19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'बिगबेन र समय': युगान्तकारी कविताहरुको संग्रह

कृति/समीक्षा सूर्य खडका "बिखर्ची" January 13, 2012, 7:34 am

डा. रुपक श्रेष्ठले बि. स. २०६८ सालमा 'बिगबेन र समय' नामक पहिलो गध्य कबिता-संग्रह प्रकाशित गरी डा. कुसुमाकर न्यौपाने हस्ते पढ्नका लागि भनेर कोसेलीका रुपमा

पठाएका रहेछन /उक्त कोसेली मैले यसै सालको दसैंमा प्राप्त गरें / उक्त पुस्तक मैले टीकाका दिनमा आद्योपान्त पढेर सकेपछि केही नलेखी बस्न मनले धरै दिएन तसर्थ प्रस्तुत

कृतिमाथि शाब्दिक फूलपाती चढाउँदै छु /

व्यक्तित्वको कुरा गर्दा उनी त्रिविबाटअङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरी त्रिविमै

अङ्ग्रेजी भाषा र साहित्यको अध्यापनको अनुभवसहित लिएपछि बेलायतको ब्रुनेल

युनिभर्सिटीबाट विद्यावारिधी गरी हाल बेलायतकै थेम्स एकेडेमीमा प्राध्यापन पेशामा

आबद्द छन् / अङ्ग्रेजी र नेपाली दुवै भाषामा उत्तिकै कलम चलाउने रुपक स्वच्छन्दताबादी कवि हुन् / मैले पढेका उनका दुवै भाषाका फुटकर कबिताहरुदेखि प्रस्तुत 'बिगबेन र समय'कृतिसम्म पढ्दा उनी किट्स, शेली र वर्ड्सवर्थजस्ता स्वच्छन्दताबादी कविहरुबाट प्रभावित देखिन्छन / एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले भनेझैं - उनी नम्र, भलाद्मी र मिलनसार छन् / उनी अभिमानी नभई स्वाभिमानी छन् / ज्यादै मेहनेती, इमान्दार अनि हँसिला र रसिला व्यक्तित्व नै उसको पहिलो चिनारी बन्छ /

कृतित्वको कुरा गर्दा नेपालमा छईन्जेल केवल आफ्नो आत्मसन्तुष्टिका लागि लेख्ने कवि म र मजस्तै केहि सहयात्रीहरुको करकापले बेलाबेलामा विभिन्न पत्र- पत्रिकामा छद्मनाममा फुटकर गीत, कविता र कथा प्रकाशित गर्दथे त्यसैले नेपालमा कवि रुपकको

यस 'बिगबेन र समय' प्रकाशनभन्दा अघिको साहित्यिक परिचय खोज्न उनको पुरानै

साहित्यिक नाम 'बृहस्पति रुप' मा छापिएका फुटकर रचनाहरु नै खोज्नु पर्ने हुन्छ / उनकोप्रस्तुत पहिलो कविता कृतिले उनलाई लण्डन विश्वविद्यालय, बेलायतका प्रा. माइकल हटले भनेझैं -नया पुस्ताको एउटा सशक्त बेलायती-नेपाली कविको रुपमा उभ्याएको छ / साथै पृथ्वीनारायण क्याम्पस, पोखराका सह प्रा. डा. कुसुमाकर न्यौपानेले भनेझैं -कवि रुपक ठूलो सम्भावना बोकेका यस युगका कवि हुन् भन्ने प्रमाण हो यो कृति / अन्तर राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) , केन्द्रिय समिति अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण बजगाईका बिचार अनुसार कवि रुपकलाई डायस्पोरा, अध्यात्म

दर्शन तथा समसामयिक राजनैतिक चेत भएका कवि मान्न सकिन्छ भने अनेसासका

केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र गदालले भनेझैं - नेपाली बांग्मयका माध्यमबाट पाठकहरुको मनमस्तिष्कमा बेजोड बौद्दिक खुराक दिने सशक्त कविका रुपमा पाईन्छ / पहिलो कृति नै यति स्तरीय र खारिएको प्रकाशनमा आउनुको पछाडिको रहस्य कबि श्रेष्ठको व्यक्तिगत र बौद्दिक पृष्ठभूमी हो भने कबि स्वयम साहित्यको अब्बल बिधार्थी र गुरु हुनुको अनुभव नै यसको कसी हो /

