19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'गीतको रिस'बाट देखिने समयरङ

कृति/समीक्षा अनुप्रास January 21, 2012, 10:24 am

साइँला बाहुन

साइँला बाहुनले बाजेलाई पछ्‌याएनन्‌

बाबुलाई पछ्याएनन्‌।

उसले भने-

म म भएर बॉंच्छु

म म आफै बनाउँछु।

धेरै दाजुभाइबीच

कुन्नी किन साइँला मिल्नै सकेनन्‌

भने-

बरू कोइलाखानी जान्छु

पढ़्‌न जॉंदिनँ।

म ठग्दिनँ

आफैलाई।

भन्न त भन्यो

तर उसको कोठा छुट्टियो

फोक्टा छुट्टियो।

एकदिन

त्यही कोठामा सर्किनी कान्छी पसिन्‌

त्यसपछि त पानी छुट्टियो

जिन्दगानी छुट्टियो।

साइँला बाहुनलाई गाउँबाटै निकालियो

नाउँबाटै निकालियो।

अहिले साइँलाको आफ्नै गाउँ छ

आफ्नै नाउँ छ।

उ अहिले भन्छ-

मेरो नाउँ कसैले मेट्न सकेनन्‌

मेरो गाउँ कसैले मेट्न सकेनन्‌

जसले मेट्न खोजे

उनीहरूले नै

मेरो आफ्नो नाउँ बनाए

मेरो आफ्नो गाउँ बनाए

यसो गर्न मैले नै उनीहरूलाई सघाएँ।

कवि मनोज वोगटी उक्त कवितांशबाट जनजीविकाका पक्षधर बनेका छन्‌। यस बखत गीतको रिस संघर्षशील र विद्रोही बनेर हामी समक्ष प्रस्तुत छ।

सॉंइला बाहुनले बाजेलाई पछ्याएनन्‌। साइँला बाहुन बाहुन भएकैले विद्रोही बनेका छन्‌। सॉंइला बाहुन सार्थक बनेका छन्‌ यसरी

-अहिले साइँलाको आफ्नै गाउँ छ

.....

यसो गर्न मैले नै उनीहरूलाई सघाएँ। -सॉंइला बाहुन।

धेरै सॉंइला छेत्री, नेवार र सार्किहरूले आफ्नो गाउँ बनाएको ठाउँमा किन मनोजलाई सॉंइला बाहुन लेख्न बाध्य बनायो, यो विचारणीय विषय बनेको छ। समाजमा व्याप्त ठूलोसानोको भेदभाव अब रहेनन्‌। अब यो ठूलोसानो प्रतियोगिता बनेको छ। अब यो उचनिच, जातपात, भेदभाव राजनैतिक फायदाको मुद्दा बनेको छ। मनोजले जस्तै सम र देवकोटाले पनि सामाजिक अपसंस्कारलाई परिमार्जन गर्न कुनै कसर बॉंकी राखेनन्‌। सम र देवकोटाको समय र मनोजको भोगाइमा भिन्न परिवेश छ, तर यो परिमार्जन आज पनि आवश्यक छ, भोलि पनि यो प्रक्रिया उति नै आवश्यक रहिरहने छ। कविता व्यक्तिगत भावका अभिव्यक्ति होइनन्‌। कविता जनभावनाका, समूहका, राष्ट्रका, जातिका, समष्टिका अभिव्यक्ति हुन्‌, प्रतिनिधि हुन्‌। यसैले यहॉं म म भएर बॉंच्छु, म म आफै बनाउँछु भन्ने वाक्यांशले चुनौति दिएको छ । वास्तवमा हामी हामी बनेर बॉंच्नु हो, बनिनु हो । सॉंइला बाहुन - का कोइलाखानी जान चाहने सॉंइला ती लाखौँ गोर्खाहरू हुन्‌, जसले समाजका मान्यता र कुरिति- अपसंस्कारलाई गतिलो झापड़ लगाएर सिंगो जातिको आधारशिला राखे। यो ती लाखौँ गोर्खाहरूको सपना हो जसलेे सॉंइला बाहुन बनेर चियाबारी र कोइलाखानीमा रगत पसिना बगाएका छन्‌ -

