17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डायस्पोरिक नेपाली कथामा नारी–सन्दर्भ

व्यक्तित्व / कृतित्व नेत्र एटम January 13, 2012, 3:55 pm

१. नेपाली डायस्पोराको वर्तमान अवधारणा

डायस्पोरालाई ‘आफ्नो घरदेश (homeland) बाट मान्छेहरू टाढाटाढा छरिनु’ भनेर परिभाषित गरिन्छ । यस शब्दावलीले आफ्नो परम्परागत घरदेश छाड्न बाध्य भएर पनि सांस्कृतिक रूपले विकासतिर हिँडिरहेका अल्पसङ्ख्यकहरूको जनसमुदायलाई सङ्केत गर्दछ । नेपालीहरू रोजगारी, अध्ययन र विशिष्ट जीवनपद्धतिका लागि विदेशिने र त्यतै बस्ने प्रचलन विगत पचास वर्षदेखि रहे पनि महिला श्रमिकलाई विदेश जाने स्वीकृति भने २०४६ सालको जनआन्दोलनपछि सजिलै मिल्न थालेको हो । यसै सन्दर्भमा २०५२ सालदेखि नेपालमा सञ्चालित माओवादी सशस्त्र विद्रोहका कारण नेपालीहरूमा सन्तानको अध्ययन एवम् सुरक्षालाई महत्त्व दिने र विदेश पलायन हुने मोह झन् बढ्न थालेको देखिन्छ । सात समुद्रपारि गए पनि बहुसांस्कृतिक सन्दर्भमा पारिवारिक एवम् आत्मसन्तुष्टिका लागि नेपाली भाषा र संस्कृतिलाई जीवित राख्ने, विकसित गर्ने तथा फैलाउने काममा नेपाली समुदाय सक्रिय देखिएको छ । विदेशी भूमिमा रगत र पसिना चुहाएर आर्थिक स्थायित्व कायम गर्दा समेत सांस्कृतिक निरन्तरताको कडीस्वरूप नेपाली साहित्य सिर्जना गर्ने, नेपालसँग नाता जोड्ने र त्यसलाई साङ्गठनिक परिचर्चामार्फत विस्तार गर्ने कार्य भइरहेको छ । नेपालीहरू छरिएर रहेका युरोप, अमेरिका र एसियाका अधिकांश देशहरूमा नेपालीहरूले यसतर्फ तीव्र प्रतिक्रिया देखाएका छन् । इ–पत्रिका, फेसबुक सञ्जाल र कृतिप्रकाशनले यस्ता क्रियाकलापलाई अगाडि बढाइरहेका छन् । यसै सन्दर्भमा २०४८ सालको प्रारम्भतिर अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नामक संस्था स्थापना भएपछि विश्वव्यापी रूपले नेपाली साहित्यमा डायस्पोराको अवधारणा भित्रिन खोजेको हो तर यसको खास परिचर्चा भने २०६० सालपछि मात्र सुरु भएको देखिन्छ । अहिले डायस्पोरिक नेपाली साहित्यले हरेकजसो विधामा ऐतिहासिक स्थान सुरक्षित गरेर आफ्नो भिन्न परिचय स्थापित गरिसकेको छ ।

यस प्रकार क्रियाशील डायस्पोरिक नेपाली साहित्यको विकासका लागि भूमिका खेल्ने प्रमुख श्रेय अनेसासका संस्थापक अमेरिकामा वसोवास गरिरहेका नेपाली साहित्यकार होमनाथ सुवेदी, डायस्पोराको साहित्यलाई मूल धारमा ल्याउन प्रयास गर्ने नेपाली समीक्षक गोविन्दराज भट्टराई र प्राज्ञिक रूपले डायस्पोरालाई स्वीकृत गरी उच्च तहको पठनपाठन एवम् अनुसन्धानमा गम्भीरतापूर्वक ग्रहण गर्ने त्रिभुवन विश्वविद्यालयका नेपाली भाषा शिक्षा विभाग तथा नेपाली केन्द्रीय विभागलाई जान्छ । यसै पंक्तिकारको नेपाली डायस्पोरा र अन्य समालोचना (२०६७) शीर्षकको समालोचना कृति प्रकाशित भएपछि नेपाली डायस्पोरिक साहित्य विश्लेषणको प्रारूपसमेत तयार भएकाले यसको आधिकारिकतामा अझै नयाँ आयाम थपिएको छ ।

२. घरदेश, बसाइ–सराइ र डायस्पोरा

डायस्पोरालाई अहिले प्रवासन र निरन्तर सांस्कृतिक सम्बद्धताको मेलका रूपमा व्याख्या गरिन्छ । यसले विश्वमा छरिएर रहेका अनेकौँ समान जातीय, नस्लीय र राष्ट्रिय समूहहरूलाई एकताबद्ध गर्दछ । प्रवासन (migration) र आप्रवासन (immigration) जस्ता शब्दसँग डायस्पोरा शब्दले दिने अर्थको चर्चा गर्दा डायस्पोरालाई भिन्न ढङ्गले हेर्नु आवश्यक छ किनभने यिनी तीनओटा शब्दहरूको अर्थमा पर्याप्त अन्तर छ ।

प्रवासन भनेको मान्छे एक ठाउँबाट अर्को ठाउँमा हिँड्ने प्रक्रिया हो र आप्रवासन भनेको चाहिँ नयाँ देशमा प्रवेश गर्ने र त्यहाँ स्थापित हुने कार्य हो तर डायस्पोराले भने भाषा, संस्कृति र मान्छेको छरिने र विसर्जन हुने प्रक्रियालाई बुझाउँछ । डायस्पोरा त जताततै छरिनु वा फैलनु हो । एउटा मान्छे नेपालबाट अमेरिका बसाइँ सर्नु प्रवासिनु हो, त्यहाँ प्रवेश गरेर स्थापित हुने प्रयास गर्नु आप्रवासन हो भने उक्त मान्छेसँगै नेपालको भूगोलबाट नेपाली जातित्व, भाषा र संस्कृति अनेकौँ देशहरूमा फैलिनु नेपाली डायस्पोरा बन्नु हो । नेपालबाट अमेरिका गएको नेपाली अमेरिकाबाट फेरि बसाइँ सरेर बेलायत आप्रवासनमा जान सक्छ । नागरिकताका दृष्टिले ऊ अमेरिकालीबाट बेलायती हुन सक्छ तर त्यसले पनि बेलायतमा नेपाली डायस्पोरा नै बनाउँछ । यसको मुख्य कारण के हो भने प्रवासन र आप्रवासन जस्ता शब्दले गतिशील, विच्छेद र प्रतिस्थापन आदि क्रियाकलापलाई सङ्केत गर्दछन् । यिनले डायस्पोराबाट बुझिने र डायस्पोरिक समाजको विशेषताका रूपमा विद्यमान रहने प्रतीकात्मक र सांस्कृतिक सम्बद्धता तथा अभ्यासको निरन्तरता भन्ने तात्पर्यलाई समेट्न सक्तैनन् । ती शब्दले विदेशीपनको विविधता मात्र बुझाउन सक्छन् तर पुनस्र्थापित डायस्पोरिक समाजको पृथकता वा फरक परिचयलाई प्रकट गर्न सक्तैनन् । डायस्पोराले फैलनुका साथसाथै गृहस्मृतिको भावनात्मक सम्बद्धता, घरदेशको प्रेममा फर्किन खोज्ने अनुभूति र विदारक अनुभवको भूमिकालाई पनि महत्त्व दिएको हुन्छ । डायस्पोरामा घरदेशको जातीय, सांस्कृतिक र ऐतिहासिक परिचय गुमाउनु पर्ला कि भन्ने पीडा तथा परदेश (Hostland) को समाजसँग समायोजन हुन नसकिएला कि भन्ने डरको द्वैधवृत्ति सधैँ रहिरहन्छ । डायस्पोरिक लेखन अधिक रणनीतिमूलक हुन्छ किनभने यसको मूल विषय नै पृथक् परिचयको स्थापना गर्नु हो । यस अर्थमा डायस्पोरा लेखन उत्तरऔपनिवेशिकतासित सम्बन्धित हुन पुग्छ । यस परिचर्चाबाट डायस्पोरा शब्दमा निहित केही विशिष्टताहरू प्रतिबिबिम्बत भएका देखिन्छन् । त्यसैले डायस्पोरा र डायस्पोरिक शब्दको अर्थवत्ता प्रवासन/आप्रवासन र प्रवासी/आप्रवासी शब्दले पूरा गर्न सक्ने देखिँदैन । अतः साहित्यिक विश्लेषणका क्रममा पनि ‘डायस्पोरा’लाई ‘प्रवासन’ वा ‘आप्रवासन’ शब्दले प्रतिस्थापन गर्नु वा गर्न खोज्नु उपयुक्त हुँदैन ।

