१ पृष्ठभूमि
नेपालको कास्कि जिल्लामा जन्मी हुर्केका र त्रिभुवन विश्वविद्यालय नेपालबाट अङ्ग्रेजी विषयमा स्नातकोत्तर अनि बुर्नेल युनिभर्सिटी बेलायतबाट विद्यावारिधि उपाधि प्राप्त गरेका शिक्षाविद् डा.रूपक श्रेष्ठ अहिले बेलायतको एउटा शैक्षिक संस्थामा आबद्ध छन् । एउटा हातमा कुची अनि अर्को हातमा कलम लिएर चित्रकला अनि काव्यकलाको आराधना गर्ने कुशल चित्रकार तथा कवि रुपक गम्भीर स्वभावका व्यक्ति हुन् । धेरै बोल्न भन्दा मनन गर्नमै रमाउने रुपक आप्mनो ब्रह्मले सत्य ठानेका कुरालाई कि त कुचीका माध्यमबाट चित्रमा उतार्छन् कि त साहित्यका माध्यमबाट बाहिर ल्याई समाजसमक्ष अर्पण गर्दछन् । बाल्यकालदेखि नै कविता रचनामा लागेका रुपकले अहिले सम्म धेरै कविता रचना गरिसकेका छन् । यिनले रचना गरेका कतिपय कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् भने धेरै कविता पाण्डुलिपिमै सुरक्षित छन् । ती कवितालाई हेर्दा कवि रुपक जन्मभूमि नेपाल प्रति अगाध माया गर्ने राष्ट्रपे्रमी कविका रूपमा चिनिन्छन् । आप्mनो देश नेपाल सुन्दर बनोस् भनी अनवरत कामना गरिरहने कवि रूपक नेपालको प्रगतिमा देखिएका विकृति र विसङ्गति देखेर आक्रोशित भई आप्mना कवितामा तिनै आक्रोश र विसङ्गतिको अभिव्यक्ति दिएका छन् । त्यसै क्रममा नेपालका मान्छे, मान्छेको प्रवृत्ति, मान्छेको जीवन, नेपालको समाज, संसदीय गतिविधि, राजनीति, क्रान्ति, शैक्षिक स्थितिमा देखिएको विकृति र विसङ्गतिलाई उजागर गरेका छन् । यसै क्रममा कतिपय ठाउँमा शान्तिको कामना गर्दै मृत्युयाचनाको स्वर पनि सुसेलेका छन् । यहाँ तिनै आक्रोश र विसङ्गतिलाई नियाल्दै यिनका कविताको शक्ति र सीमालाई सङ्केत गर्ने प्रयत्न गरिंदैछ ।
२ मान्छे विसङ्गत
मानवीय भावनले ओतप्रोत भएको व्यक्ति नै सच्चा मानव मानिन्छ । यस संसारलाई सुन्दर तुल्याउने मान्छे यहाँ अमानवीय व्यवहार प्रस्तुत गर्ने दानव जस्तो बन्न थालेको छ । यहाँका मान्छे सर्प जस्ता छन् । स्वार्थपूर्तिका निम्ति यहाँका मान्छेले नाना प्रकारका चापलुसी गर्दछन् । आप्mनो स्वार्थपूर्ति भएपछि जुन हातबाट अमृत प्राप्त गर्छन् त्यही हात डसेर त्यस दातालाई सिद्ध्याउने प्रयत्न गर्दछन् । यहाँ यस्ता मानिसहरूको जमात छ । त्यसैले यहाँ मान्छेसित पनि सचेत हुनुपर्दछ । यहाँका मान्छे सर्प हुन्, सर्प । कवि रुपकले “साँपहरू” शीर्षकको कवितामा यही भावलाई यसरी व्यक्त गरेका छन् ः
थुप्रै साँपहरू
मान्छेको भेषमा
हात फैलाउँदै आउँछन्
मनग्गे दुध पियाएपछि
सक्कली रुप देखाउँछन्
अनि दुध पियाउने हातहरूलाई डस्छन्
३ प्रवृत्ति विसङ्गत
