19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कवि आँकालाको ‘सन्तानहरू’

कृति/समीक्षा केदार संकेत January 29, 2012, 8:58 am

हामी वीर छौं, तर बुद्धु छौ ।

हामी बुद्धु छौं र त हामी वीर भयौं ।

भूपी शेरचन

कवि भूपीको यही कवितांशबाट आज म प्रवासी कवि आँकालाको सन्तानतर्पm अवतरण गरेको छु ।

आँकालाको यो कविता काव्यको पाठकीय अनुभूति एकसरो बेलैमा निकाले पनि ठ्याक्कै सकिहाल्ने जाँगर भने विभिन्न कारणवश अल्झेर बसिरह््यो । तर निकै जाँगर चलेको छ आजकल । धेरै नसकेका बासी अक्षरहरूका पाण्डुलिपिहरू नियाल्दै छु । कवि टंक बनेमदेखि यात्राकार विकल आचार्यसम्म । भौतारिनु जरुरी देख्दिनँ । सकेको गरौला, नसकेको बिस्तारै छिमल्दै जाम्ला । तैपनि बेलायती साहित्यकारहरूको एक पर्यालोचना गर्ने बेला भएर नै यता लागिपरेको छु म ।

कविता कृति ‘सन्तानहरू’ रामकृष्ण सुनुवार आँकालाले तीन दशकभित्र कोरेका कविताहरूको कृति हो । लाहुरे पेसामा संलग्न रहेर पनि आफ्नो साहित्य सिर्जनामा निरन्तर कलम चलाइरहने साहित्यकारको चिरपरिचित नाम हो, रामकृष्ण सुनुवार ‘आँकाला’ । धेरैजसो कविताहरू गद्य शैलीमा लेखिएका छन् भने थोरै कविताहरू मात्र पद्यात्मक छन् । उनको यो कृतिमा देशप्रतिका अन्तहीन माया, परदेशमा रहँदाको विभिन्न अनुभूति र जीवनका तीतामीठा क्षणलाई विश्लेषणात्मक तरिकाले काव्यमा उतारिएको छ । आँकालाको कविताको भङ्गालोले परम्परावादीहरूको ध्वजा फटाइदिएको छ । कवि एक राष्ट्रवादी, प्रकृतिपे्रमी तथा यथार्थवादीको विषयगत विविधता अनेक रुपमा ओतप्रोत भएर कवितामा प्रस्तुत गरिएको पाइए पनि कविताहरूमा यी तलका तत्व अवशेषहरू भेटिन्छन्÷पाइन्छन् ।

१. डायस्पोरिक, नोस्ट्याल्जिक चेतनाका कविता

२. नारी संवेदनवादी चेतनाका सौन्दर्य कविता ,

३. विनिर्माण अर्थात् ‘डिकन्स्ट्रक्सन’ रुपायित कविता

४. आध्यात्मिक, दर्शन कविता

५. ग्लोबलाइजेसन इकोलोगको कविता

६. सारांश

१. डायस्पोरिक, नोस्ट्याल्जिक चेतनाका कविता

धेरैजसो यो संग्रहका कविताहरू कतै न कतै (वि.सं. २०४४ सालमा गरिमा समेत) प्रकाशित र थोरै कविताहरू मात्र अप्रकाशित रहेका कवि आँकालाका जम्मा ५२ वटा संगृहीत कविताहरू प्रायजसो सबै प्रवासको धरातलमा उभिएर कोरेका हुन् । डायस्पोरा अर्थात् प्रवासमा बस्दा कोरिएका साहित्यबाट जसरी नेपाली साहित्य भण्डारलाई चुल्याउँदै आएको छ । त्यसैले यसलाई समालोचना गर्दा छुटाउनै नमिल्ने भइसकेको छ । प्रवासी साहित्यकारका कलमबाट सुखदःुख, त्यो ठाउँको जनजीवनको वास्तविकतालाई जीवन्त पाराले उतारिएको हुन्छ भने आफ्नो गाउँघरमा रहँदाको हरेक सम्झनालाई नोस्ट्याल्जिक भावनामा यथार्थ र भावनाको दुवै सिक्कालाई संयमित गरेर पोखाइदिएका हुन्छन् शब्दहरूमा । जुन शब्दहरूलाई टिपेर मनन् गर्नुको मजा बेग्लै हुन्छ । गाउँ–सहरतिरै घुमे जस्तो लाग्ने । खेले जस्तो लाग्ने । नाचे जस्तो लाग्ने उकाली–ओराली, खोला–नाला, वन–पाखा, लेक–बेसी, भोक–तिर्खा, साथी–संगिनी, गुन्द्रुक–ढिडो, छुर्पी–सेर्गुम मानो सबै प्रवासमा नपाइने चिजहरूको तलतल हो नोस्ट्याल्जिकको प्रभाव भनेको । यहाँ आँकाला पनि त यो तलतलबाट टाढा देखिँदैनन् ।