बरू कोइलाखानी जान्छु

पढ्न जॉंदिनँ ।

- सॉंइला बाहुन

यसरी अग्लिन चाहनेहरूका, बनाउन चाहनेहरूका र बॉंच्न चाहनेहरूका सार्थक अभिव्यक्ति हुन्‌ सॉंइला बाहुन तर यो सिंगो जातिको घड़ेरीलाई धरि बेलाबखत जातपातको अपसंस्कारले हल्लाउन खोज्दा सॉंइला बाहुन विद्रोही बनेर उभिदिन्छ विप्लवी बन्दै । सॉंइला बाहुन - लाई अति नै सरल ढंगमा प्रस्तुत गरेका छन् मनोजले । मनोजका सबै कविताहरू लयात्मक छन्‌, अर्थहरू छर्लङ्ग पारेर। यो उनको विशेषता हो। कवितालाई सरल, सहज, स्पष्ट बनाउँदै यति धेरै कुराहरू भन्नु, यति गहन विषय राख्नु खुबै कुशलता चाहिन्छ, जो मनोजको कविता रहेको छ।

मनोजको कविता यहीँको माटो, बाटो, गोरेटो र आफ्नै परिवेशबाट प्रेरित छन्‌, प्रभावित छन्‌। आफु बॉंचेको परिवेश वैश्वीकरण र उपभोक्तावादले परिवर्तन भइरहेकोमा कवि मनोज सचेत छन्‌ अनि यो सचेतता उनका कवितामा झल्कन्छ। तर कविता कहिले पनि यो भूमण्डलीकरण र पू्‌जीवादले ग्रस्त छैनन्‌। कविले भोग्नपरेका विषयलाई भोग्न मान्दैनन्‌ र नै कहिले मार्मिक रूपमा त कहिले क्रुद्ध बनेर सामाजिक परिवर्तन, रुपान्तरण र भोगाइहरूलाई सार्थकरूपमा अभिव्यक्त गर्दछ। तर यसो पनि भन्न सक्छौँ, समाजले भोगेको कुरा नै कविले भोगेका कुरा हुन्‌ र कविताले पनि भोग्दै आफ्ना अभिव्यक्तिहरू पोख्दछ । समाज, कवि र कविता भोगाईको एकरूप हो। फरक यति मात्र छ, कविता भोगवाद, पुञ्जीवाद र विश्वीकरणबाट निर्लिप्त छ। यी सबै कुराहरू मनोजका कविताहरूमा परिलक्षित हुन्छ उनको अर्को कविता आमा र मोबाइल फोन बाट। आमा र मोबाइल फोन - गाउँ, बस्ती, शहर, बजार, सामाजिक परिवेश, भाव- विचार, विकृति, संस्कार-अपसंस्कार, तकनीकि, आर्थिक, राजनैतिक, शैक्षिक अनि दुःख-सुखको भुक्तभोगी परिवेशमा लतपत भएर अभिव्यक्ति भएका छन्‌। आमा र मोबाइल फोन मध्यम्वर्ग नारीको रूपमा हाम्रो समाजको लाचारपनको उदाङ्गो चित्रण हो। मोबाइल यहॉं आडम्बर, स्वार्थ, उपभोक्तवाद, भूमण्डलीकरण, शोषण, सामाजिक संस्कारमाथि आक्रमण, दयनीय आर्थिक अवस्था र विपन्नताको प्रतिक बनेको छ। गहन विषयलाई पनि मनोजले यति सरलतापूर्वक प्रस्तुत गरेका छन्‌, मनोजले।

