१. मानसयात्रा
१
स्निग्ध हिमवन्तका हिमस्तुप
भानुका भापिला प्रेमास्पर्श र प्रणय आकर्षणमा
पग्लेर
म काव्य गङ्गा
आस्थाका गंगोत्रीबाट निश्रित
अनन्त अविरल प्रेम प्रवाहित छु ।
मेरो प्रथम पुरुष !
सात फेरा लगाउँदै
तिम्रो काव्यगङ्गाको पे्रमार्पण ।
सुभगा, सर्वांगी, सुन्दरी
म बगिरहँदा
प्रेम तिमीमा पनि !
बग्नु न हो
बग्दा बग्दै
यमुना र म त्रिवेणीमा
प्रभातीय स्वरसुधाका प्रेमप्रणयमा
यतिराज का गीत पनि बग्यौं
काव्य सागर लम्किरहँदा !
मेरो काव्य सागरमा
यमुना मात्र होइन
कोशीका कविता, कालीका काव्य
गण्डकीका गीत पनि समाहित छ
स्थिर गङ्गासागर भएर ।
मेरो अखण्ड काव्य गङ्गासागर
तिम्रो सान्निध्यताको तरेली र
काली, कोशी, गण्डकी र यमुनाका
काव्यप्रेम प्रवाहित नभए
मात्र मरुतल हुन्थ्यो ।
मरुतल !
त्यसैले त कोशीका कोकिल स्वर,
गण्डकीका गुञ्जन,
कालीका कलरव
मेरो प्रेम गङ्गासागरका उद्गम हुन् ।
प्रेम सागरका उद्गम हुन् ।
मेरा प्राण हुन्, मेरो प्रथमपुरुष ! तिमी जस्तै !
उद्गम बिना कल्पनामा पनि म हुन्न !
तिमी हिमवन्तमा हिमस्तुप ठिङ्ग उभिएर मात्र त
म अहिले गङ्गा भएर प्रेम बग्दै छु ।
मेरा गन्तव्यमा तिम्रा गन्तव्य छन्
तिम्रा गन्तव्य म हुँदै हिड्दै छन् ।
हाम्रा गन्तव्यका प्रेम प्रणयमा
मानसपुत्र जन्मन्छ ।
मानस जन्मन्छ ।
मेरो गन्तव्यको यात्रामा
यमुनाको पनि यात्रा छ
कोशीको यात्रा बगेको छ
गण्डकी बगेको छ ।
यात्रामा उनीहरुका स्वप्न छन्
पूर्ण र अपूर्ण स्वप्न छन् ।
हिड्नु न हो
हिड्दा हिड्दा
उनीहरुले प्रेम देखे, हिंसा खेपे
आलिङ्गन देखे, आर्तनाद सुने
हिमवन्त झर्दै आउँदा
मेरो वर्तमान र इतिहास पनि बने
मेरो प्रेम !
तिमीलाई सात फेरा लगाउँदै
म प्रेम आलिङ्गनमा हुँदा
यी सबै मेरो प्रेममा समाहित भए
तिमीमा समाहित भए ।
तर एक्लै हुँदा
यमुना यमुना बगिन्
गण्डकी गण्डकी बगिन्
काली काली नै बगिन्
आफ्नो बग्नुको एकल इतिहास बोकेर ।
अहिले मसँगै बेरिएर
सबै तिमीमा समाहित छन्,
सबै एक्लै पनि देखिन्छन्,
अन्तमा तिमीमा एक छन् ।
त्यसैले
हामीले हेर्दा तिमी देख्छौ, तिमीले हेर्दा हामी देख्छौं !
तिमी हाँस्दा हामी हाँस्छौं, हामी हाँस्दा तिमी हाँस्छौ !
‘तिम्रा आँखा सुन्दर छन्, तिम्रो हाँसो मोहक छ ।’
२
तिम्रो हाँसो मोहक छ !
मानसको पनि !