हेरौ यो पङ्क्ति —

क्या राम्रो फाँट कोदाको बाला झुल्दछ लहलह

भन्नै सकिन्न मातृभूमिको काख हाम्रो छ स्वर्गस्थल । (पृष्ठ सं. ४३, पोखराको सम्झना)

यसरी कवि आपूm बेलायतको भौतिक सुसम्पन्न सहरमा बसे पनि आफ्नो मनभरि भने मातृभूमि नेपालकै परिवेशमा रमिरहेको पाइन्छ —

जाडोमा छौ कि गर्मीमा छौ

पहाडमा छौ कि तराईमा छौ

ए ममताकी खानी !

मलाई पनि तिमी जस्तै बनाऊ । (पृष्ठ सं. ११२, ममताकी खानी)

२. नारी संंवेदनावादी चेतनाका सौन्दर्य कविता

नारीवादी साहित्य तथा समालोचनाको वास्तविक थालनी सन् १९७० का दशकमा थालिए पनि सन् १९४९ मा प्रकाशित फ्रान्सेली नारी लेखन साइमन ड बुभाको ‘द सेकेण्ड सेक्स’लाई नारीवादी लेखन तथा आन्दोलनको युगान्तकारी कृतिका रुपमा लिइन्छ । यसै सिलसिलामा समकालीन बेलायती कविहरूमा आफ्नो नाम एक परिचित कविका रुपमा उभ्याउन सफल आँकालाले यात्रा साहित्य र कथाहरूमा पनि कलम चलाएको पाइन्छ । कवि आँकाले उहाँका काव्यभित्र नारी संंवेदनवादी सौन्दर्य चेतनाका बिगुल प्रशस्तै फुकेका छन् । तर कविका यी तलका कविताहरू केवल नारी संंवेदनावादी सौन्दर्य चेतनाका मात्र नभएर आमा, ॐ शान्ति, म पनि विदेश जान्छु, अस्तित्व बोध, सन्तानहरू, पल्टनघर र वर्तमान बोल्छ जस्ता कविताहरूको उचाइ भने आजको संरचनागत नवीनताको नवकेन्द्र निर्माणमा राख्न सकिन्छ । त्यस्तै गरेर व्यङ्ग्य कवितामा भने ढुङ्गाका मूर्तिहरू, एक माघले जाडो जाँदैन, ‘दफा नं एक’ कविताहरू पर्न आउँछन् । आँकालाका अरू बाँकी कविताहरू पनि रोजा कविता नै हुन् यो क्षणसम्म आइपुग्दाका ।

यो संग्रहभित्र कविता आमा, सुत्केरी, युवती र लाहुरेको प्रियसीलाई पत्र कवितामा कवि आँकालाले नारीप्रतिको विभिन्न पीडाबोध र बाध्यताहरू सटीक तरिकाले प्रस्तुत गरेका छन् ।

म रणभूमितिर गएँ भने आमा !

छोरो मर्न गयो कहिल्यै नभन्नू

छाती पिटीपिटी कहिल्यै नरुनू

म रणभूमिमा मर्न गएको होइन आमा । (पृष्ठ सं. १०८, आमा)

