19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

रोम्यान्टिक फ्याक्ट

कविता रुपेश राई January 21, 2012, 10:20 am

जवानीको कामुक्ता,

गाँजाले फुक्दै गरेको धुवा

सचेत समाजको कुनामा,

रुमलिरहेको साधु धारा।

कलकल आवाज आइरहेथ्यो।

छ्याप्छ्याप्ती नसाका

ठुटाहरू, मिउनिसिप्यालटीका कटेरा,

अनि सेतो रूमाल अज्ञान्ताको

पसिना दल्दै, बीजारोपन गर्दैगरेको

डिल पारिका फोगटामा, लाटो बस्ती।

मेनुको मुस्कान छचल्किरहेथ्यो।

सरररररर हावा,

कुत्कुत्याउँथ्यो स्पर्श

अभावहरूमा, लजाउथ्यो जवानी

अटेर संस्कारका चूल्हामा सोते बजाइरहेकी

ओठ, भयका कोठामा मायाका फप्लेटो

च्वाक्क बजार्थी कपोलमा।

हुरूरूरूरूरू सल्केथ्यो रूपेशको बस्ती

चिटचिट शङ्काहरू,

हलक्कै बढेको सम्बन्धमा

आनन्द र भयको खिचडी मस्काउने

ठेकेदार चुकुल लगाउँदै खुजरा समयका

फोक्टा पान प्याच्च-प्याच्च थुक्छ

साँघुरो गल्ली र गोरेटो!

प्रतिबन्ध, निषेधका जब कार्ड बाटोभरि!

ताल नमिलेको शब्द,

लाखेसका चिम्टा डुलाइ सङ्कोच,

सङ्कीर्ण चियाको प्याला कुरिरहेथ्यो

लाटो किराय घर।

आउँछ... जान्छ... आउँछ... जान्छ...!

अस्पष्ट फुटेको

बिब्ल्याँटो मेनुको,

अन्तकरण नपसेको इन्फेचुएसन समय

रूपेश सम्झिरहेछ।

प्रथम प्रेम-प्रमिका र परिभाषा!

डिस्पोजल लाइफ्...

नैतिक विज्ञानमा गोरेटो र दोबाटोको परिभाषा। रूपेशको जीवन शैली कुनै एउटा आधार हो। चः चः चः विचरा। ठिकै पऱ्यो। राम्रै भयो। हैन के हो? समाज विज्ञानको आचरण। निकोटिन नपुगेको वर्ण, पोलियो नहालेको अक्षर, फर्मामा बिग्रेको शब्द। लेप्रोसी चलेको समाज। प्रेम, माया, स्नेह, ममता, आनन्द, लेखिनै गाह्रो छ।

लेखिन्छ... मेटिन्छ... लेखिन्छ... मेटिन्छ...!

रोम्यान्टिक फ्याक्ट

ग्रिटिङ्स् कार्डहरूमा।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।