डायस्पोराको परम्परागत अर्थले यसलाई छरिनु र निर्वासित हुनुसँग लगेर जोड्दछ । निर्वासन भनेको सजायका रूपमा प्राप्त हुने अवस्था हो । यसलाई बाइबलमा वर्णित ईश्वरले आडम र इभलाई इडेन नामको स्वर्गीय बगैँचाबाट पृथ्वीमा झर्न बाध्य बनाइएको कथासँग पनि जोड्न सकिन्छ । तर, समकालीन डायस्पोराका अनुभव यस्ता अतिवादी दण्डमूलक निर्वासित मनस्थितिका व्यथासँग तुलनीय हुन सक्तैनन् । डायस्पोरा अनुभूतिमा आफू, आफ्नोपन वा घरदेशका सन्दर्भमा उत्पन्न परिचयहीनताले केही हदसम्म नयाँ ठाउँमा बाँचिरहेको जीवनलाई विवश, अर्थहीन र निर्वासित ठान्नु भिन्नै कुरा हो तर यसले सिर्जनात्मक व्यापकताका क्षेत्रहरू पनि सँगै लिएर आएको विषयलाई उसले बिर्सेको हुँदैन । डायस्पोराको अहिलेको परिदृश्य यहुदीहरूले भोगेको बलपूर्वकको विसर्जनभन्दा पनि युरोपेली औद्योगिक क्रान्ति, विस्तारवाद र पुँजीवादका कारण अफ्रिका र एसियाली देशहरूबाट दासत्व, मजदुरी र अवसरको खोजीमा विश्वभरि भौँतारिँदै छरिन पुगेका अनेकौँ जातिहरू वा सशस्त्र द्वन्द्वका कारण विस्थापितहरूको समूहबाट निर्मित देखिन्छ । यसले गर्दा पर्याप्त भिन्नताका बीचमै पनि डायस्पोरामा रहेका जाति, नस्ल, राष्ट्र वा ठूलो स्थान (एसिया, अफ्रिका) का आधारमा पनि सामाजिक एकीकरणलाई सम्भव तुल्याएको हो । अर्कातिर यसले विश्वभरि नै विविधतामूलक मिश्रित संस्कृतिका समाजहरू सिर्जना भएर जातीय रूपमा स्थापित साम्राज्यहरू (जस्तै ः ककेसियन, याङ्लो स्याक्सन आदि) भित्र तिनै जाति, रङ वा सभ्यताका मूल्यहरू नै अल्पमतमा पर्न थालेका छन् । त्यसो भए पनि काल्पनिक वा मानसिक रूपमा उद्गमस्थलको अवधारणा विकसित गरेर संस्कृतिको जरो खोज्दै एकीकृत परिचय बनाउने कार्य तीव्र रूपमा हुँदै गएको छ । यसले डायस्पोराको संवेदना र सिर्जनाको एक प्रकारको भिन्न खाका नै निर्माण गरेको देखिन्छ ।

सफ्रान (सन् १९९१) ले भनेजस्तो डायस्पोराबाट घरदेशमा फर्कनु वा सम्पर्कित हुनु पुनर्जन्म भएजस्तो पटक्कै होइन । उनले भनेजस्तो घरदेश युटोपिया र परदेशको जीवन डिस्टोपियाझैँ नर्कचाहिँ नहुन पनि सक्छ । त्यसैले सफ्रानकै भाषामा घरदेश र परदेशलाई युटोपिया र डिस्टोपियाले प्रतिस्थापन गर्न सकिँदैन । यो कुरा यहुदीहरू वा आर्मेनियालीहरूको पुरानो सन्दर्भमा लागु पनि होला तर वर्तमानको औद्योगिक, प्राविधिक समाज र परादेशीय व्यक्तिका लागि यो सिद्धान्त व्यावहारिक रूपमा प्रयुक्त हुन गाह्रो छ । द्रुत यातायात र बहुल सीमापारको सजिलोका कारण अहिलेको डायस्पोरिक भूगोल अत्यन्त तरल अवस्थामा रहेको छ र यसले विश्वमै बहुपरिचय तथा अधिक सम्पर्क स्थापना गरिरहेको पाइन्छ । त्यसैले स्पिभाक (सन् १९९६) ले यसो भनेकी हुन्— ‘धेरैजसो देशमा नयाँ डायस्पोराहरू निर्माण हुनुको मुख्य कारण तिनका गृहदेशका नागरिक समाजको असफलता हो भन्नु गलत हुँदैन ।’ यसले नेपाली डायस्पोराको सन्दर्भलाई सटीक ढङ्गले परिभाषित गरेको छ किनभने नेपाली डायस्पोराहरू अधिकांशतः नेपालको असफल राजनीतिक व्यवस्था, पतनशील आर्थिक वातावरण र ह्रासोन्मुख मूल्यहरूको प्रधानताका कारण देशबाट पलायन भएर बनिरहेका छन् । उनीहरूले परदेशमा अपरिचित, किनारीकृत, अन्य वा नगण्य आदि विशेषणहरू भिरेर नयाँ परिचय पनि बनाइरहेका छन् ।