३. विनिर्माण अर्थात् ‘डिकन्स्ट्रक्सन’ रूपायित कविता

डेरिडा लेख्छन् – ‘कुनै पाठको विनिर्माण गर्नुको तात्पर्य यादृच्छिक तरिकाले तीमाथि सन्देह अथवा उल्टाउनु भने हैन, तर पाठभित्र अन्तर्निहित युद्धरत सङ्केतक तत्वका शक्तिलाई फकाएर फुकाल्नु हो ।’ भाषा र पाठको नाममा तथ्य, सत्य, सार्वभौमिकता जस्ता कुराहरू कवि आँकालको कविताको धरातलमा एउटै पहाडको तरेली जस्तो भएर टल्केका छैनन् । कविता सरल भईकन पनि जटिल छन् । कवि एकातिर देशको चिन्तामा कविता बुन्छन् भने अर्काेतिर बीसवर्षे पल्टनघरको अनुभव, प्राप्ति, विसंगति र विकृतिलाई नजिकबाट नियाल्ने गर्छन् । यसै क्रममा कवि आँकाला पल्टने घरमा केही जरसाहेबहरूलाई काव्यिक भुङ्ग्रामा झरिला अगुल्टाले ठोसिदिएका छन् यसरी ।

अधिकृतहरू

एकथरी

भगवान समान मानिन्छन्

अर्काथरी

अलौकिक शक्ति प्राप्त ठानिन्छन्

कठपुतली जस्तो

स्वार्थपूर्ति गर्नेले मुनि मार्छन्, माथि मोल्छन् ।

आ–आफ्नो दुनो सोझ्याउन व्यस्त छन् । (पृष्ठ सं. ८६, पल्टनघर)

तेसै गरी मार्सन ‘ल’ (कानुन नं एक) (Brigade of gurkhas standing instruction /order or Regiment Standing Order) मा लेखिएको नियमलाई पनि कविले धुजाधुजा बनाएइदिएका छन्, जुन हजारौ वर्ष पुरानो हुँदा पनि संशोधन नभएर अधिकृतहरुका कोठामा झुन्ड्याइएका हुन्छन । जहाँ लेखिएको हुन्छ; दफा नम्बर एकमा (Boss is always right) यसमा खुशी नभए दफा नम्बर दुई हेर्नु भनिएको छ । र, दफा नम्बर दुई मा (If you have any querry go to rule number one) हेर्नु भनिएको छ । (which is boss is always right) त्यो बेलाको थाल ठटाएर हात्ती तर्साउने चलन आजभोली ‘कु’बेला भएको सङ्केत पनि कविले संझाउन भुलेका छैनन् । यसरी आफ्ना कुण्ठा मात्र नभैकन यथार्थपरक कुराहरु लिएर विउँत्याउदै अगाडि आउने लाहुरे÷प्रवासी साहित्य स्रस्टाहरु थोरै मात्र भेटिन्छन् । कविलाई कतै कसैले पल्टने परिवेशमा नीचो सोचेता पनि सधै आफ्नो नियम र कर्तव्यपालन अर्थात एउटा अनुशासित सिपाही भएर बाच्नु निष्टावान ठान्ने कविले ‘दफा नम्बर एकलाई पत्र’ मा भने यसरी धावा बोलेका छन् ।

तिमीले कुकुर जस्तो देख्दा हौ

तिमीलाई म मान्छे नै देख्ने गरेको छु

तर तिम्रो व्यवहार ब्वाँसो बनेर

मलाई अवाक् बनाइदिन्छ । (पृष्ठ सं. ७२, दफा नम्बर एकलाई पत्र)

४. आध्यात्मिक दर्शन कविता र

लडाइँको मैदानमा आपूmले बोकेको ग्रिनेडलाई मसीको भाँडो देख्ने,

भिरेका राइफलाई कलम सम्झिने र गलामा भिरेको गोलीका ब्यान्डुलरलाई

पूmलका गुच्छा सम्झिने र टाउकामा लगाएको हेलमेटलाई विश्व मानचित्र सम्झिने

कविको मनोभावना नियाल्दा कविमन आध्यात्मिक दर्शनतिर बढी उन्मुक्त

भएको पनि देखिन्छ ।

मैले भिरेको राइफल

कलम बनेर

खल्तीमा सजिएको पाउँछु

मैले भिरेको गोलीको माला

पूmलैपूmलका गुच्छा भएको पाउँछु । (पृष्ठ सं. ११६, ॐ शान्ति)

यहाँ कविले कविताको नामकरण सन्तानहरू गर्दै नेपाली आमाका सन्तानहरू बर्सेनी

गाँस, वास र कपासको खोजीमा संसारभरि छरिएर बाँच्नुको पीडालाई अंकित

गर्न खोजेको देखिन्छ ।

म पनि विदेश जान्छु

रुखमा पात होइन डलर फल्छ रे उहाँ

सुनको खानीमा डुबुल्की मार्न पाइन्छ रे उहाँ

आनन्दको जिन्दगीमा

मानव अधिकार पाइन्छ रे उहाँ । (पृष्ठ सं. ८८, म पनि विदेश जान्छु)