बिहानै उसको मन्द मधुमुस्कानमा
निद्राका नयन जस्तै आँखामा परेली ओछ्याएर
उ उड्छ अनन्त सगर खोज्दै ।
उड्नु न हो
उड्दा उड्दै
मादकताको मानस
अत्तरमयी अङ्गनाको अङ्गालोमा अड्किएर
अत्तरमा अङ्गना देख्छ
अङ्गनामा अत्तर देख्छ ।
सौन्दर्यमा सुगन्ध
सुगन्धमा सौन्दर्य ।
अनन्त यात्रामा
म गङ्गामा बगिरहँदा
मैले मानस देखिरहेँ
अङ्गना देखिरहेँ
मैले देख्दा तिमीले पनि देख्यौ ।
अङ्गनाको अङ्गालोमा बाँधिएर
उसको वक्ष्यस्थलमा अडेस लाग्दा
मानस आँखा चिम्लेर सौन्दर्य खोज्छ
आँखा चिम्लेर सौन्दर्य छाम्छ ।
सुगन्ध खोज्छ ।
अत्तरको वासना
अङ्नाको वासना ।
अङ्नाको अत्तरको वासना !
वासना अनुभूति न हो !
अङ्नाको अनुभूतिमा
मानसका अङ्ग अङ्ग अङ्गनाका हुन्छन् ।
नितम्बिताका नृत्य भावभङ्गीमा
कामासनका नृत्य भावभङ्गीमा
उ सम्पूर्णतामा मानस खोज्छे,
मानस भोग्छे ।
मानसका सहस्र तन्तुहरु भोग्छे ।
मादकताको मानस
अङ्गनाको अङ्गालोमा
कामाङ्गहरुमा काम उत्सर्ग खोज्दै
नितम्बिताको नितम्ब नियाल्छ
सर्वांङ्ग भोग गर्छ !
सर्वांङ्ग !
म देख्छु
त्यहाँ मानसको भोग छ,
अङ्गनाको भोग छ
नितम्बिताको भोग छ ।
सम्भोग कतै छैन ।
अङ्गनाको अधरमा
नृत्यङ्गना नितम्बिताको नृत्य चापहरुमा
मादकताको मानसको मनमा
मेरो प्रेम !
तिम्रो अनपेक्षित अनुपस्थिति अङ्कित नै भएनन् ।
तिमी कहाँ छौ ?
३
आलिङ्गनबाट मुक्त अङ्गना
मादकताबाट मुक्त मानस
उष्ण भावमा उद्वेलित छन्
आन्ध्रीय आद्रताको अनुभूतिमा अधिर छन् ।
अब अङ्ना अगम्या भै मानसका लागि
मानस अगम्य हो अङ्गनाका लागि ।
अङ्गना मानसमा
मानस अङ्गनामा
प्रेम ! तिमीलाई खोज्न छाडिसके ।
अब भौतारिंदा भौतारिंदै
मरुमय महानगरीय बाटाहरुमा
उष्णताले पखालिएका पाखाहरुमा
अङ्गनाको अनन्त अविरल एकल यात्रा छ !
मानसको एकल यात्रा छ !
यात्रा न हो
विश्राममा सिद्धिन्छ ।
बाटो बाँकी हुँदै
अङ्गनाको यात्रा
अट्टहासमय अट्टालिकामा विश्राम खोज्छ
यात्रा अटलको अङ्गालोमा अड्किन्छ ।
अङ्गना त्यही नै तिमीलाई खोज्छे ।
मानसको मन मधुशालाका क्रूर कक्षहरुमा
अङ्गना धाउँछ।
नितम्बिता धाउँछ।
आतुर आफ्नो मन बिसाउँदै
उ फेरि नृत्यशालाको नृत्यमञ्चमा
कुनै ऋतुमतीमा तन बिसाउँछ ।
मन र तन ऋतुमतीका वक्ष्यस्थलमा विश्राम लिन्छन् ।
उसले पनि तिमीलाई नै खोज्छ ।
कोशी, काली र गण्डकी
म गङ्गामा समाहित हुँदा,
अझ तिमी नै गङ्गा र गण्डकी बग्दा
तिमीले त झन् मानस र अङ्गनाका यात्रा हेरिरह्यौ
कान्तिपुरका कायामा
कान्तिपुरका छायामा ।
कान्तिपुरका अट्टहासमय अट्टालिकामा .....