हरेक परदेशमा डायस्पोराले केवल सङ्घर्ष मात्रै गरिरहनु पर्छ भन्ने पनि छैन । दुबै भूमिको अनुभूतिभन्दा पृथक् स्वरूपको युटोपियाको कल्पना र चाहनाले उसलाई लखेटिरहेको चाहिँ हुन सक्छ । अतः डायस्पोराका सन्दर्भमा वास्तविक घरदेश भनेको स्थानीयतासहित जीवन भोगाइको आनन्दमय अनुभव हो । पल्टैपल्ट घरदेश छोड्दै र अर्को भूमि ग्रहण गर्दै जाँदा यो प्रक्रिया अत्यन्त जटिल बन्दै जान्छ ।

कुनै समूह डायस्पोरा भनिनका लागि अर्को देशमा सामाजिक–राजनीतिक सत्ताको पहुँचमा न्यूनता, आर्थिक रूपले कम सक्षम र सांस्कृतिक रूपले अल्पसङ्ख्यक हुनु पनि आवश्यक छ । त्यस्तै, त्यो समूह आफ्नो सांस्कृतिक परिचय स्थापनाका लागि सतत् क्रियाशील देखिनु जरुरी छ । बहुसङख्यकबाट आफूहरू प्रताडित भएको, विभेदमा पारिएको वा दोस्रो दर्जाको नागरिक र परदेशी व्यवहार गरिएको चेतना पनि उक्त समूहमा देखिनु पर्छ त्यसैले जातीय वा सांस्कृतिक विलयन भएको अवस्थामा डायस्पोरा जन्मन सक्तैन । राष्ट्रियताको भावनालाई डायस्पोराले भङ्ग गरिदिएको छ । राष्ट्रियता फेरिए पनि पुर्खाको भूगोल र घरदेशप्रतिको आत्मिक मोह वा लगाव जीवित रहँदासम्म डायस्पोरा मजबुत रहन्छ । डायस्पोराको अवधारणा विश्वव्यापीकरणबाट सिर्जित वर्णसङ्कर परिवेशमा स्थानीयकरणको प्रयास हो । यसले व्यक्तिहरूको जीवनपद्धतिबाट डायस्पोराको परिचय सिर्जना र पुनःसिर्जना भइरहन्छ भन्ने पुष्टि गरेको छ । यही परिचयका आधारमा नै दोस्रो–तेस्रो पुस्ताका व्यक्तिहरू आप्mनो छनोटअनुसार समूहमा आबद्ध हुन सक्छन् । यसरी डायस्पोरा गतिशील हुँदा संस्कृति पनि चलायमान हुन्छ र यसमा भेटिएका स्थान तथा समाजअनुसार परिवर्तन, परिमार्जन र रूपान्तरण हुँदै जान्छ । यसबाट प्रवासी ठाउँको संस्कृतिमा पनि विलचन आउँछ र अन्ततः आदिवासी एवम् डायस्पोराको भेद हराउँदै जान पनि सम्भव हुन्छ । यसले लैंगिकताको नितान्त भिन्न सन्दर्भ पनि स्थापित गर्न सक्छ । नेपाली डायस्पोराका आधारमा हेर्दा पुरुषहरूभन्दा नारीहरू बढी शोषणमा परेका देखिन्छन् । उनीहरूले अल्पसङ्ख्यक र गरिब हुनुको अपमान एकातिर खप्नुपर्छ भने अर्कातिर नारी हुनुका कारणले लैंगिक हिंसा र तिरष्कार पनि भोग्नुपर्छ ।

३. डायस्पोरिक नेपाली कथामा नारीको उपस्थिति–विश्लेषण

प्रस्तुत लेखमा डायस्पोरिक नेपाली कथामा नारीको उपस्थिति र अवस्थाको नमुना विश्लेषणका लागि निम्नलिखित कथाकारहरूका सङ्ग्रहमा सङकलित तीनओटा रचनाहरूलाई समेटिएको छ ः

(क)राजव : ‘बेबिसिटर’, क्यापिटल हिल (२०६५), पृ. २३—४०

(ख)सञ्जु बजगाईं : ‘अर्को मोड’, समुद्र र सपना (२०६७), पृ. ६७—७३

(ग)जया राई : ‘रूप’, बेकर स्ट्रिटका दुई आँखा (२०६८), पृ. ६—९

यी कथाहरूले कामदारका रूपमा रहँदा वा पुरुषका आश्रित बनेर विदेशमा बसेका नेपाली नारीहरू कसरी शारीरिक र मनोवैज्ञानिक शोषणमा पर्दछन् अनि तिनले लैंगिक सन्दर्भलाई कुन ढङ्गबाट उद्घाटन गर्दछन् भन्ने कुरा देखाएका छन् । यीमध्ये राजवको कथाले अमेरिकाली नेपाली, सञ्जु बजागाईंको कथाले बेल्जिका नेपाली र जया राईको कथाले बेलायती नेपालीको विशेष अवस्था प्रतिनिधित्व गरेका छन् ।

३.१ राजवको ‘बेबिसिटर’ कथा

राजव (जनार्दन पुडासैनी) समकालीन नेपाली साहित्यमा प्रतिभाशाली कथाकार हुन् । उनी केही वर्षदेखि सपरिवार अमेरिकामा वसोवास गर्दै छन् । उनको क्यापिटल हिल (२०६५) एघारओटा डायस्पोरिक कथाहरूको सँगालो हो । यसमा अमेरिकामा गएर आफ्नो पुरानो परिचयको धङधङी भएका, नवीन चिनारी स्थापनाको प्रयास गरिरहेका र पुँजीको राशिले थिचिएर आफ्नो सही दिशा चिन्न नसकेका अधिकांश नेपाली मूलका पात्रहरूको व्यथा उद्घाटन गरिएको छ । ‘बेबिसिटर’ उनको नेपाली श्रमिक नारी पात्रलाई केन्द्रमा राखेर रचिएको प्रभावशाली कथा हो । यसमा नेपाली विश्वविद्यालयमा अंग्रेजीकी रिडर पदमा कार्यरत रहेकै बखत डलको धूनमा अमेरिका छिरेकी उमाको मार्मिक जीवनपद्धति चित्रण गरिएको छ ।