जोन हप्किन्सले ''गाइड टु लिटेररी थिंगकिंग एण्ड क्रिटिसिज्म'' कृतिमा भनेका छन् - ''यो संसारमा दिनहूँ लाखौँ पुस्तक प्रकाशित हुन्छन / तर तिनीहरुमा पाठकलाई स्पर्श गर्ने सिर्जना साह्रै थोरै हुन्छन /त्यसैले तिनीहरुको विश्वको जुन कुनामा सिर्जना गरिन्छन त्यहि कुनामा थन्किएर कृति होइन, पुस्तकको दर्जामा अस्तित्वहीन हुन्छन /'' त्यस्तै फ्रान्सिस बेकनले भनेका छन् - '' केही कृतीहरु चाख्नका लागि हुन्छन, केही कृति निल्नका लागि हुन्छन भने केही कृति चपाउन र पचाउनका लागि हुन्छन /'' कवि रुपकको यस 'बिगबेन र समय' कविता संग्रह

पढ्दा मलाई यिनै उपर्युक्त भनाइहरुको झल्झल्ती याद आईरहेका छन् / म दावाका साथ भन्न सक्छु कि कवि रुपकको लेखन जीवनको धेरै समयपछि प्रकाशित यस पहिलो संग्रह पाठकहरुलाई सिधै स्पर्श गर्दै, साहित्यिक स्वाद र बौद्दिक खुराक दिन सक्षम भएकोले यो

संग्रह कालजयी कृति हो जसमा बेकनले भनेजस्तै केही कविताहरु चाखेर स्वाद लिनका लागि छन् भने अधिकांश कविताहरु चपाएर पचाउनका लागि बनेका छन् / कविको यो पहिलो कृति भए पनि मलाई जोनको - 'परिचित लेखक, स्थापित प्रकाशक, विश्वसनीय समिक्षा, गतिलो भूमिका, शिर्षक सुहाउँदो साजसज्जा र मूल्य पूरापूर उपयोग हुने पुस्तक पढ्नुपर्छ'' भन्ने बिचारको उदाहरण बनेको छ / हुन त म गद्यभन्दा पद्य कविता रुचाउने पाठक हुँ तर पनि रुपकको प्रस्तुत

गद्य कविता संग्रह पढेपछि मलाई पद्यमात्र कविता होइन रहेछ भन्ने बिश्वास पलाएको छ / अर्को कुरा बेलायती हावा, पानी र माटोमा रम्दै नेपाल र नेपालीलाई बिर्सिए कि भन्ठानेको थिएँ तर आज मेरो सोचाइ गलत साबित भएको छ / अङ्ग्रेजीमा दख्खल रुपकले नेपालीमा पनि राम्रा कविता लेख्छन भन्ने त थाहै थियो तर सुन्दरताको यो हदमा कविता लेख्लान

भन्ने पनि सोंचेको थिइन / त्यो मेरो सोचाई पनि आज ठीक उल्टो भएको छ / मेरो लागि

मात्र होइन, समस्त नेपाली भाषा र साहित्यप्रेमीका लागि पनि खुसीको कुरा हो यो/ अब म यहाँनेर उनको प्रस्तुत कृतिभित्र पसेर संक्षेपमा चर्चा गर्न चाहन्छु /

नेपालमा नै उच्चशिक्षा हासिल गर्ने क्रममा नै बेलायती संस्कार र संस्कृतीको अंग्रेजी

साहित्यको माध्यमबाट नै प्रशस्त अध्ययन गरिसकेका कवि हृदय बेलायती हावापानी र संस्कारमा साक्षात्कार भइ त्यस समाजलाई बुझ्न र भिज्न सजिलो भएकोले होला कविले यस 'बिगबेन र समय' एकै संग्रहमा नै कविको बेलायत पस्दादेखिको डायस्पोरिक जीवनको प्रथम द्वितीय र तृतीय चरणका लाग्ने कविताहरु पस्कन सफल भएका छन् / प्रथम चरणका कविताहरु 'आमाको याद', ' एउटा प्रेमपत्र मेरी माछापुछ्रेलाई', 'देश यतिखेर', 'मेरै देशको चित्रजस्तो', 'रहर'जस्ता कविताहरुमा आफ्नो देश, घरपरिवार,साथीभाई,