कसैको आडमा पुरुषार्थी बन्नेहरू धेरै छन् । त्यस्ता व्यक्तिहरूमा लघुताबोध हुन्छ । कुनै व्यक्ति आप्mनै बलबुतामा उठेका हुन्छन् । त्यस्ता व्यक्तिहरूमा उच्चताबोध हुन्छ । कवि रुपकलाई कसैको आशीर्वाद पाएर ठूलो व्यक्ति बन्ने रहर छैन बरु आप्mनै बलबुतामा सिँगारी खेल्ने महाभारतको कर्ण बन्ने रहर छ । आप्mनो इच्छा व्यक्त गर्ने क्रममा कविले आप्mना कवितामा सबैलाई अर्काको आडमा नबाँची आप्mनै पुरुषार्थमा बाँच्नुपर्छ जसले मान्छेलाई उच्च बनाउँछ भन्ने अप्रत्यक्ष सन्देश पनि दिएका छन् । स्वच्छ समाज निर्माणमा शकुनी जस्ता व्यक्ति घातक हुने भएकाले त्यस्ता व्यक्तिलाई कविले धम्काएका छन् । जानकारीका निम्ति कविले रचना गरेको “युद्ध” शीर्षकको कविताभित्रका केही पङ्क्तिलाई उल्लेख गर्न सकिन्छ ः
म आशीर्वादको अर्जुन बन्न सक्दिनँ
मलाई मिहिनेत, भरोसा र विश्वासको कर्ण प्रिय छ
ए शकुनीहरू
यो पासाले खेल्ने खेल होइन
४ जीवन विसङ्गत
मान्छेले केही गर्ने उत्साहका साथ आप्mनो जीवनयात्रालाई गतिमान बनाइराखेको हुन्छ । लक्ष्यप्राप्तिका निम्ति शरीर र मन दुवै परिचनाल गरिराखेको हुन्छ । नभेटाइ नहुने भोक, तीर्ख र निद्रा पनि उसले बिर्सिराखेको हुन्छ । कहिल्यै कसैले पूर्णता प्राप्त गर्न नसकेको हो भन्ने जानेर पनि तृष्णा तृप्तिको अविराम यात्रा हरेक मान्छेले गरिराखेको हुन्छ । मान्छे हरदम छटपटाइराखेको हुन्छ । यस्तै किसिमले बिसौं वर्ष बिताउँदा पनि जीवनमा केही गरेको देखिंदैन । आफैलाई बिर्सेर अर्पित हुँदा पनि केही प्राप्त गरेको अनुभव हुँदैन । मान्छे जीवन असन्तुष्टि, छटपटी र पीडाको सङ्गम हो । यस्तो जीवन आजका मान्छेले भोगिराखेका छन् । यस्ता यथार्थपरक निराशापूर्ण भाव व्यक्त भएका कविता रुपक श्रेष्ठले रचना गरेका छन् । जानकारीका निम्ति कवि रूपकले रचना गरेको “तिमी र म” शीर्षकको कविताका केही अंशलाई अगाडि राखेर हेर्न सकिन्छ ः
खै तिमीले के नै ग¥यौ ?
मैले के नै गरें ?
केवल छटपटाहटमा बिताएछौं समय
बिपनामै डरलाग्दो ऐठन भोगेर
रिपभ्यान बिङ्कल जस्तै
बीसौं वर्षसम्मका अमूल्य जवानी
अनकन्टार जङ्गलमा निदाएर
गाउँ जाने बाटै बिर्सने गरी हराएछौं
मान्छेले आप्mनो जीवनको वास्तविक लक्ष्य पहिल्याउन सकेको छैन । लक्ष्य अस्पष्ट भए पनि मान्छे त्यही भ्रमपूर्ण लक्ष्य प्राप्तिका निम्ति दौडिराखेको छ । यसरी यात्रा गर्दा उसले आफैलाई बिर्सिराखेको छ । उसका जीवनका अनेकौं बसन्त सिद्धिइरहेका हुन्छन् । यस्तो यात्रा गर्दा आफै भित्रको देवतालाई पनि मान्छेले भेट्न सक्दैन । आपूm र आपूm भित्रको शक्ति चिन्न सकेको छैन । वास्तवमा सबै मान्छेको जीवन यस्तै अज्ञानतामा नै सिद्धिइसकेको हुन्छ । यही भाव व्यक्त गर्दै कवि रूपकले “मान्छे” शीर्षकको कवितामा भनेका छन् ः