उमा नेपालमा कामु अधिकृतकी पत्नी र तीन छोरीकी आमा थिइन् । विश्वविद्यालयमा पढाउँदापढाउँदै डलरको लोभमा परेर उनले एउटा एन्जीओको हर्ताकर्तालाई पाँच लाख खुवाएर अमेरिका आउने बहाना पाइन् । अहिले उनी अमेरिकामा डाक्टर विन्द्रा दम्पतीका दुई छोराहरूकी धाई अर्थात् बेबिसिटर बनेर उनीहरूको सेवामा जुटेकी छिन् । अमेरिका आएपछि म्यासाचुसेट्स राज्यको मेडफोर्ड सहरमा छजना केटा र एउटी केटीसँग अपार्टमेन्ट सेयर गरेर बस्न थालेकी उमाले कमाएको पैसा उसको पतिले घर, घडेरी, विदेशी रक्सीमा लगानी गरेको छ भने बाँकीचाहिँ भविष्यमा छोरीहरूको विवाह सजिलैसँग उम्काउने सुरमा जम्मा गरेको छ । उसका साथीहरू बौद्धिक कुरा गर्न पढ्न मन पराउन्नन्, तिनको अभिरुचि तास खेल्नु वा वाइन पिउनुमा देखिन्छ । उसकी रुममेट रमोलाले पनि लुगा, जुत्ता र कस्मेटिक्स आदिका कम्पनीबारे मात्र चासो राख्छे । नेपालबाट पति र छोरीहरूले डलर पठाउने कुरा मात्र गर्छन् । यस्तो परिस्थितिमा ऊ अत्यन्त खिन्नता, ग्लानि, एक्लोपन र निरीहता महसुस गर्छे । ऊ इन डिफेन्स अफ ग्लोबल क्यापिटलिज्म पढ्छे र अमेरिकाको पुँजीपरस्त जीवन, प्रक्रिया र यन्त्रवत् मान्छेको आलोचना पनि गर्छे ः ‘यहाँ डलर छ, जीवन छैन, छ भने पनि यन्त्रमय छ... बेस्वादको क्रियाकलाप छ... नवपुँजीवादले जीवन यन्त्र बनाइदिएको छ... यहाँको साँच्चैको जीवन त कर्पोरेटहरू बाँच्छन्... हामीहरूजस्ता त तिनको अतिव्यस्त यन्त्रपुर्जा हुने हो र तिनकै उत्तरदास भएर बाँच्ने हो... ’ (३१)

उमाको जीवनको द्वन्द्वमय अवस्थालाई कथाकारले यसरी चित्रण गरेका छन् ः

‘विन्द्रा दम्पत्तिका दुई भुराहरूको दिनभरिको स्याहारसुसारदेखि किचेनको सम्पूर्ण कामका अतिरिक्त तिनका यस्ता कतिपय अभद्र, लज्जास्पद क्रियाकलाप र अपमानपूर्ण व्यवहार भोग्नु देख्नुपर्छ उमाले । त्यसकारण उनलाई कहिलेकाहीँ त आजै यिनको काम छाडेर हिँडूँजस्तो लाग्छ । तर, उनले छोड्न भने सकेकी छैनन् । बरु पिल्सँदै तिनका भुराहरू तीन वर्षदेखि स्याहारिरहेकी छन् ।... राम्रै कमाऔँ, छोरीहरूको व्यवहार धुमधामसँग गराँै, बुढेसकालका लागि पनि राम्रै जोगाऔँ भन्ने उत्प्रेरणाले उनले आफ्नो स्वाभिमान, अहम्, विद्रोह र निराशालाई थिचिरहेकी छन् ।’ (३६)

विन्द्रा दम्पत्ति उमालाई केवल बेबिसिटर मात्र ठान्छन्, त्यसैले उसको बौद्धिकतालाई क्षूद्र आँकेर विन्द्राले जहिले पनि व्यङ्ग्य गरेको पाइन्छ । उसले विन्द्राका बच्चाहरूलाई खुवाउने, सुताउने, दिसापिसाब गराउने, पार्कतिर खेलाउन लैजाने, बेलाबेला नुहाइदिने र अतिरिक्त समयमा किचेनको काम तथा सरसफाइ गरिदिनुपर्छ । आठ माइल परको सहरबाट बेबिसिटिङका लागि दुईओटा मेट्रो बदल्दै र दगुर्दै मालिकको घर पुग्ने उमालाई बिएम्डब्लू कारमा हिँड्न् डाक्टर दम्पत्तिले हीन ठान्नु र उमालाई वास्ता नगरी उनीहरू अश्लील क्रियाकलापमा मग्न हुनु पुँजीवादी मान्यताका अनुकूल नै छन् । कामका लागि डलर तिरेपछि पुँजीपतिहरू मानवीय संवेदनाको ख्याल किन गरुन् ? उमालाई किताब दिँदा विन्द्रा भन्छे ः ‘किताब आफ्नै अपार्टमेन्टमा लगेर पढ्ने नि... यहाँ पढ्ने हैन... म चेक गर्छु नि... मैले यहाँ तँलाई काम गर्न राखेको, किताब पढ्न राखेको हैन... ’ (३२) ऊ फेरि भन्छे ः ‘तर त्यो उपन्यास भन्ठानेकी होलिस्, कथाको किताब भन्ठानेकी होलिस्... त्यो त एकदम बौद्धिक किताब हो... त्यसको कुरो तेरो दिमागमा घुस्ला के... ?’ (३३) यस्तो अवस्थामा उमा मुर्मुरिन्छे र परिस्थितिगत विवशताले आफू विन्द्राका बच्चाहरूको बेबिसिटर हुनुपरेकोमा अपमानित हुन्छे । ऊ सोेच्छे ः ‘कहिलेसम्म भोग्नुपर्ने हो मैले यो एटलान्टिकको श्रमशिविर... ’ (४०) घरमा डलर पठाउने यन्त्र बनेकी उमाको मात्र होइन, पबमा काम गर्दै कलेजमा अन्डरग्य्राजुएट पढ्दै गरेकी रमोलाको जवानी र जीवन पनि व्यस्ततामा खेर गएको सम्झेर पाठकसमेत दुःखित हुन्छ ।

पुँजीवादले विश्वका मान्छेलाई पुँजीको दास बनाउने उपाय पहिल्याएको हुन्छ । यसका लागि आवश्यकता पूरा गर्ने सन्दर्भमा मान्छे यन्त्रवत् हुन पुग्यो पुँजीवादको चाहना पूरा हुन सक्छ । यसमा अपमान, तिरष्कार, घृणा, ताडनाको कुनै लेखा हुँदैन । ग्लोबलाइजेसनको यसै अवधारणामा डायस्पोरा पनि समाहित भएको छ र उमा एवम् रमोलाले जीवन त्यसैमा आहुति दिएका छन् तर त्यसको चिन्ता गर्ने फुर्सद तिनले पाउनु वा चिन्ता गर्न सक्षम हुनु गाह्रो देखिन्छ ।

३.२ सञ्जु बजगाईंको ‘अर्को मोड’ कथा

सञ्जु बजगाईं साठीको दशकदेखि नेपाली कथाका क्षेत्रमा पाइलो हालेकी नवोदित कथाकार हुन् । उनी केही समयदेखि सपरिवार बेल्जियममा वसोवास गरिरहेकी छन् । उनको समुद्र र सपना (२०६७) मा चारओटा डायस्पोरिक र नेपाली परिवेशका एघार गरी पन्ध्रओटा कथा सङकलित छन् । यसमा रहेका कथाहरूमा नेपाली भूमि र डायस्पोरामा बसेका नेपाली नारीहरूले परिवार, पति र समाजबाट भोग्नुपरेका सन्त्रास, शोषण, हिंसा, परतन्त्रता आदिको चित्रण गरिएको छ र त्यसविरुद्ध विद्रोहबाट निकासको वातावरण पनि तयार पारिएको छ । ‘अर्को मोड’ कथामा पतिको स्वच्छन्द, हेपाहा र तिरष्कारपूर्ण व्यवहारका कारण म पात्र (रोहितकी पत्नी) समलिंगी व्यवहार (लेस्बियनिज्म) तिर आकर्षित भएर मारियासँग विवाह गरी पेरिसबाट बार्सिलोना गएकी छ ।

