19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बगर-व्यापार

कविता सुधीर छेत्री December 22, 2011, 7:09 pm

बगरको छातीमा

भुत्भुते खेलेर ह्नखोर्सेर

एकहुल हुण फर्के।

व्यवस्थाको न्यायपालिकाबाट हेपिएका

भूमिपुत्र कुकुरका जिब्राहरू

खाद्य-अनुदानका रहल टपरी चाट्दैछन्।

*

अग्ला टक्सिक दृश्यहरू

आँखा पोल्दै आँखीभौं उचालेर भित्र पस्छन्।

चिप्ला अनि चिल्ला बुदुनाहरू

स्पर्शको अमूर्त्त गणित

अनुभूत गराइवरी

जिब्रोको आयतनमा

आगामी स्वादको तन्तुलाई चिमोटेर

पानीमा बेपत्ता भए।

*

हे पर्यटक !

हिमाल स्वच्छ, जल र राशि, विशुद्ध यहॉंको

मान्छे र ईश्वर, ब्युँझन्छ सँगै, प्रकृति जहॉंको

*

धुपीका सोलोडोलो छेपारीमा

चट्याङ्ले ताछेर पीप भरेछ।

किशोर चेपेगॉंढाहरू

मन लाएर जीवन-कला घोकिरहेछन्

शान्तिजुलूसका कमिलाहरू

बालुवाभरि

आदिम स्लोगनहरू कराउँदै होलान्,

खै सुनिन्न!

*

हे पर्यटक !

कन्दरामाथि, सुनखरी राम्रा, भित्ता र पाखामा

सुविधा राम्रो,नैसर्गिक यस्तो, उपत्यका काखमा

*

आँखामा इन्द्रेनीको धागो

हातमा मर्चाले मुछेको निद्रा बोकेर आएका

शबरीहरूले आवेगको लट्टाईबाट

मेरो अनुभूतिको गुड्डड्डीलाई

रूखको टुप्पासम्म उचालिरहेछन्।

चर्मराएर बज्छन्

मेरा शारीरिक वाहनका चक्काहरू।

*

पातका नशाहरूमा बर्षौं अघिको हुरी चल्मलाउँछ।

हावाको हेलिकप्टरले पिठ्यूँको क्षेत्रफलमा चिसो छरेर जान्छ।

त्रिपिटकका पानाहरू झैं

फर्फराइरहेका केराका पातले

अभूतपूर्व गीत गाएर

गाम्भीर्यको हावा पखाली

चाञ्चल्यको रिदम् बजाउँछ।

*

कत्थक पुतलीहरू

अक्षरका फोका आँखामा फुटाउँदै

जीवनको रौं छाम्न नदिई

दृश्य सिलाएर फर्कन्छन्।

पुतलीहरू मिलेर

पखेटाभरि छापिएको

बेनेडेटो क्रोचेका

चिट्ठीहरू पढिरहेछन्।

*

साइँलाका छोराहरू

भोलि

यो जङ्गलको कर्चीमर्ची बटुल्न

यही लुगा र कत्लासितै आउँछन् ;

अनि हराइसकेका अनेकन् भाषाहरूका

स्वरहीन अवशेषहरू बटुल्छन्।

सार्वभौमिकताको लेउमा चिप्लेर

खुट्टा ताछिँदा तर

पञ्चायती मलम छैन वरिपरि।

*

हे पर्यटक !

हरियो पहाड, चरा र जङ्गल, सुन्दर छवि छ

टेन्टमा सुत्नु, शौचालय राम्रो, दाम यसको पॉंच-सय छ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।