सफलताको खोजमा दौडदा दौडदै
जीवन छुटेको देख्दैन मान्छे
विसङ्गती जीवनलक्ष्यको भ्रम बढेर
आफै भित्रको भगवानलाई
भेट्न भ्याउँदैन मान्छे
मान्छेले जीवनलाई उज्यालो मात्र हो भनेर खोज्न थाल्छ । उज्यालो र खुसी मात्र जीवन हो भनी दौडँदा दौडँदै मान्छेले यथार्थ जीवन भोग्न सकेको छैन । हाँसोलाई प्रसन्नतापूर्वक स्वीकार्ने हो भने रोदनलाई त्यस्तै सहज रुपमा स्वीकार्न सक्नुपर्छ । सँधै मिठोचोखो मात्र खान पाइने दसैं मात्र पनि जीवन होइन अनि सँधै धनधान्य भित्र्याउने अवसर मात्र पनि जीवन होइन । जीवन भनेको त घामको राप पनि हो अनि पानीको चिसोपन पनि हो । यस्तै जीवन भनेको आराम पनि हो अनि थकाइ पनि हो । यसरी जीवनलाई चिनाउने क्रममा कवि रुपकले “माइलासँगको गन्थन” शीर्षकको कवितामा भनेका छन् ः
साँच्चै जीवन न त
ठूलेले खोजेको
सँधैको दसैं जस्तो
न त कान्छाले कल्पेको
पहेलपुर मङ्सिर मात्र हो
माइला
जीवन भनेको त
घाम हो, पानी हो, थकाइ हो अनि सुस्ताइ हो
५ समाज विसङ्गत
आज नेपालीलाई आप्mनै देश शरणार्थी सिविर जस्तो बनेको छ । आप्mनो घर पनि प्रवासको घर जस्तो भएको छ । त्यो घर नै कैदीखोर जस्तो भएको छ । त्यहाँ बस्ने मानिसहरू सबै कैदी जस्ता सावित भएका छन् । ती त्यस्ता कैदी हुन् जुन आप्mनै घरभित्र अघोषित कैदी बनेर बाँचेका छन् । ती कैदी आफन्तको व्यवहारबाट कुनै पनि बेला मृत्युदण्ड बेहोर्नुपर्दछ भन्ने त्रासमा पिरोलिएका छन् । भनिन्छ त्यो त्रासदीपूर्ण कैद मृत्यु वरणका निम्ति हो वा स्वतन्त्रता प्राप्तिका निम्ति हो ? यस्तो विसङ्गतिपूर्ण जीवनको यथार्थ चित्र देखेर पिरोलिएका कवि रुपकले “अघोषित कैदीहरू” शीर्षकको कवितामा यही भाव व्यक्त गर्दै भनेका छन् ः
आप्mनै देशका शरणार्थीहरू हामी
आप्mनै वासमा प्रवास भोगिरहेछौं
आआप्mनै घरभित्र अघोषित कैदीहरू हामी
थाहा छैन मृत्युदण्डको घोषणा पर्खिरहेछौं वा
स्वतन्त्रताको शङ्खघोष कुरिरहेछौं ।
६ संसदी गतिविधि विसङ्गत
कवि रूपकले आपूm बेलायतमा बसेर पनि आप्mनो देश नेपालको हरदम चिन्तन गरेका छन् । यस क्रममा यिनले नेपालमा आदर्श सम्बिधान बनेको र लोकतन्त्र फस्टाएको हेर्न चाहेका छन् । यस्तै नैतिकता र इमान मौलाएको र बेलायतको जस्तो विकासले पूर्ण बनेको नेपाल देख्न चाहेका छन् । यस्तो देश बनाउने जिम्मेवारी लिएर आएका राजनेताहरू सदनमा बसेर सुन्दर नेपाल कसरी बन्छ भनी चिन्तन गर्नुको साटो स्वार्थ र धुत्र्याइँमा लिप्त भएका छन् । आदर्श नेता बनेर देश सपारेको देख्न चाहेका कवि रुपकले अहिलेका सांसदलाई दुर्योधन र नेपाल आमालाई गान्धारीका रुपमा परिकल्पना गरेका छन् । वर्तमान सांसदले संसदभवनभित्र नेपाल आमा प्रति गरेको व्यवहार अत्यन्तै घृणित र निन्दनीय छ भनी आक्रोश व्यक्त गरेका छन् । जानकारीका निम्ति “अर्को एउटा महाभारत” शीर्षकको कविताका पङ्क्तिलाई अगाडि राखेर हेर्न सकिन्छ ः