म पात्र नेपालको पहाडमा घर र मधेसमा खेती भएकी रोहितकी पत्नी हो । ऊ पतिकै आश्रयमा युरोप आएकी छ । पतिको स्वच्छन्द र हेपाहा व्यवहार सहेर ल्प्mयाटमा अधिकांशतः एक्लै बस्नुपर्ने कारणले उसको मनमा दिक्दारी भरिएको छ । रोहित पतिको अर्थ हैकम दिने मालिक भन्ठान्छ तर म पात्र सहकार्यको अपेक्षा गर्छे । रोहित नेपालीपनप्रति घृणा गर्छ भन्ने कुरा म पात्रलाई गरेको व्यवहारबाट थाहा पाइन्छ ः ‘श्रीमतीको अर्थ थाहा भएरै युरोपको यो सभ्य सहरसम्म लिएर आएको । नत्र मधेशको खेती र पहाडको घरभित्र गुन्यूचोलोमा दङ्ग पर्दै हुन्थ्यौ ।’ (६८) पतिको कुराले आहत भएकी पत्नीको आक्रोश नेपाल र नेपालीपनको स्मृतिमा यसरी प्रकट भएको छ ः ‘रोहितले आफ्नो दौरा–सुरुवाल, ढाका टोपी बिर्सियो । कुटो–कोदालो, हलो–जुवा पनि बिर्सियो । विश्वमान चित्रमा चिहाउँदा भेटिने गरिब देशको गरिब तर इमानदार ठिटो भन्नेसम्म बिर्सिएर उसले मेरो ‘डोमिनेट’ ग¥यो ।’ (६८)

झाङ (सन् २००८) का अनुसार वास्तवमा आधुनिक युगको डायस्पोरामा स्थान र स्मृति एकापसमा घनिष्ट रूपले सम्बन्धित हुन्छन् अनि स्मृतिले नै एसियन डायस्पोरामा विभिन्न स्थान तथा वर्तमान र भूतलाई जोड्ने महत्त्वपूर्ण साधनको काम गर्दछ । उपर्युक्त उद्धृतांशमा म पात्रले स्मृतिको प्रयोगबाट वर्तमान युरोपेली परिवेश र भूतकालको नेपाली संस्कृतिलाई जोडेकी छ । उसमा डायस्पोरा हुनुको परिचयका साथै नारी हुनुको पीडा पनि छ । पतिको हेपाइ खानु र दिनभरि पिँजडाको प्mलाटमा बस्नु उसका लागि बन्धन हुन् । ऊ सोच्छे ः

‘प्mलाटमा म हुन्छु र मेरो एक्लोपन हुन्छ । पल्लोपट्टिकी छिमेकीले पिँजडामा पालेका चराहरू केही छिनका लागि चिरबिराउँछन् र शान्त हुन्छन् । चारो पाई सके होलान् । मैले पनि साँझको चारो खानुपर्ने छ । ती पिँजडाका चराहरूलााई जसरी चारो दिन मलाई कोही आउने छैन । म आफ्नो चारो आफैँ हाल्छु । तर चारो सिध्याई सकेपछि पनि चराको शैलीमा म शान्त हुन सक्तिनँ । जीवन चारोसम्मका लागि मात्र सीमित भएन आजभोलि ।’ (६८)

हुन पनि म पात्र रातमा आफ्नै बिल्डिङको क्याफेमा पनि झर्न डराएको देखिन्छ । रोहित भने आफ्नो मर्जीअनुसार आधा रातसम्म पिएर कोठामा फर्कन्छ । म पात्र साहस गरेर एक रात क्याफेमा झर्छे, पिँजराबाट फुत्किन पाएको चरोझैँ । ऊ एभरेस्ट चढ्ने धोको सुनाउने बूढो बबलाई भेट्छे । यही एभरेस्टको कुराले म पात्र बबलाई आत्मीय लाग्छ । उसलाई पहिलेदेखि नै मन नपर्ने मारिया नामकी पुरुष शैलीकी केटी त्यही क्याफेमा देखिन्छे । बबले उसलाई हँसिली र स्वच्छन्द व्यवहारकी मारियासँग चिनाउँछ । ऊ विस्तारै मारियाको बोली, युक्ति, नजिकिने व्यवहारबाट आकर्षित हुन्छे र पनि सकारात्मक हुन सक्तिन । मारियाबाट उपहार र नेपालको लालीगुराँसजस्तै सुन्दरी भएको प्रशंसाबाट विभूषित हुन पाएर ऊ मक्ख पर्छे । मारियाले उसका सामु मन खोलेपछि र भेट्ने निम्ता दिएपछि ऊ निरन्तर सम्पर्कमा रहन्छे । रोहितको अभाव मारियाबाट पूरा हुन थाल्छ । अझ मारियाकै अगाडि रोहितले म पात्रलाई गिलासले हान्दा रोहितको व्यवहारलाई मारियाले ‘स्पेनिसहरूको राष्ट्रिय खेलमा छोड्ने साँढेजस्तो रिसाहा’ र ‘स्वास्नीको आत्मसम्मानको थोरै पनि ख्यान नगर्ने घिनलाग्दो पुरुष रहेछौ’ (७२) भनेर सिधै आक्रमण गरेकी थिई । मारियासँग घनिष्टता बढ्ने क्रममै म पात्रको जीवनले अर्कै मोड लिन पुग्यो किनभने उसले निक्र्यौल गरी— ‘जिन्दगी खुसीसाथ बिताउन लोग्नेमान्छे नै चाहिन्छ भन्ने छैन ।’ (७२) लोग्नेमान्छेको विकल्पमा उसले मारियासँगै विवाह गर्ने र उसैसँग वार्सिलोनामा बस्न जाने निश्चय गरी ।

वेस्लिङ (सन् २००८) ले डायस्पोरा र तृतीय–प्रकृति (क्वियर) लाई समान आधार हुने साहित्यिक प्रवृत्ति मानेकी छन् । डायस्पोरा र तृतीय–प्रकृति दुवै मान्छेका चलायमान परिचय हुन् । यी दुवैले तरलता मन पराउँछन् ः एउटाले स्थानको र अर्काले लैंगिकताको । यस आधारमा उनले बीसौँ शताब्दीको अन्तिम दशकमा ‘तृतीय–प्रकृति डायस्पोरा’ भनिने नयाँ परिघटना पनि सिर्जना भएको तर्क अघि सारेकी छन् । यस सन्दर्भमा सञ्जु बजगाईंको ‘अर्को मोड’ कथामा प्रस्तुत गरेको डायस्पोरामा घरदेशको आफ्नोपन त्याग्ने र रुढ व्यवहारमा मस्त हुने पति रोहितसँग दिक्दारिएर म पात्र मारियातिर आकर्षित भई उसले वैकल्पिक बाटो खोज्ने अवस्था सिर्जना गर्नुु कथाकारको पृथक् सोच हो । यसले नेपाली डायस्पोरामा देखिएको तृतीय–प्रकृतिमूलक नयाँ परिचयको अवस्था देखाएको छ । भौतिक आवश्यकता पूर्तिले मात्र मान्छे सन्तुष्ट हुन सक्तैन भन्ने देखाउँछ र कथामा आएको ‘पिँजडामा थुनिएको चरो’को प्रतीकात्मक महत्ता बुझ्न सघाउँछ ।