यसरी २० वर्षे पल्टने अनुशासनको परिधिभित्र खारिएर हुर्केका कवि आँकालाले

चाहेमा त्यो बेला पनि दुईचारवटा किताबहरू निकाल्न सक्थे होलान्, तर उनमा त्यो

हतारपन, निजी विचार र सिद्धान्तका बाछिटाले कहिल्यै भिजाएन । हुनसक्छ त्यही

कारण यो सन्तानहरूलाई बेलैमा जन्म दिन नसकेका हुन् ।

यहाँको सजिलोमा गाह्रो मान्नेहरू

त्यहाँको अप्ठेरोमा जिउँदै छन्

यहाँ आमासँग लाडे पल्टिएर

पुलपुल्याइमा हुर्केको छोरो

उहाँ त खै ! के गर्दै होला

समस्याको झोली भिरेर

भोकै छ कि नाङ्गै ? ( पृष्ठ सं. ५९, सन्तानहरू)

उकालोमा भेटिएको शीतल चौतारी

उहाँको युवावस्थादेखि नै साहित्यप्रति र समाजप्रति केही गर्नैपर्छ भन्ने

सोच कविताहरूमा पाउनु आपैmमा प्रशंसनीय कुरा हो । अझ भनौ संसारमा

भएका घटना परिघटनाहरूको साक्षी अर्थात् खेलको रेफ्रीको दायित्व कवितामार्फत

निर्वाह गर्नुभएको छ । उहाँको विचार, भावना विशाल खुला आकाशझँै

पारदर्शी देखिन्छ । कवि आँकाला साँच्चै भन्नुपर्दा लाहुरे कविहरूमध्ये सबैभन्दा

परिपक्क र राम्रा कवि बन्न सफल छन् भने कविताको अत्यन्तै फराकिलो

संसारमा आफ्नो सशक्त उपस्थिति जनाउनु भएको छ । डायस्पोरिक कविताहरूको

चर्चा गर्दा अब कवि आँकालाका शक्तिशाली कविताहरूको चर्चा गर्नैपर्ने अनिवार्य

हुनेछ ।

–साहित्यकार विश्वासदीप तिगेला

५. ग्लोबलाइजेसन इकोलोगको कविता

आज विश्वको यो सुन्दर प्रकृतिको मनोरम संसार एकातिर मानव जीवनको

लापर्वाहीले नासिएको छ भने अर्काेतिर खगोलीय संक्रमणबाट ग्रसित छ । यो

बेला विभिन्न समकालीन कवि, साहित्यकार, लेखक, चिन्तन सबैले यतातिर चासो

राख्दै विभिन्न माध्यमद्वारा वातावरणका बारेमा प्रचार प्रसार गरिरहेका बेला

यहाँ कवि आँकाला पनि अछुतो देखिँदैनन् ।

सूर्यको किरण ढाकी हाम्रा पातका तत्वहरू

सल्फरडाइअक्साइडले नष्ट पारिदिँदा

हामीमा फोटो सिन्थेसिस हुन नपाई

खाना बनाउन सकेका छैनाँै

हाम्रो प्रजनन प्रक्रियामा ह्रास आउँदै छ । ( पृष्ठ सं. ५६, बु्रनाईमा डढेलोे

जाँदा प्रकृति र)

६.सारांश

आँकालाका कविता सरल, सरस, सहज भईकन पनि त्यहाँका भाषाशैली र वाक्य–रचना

पदक्रम अनुशासित भएर उभिएको पाइन्छ । जीवन र जगत्लाई नजिकबाट हेर्नसक्ने,

व्याख्या गर्ने र यसका पछाडि सधंै तल्लीन रहने कवि आँकाला, ‘आफू एक्लै’