अभिमानी अभिष्ट दुर्योधनहरू
आजकल आमा गान्धारीलाई
सदनमा मुख थुनेर महिनौंसम्म
लगातार बलात्कार गरिरहन्छन्
भोकाएपछि इन्टरभलको घोषणा गर्दै
तिनै बलात्कृत आमाको छाती
निर्लज्ज चुस्छन् बैमानहरू
७ वर्तमान राजनीति विसङ्गत
नेपालका राजनैतिक पार्टीहरू घिन लाग्दा बनेका छन् । सडकमा जनतालाई हिंड्न दिंदैनन् । देश र समाजको स्वच्छ वातावरणलाई धमिल्याएका छन् । कसैलाई धम्काएका छन् अनि केहीलाई तर्साएका छन् । देश बनाउने भन्दा पनि केहीले सडकमा चक्काजाम तथा जुलुस निकालेका छन् । केहीले सदनमा वास्तविक कार्य गर्न छाडेर अन्य गतिविधि गरेका छन् । यहाँका राजनैतिक पार्टीहरू सडकदेखि सदनसम्म जताततै गैरजिम्मेवार बनेका छन् । यी दुवै स्थानमा नेपालका पार्टीले गरेका गतिविधि नौटङ्की मात्र हुन्, नाटक मात्र हुन् । यस्ता गतिविधि गरेर यस देशका सरम नभएका अनि धर्मछाडा राजनैतिक पार्टीले पवित्र वेदरुपी सम्विधान बनाउँदैनन्, बनाउनै दिंदैनन् । देशको यस्तो विसङ्गत राजनैतिक स्थितिलाई औंल्याउँदै कवि रुपकले “ईन्द्रचोक र वेद” शीर्षकको कवितामा भनेका छन् ः
पानी धमिल्याउँदै, घुक्र्याउँदै, धम्क्याउँदै
ईन्द्रचोकदेखि टुँडीखेलसम्म
नौटङ्कीहरू निर्लज्ज नाटक गर्छन्
सदननाटक मञ्चन गर्छन्
सडकनाटक मञ्चन गर्छन्
के लेख्न दिन्थे नयाँ वेद यहाँ
यस्ता यी
सरम छाडा ईन्द्रहरू
धरम छाडा ईन्द्रहरू
८ क्रान्ति विसङ्गत
परिवर्तनका लागि क्रान्ति आवश्यक छ । क्रान्ति त्यस्तो हुनुपर्दछ जसमा मानवको क्षति नहोस् । मानवलाई तर्साउने, पिट्ने अनि मार्ने गरेर आएको परिवर्तन हितकारी हुँदैन । नेपालमा क्रान्तिका नाममा बगाएका रगतका खोलाहरू अहिले पनि गनाइराखेका छन् । हत्य तथा हिंसाको राजनीतिको परिणाम समाजमा कुनै अपाङ्ग बनेर रोइराखेका छन्, कुनै बमबारुदका त्रासले मानसिक विक्षिप्ति बेहोरिराखेका छन् । काख रित्तिएका आमाहरूका आँखा अहिले पनि ओबाना भएका छैनन् । मान्छेलाई मानवीय व्यवहारबाटै परिवर्तन ल्याउनु पो सच्चा क्रान्ति हुन्छ । युद्धका नाममा अरूलाई मारेर ल्याएको परिवर्तन हितकारी हुँदैन । यस्तो युद्ध त कायरहरूले मात्र गर्दछन् । अरूको हत्त्या गरेर सत्ता लिनेले आप्mनो हत्या आपैm गर्दछन् । यस्तो भाव व्यक्त “के तिमी ठिकै छौ त” शीर्षकको एउटा कवितांश यस प्रकरको छ ः
तिमीले बगाएको रगतका खोलाहरू
ठसठस्ती गन्हाएका गाउँहरूमा गई
काख रित्तिएका आमाहरूलाई सोध
युद्ध के हो ?