अट्टालिका बाहिर
लासै लासका लाममा
वैभवमा बाँचेकाहरु
ऐश्वर्यका ऐस भोग्नेहरु
मौन मृत्युका मुर्दा मूर्ति बने ।
मुर्दा मुर्दा हुनुका कथा भन्दैनन्
मुर्दाका आफ्ना कथा हुँदैनन्
कथा कान्तिपुरका भए
कथा कान्तिपुरका सडकका भए
कथा मानसका यान्त्रिक यात्राका
कथा भए अङ्गना अप्राप्ती र आक्रोशका ।
कथामा
आक्रोशमय आग्नेयगिरिका अग्निवर्षामा
मानस अग्निगर्भमा भासिन्छ
मानस ऐश्वर्य ढाल्छ
वैभव ढाल्दछ
अनि उ आफैँ ढल्छ ।
घात आघात !
मानस प्रेम खोज्दै प्रेम ढल्छ ।
घात, आघात र प्रतिघातको मानस !
४
घात, आघात र प्रतिघातको मानस
अट्टालिका अगाडि अचेत अचल रहँदा
अङ्गना अत्तालिंदै अट्टालिका आइपुग्दा
मैले अङ्गना हेरिरहेँ ।
मृत्युमय मौनतामा
अङगना आफैँभित्रको
आँधीमय अन्धकार बाटाहरुमा
चेतन अवचेतनका अभिनव पाखाहरुमा
मानस आघात हुनुको पीडा पोख्दैछ ।
म हिमवन्तबाट तल बगिरहँदा
अङगना अतीतका अतल गर्तमा गाडिएर बसिरही
अतीतको मानसको सान्निध्यतामा
नढलेको मानसको सान्निध्यतामा !
त्यहाँ उ मानसका व्यायाम प्राणायाम देख्छे
सुगठित शरीरका मांसपेशी देख्छे,
मांसपिण्ड देख्छे
आँखा चिम्लेर उ सबैको अनुभूत गर्छे !
आँखा खोलेर उ
मानसको लावण्य हेर्छे,
यौवन हेर्छे ।
मानस अब यौवन हो,
लावण्य हो,
मन हो
अपराजिता अङ्गना सबै अँगाल्छे ।
सम्पूर्णताको मानस भोग्दा भोग्दै
उ मानसको ऐश्वर्य भोग्छे,
वैभव भोग्छे
आफ्नो सौन्दर्यताको अञ्जुली थापेर
बैंसालु झोली थापेर ।
अहिले उसको अगाडि मानस लडिरहँदा
म देखिरहेछु
अङ्गनाको अचल शरीर
विस्मित विभ्रान्त विक्षिप्त मन
अशान्त आँसुको आकृतिमा
मानस भिजाइरह्यौ ।
भिज्दै जमिनमा लडिरहँदा
मानस आँखा खोलेर आकाश हेर्छ
अङ्गना देख्छ, अङ्गना हेर्छ ।
फेरि आकाश हेर्छ, अङ्गना देख्छ ।
अङ्गना हेर्छ, आकाश देख्छ ।
भ्रान्त विभ्रान्त परिसरका परिदृश्यमा
अब अङ्गना आकाश हो, आकाश अङ्गना हो ।
मानस ढलिरहँदा
उ आकाश छुन खोज्छ, अङ्गना छुन्छ
अङ्गना हेर्छ आकाश देख्छ ।
उसले उडेको आकाश,
उ जमिनमा खस्दाको आकाश
घाइते बनाउने आकाश !
भिज्नु न हो
भिज्दा भिज्दा
मानस उसको
विलग्न विभ्रान्त अतीतका
भ्रान्त भाव पखालिरहन्छ ।
अट्टालिका अगाडि लडिरहँदा
मानस सम्झिन्छ
आकाश यात्राका विप्लवीय बाटाहरुमा
आकाश छुने विप्लवीय बलमा
आकाश छुने विद्युतीय वेगमा
उ बाँसका तामा जस्तै आकाश ताक्छ
बढ्दा बढ्दै
बढेको बाँस तल नुहिये जस्तै
मानस नुहिन्छ,
मानस जमिन छुन्छ ।
चिसो जमिन ! शीतल जमिन !