यी पङि्‌त हेरौँ -

बीपीएलको राशिन थाप्ने लहरमा बज्छ आमाको मोबाइल फोन।

-आमा र मोबाइल फोन

आमा र मोबाइल फोन बद्लँदो समाजका नैतिक मूल्यलाई साकार रूपमा प्रस्तुत गर्ने प्रयास हो, भूमण्डलीकरणले ल्याएको आर्थिक उतारचढ़ाव हो, हाम्रो समाजको विपन्नताको चित्रण हो। समाजका नैतिक- अनैतिक मूल्यलाई प्रस्तुत गर्ने प्रयास हो। अघि अघि गाउँघरतिर निरक्षरहरूको चिट्ठी गाउँघरका साक्षर व्यक्तिहरूले बढ़ो चाख मान्दै पढ़ेर सुनाइदिन्थे । तकनिकी सुविधा अनि मोबाइल फोनले अब मान्छेको सोच अनि जीवनशैलीमा यति छिटो परिवर्तन ल्याइदियो कि अघिल्लो पुस्ताले आफ्ना नयॉं पीढ़िलाई सामाजिक नैतिकताबारे बताउनसम्म भ्याएनन्‌ । ज्यानरेशन ग्यापको - यो ठूलो खाड़ललाई आमा र मोबाइल फोनले सरलतापूर्वक प्रस्तुत गर्दै सामाजिक नैतिकता माथि सोच्न बाध्य गराएका छन्‌। अब जमाना निरक्षरहरूको चिट्ठी पढिदिने रहेन। अब समय धुर्तहरूको आयो। विवश आमाको भाउचर आफ्नो फोनमा हाल्ने ठगहरूको जमाना आयो। आमालाई यहॉं अघिल्लो पुस्ताको रूपमा प्रस्तुत गरिएको छ। आमाको सामुन्ने छोरा अर्थात नयॉं समकालीन पुस्ताको जीर्ण अवस्था बॉंचिरहेको छ, अर्थात छोरा बूढ़ो हुँदै गइरहेको छ। छोरा बूढ़ो हुनु आमाको विवशता हो, अनि आमाको अघि भुक्कुले नानीको अनिश्चित भविष्य पनि बढ़िरहेको छ। यहॉं आमा अर्थात अघिल्लो पुस्ता विवश र आशंकित छ । मोट्टी बुहारी र भुकुल्ले नाती पाएकोमा आमा ढुक्क छैन। अनिश्चित छ आमा अनि आमाको भविष्य। यो अनिश्चित भविष्य हाम्रो जातिको, हाम्रो समाजको यथार्थ हुन्‌।

जुन दिन नेटवर्क थिएन

त्यहीदिन घरमुनि पैह्रो गयो

फोन नै लागेन।

आमालाई पुर्‍यो पीरले।

आमा र मोबाइल फोन ।

यहॉं नेटवर्कको रूपमा सरकारको उदासीनता, प्रशासनको अनुत्तरदायित्त्व र राजनीतिको स्वार्थपनलाई प्रस्तुत गरिएको छ। घरमुनि पैह्रो जानु सामाजिक अव्यवस्था अनि संकटापन्न स्थीति हो। आर्थिक अनि सामाजिक दयनीयता हो। यो समस्या अनि संकटापन्न अवस्थालाई समाधान गर्नपर्ने उत्तरदायी व्यक्ति र सम्बन्धित निकायहरूको भ्रष्ट व्यवस्थामाथि प्रहार गरेका छन्‌।

गाउँमा बिहे छ

पुरानो साड़ी छ

र छ त्यही गिलाससेटको सस्तो उपहार।

गाउँमा मरौ छ

छोराको महिना मरेको छैन।

- आमा र मोबाइल फोन।

उपर्युक्त पद्यांशले हाम्रो समाजको आर्थिक अवस्थाको सुस्त गतिलाई प्रस्तुत गरेको छ। पुरानो साड़ी र त्यही गिलाससेटको सस्तो उपहारलाई हाम्रो जीवनस्तर, जीवनशैली र आर्थिक अवस्था जहीँको त्यहीँ रहेको, कुनै परिवर्तन नआएको, निरश देखाइएका छन्‌। यस कुरालाई कविताको अर्को पद्यांशले झर्लङ्ग पार्छ -गाउँमा मरौ छ

छोराको महिना मरेको छैन-ले।

व्यङ्‌ग्यत्मक प्रहार र निरशताको सममिश्रण बनिदिएको छ आमा र मोबाइल फोन यसरी।

बद्लँदो राजनैतिक अवस्थासितै कविताको व्यधानात्मक प्रहार पनि धेरै तिखो भइरहेेको छ। मनोजको कविताले यो प्रहार छद्म रूपमा नगरेर सोझै गर्ने आँट गरेका छ। मनोजको विम्बात्मक कविता जटिल छैन। यो प्रहार राजनैतिक व्यवस्थामाथि मात्र नभएर निष्क्रीय बनेको भ्रष्टचारयुक्त राजनीतिलाई सक्रिय बनाउन सघाउ पुर्‍याउनेहरू अर्थात जनता-माथि पनि गरिएको छ -