परिवेश र संस्कारहरुको मोह अर्को शब्दमा घरदेशको मोह अर्थात नोस्टाल्जियाले ब्याकुल देखिन्छन कवि / 'एउटा प्रेमपत्र माछापुछ्रेलाई' मा कबि यसरि नोस्टाल्जिक हुन्छन:

''मेरी माछापुछ्रे

मेरा अगाध स्नेह तिमीलाई

मेरा हर चुम्बन्हारू मेरी तिमीलाई

मेरी पोखरालाई मेरी मातृभूमिलाई ''/

त्यस्तै गरि कविको डायस्पोरिक जीवनको दोश्रो चरणमा त्यहिंको समाजलाई बुझ्ने कोसिश गर्ने क्रममा कविले 'ट्युब यात्रा', 'म, थेम्स र मान्छेहरु', 'पूर्ब र पश्चिमतिर', प्रियसी र म' जस्ता कविताहरु जन्माएका छन् भने कवि त्यहिंको हावापानी, जनजीवन र संस्कारको गहिराईमा पुगी 'बिगबेन र समय', 'ब्राइटनको किनारमा',

'क्यामसंग' 'पप्पी डे र भम्पायरहरु', स्ट्र्याटफोर्ड अपअन एभन',जस्ता सशक्त कविताहरुद्वारा कविले डायस्पोरिक जीवनको तेश्रो चरण जहाँ एक अन्यदेशबाट गएको व्यक्तिले

आफु त्यस समाजको गहिरो अध्ययन गरिसकेको प्रमाण दिने चरण हो, कबि त्यहाँ पनि सशक्त छन् / वास्तबमा यस तेश्रो अध्यायमा पुग्नको लागि एक साधारण आगन्तुकका

लागि निकै लामो समय लाग्छ भने कतिपयलाई पुरै जीवन नै खर्चिन पर्ने हुन्छ / त्यसैले होला भूमिका लेखनमा प्रा. माइकल हटले भनेका छन्' '' ... यो एकजना बिदेशी कविले लेखेको वर्णन जस्तो लाग्दैन, यो एकजना बुझ्ने मानिसको भावनात्मक प्रतिक्रिया हो,.../'' प्रा. हटले भनेझैं बुझ्ने मानिसको भावनात्मक प्रतिक्रिया र डायास्पोरिक जीवनको तेश्रो चरणको लाग्ने शिर्ष कबिता 'बिगबेन र समयको एउटा अनुच्छेद हेरौं :

''दोश्रो विश्वयुद्द

चर्चिलको सिगारको धुँवा

आधा खसालिएको बकिंगएम प्यालेस

आधा बाँकी रहेको वेस्टमिन्स्टर प्यालेस

थ्याचरका कर्कश स्वरहरु

ब्लेयरका चतुर दशक र

क्यामरुनको चिडचिडाहट

हरेक हरेकको साक्षी बन्छ

गहभरी थेम्स बगाउँदै बिगबेन !

औंला भाँच्दै समयको

छटक ! छटक !! छटक !!!

ट...ङ् ! ट...ङ् !! ट...ङ् !!! ''

यस्ता सशक्त कविताहरुद्वारा कबि श्रेष्ठ डायस्पोरिक नेपाली बांग्मयमा दह्रो उपस्थिति जनाएका छन् /

राजनैतिक चेतका कविताहरु पनि यति सुन्दर हुन सक्दा रहेछन भन्ने कुरा पनि मलाई डा. श्रेष्ठकै कविताहरु पढेपछी बिश्वास भयो / यी राजनैतिक कविताहरुले जति ठूलो संदेश

बोकेका छन्, कविका काव्यशिल्पिले गर्दा कविताहरु त्यतिकै सुन्दर छन् / यी कविताहरुमा न अस्वभाविक शब्द र अलंकारहरु छन् न राजनैतिक टर्रा सिद्दान्तहरु थोपरिएका छन् /