३.३. जया राईको ‘रूप’ कथा

जया राई एक दशकदेखि नेपाली कथामा सिर्जनारत प्रतिभा हुन् । उनी केही समय हङकङ र त्यसपछि सपरिवार बेलायतमा बसेर साहित्य र नर्सिङ पेसामा सङ्र्षरत छिन् । सन् २०११ मा सम्पन्न अनेसासको लन्डन सम्मेलनकी सफल संयोजक रहेर उनले डायस्पोरिक नेपाली साहित्यको प्रबद्र्धनमा साङ्गठनिक क्रियाकलापमार्फत् तीव्र सक्रियताका कारण निकै प्रशंसा कमाएकी छिन् । उनको बेकर स्टिटका दुई आँखा (२०६८) तेरओटा डायस्पोरिक नेपाली कथाहरूको सङग्रह हो । यसमा सङकलित ‘रूप’ लोग्नेबाट डिभोर्स पाएकी नेपाली रुक्सनाले बेलायतमा आफ्नै भन्नेहरूबाट भोगेको अपमानको मर्मस्पर्शी कथा हो ।

रुक्सना एक वर्षको छोरालाई नेपालमा छाडेर पतिको डिपेन्डेनट भिसामा बेलायत पुगेकी छे र त्यहाँ मरीमेटी काम गर्दै छे । उसलाई धोका दिएर उसको पति अरू केटीहरूसँग यौन सम्बन्ध राख्दै हिँड्छ तर रुक्सना आफ्नो पतिमाथि अति विश्वास गर्छे । एक दिन घरबाट निस्कँदा बसपास छुटेछ र लिन घर जाँदा पति अर्कै केटीसँग सुतिरहेको भेटेपछि रुक्सनाको मानसिकता यसरी विचलित हुन पुग्छ ः ‘नाम भनौँ र दुनियाँको अगाडि बदनाम गरौँ भन्दा आफ्नै इज्जत जान्छ रे । आँखाको अगाडि आफ्नै अपमान कसले गरेको त ? लोग्नेले । रुने कि चिथोर्न जाने ? कि जार काटे जस्तै सौता काट्ने ?’ (७) यसै घटनाका कारण रुक्सना पतिसँग छुट्टै बस्ने अठोट गर्छे र सोच्छे ः ‘ठिकै गरिस् कान्छी एउटा दह्रो पाइला चालिस्’ (७) तर उसले पतिलाई चटक्कै बिर्सन सक्तिन अनि अर्धपागल जस्ती बन्छे । पतिको चाला राम्रो छैन भनी साथीहरूले भन्दा उसले शंका गरेर पाखे किन बन्ने भन्ठानी तर अहिले पति उसलाई रन्डी भनी गाली गर्छ र नेपाल फर्काइदिने धम्की दिइराख्छ । हुन पनि आठ वर्ष बेलायतमा बसिसकेकी रुक्सनाको भिसाको म्याद अहिले थपिएको छैन । यसले उसमा पुलिसको भ्यान देख्ता पनि डर जन्माएको छ । होस्टेलमा पढाउन राखेको छोराले किन लिन नआएको भनी फोन गर्दा उसको मन कटक्क काटिन्छ । यो सबैको कारक ऊ पति नै हो भनी सोच्छे र छुट्टै बसेर ‘हामी दुवै खुसी छौँ’ भन्ने पतिमाथि कल्पनामै आक्रोश पोख्छे ः ‘तैँले चाहेको गरिस् । मैले यो पागल हुन त चाहेको थिएन । कि तेरो चाहना मेरो पागलपन हेर्ने थियो, पापी अपराधी ?’ (८)

डायस्पोरामा रहँदा आफ्नो काम, खर्च र परिवारका समस्या त छँदै छन्, त्यसमा पनि आफैँले भिसा थपाएर बस्नुपर्ने भएपछि रुक्सनामा सहाराको खाँचो देखिन्छ । एक दिन कार्यक्रममा भेटिएका गाउँले दाजुहरू नेपालीहरूको नयाँ सङगठन खोलेर बसेका रहेछन् र तिनले भेट गर्न आतुरता देखाउँछन् । पतिसँग भएको ठानी इज्जत गर्ने ती दाजुहरू एक्लै भएको थाहा पााउनासाथ यौनका अर्तीहरू दिने फुँडा बन्न पुग्छन् । ऊ लोग्ने र लोग्नेमान्छेप्रतिको नकारात्मक सोचाइ यसरी राख्छे ः ‘हैन यो लोग्ने भन्ने जीव आइमाईले मन नपरी नपरी भए पनि बोक्नु पर्ने घाँडो हो कि क्या हो, नत्र त अर्को कुनै व्यक्ति नै लोग्ने हुँ ठान्दो रहेछ ।’ (९)

रुक्सना पति छोडेर एक्लै बसेको थाहा पाएपछि सगठनको अध्यक्ष दाजुले बारम्बार फोन गरेर र मोबाइलमा अश्लील सन्देशहरू पठाएर दिक्दार बनाउँछ । यसले उसलाई निकै आक्रोशित र विचलित बनाउँछ । विदेशमा आपत् परेका बेला सहारा बन्न सक्ने सङ्गठनको अध्यक्ष नै नकचरो निस्किएर मात्तिन थालेपछि उसले फोन बन्द गर्छे । उसको निष्कर्ष अत्यन्त कठोर छ ः ‘पाँच करोड नेपाली छोरीहरूमध्ये अरू कोही नपाएर मलाई मन परो रे । विदेशमा जे गर्न पनि छुट ठान्ने ए गाउँले दाइ ! तिमी, भियनाको अँध्यारो बङ्करमा सात सात जना सन्तान, आफ्नै छोरीलाई जन्माउन लगाउने अपराधी बाउभन्दा कम सजायका भागिदाार चाहिँ होइनौ है ।’ (९) यसमा डायस्पोरामा बसेकी रुक्सनाले नारी हुनुको वास्तविक पीडा भोगेकी छ । उसमा एकातिर पतिसितको सम्बन्ध र उसप्रतिको दायित्व बिर्सन सकेकी छैन । साथीहरूले खुट्टा भए जुत्ता हजार भने पनि ऊ यसरी जबाफ दिन्छे ः ‘कसरी बिर्सन सकिन्छ त्यस्तरी कसम खाएर गरेको बिहे ? रातभर आँगनमा जग्गे राखेर, त्यतिका इष्टमित्रहरूका अगाडि आफूले मन पराएको केटोसँग बिहे गरेर घरजम गरेको । गाउँबाट काठमाडाँै आएर सङ्घर्ष गरेर सानो घरबार बसाएको । घरको रमाइलो वातावरण थियो । आमा हुने सौभाग्य छोरो जन्मेर भयो । त्यो साइनो टुटाउनै आएको त थिएन नि बेलायत ।’ (६) यो नोस्टाल्जियामा रुक्सनाको नेपाली आत्मा बोलेको छ । अर्कातिर उसमा छोराको ममता छ र झन् अर्को नचिताएको यौनसमस्या त अध्यक्ष दाइले नै निम्त्याइदिन्छ । यसप्रकार डायस्पोराका नारीहरू पुरुषहरूभन्दा भिन्नै समस्याहरूले समेत जकडिएका पाइन्छन् ।