पढ्दैछन्‌आफ्नै खिल्ली

किनारा परेका अर्थहरूले।

- पोस्टर

पोस्टर कवितामा पोस्टर टॉंस्नेहरू अर्थात राजनेताहरूको प्रलोभन, दमन र भ्रष्टचारलाई पोस्टर अर्थात प्रतिक्रियाहिन जनताका, जसका प्रतिक्रियाहिन र निरूत्साहजनक प्रतिक्रियाकै फलस्वरूप बढ़ावा पाएका छन्‌, उनिहरूमाथि प्रहार गरेका छन्‌।

अबका राजनीति पनि प्रलोभन, अय्यासी र ग्लेमरले ग्रस्त छन्‌ भनेर भन्न चाहेका छन्‌ पोस्टर शिर्षक कविताले । उत्तरदायित्वविहीन भ्रष्ट राजनीतिको कुनै अस्तित्व छैन भन्न खोजेर राजनीतिलाई मर्यादावीहिन देखाएका छन्‌ पोस्टर कवितामा यसरी -

राजनीतिको त्यो सेक्सीपन

कस्सैले लेख्न सक्दैन पोस्टरमा।

गीतको रिस शिर्षक कविताले कवि मनोजभित्रका विद्रोहलाई उजागार गरेको छ। मनोज भित्र विद्रोह छ, यसैले मनोजको कविताले दुस्साहस गर्छ, रिस पोख्छ अनि विद्रोह गर्छ। मनोजलाई आफ्ना विद्रोही कविता माथि पूर्णआत्मविश्वास छ-

शब्द फुट्ता

कत्रो पैह्रो जान्छ भने

कारागार पनि पुरिदिन्छ।

- गीतको रिस ।

आफ्नो संस्कृतिमाथि भएको आघात र अनुकरणको आडम्बर र दासप्रवृत्तिलाई यसरी प्रहार गर्छ गीतको रिसले-

नेपाली अक्षर कहिले निग्रो भयो?

देश स्वतन्त्र भएको अर्धशतक भन्दा धेर भइसक्यो। सरकार समक्ष धेरै तर अधुरै परियोजना र प्रकल्पहरू छन्‌। सरकारको योजनामा मनोजको गाउँको बाटो भिक्टीमाइज छ। गाउँ नआएको सड़कको कविता सरकारको अधुरो परियोजना माथि व्यङ्‌ग्यत्मक प्रहार हो । गाउँ विषय लिएर सरकारको निराशजनक नीतिमाथि मनोज लेख्छन्‌-

गाउँ लेख्यो कि भॉंचिन्छ

सरकारको नीब ।

- गाउँ नआएको सड़कको कविता

सरकारको यो नीति मनोजको गाउँको हो, देशको गाउँको हो -

सड़क गाउँ आउन नसकेको हो कि

देशको नीति ।

- गाउँ नआएको सड़कको कविता ।

ढुङ्गा मनोजमा भएको कल्पनाशक्तिको, सिर्जन सक्षमताको, चिन्तनको र काव्यअभिव्यक्तिको एक उदाहरण मान्न सक्छौँ । ढुङ्गा-1 देखि ढुङ्गा-10 सम्म मनोजले जीवनको, विश्वासको, शान्तिको, पिरथीको, समाजको, क्रान्तिको र कलाको कुराहरू समेटेका छन्‌। ढुङ्गा मनोजको निम्ति मसिह हो -

ढुङ्गामा केही छैन, शान्त छ,

तिमीले सिक्नुपर्ने यही थियो।

- ढुङ्गा।

ढुङ्गा कविता वैचारिक क्रान्ति हो। आदिम युगमा ढुङ्गाकै घर्षणद्वारा आगोको आविष्कार गर्नु सभ्यताको पहिलो क्रान्तिकारी पाइला थियो। ढुङ्गेयुग मानव सभ्यताको पहिलो पहल हो। मनोजको ढुङ्गा - शिर्षक कविताले पनि सभ्यता, विचार, सद्भावनाको कुराहरू राखेका छन्‌। ढुङ्गा जस्तो कठोर शिषर्कमाथि कोमल पक्षहरू राख्न सक्षम मनोजमा ईश्वरवरद योग्यता छ। मनोजको कविता प्रवाहमय छ, प्रभावकारी छ, लय छ। यो काव्यप्रवाह निरन्तर बगिरहे मनोज एक दिन महासागरमा लय हुनेछ।