५
शीतल जमिन माथि
शीतलताको सौम्य अनुभूतिमा
मानस मानसरोबर खोज्छ
मानस मकालु देख्छ,
माछापुछ«े देख्छ ।
मौन मकालु र मौन माछापुछ«ेका मौन शृङ्खला हेर्छ ।
मानस मौन शृङ्खलामा स्निग्ध मन खोज्छ ।
मन न हो
स्निग्धतामा स्निग्ध हुन्छ ।
स्निग्धतामा मानस मन–मस्तिष्क
बृहत् वृत्तचित्र हो
विगतका बिम्ब प्रतिबिम्ब ध्वनि प्रतिध्वनिका ।
अहिले मानस जमिनमा बसेर त्यही हेरिरहन्छ ।
अङ्गना आँखा अगाडि राखेर
बृहत् वृत्तचित्र हेरिरहँदा
मानस आफ्ना अनुभूति अनुवाद गरिरहन्छ ।
अङ्गना अत्रूmर भावमा सुनिरहन्छे ।
वृत्तचित्रमा
मानस मरुभूमि देख्छ,
मरुभूमिभित्र मरुद्यान देख्छ,
मरुद्यानभित्र मैदान देख्छ,
मैदानभित्र ऊँट देख्छ,
ऊँटका पुछारमा बालक बाँधिएको देख्छ,
अनि देख्छ
सहस्र ऊँटहरुका दौड,
आत्तिएका बालकहरुका चित्कार
खुशीले उछालिएका अतिथिहरुको भिड,
भिडमा अङ्गना,
अङ्गनासँगै उ !
अर्को परिदृश्यमा
मानस पहाड फोर्दै झर्ने झरना देख्छ ।
डाँडामा डाँफेले लालीगुराँस गाएको सुन्छ ।
मुनाल र मयूरका नाच देख्छ ।
पmराकिला फाँटहरु देख्छ ।
सरिताका सरगम सुन्छ ।
अशोकको आडमा अडिएका केतकी देख्छ ।
मालती, माधवी र मल्लिकाका फक्रक्क फुलेका बैंसालु वन देख्छ ।
खेत र खरबारी देख्छ ।
खरको एक कोठे घरमा बस्ने
अर्धनग्न तन देख्छ ।
तीन सय तिर्न तीस वर्ष जोत्दा थाकेको मन देख्छ ।
विभेदका बिरुवा झाँगिएर कलिला हात बेरिएको देख्छ ।
आराध्यका आराधनामा पनि विभेदको बोट देख्छ ।
मेरो प्रेम !
विगत हेरेर
अनुभूति अनुदित भइरहँदा
मानस अङ्गनालाई हेर्छ ।
अनुभूति अनुदित भइरहँदा
मानस अविरल आँशु अनुभूत गरिरहन्छ ।
अविरल आँसु दिग्भ्रमित दृष्टि पखालिरहन्छ ।
मानस चिच्याउँछ
गगनभेदी गर्जन गुञ्जन्छ
आकाश गर्जन्छ ।
विगत हताहतहरुका कथा बोल्छ
हाम्रो विगत हिंसाको कथा बोल्छ ।
अङ्गना, विगत प्रेमका नाममा अप्रेम बोल्छ ।
मायाका कथा बोल्छे ।
अङ्गना, हाम्रो विगत मोह बोल्छे, लोभ बोल्छ ।
पागल प्रलाप, अहङ्कार बोल्छ ।
अङ्गना, हाम्रो अतीत असत्य बोल्छ ।
६
गगनभेदी, गर्जन गुञ्जदा
मानस आकाश हेर्छ
आकाश देख्छ, बिजुली देख्छ ।
फेरि आकाश हेर्छ, बिजुली नै देख्छ ।
भ्रान्त विभ्रान्त भाव बडारेर
मानस बिजुलीका विद्युतीय प्रकाशमा
आगत विगतका
विलग्न बिम्बहरुको संलग्न आकृति खोज्छ ।
विलग्नहरुको संलग्न आकृति खोजिरहँदा
मौन मानस र अङ्गना मन्द गतिमा
तरुण तरुणीका मन जस्तै एकोहोरो हिड्छन् !
बिस्तारै बिस्तारै !