४. विमर्श र निष्कर्ष

डायस्पोरा भनेको अनौपचारिक रूपले आफ्नो घरदेशभन्दा बाहिर बसेर पनि त्यससँग सक्रिय सम्बन्ध राखिरहने समुदाय हो । परदेशमै जन्मेर त्यहीँको नागरिक भए पनि घरदेशप्रति अपनत्व राख्ने समुदाय पनि यसमा समेटिन्छ । त्यसैले तिनलाई ‘घर छोडेका तर सम्पर्कमा भएका’ मानिन्छ । उनीहरू धेरै कारणले घरदेशमा जान वा त्यसको सम्पर्कमा रहन चाहिरहेका हुन्छन् । अतः घरदेशसँग कुनै तरिकाबाट पनि सांस्कृतिक सम्पर्कमा नरहेको समुदाय डायस्पोरा नभई विलयित हुन्छ किनभने त्यसको भिन्न परिचय हुँदैन । यस आधारमा हेर्दा माथि चर्चा गरिएका तीनैओटा कथाहरू डायस्पोरासित सम्बन्धित छन् । ‘बेबिसिटर’ मा उमा नेपाली साथीहरूसँग अपार्टमेन्ट सेयर गरेर बसेकी छ र ऊ नेपाल फर्कने दिन कुरेर बसेकी छ । ‘अर्को मोड’ की म पात्र पति रोहितले नेपालीपन बिर्सिएकोमा असन्तुष्ट देखिन्छे तर फ्रेन्च बब र स्पेनिस मारियाले एभरेस्ट वा लालिगुराँसको चर्चा गरिदिँदा गर्वले फुल्छे अनि तिनका कुराले आकर्षित हुन्छे । यो घरदेशसँग उसको अपनत्व भाव हो । त्यस्तै, ‘रूप’ की रुक्सना पतिसँगको सम्बन्धलाई नेपाली संस्कारमा परिभाषित गर्छे । ऊ कहिले नेपालकै स्कुलमा बोर्डस गरिएको छोराको सम्झनामा कल्पिन्छे त कहिले गाउँले दाजुको विश्वास गरेर सङगठनको कार्यक्रममा उपस्थित हुन्छे, तिनका मान्छेलाई घरमा स्वागत गर्छे । पाँच करोड नेपाली छोरीहरूमध्ये आफूलाई पनि एउटी ठान्नु घरदेशप्रति उसको अपनत्व हो । यी सबै पात्रहरूको कुनै औपचारिक भूमिका देखिँदैन किनभने उमा एन्जीओको काममा गएर अमेरिकामा गैरकानुनी तरिकाले बसेकी हो भने अरू दुईचाहिँ पतिको डिपेन्डेन्ट भिसामा विदेश गएका हुन् र पतिमाथिको त्यही डिपेन्डेन्सी नै उनीहरूमाथि अत्याचार हुनुको कारण बनेको छ । डायस्पोरा हुनका लागि आवश्यक अनौपचारिक अवस्था उनीहरूले देखाएका छन् ।

रिग्स (सन् २०११) का अनुसार डायस्पोरामा रहेका समुदायलाई एकताबद्ध गर्ने सङगठनहरूले तिनलाई विश्वव्यापी बनाउन सघाउ पुयाएका हुन्छन् । यस्तो सङ्गठनले घरदेश र परदेशका बीच असल सम्बन्ध स्थापित गर्ने भूमिका खेल्न पनि सक्छ । जया राई हङकङमा हुँदासमेत साहित्य प्रतिष्ठानमा आबद्ध रहेकी र बेलायतमा रहँदा अनेसास तथा साहित्य विकास परिषद्, युकेमा निकै सक्रिय भएर नेपालीहरूका लागि काम गरिरहेकी व्यक्तित्व हुन् । त्यसैले उनको कथामा डायस्पोरामा सक्रिय साङ्गठनिक क्रियाकलापले पनि प्रवेश पाएको छ । सङ्गठन राजनीतिक, साहित्यिक, व्यापारिक जुनै भए पनि त्यसले डायस्पोरालाई एकीकृत गर्ने र समुदायको हितमा आवाज उठाउने गर्दछ । डायस्पोराका केही नेपालीहरू भने एकताका लागि भन्दा पनि विभिन्न नाउँमा आफू ठूलो पदमा बसेर फुइँ देखाउन र फाइदा लिन खोज्ने हुनाले राईको ‘रूप’ कथामा भने सङ्गठनका मान्छेले नकारात्मक भूमिका खेलेको देखिन्छ । उसलाई भिसाको म्याद थप्न अप्ठ्यारो परेको बेला सहयोग गर्नु त कता हो कता, साङ्गठनिक सम्पर्कलाई गलत ढङ्गले उपयोग गर्ने प्रवृत्ति अध्यक्षमा भएकाले कथाकी पात्र रुक्सनाले फोनसमेत काट्नु परेको छ । यहाँ विश्लेषित अरू दुई कथामा भने सङगठनको परिचय र भूमिका देखाइएको छैन ।

विभिन्न कालावधिमा विकसित डायस्पोराहरूलाई निर्मितिका आधारमा कोहेन (सन् १९९७) ले निम्नलिखित छ वर्गमा विभाजन गरेका छन् ः

(क)पीडित डायस्पोरा

(ख)श्रमिक डायस्पोरा

(ग)अधीनस्थ डायस्पोरा

(घ)वाणिज्य डायस्पोरा

(ङ)गृहस्थ डायस्पोरा

(च)सांस्कृतिक डायस्पोरा

कोहेनका अनुसार यी सबै प्रकारका डायस्पोराका दुई तत्त्वहरू समान छन् ः पहिलो, सबै डायस्पोराका सदस्यहरू आफ्नो घरदेशभन्दा बाहिर बसेका हुन्छन् र दोस्रो, उनीहरूले आफ्नो घरदेशको छविसँग परिचित भई बोल्ने भाषा, अपनाएको धर्म वा विकसित गरिरहेको संस्कृतिमा त्यसको छाप देखाउँछन् । यस लेखमा चर्चा गरिएका कथाहरूका पात्रले मूलतः श्रमिक डायस्पोराको प्रतिनिधित्व गरेका छन् । उनीहरूको बोली, पारिवारिक सोच, जीवनप्रतिको धारणा, रीतिस्थिति आदि परदेशको आवश्यकताअनुसार केही परिवर्तित देखिए पनि तिनको जरोमा नेपाली संस्कारको गम्भीर छाप पाइन्छ । ‘बेबिसिटर’ की उमा अमेरिकामा पतिविहीन भएर बसेकी भए पनि एउटै अपार्टमेन्टमा बसेका केटाहरूसँग छाडा भएर हिँडेकी देखिन्न अनि विन्द्रा दम्पत्तिको अश्लील व्यवहारले उत्तेजित हुनुको साटो उनीहरूलाई नै घृणा गर्दछे । ‘अर्को मोड’ कथाकी म पात्र पनि पतिले नेपालीपन नबिर्सिओस् भन्ने आग्रह राख्छे भने ‘रूप’ कथाकी रुक्सना पतिसँग बिछोडिएर बसे पनि सन्तुष्ट हुन सक्तिन । ‘अर्को मोड’ बाहेक अरू दुई कथाका पात्रहरू परदेशमा श्रमशील भएर बाँचेका छन् र उनीहरूले ‘एनाफोरा’ (आफ्नै घरदेशमा बस्ने) लाई भौतिक समृद्धिका लागि अर्थ प्रवाह गर्नुपरेको छ ।