सुन्दर र मिठा शब्द र आबस्यक बिम्बहरुमा सलल बग्ने मिठो काव्यरसमा प्रवाहित यिनका कविताहरु पाठकको मन छुने मात्र होईन कहिले मनभित्र झरनाझैं झर्छन कहिले आँखामा छचल्किन थाल्छन / 'अघोषित कैदीहरु' मा कवि यसरि बोल्छन, ''आफ्नै देशका शरणार्थीहरु हामी,

आफ्नै बासमा प्रवास भोगिरहेछौँ

आ-आफ्नै घरभित्रका अघोषित कैदीहरु हामी

थाहा छैन मृत्युदण्डको घोषणा कुरिरहेछौँ

वा स्वतन्त्रताको शंखघोष पर्खिरहेछौं '' /

यस कवितांश मेरो मनमा झरनाझैं झर्यो र मनलाई चुनढुंगाझैं रेटेर संगसंगै बगायो/ जनयुद्दको बेलामा आमजनताले दोहोरो चेपमा परेर भोगेको पिडा हो यो/ त्यस्तै 'अर्को एउटा महाभारत', 'बुख्याँचा र मुर्कट्टाहरु', 'देश ब्यापारीहरु', 'कठै मेरो देश!', 'के तिमी ठिकै त छौ ?', 'नासो लगिदिनुस है','सेन्ड होम अ फ्रेन्ड', 'पर्यटन बर्ष २०११', 'फरक तिमी र उसमा', 'एकादेशका कथा - १ र २', लगायत 'क्रान्ति आयो क्रान्ति आएन', देश यतिखेर', जस्ता सशक्त कविताहरु देशमा भईरहेको राजनैतिक बिसंगतिप्रती व्यंग्य गर्छन भने संगसंगै देशप्रेमले ओतप्रोत कवि हृदय छचल्किएको प्रष्ट हुन्छ / त्यस्तै गरि मिठो शैली तर फरक र विषम लाग्ने जीवन दर्शन र अद्यात्मिक कविताहरु पनि उत्तिकै सशक्त लाग्छन / यस उमेरमा नै यस रहस्यबादी गहन कविता सिर्जना गर्ने कवि हृदयको 'पानी जीवन', 'मृत्यु सौन्दर्य', 'याचना', 'स्वमुल्यांकन', 'एउटा जोर्बाको जन्म दिऔं', ' अपूर्व संगम', 'मान्छे' र 'माईलासंगको गन्थन' पढेपछि एक साधुसंग वा एक तपस्वी संग सात्क्षात्कार गरेजस्तो

गहिरो शान्तीको अनुभूति हुन्छ / एउटा उदाहरणको लागि कविको 'मृत्यु सौन्दर्य' बाट

एउटा अनुच्छेद लिन्छु,:

''साँच्चि जीवन जति सुन्दर छ

मृत्यु त्यति नै सुन्दर छ

भेदरहित छ जीवन र मृत्यु

मृत्यु हो जीवन

जीवन मृत्यु

सत्यं शिवं सुन्दरम

...''

कवि यहाँ जीवनका अध्यात्मिक रहस्य खोल्दै भन्छन, यदि नजिकबाट चिन्न सकियो

भने मृत्यु पनि जीवन जत्तिकै सुन्दर छ त्यसैले जीवन र मृत्यु भेदरहित छ / जव मृत्युको पहिचान हुन्छ तव भय हट्छ अनि जव भय हट्छ तब जीवन सुन्दरै सुन्दर लाग्छ / त्यसैले यी जीवन जगत र अध्यात्मका बारेमा लेखिएका कविताहरु पढ्दा कुनै कविको कविता हैन बरु कुनै गुरुका प्रबचन पढिरहेझैं सुनिरहेझैं लाग्छन र पढिसके पछि पनि धेरै बेर मनमा

गुन्जिरहन्छन / यिनै मनोभावहरु जागिरहेकोले कवि श्रेष्ठका यस कृतिमाथि केहि नलेखी धरै नपाएको हुँ र यो श्रद्दासुमनका फूलपाती चढाएपछि मन शान्त भएको महशुष गरेको छु / कविको काब्ययात्रामा उत्तरोत्तर प्रगतिको कामना / साधुबाद !

पृथ्वीनारायण क्याम्पस, पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।