सँग–सँगै हिडिरहँदा
अङ्गना र मानस
विलग्न विगत र आगतका बीचमा
विवर्ण वर्तमानमा रल्लिरहन्छन् ।
रल्लिरहँदा,
थकित थापाथली पुगेर अजङका जङ्ग दरवार अगाडि
बाग्मती बग्दै बटुक मुद्रामा मधेसतिर झर्दा,
मानस र अङ्गना
कदम्बको रुखमा लुगा राखेर
बाग्मतीमा नुहाइरहँदा,
मानस अतितकी अङ्गना सम्झन्छ ।
अहिलेकी अङ्गना हेर्छ
अतित र वर्तमानको लग्नता देख्छ
संलग्नता देख्छ ।
बाग्मतीमा अतितकी अङ्गना
वर्तमानकी विन्दु हुन्छे ।
अङ्गना अहिले मनको मानस हेर्छे
प्रेमाभिभूत हुन्छे,
प्रेम द्रवित हुन्छे
अब मानस
उसको पनि मन हो,
तन हो ।
मानसका पीडानुभूति अङ्गनाको पनि अनुभूति हो ।
त्यही अनुभूतिमा
अङ्गना आँशुमा गाजल पखाल्छे ।
मानस अङ्गनाका आँखाका काला धारा पुस्छ ।
दुवै शान्त भावमा रmन्छन
शान्त भावमा हाँस्छन् ।
मेरो प्रेम !
अङ्गालोमा बिस्तारै हिडिरहँदा
मानस अङ्गना
मानसरोवर खोज्छन्, माछापुच्छ«े देख्छन्
मानस मन माछापुच्छ«े चढ्छ ।
अङ्गना मन माछापुच्छ«े चढ्छ ।
मानस अङ्गना माछापुच्छ«े चढ्छन् ।
माछापुच्छ«ेमाथि बसेर
उनीहरु फेवाताल हेर्छन्,
तालमा माछापुच्छ«े देख्छन्
तालमा मानस मानस देख्छ ।
तालमा अङ्गना अङ्गना देख्छे ।
उनीहरुका मन
मधुवनभित्र मधुमास उडिरहँदा,
तालका तरङ्गमा तैरिएर बगेका यात्रीहरुका
सहयात्रा पढिरहन्छन् ।
मन न हो
जलयात्राका यात्रीहरुको मन देख्छ
प्रेम देख्छ, प्रेमालाप सुन्छ
प्रेम प्रणय देख्छ
रम्छ ।
मन न हो
माछापुच्छ«ेबाट उभिएर तल हेर्दा
रोदीघर देख्छ
रोदीघरको गीत सुन्छ
गण्डकीको तिरमा रोदीका गीत सुसेल्छ ।
रोदीमा गण्डकी बग्छ ।
धाननाचमा मेची बग्छ
माई बग्छ, तमोर बग्छ ।
स्याब्रु, सेलो, साकेला,
चण्डी, होरिया र झिझियामा पनि बग्छ ।
मानस र अङ्गना तिनीहरु सँगसँगै बग्छन् ।
तिनीहरु ममा मिसिन्छन् ।
मसँगै गङ्गा बग्छन् ।
मेरो प्रथमपुरुष !
मानस र अङ्गना
दाङमा दन्सिशरणको दरवार पुग्दा
जमुना पनि बग्छन्
जमुनाका तिरमा उभिएर ।
जमुनाका तिरमा उभिएर
मानस र अङ्गना
कनकचम्पा र चिनियागुलाबले ढाकेका वन देख्छन्
जमुनाका काखमा, जमुनाका तिरमा ।
जमुनाका तिरमा
बर पिपलका छाहारीमा
मानस र अङ्गना
सखिया नाच नाच्ने व्यग्र सुन्दरी देख्छन् ।
उनीहरुका सेता साडी देख्छन्
मालती र माधवीका माला झुण्डिएको चुल्ठो देख्छन्
पारिजातका माला देख्छन्
मालामाथि मुखमा मृदु हाँसो देख्छन् ।
व्यग्र सुन्दरीसँगै नाच्न व्यग्र छन्
मादल भिरेका मादलेहरु ।
मोहक मुद्रामा,
भदौको मन्द हावामा !
भदौको मन्द हावाले चुमिरहँदा,
सुन्दरीहरु दियो बोकेर गाउँछन् ।
दियो बोकेर नाच्छन् ।
मादलेहरुका मादलको तालमा
मन्द हावासँगै, मन्द गतिमा !