उपर्युक्त कथाहरूका आधारमा हेर्दा डायस्पोरामा रहेका पुरुषहरूभन्दा नारीहरू पारिवारिक र आर्थिक सन्दर्भमा बढी जिम्मेवार तथा बौद्धिक र सांस्कृतिक प्रसङगमा अत्यन्त सचेत देखा परेका छन् । ‘बेबिसिटर’ कथामा उमासित बस्ने केटाहरू रातभरि रक्सी खाएर हल्ला गर्ने खालका छन् तर उमा र रमोलाले भने पढाइलाई पनि निरन्तरता दिएका छन् । उमाले हरेक महिना नेपालमा डलर पठाएको र पुँजीवादका विकृतिमाथि विमर्श पनि गरेको देखिन्छ । राजव व्यवस्थापनका विद्यार्थी र वामपन्थी पृष्ठभूमिका भएकाले उनले यस प्रकारको पात्र सिर्जना गरेका होलान् । उमाको नेपाली स्तर हेर्दा त्यो अस्वाभाविक पनि लाग्दैन । ‘अर्को मोड’ र ‘रूप’ कथाका पुरुष पात्रहरू युरोपको भौतिक सुखमा लिप्त रहेका र पत्नी तथा परिवारप्रति जिम्मेवार देखिँदैनन् ।

स्पिभाक (सन् १९९६) ले भनेजस्तो नयाँ डायस्पोरामा नारी जीवन अत्यन्तै सङक्रमणशील हुनाले उदार र चलायमान देखिन्छ । यो पुरानो डायस्पोराको जस्तो धर्म, दासत्व र युद्धका कारण नभएर आर्थिक कारणबाट सिर्जना भएकाले नारीहरू बाहिरी श्रमका अतिरिक्त विनाज्याला घरका सानातिना कामका साथै पुनर्निर्माण, स्वास्थ्य, हेरचाह, व्यवस्थापन आदिमा कुशल ढङ्गले समावेश हुन्छन् । यस्ता घरायसी नदेखिने काममा ‘अर्को मोड’ की म पात्र निकै सक्रिय देखिन्छे । उदार र चलायमान हुनुको प्रमाण हेर्दा ‘बेबिसिटर’ की उमा सजिलैसँग अपार्टमेन्ट सेयर गरेर केटाहरूसँग बस्न सकेकी हो भने ‘अर्को मोड’ की म पात्रले तृतीय–प्रकृति स्वीकार गरेकी छ । त्यस्तै, रुक्सना पनि सङगठनका अध्यक्ष जस्ता बदमासहरूबाट बच्दै आक्रोशित र अर्धपागल बने पनि एक्लै निर्वाह गरिरहेकी छ । यसबाट केही नेपाली पुरुषहरू नेपालमा भन्दा पनि डायस्पोराम अझै स्वच्छन्द, स्वेच्छाचारी र दिग्भ्रमित हुँदै गरेको देखिन्छ अनि त्यसैका कारण नारीहरूले परदेशका पीडाका साथै पुरुषप्रधानताका अनेकौँ यातना र सन्त्रास खप्नुपरेको छ । राजव, सञ्जु बजगाईं र जया राईका नेपाली डायस्पोरिक कथाहरूले नारीका यस्ता मर्मलाई निकै कुशलतापूर्वक चित्रण गरेर तिनका वैकल्पिक बाटाहरूलाई पनि देखाएका छन् ।

सन्दर्भसामग्री

अस्क्रोफ्ट, बिल, गारेथ ग्रिफिथ्स र हेलेन टिफिन (सम्पा.). सन् २००८. दि पोस्ट–कोलोनियल स्टडिज रिडर. सेकेन्ड इडिसन, फस्र्ट इन्डियन रिप्रिन्ट. लन्डन यान्ड न्यू योर्कः रटलेज ।

एटम, नेत्र. २०६७. नेपाली डायस्पोरा र अन्य समालोचना. काठमाडौँः एकता बुक्स ।

कोहेन, रबिन. सन् १९९७. ग्लोबल डायस्पोराज. लन्डनः यूसीएल प्रेस ।

झाङ, बेन्जी. सन् २००८. एसियन डायस्पोराः पोइट्री इन नर्थ अमेरिका. न्यू योर्कः रटलेज ।

बजगाईं, सञ्जु. २०६७. समुद्र र सपना. काठमाडौँः रत्न पुस्तक भण्डार ।

मिश्र, सुदेश. सन् २००६. डायस्पोरा क्रिटिसिज्म. याडिन्बर्गः याडिन्बर्ग युनिभर्सिटी प्रेस ।

राई, जया. २०६८. बेकर स्टिटका दुई आँखा. अमेरिकाः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ।

राजव. २०६५. क्यापिटल हिल. काठमाडौँः अर्किड बुक्स ।

रिग्स, फ्रेड डब्लु. “डायस्पोराज यान्ड इथ्निक नेसन्जः कजेज यान्ड कन्सक्वेन्सेज अफ ग्लोबलाइजेसन”. वेब. दाखिला११.१.२०११े http://www2.hawaii.edu/~fredr/diaglo.htm

वेस्लिङ, मेग. सन् २००८. “ह्वाई क्वियर डायस्पोरा ?”. फेमिनिस्ट रिभ्यु. ९०. पृ.३०—४७, वेब. ृदाखिला ११.१. २०११

http://www.palgrave-journals.com/fr/journal/v90/n1/full/fr200835a.html

वोल्फ्रेज, जुलिअन. (सम्पा.) सन् २००७. इन्ट्रोड्युसिङ क्रिटिसिज्म याट दि ट्वेन्टिफस्र्ट सेन्चुरी. इन्डियन रिप्रिन्ट, जयपुरः रावत पब्लिकेसन्स ।

सफ्रान, विलियम. सन् १९९१. “डायस्पोराज इन मडर्न सोसाइटिजः मिथ अफ होमल्यान्ड यान्ड रिटर्न”. डायस्पोरा. १ः१. पृ.८३—९९ ।

स्पिभाक, गायत्री चक्रवर्ती. सन् १९९६. “डायस्पोराज ओल्ड यान्ड न्यूः विमन इन दि ट्रान्सनेसनल वोरल्ड”. टेक्सचुअल प्राक्टिस. १०:२. पृ.२४५—२६९ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।