अर्थात् ‘म एउटै मात्र’ भनेर आफ्नो कोँइच मातृ भाषामा आपूmलाई उपनामबाट

चिनाए पनि कविले यी सन्तानहरू नामक काव्य लिएर आउँदा एक्लो

मान्छेको ती रहरलाग्दा सन्तानहरू हेर्ने रहर सबै पाठकलाई नलागेको भने हैन

। तर कविले ती सन्तानहरू कहाँसम्म पु¥याउन सफल भए ? अनि हामी स्रष्टाहरूले

पाठकको आँखासम्म, मनसम्म हात पार्न सक्यौं वा केन्द्रको सेरोफेरो र

विमोचनमै सीमित रहेर कवि हुन खोज्यांै ? यस्ता प्रश्नहरू तेर्सिएको

वर्षाैं हुँदा पनि हामीले आलोचना गर्न सकेनौं । यसमा ध्यान केन्द्रित गर्न

सकेनौं । हाई–हाईमा फुरुक्क फुक्र्याउँदै र आफू पनि मनमनै फुर्किदै

असरल्ल बगिरह््यौ र बग्दै छांै निरन्तर । अब यो रोकिनु पर्छ

अन्ततोगत्वा किताबका भूमिका अर्थात् शुभकामना दिँदा–लिँदा नातागोता र

कामकाजमा लगाइने साइनोलाई गाँजेर कथा भर्नु भराउनाले खस्रो महसुस पनि

हुन सक्छ ।

कविता धेरै लेखेर कवि बन्छु भन्नु पनि हुँदैन र कविता थोरै लेखेर पनि आफूलाई कवि भन्छन्

भनेर फुलिनु पनि हँुदैन भन्ने दर्शन बिर्सनु भएन । हामी फेरि यहीँ नै

रोकिन पनि भएन । मैले गरेको यो समालोचनामा कवि आफैंले पनि

आत्मसमालोचना जाहेर गर्नु प¥यो । हामी अरू पाठकहरूले पनि टीकाटिप्पणी गर्नु

प¥यो । सबैले एउटा पाठकीय अनुभूति र अनुभवका खेस्रा कोर्ने अनुमति जो

कोहीलाई पनि थियो र रहिरहनेछ । हामी यसरी नै अगाडि बग्दै जानुपर्छ ।

यहाँ, को टाढा को नजिक ? त्यस्ता भावनामा जातीय अर्थात् नश्लका रेखा कोर्न

भएन साहित्यमा । बहुआयामिकताको सक्दो ख्याल राख्नु प¥यो । यहाँ समालोचना

र समीक्षाको कुरा निकाल्दा त्यहाँ गरिने गहिरो अध्ययनको पनि खाँचो रहन्छ नै

। हुनत समालोचनाको सिद्धान्तलाई लिएर हेर्ने हो भने विभिन्न समालोचकहरूको

मत मतान्तर पाइन्छ । तर यहाँ हामीले जुनसुकै विषयको समालोचनामा अध्ययन

गरे पनि त्यो छोएको विषयमा आपूm निर्धक्क भएर उभिन सक्नु प¥यो ।

खेलाँचीमा पाकेकोलाई काँचो, काँचोलाई पाकेको नभनौं । त्यसो गर्दा न

काँचोलाई पकाउन पाइयो, न पाकेकोलाई खान पाइयो ।

मैले आँकालाको कवितामा जति पनि छोटो समालोचना गर्ने दुष्प्रयास गरे

त्यो नितान्त आधुनिक समालोचकीय सिद्धान्तबाट टाढा बसेर उत्तरआधुनिक विनिर्मित

र शास्त्रीय अनुशासनको गम्भीरताको भित्री मान्यतामा रहेको हो भन्न रुचाए ।

घीउ जस्ता चिल्ला शब्दहरूले मात्र मोलेर गुलियो लड्डु नबनाईकन पानीमा

मोलेका परिकारहरू पनि मीठा हुन्छन्, तर बनाउनमा निर्भरता पर्ने कुरा हो ।

आजको कविताहरूमा छन्द नै मन पर्दैन भन्ने म मान्दिनँ, तर छन्द मिलाउन कम्मर

कस्दा शब्दपटुकी धेरै बाँधिन आयो भने चिटिक्क परेको कम्मर पनि भद्दा देखिने

डरबाट जोगिनु पर्छ कवि । काल्पनिक विचारमा भन्दा चिन्तन र परिवेश सुहाउँदो

काव्यिक ऊर्जामा उर्लाउनु सक्नु राम्रो होला भन्छौं हामी । अनि आउँदा दिनहरूमा

अरु साहित्यिक खुराकहरू लिएर आउने निम्तो दिँदै उत्तरोत्तर कामनासहित यी

लोभलाग्दा सन्तानहरूबाट बिदा मागे आजलाई ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।