आनन्दको अनुपम अनुभूतिमा
अङ्गना र मानस
परित्यक्ता र परित्यज्यको मनोभावबाट भाग्दै
परित्यक्ता र परित्यज्यको मनोदशाबाट भाग्दै
शब्दमा कुद्छन्
स्वरमा कुद्छन्
धुनमा कुद्छन् ।
गीतका ध्वनि प्रतिध्वनिमा
नाचका बिम्ब प्रतिबिम्बमा
विलुप्त हुन्छन्
विलय हुन्छन् ।
बिस्तारै गीतको गतिमा
मानस अगाडि बढ्छ,
मानस मादलेको मादल माग्छ
मादल बजाउन थाल्छ
नाच्न थाल्छ
एक पछि अर्की यौवनासँग,
शान्त मुद्रामा ।
अङ्गना असहज उभिन्छे,
मानस नाचेको हेर्छे
यौवनाहरु नाचेको हेर्छे
मानस कै मनमा बसेर मानस नाचेको हेर्छे
अङ्गना अब यौवनाको भिडमा हुन्छे,
भिडमा अङ्गना मानससँगै नाच्छे,
मानस नाच्दा अङ्गना नाच्छे,
अङ्गना नाच्दा मानस नाच्छ ।
अब मानस मञ्च हो
अङ्गना त्यसैमा नाच्छे,
मानस मनमा नाच्छे ।
मेरो प्रेमपुरुष ! प्रथम पुरुष !
म देखिरहेछु
मानस अङ्गना प्रेमाभिभूत छन्
मानस अङ्गना एकाकार छन् ।
यौवनाहरुसँग मानस अङ्गना नाचिरह्यो ।
अङ्गना मानस नाचिरही ।
म देखिरहेछु
अतीतकी अङ्गना
अतीतको मानस
विवर्ण वर्तमान छिचोलेर
वर्तमानका मानस र अङ्गना
आनन्दका मानस भएको छ
आनन्दकी अङ्गना भएकी छे ।
आनन्दको अनुभूतिमा अङ्गना
आनन्दको अनुभूतिमा मानस
प्रेमानन्दको अनुभूतिमा परमानन्द देखिरहेछन् ।
परमानन्दमा सत्य
परमानन्दमा परंसत्य ।
मेरो प्रेमपुरुष ! प्रथम पुरुष !
त्यो परंसत्यलाई मेरो नमन ।
२. मधुमास का यात्रा
१.
सुरम्य समुद्रका
निला निला छाल छछल्किएर
पलक्क पल्टिएको पहाड पछ्याई रहदा
मेरो प्रेम! प्रथम पुरुष!
मानस अन्गना
प्रेमभिभुत हुन्छन
प्रेम द्रवित हुन्छन
मधुमासका यात्रा हुन्छन |
कावेरी तटमा उभिन्छन |
दक्षिणी हावाको सुसेलीमा
ध्वनि प्रतिध्वनीमा
कावेरीमा आन्दालका आनन्दमयी गीत बहिरह्न्चन!
फक्रक फुलेका चिनिया गुलाबका बोटमा बसेर
चम्पकका चम्किला फूलका सुबासमा
कोइलीका कोकिल स्वरमा
कोइलीका कोकिल स्वरका ध्वनि प्रतिध्वनीमा
हृदय वोछ्यायेर प्रेम आमन्त्रण गरिरहन्छिन
गीत गाइ रहन्छिन!
स्वरसुधाका सुमधुर प्रेम आमन्त्रणमा
आन्दाल आफ्नो प्रेम पोख्छिन
अद्वितीय अतुलनीय प्रेम पोख्छिन
प्रेमीको आगमन पछि
उत्तर तिर उडेर
कदम्बको छहारीमा नाच्ने अभिलाषा गाउँछिन!
गीतमा कावेरी बग्दा
कावेरीमा गीत बग्दा
मानस अन्गना
एकाग्र भएर
सुरम्य समुद्र हेर्छन
आन्दालका आनन्दमय
निला निला मनवाकृति खोज्छन
छछल्किएका छाल हेर्छन
रमछन्
मधुमासका महायात्रामा हुँदा!
२.
