सर्वसत्ताका जीवाणुहरू
जब खुलेआम सङ्क्रमित भए
मानिसका गिदीहरूमा
अहङ्कारको पखाला
पेटबाट होइन
चल्न थाले
तिनका अभद्र जिब्राहरूबाट
असहिष्णु मुड्कीहरूबाट
र अराजक गोडाहरूबाट ।
सहमति घोलेर
जीवनजलका पुरियाहरू
पिलाउँदै थियौँ जब हामीले
मेचीकालीका निटेक धमनीहरूमा
उनीहरूले अस्वीकार गरे
आफूबाहेक अरुको अस्तित्व
र त्यहीँबाट सुरु भयो
अर्को उल्कापात
थाहा छैन
उल्कामात्रै खस्ने हुन् मान्छेका भाग्यमा
वा आकाशै खस्ने हो
सिङ्गो सभ्यतामा
आस्थाको डोको बोक्दा
डामिएका तालुबाट
चुहि रहेका पसिना पुछ्दै
स्वाभिमानका टोपीले
सोधे मलाई
जिज्ञासु भएर यी प्रश्न
साँच्चि
यो ओरालो यात्राको अन्त्य
कहिले हुन्छ
र कहिले रोकिन्छ
मानव वधशालाको यो व्यापार ?