदको सपनाको पूर्णताको कामना गरीबको वेदना जनताको विवशता आदिलाई समेटेर लेखिएका छन् गजलका शेरहरू । गजलकार आशावादीको साथै निरासावादी पनि छन् । गजल लेखनमा सफल देखिन्छन् गजलकार गजलका शेर भावपूर्ण छन् र गजल पठनीय छन् । अन्त्यमा सत्यप्रेमी तपाइँको गजलले बोलेका कुरालाई गजलकै शेरबाट प्रष्ट्ट्याउँदै, चाँडो भन्दा चाँडो अर्को गजलको प्रतिक्षारत हुँदै विदा चाहान्छु –

चाँदनीकोे व्यथासँगै देशको व्यथा बोलेको छ

नेतृत्वको धारणालाई राम्रैसँग खोलेको छ

प्रष्पूmटित भै भावनामा सारा व्यथा कथाहरू

गरीबका सारा क्रन्दन सबै यस्मा घोलेको छ

भ्रष्टचार गुण्डागर्दी नेतृत्वको उदासीनता

छिमेकीको बक्र दृष्टि, गजलले रोलेको छ

भावनाका सत्यप्रेमी साधानारत लक्ष्मीदत्त

देशको विकास नहुँदा तिम्रो मन पोलेको छ

सफल गजल यात्रा होस् यही मेरो कामना छ

तिम्रा गजल–शेरले विकृतिलाई छोलेको छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।