मधुमासका महायात्राको मानस
महायात्रकी अन्गना
टलक्क टल्किएको चन्द्रमामा
चन्द्रमा टलक्क टल्किएको यमुनामा
शाहाजँहा र मुमताजका प्रेम प्रणयमा हुन्छन/
यमुनामा टलक्क टल्किएका ताजमा
ताज तैरिएको यमुनामा
ताज का प्रेम प्रबाह देख्छन/
अनन्त अविरल यमुनाका यात्रामा
अनन्त अविरल प्रेम देख्छन/
अनन्त अविरल प्रेममा
यमुना यात्राका स्वरसुधामा
प्रेम का अमरत्वका बर्णन सुन्छन,
यमुनाका मन्द हावामा
मन्द मृदु सुसेलीमा
जँहापनाका निष्काम कर्म देख्छन/
निष्काम कर्ममा
चिरकाल चिरन्जिबी चिरस्थायी
सृजना देख्छन
स्रजक देख्छन
स्रजकका निष्काम कर्म देख्छन/
उनीहरु
कर्मयोगी देख्छन
कर्म योग देख्छन
कर्म, विकर्म र अकर्मका भेद देख्छन्र
यमुना बगी रहदा
मानस अन्गना यमुना बगी रहदा
मानस अन्गना
स्वनाम स्वार्थमा तिर्खाएका सकामधर्मी
विगतका विस्मृतिका कब्रिस्तानका खाडलमा पुरिएको पनि देख्छन/
मेरो प्रेम! प्रथम पुरुष!
यमुनाका तिरै तिर
मानस अन्गना बगी रहन्छन
मधुमास का महायात्रामा!
मधुमासको यात्रा न हो
मनका मार्ग हिड्दा हुन्छ
मनका मन्त्रणा मान्दा हुन्छ/
मानस अन्गना
यमुनाका तिरै तिर
वन विहारमा वन वाटिका खोज्छन/
खोज्नु न हो
खोज्दा भएको भेटिन्छ/
मानस अन्गना व्रज वन भेटछन्/
व्रज वनमा
उत्तप्त तापमा
मानस अन्गना
पानी खोज्छन
पानी भेटछन्
पानी पिउछन्/
व्रज वनमा
उत्तप्त तापमा
भोकाएको मानस
भोकयेकी अन्गना
बिस्तारै गोठ छेउको पसलमा पुग्छन
पसले संग दुध किन्न माग्छन
पर्खनछन् /
भोकाएका मानस अन्गना
विलम्बमा विच्किनछन्
अनायास आक्रोशित हुन्छन
आक्रोश पोख्छन्/
आक्रोशको अग्निज्वालामा हुँदा
मानस अन्गना
दुधे बालक जस्तो देखिने बालक
दुइ हातमा दुध बोकेर आउछन
दुध दिन्छन
हास्छन /
मतिभ्रमको मानस
अचाम्बित अन्गना
एककोहोरो बालक हेर्छन
सुन्दर आँखा भएको को बालक
दिप्तिय बालक
चंचल चंचल, गीत गाई रहने बालक!
दुध पिउदै
मानस अन्गना
अन्गना मानस
सात बर्षे बालक हेर्छन,
सात बर्षे बालक
अन्गना हेर्छन
मानस हेर्छन/
मानस अन्गना
आक्रोशले आक्रान्त हुदा
मतिभ्रम भएको अनुभूत गर्छन
चेत हराएको अनुभूत गर्छन
चेत हराउदा
प्राण बिहिन अनुभूत गर्छन/
दुध पिउदा
जीवन को अनुभूत गर्छन
जीव अनुभूत गर्छन
बालकको मृदु मन र मृदु हासो अनुभूत गर्छन/
हास्छन
बालक पनि हास्छन
दुधको भारा तिर्छन
हिडछन्/
मधुमासको यात्रामा मधुमास हिडी रहदा
मानस अन्गना
यमुनाको तिरै तिर
त्रिबेणी आइ पुग्दा
त्रिबेणी उभीई रहदा
उत्तरका उत्तंगगिरी देख्छन
हिमवंत देख्छन
स्निग्धता देख्छन
स्निग्धता छुन खोज्छन/
मेरो प्रेम!
म गंगा तल बगी रहदा
मानस अन्गना उकाली हिडछन्
पद यात्रामा
मेरो उद्गम खोज्दै!