भातमा ढुङ्गा लाग्दा

नरिसाउनु मायालुसित

यस्तो घटना

चपाएरै खानेहरूसित घट्छ ।

- ढुङ्गा ।

यसरी मनोजले जीवनमा सम्झौताहरू कति महत्त्वपूर्ण छ र कति अर्थपूर्ण छ, बताएका छन्‌। यहॉं चपाएरै खानेहरू - ले व्यापक अर्थ राख्दछ। जटिल परिस्थितिहरू, धर्मसंकटहरू र मानिसले गरिरहनुपरेको सङ्धर्षमय अवस्थाहरूमा मानिसले कहिले मान कहिले अपमान, कहिले घृणा, कहिले उपहास त कहिले अनेकौँ लाञ्छनाहरू पनि सहन पर्ने हुन्छ, तर यी सबै अवस्थाहरूलाई सहन गरेर , सामञ्जस्यता राख्दै अघि बढ़्‌नुले नै जीवनलाई सार्थक र अर्थपूर्ण एवं आनन्द दिँदछ भन्न खोजिएको छ।

अराजक संवेद मनोजको विरोधाभास अभिव्यक्ति हो। वर्तमान अराजक व्यवस्थामाथि अराजक संवेद सोझो प्रहार हो। देशसित सरोकार नभएको व्यवस्थाले मनोजलाई विप्लवी बनाएको छ। व्यवस्था यति अराजक छ, देशद्रोही मिरजाफरहरू भन्दा पनि भ्रष्ट बनेको छ देशका व्यवस्थापकहरू। कवि मनोजले यस्तो परिवेशमा भ्रष्ट, विसंगत र राजनैतिक द्वन्दलाई भोग्दै अघि बढ़ेका हुनाले अराजक संवेद सबैभन्दा विद्रोही कविता बनेको छ। वर्तमानको यस्तो परिवेश बुझ्नलाई यी पंक्तिहरू हेरौँ -

त्यसपछि जतिनै चलोस्‌ आतङ्कीहावा

देशनै भॉंच्चियोस्‌ ठ्वाक्कै

त्यसलाई के।

- अराजक संवेद

तर अराजक संवेदले अराजक राजनीतिलाई मात्र होइन, तर यो अराजकतालाई प्रहोत्साहन गर्ने कायरपन र पाखण्डवादलाई अझ धेर प्रहार गरेको छ -

त्यसै पनि त्यसको बाइफाले दृष्टिदोष

गर्भवती भइबस्छ।

देशभरि चलाइएको राजनैतिक बलात्कारलाई

जबसम्म पूजा गर्छ पाखण्डवादले अनि

जबसम्म त्यसको सुरक्षाको निम्ति द्रौपदीले साड़ी खोल्छ

देश भासबाट उठ्‌दैन।

र छुँदैन गान्धीको जनै।

- अराजक संवाद

मौनधारक, बहिरो, लाटो शोषित जनताले केही गर्ननसक्ने, बरू अझ भ्रष्टचारलाई, शोषणले प्रोत्साहन पाउने तथ्य राख्दै यस्ता जनतालाई बॉंदर को संज्ञा दिएका छन्‌। अराजक संवेदमा गान्धीको बॉंदर अब शोषणलाई प्रोत्साहन गर्ने प्रतिक मात्र बनेको छ -

देश र वेद्को यो शीतयुद्धलाई

बॉंदरहरूले घॉंटी निमोठ्न सक्तैन।

कवि मनोजका कविताहरू सहज, सरल छन्‌। मनोजको विम्बात्मक कविता जटिल छैन। नयॉं-नयॉं विम्बहरूको सिर्जनाले कविको कल्पनाशक्तिलाई उजागार गर्दछ साथै कवितामा रहेको र कविताले भन्न खोजेको मध्यम्वर्ग जीवनका संघर्ष, वैचारिक क्रान्ति, व्यवस्था सुधार, विरोधाभास, कुण्ठा, व्यङ्‌ग्य र तिखो प्रहार नै मनोजका कविताका मुख्य तत्त्वहरू हुन्‌ जसले कवितालाई अझ सुन्दर, भावमय र अर्थपूर्ण बनाएका छन्‌।

भूमण्डलीकरण, साम्राज्यवाद, भ्रष्टचार, अपसंस्कार, जातिय गरिमा र मर्यादामा ह्रास आएको, हनन्‌ भएको, उपभोक्तावाद, हिंसा, पाखण्डवाद र आडम्बरवादले ग्रस्त भएको आजको समाजमा कवि मनोज वोगटीको गीतको रिस - ले विशेष महत्त्व राख्दछ ।

दार्जीलिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।