ऋषिकेश, बद्रीनाथ र केदारनाथ पुगेर
विकटताको विकट यात्रा हिडछन्
विकटतालाई बिर्सदै!
पर्वतारोही जस्तै
बिस्तारै बिस्तारै!
निर्जन यात्रामा
डाँफेका गीत छन्
हिमवंत का हावा छन्
वनका बीणा छन्
मानस र अन्गना छन्
मन र शरीर छन्
जीव र चोला छन्/
मानस अन्गनाका यात्रा
मर्त्यका मानव यात्रा न हो,
मर्त्यका मानव मन
मर्त्य मानव तन
थाक्छ
बिश्राम खोज्छ/
सारै थाकदा
यात्रा बिराम पनि रोज्छ/
मानस मन
अन्गना मन
हिमवंत पुग्ने रहर बोक्छन,
तन बिराम खोज्छन्र
निर्जन तिरमा
अलकानन्दाको शिरमा
मानस अन्गना
गुफा देख्छन
त्येतै ताक्छन!
निर्जन गुफामा
अलकनन्दा शिरमा
सेता बस्त्रमा बेरिएर
बृद्ध बा
मानस अन्गनाका याचना सुनछन्
आतिथ्य दिन्छन
मानस यात्रा सुनछन्
मधुमास यात्रा सुनछन्
मानस अन्गनाका हिमवंतका यात्राका रहर सुनछन्
बिश्राम र बिरामका आशय र अभिप्राय सुनछन्/
गुफाका ढुंगा माथि
बसेर बोल्दा
बृद्ध बा
मनको दुर्बलता त्याग्न भन्छन
युद्धमा जस्तै अविरल हिड्न भन्छन
पुग्ने नपुग्ने चिन्ता छोड्न भन्छन
अविरल लक्ष्य लक्षित गर्न भन्छन/
बृद्ध बा बोलिरहदा
मानस अन्गना
युद्धलाई यात्रामा अनुबाद गर्छन
यात्रालाई जीवनमा
जीवनलाई फेरी यात्रामा
जीवनलाई हिमवंताको यात्रामा/
मेरो प्रेम!
अब मानस अन्गना
हिमवंत हिडछन्
हिमच्छादित शृंखला हेर्छन,
हात समाउदै
हिमापथ हिडछन्
चिप्लिन्छन
लड़छन/
हिम सिरानी लगाएर
मानस अनागना लडी रहदा
हात समातेर हास्छन
उत्तर हेर्छन हिमवंत देख्छन,
पूर्व हेर्छन
मानससरोबर देख्छन
माछापुछ्रे देख्छन
मुक्तिनाथ देख्छन
फेरी हात समाएर हास्छन/
दक्षिण हेर्छन
केदारनाथ देख्छन
बद्रीनाथ देख्छन
ऋषिकेश देख्छन
फराकिला फाट देख्छन
सुरम्य समुन्द्र देख्छन
समुद्र बाट उठेको निला निला मनावाकृति देख्छन
नतमस्तक हुन्छन/
फेरी पूर्व, उत्तर, पश्चिम, दक्षिण फर्किन्छन
फेरी नतमस्तक हुन्छन्र/
मेरो प्रथमपुरुष !
हिमवंता झर्दै
मानस यात्रा हेर्दा
मानस अन्गनाका यात्रा हेर्दा
म आफै पनि हिमवंतको यात्रा बगेकी छु
मानस अन्गना चारै तिर फर्केर नतमस्तक हुदा
म तिम्रो आलिंगनमा बसी रहे
हिमवंत देखि हिमवंत सम्मको यात्रामा!
म अहिले देखिरहेछु
मानस अहिले एककोहोरो अन्गना हेरी रहन्छ
अन्गना एककोहोरो सुरम्य समुन्द्र हेरी रहन्छे
निला निला आकृति तिर फर्किएर!
अचल अन्गना
शान्त अन्गना!
सुरम्य समुन्द्र हेरीरहन्छे/
अन्गना अङ्ग हो
शरीर हो
हेरी रहन्छे
मानस मन हो
उ शरीर हेरी रहन्छ
अन्गना हेरी रहन्छ
अलि पर उभिएर
जीवले शरीर हेरे जस्तै!
वेम्बली, लण्डन