युद्ध त कायरहरूको खेल हो
जसले मनमनै हारिसकेको हुन्छ
त्यसैले त आत्महत्त्या गर्छन्
क्रुर हिटलरहरू
९ शैक्षिक स्थिति
शिक्षा जीवनोपयोगी हुनुपर्छ तर नेपालको शैक्षिक गतिविधि अवैज्ञानिक हुनपुगेको छ । यहाँ शिक्षा आर्जन गरी सकेपछि विश्वविद्यालयका प्रमाणपत्र लिएर जति ठाउँमा धाए पनि जागिर पाउन गाह्रो छ । पढेलेखेका बेरोजगार व्यक्तिहरूको सङ्ख्या बढ्दो छ । यहाँ पढेका व्यक्तिको कदर छैन । उनीहरूलाई नै जीवन धान्न धौ धौ भएको छ । यस्तो शिक्षा आर्जन गरेर समाज र देशको उन्नती के हुन सक्छ । यस्तो जान्दाजान्दै पनि यहाँका मान्छेले अन्य केही बाटो नपाएर यस्तै अव्यवहारिक शिक्षा लिएर जीवन व्यर्थैमा सिद्ध्याएका छन् । यहाँको यस्तो शैक्षिक विसङ्गतिलाई कवि रुपकले “गीत लेख्न सकिनँ” शीर्षकको कविताका केही अंशमा यसरी व्यक्त गरेका छन् ः
झोलाभरि विश्वविद्यालयका प्रमाणपत्र
र
मनभरि उत्साहको थुप्रो बोकी
बाँसबारीको तलुवा फटाउँदा पनि
मन टेकाउने सानो एउटा
जागिर भेट्न सकिनँ
हाड घोटें पसिना बगाएँ
तैपनि
आधा पेट भर्न सकिनँ
१० शान्तिको चाहना
मान्छे बिग्रेको छ । मान्छेको प्रवृत्ति बिग्रेको छ । समाज बिग्रेको छ । यो भन्दा पनि माथि गएका सांसद बिग्रेका छन् । परिणामस्वरुप तलदेखि माथिसम्म सर्वत्र राग, द्वेष, वैमनष्य, काटमार, अशान्ति बढेको छ । यस्ता रोगले जरजर बनेको समाज र देश नेपाललाई जोगाई सुन्दर तुल्याउन यहाँका मानिसका बीच एउटा प्रतिज्ञाको आवश्यकता छ, एउटा सङ्कल्पको खाँचो छ । सबै एकआपसमा मिलेर अगाडि बढ्नका निम्ति यहाँ सर्व प्रथम शान्ति चाहिन्छ । त्यो शान्ति प्राप्तिका निम्ति पुनः बुद्ध जन्माउने सङ्कल्प गरौं, योजना बनाऔं र अग्रगमन गरौं । यसरी अगाडि बढे नेपाल स्वर्ग हुन्छ । कविले “एउटा जोर्बाको जन्म दिऔं” शीर्षकको कवितामा यिनै भाव व्यक्त गरेका छन् ः
आउनुस् एउटा सङ्कल्प गरौं
आजै एउटा अभियानको सुरुवात गरौं
....................................
एउटा बुद्धको जन्म दिऔं
अनि यही बुद्ध
हाम्रो समाजलाई
उपहार दिऔं
११ मृत्युयाचना
समाजका सबै व्यक्ति उत्पत्तिमा मात्र प्रशन्न हुन्छन् । जन्म हुनु भनेको त मृत्यु वरण गर्नु हो । जब मान्छे जन्मन्छ अनि उसले विसङ्गतिका अनेक खुड्किला रुँदै पार गर्नुपर्छ । नरुचाएका कति धेरै काम गर्नुपर्छ । उन्मुक्त हाँसो अनि आँसु प्रदर्शन गर्न पाउँदैन । बाँचुन्जेल जति बेला पनि उकुसमुकुसको जिन्दगी व्यतीत गर्नुपर्छ । यस्तो यात्रामा लाग्ने भयो भनेर मान्छेले जन्मलाई खुसीको क्षण मान्ने गर्दछन् यथार्थमा जन्म खुसीको क्षण होइन । जन्म त कष्टको आरम्भविन्दु हो । जीवन धान्नका निम्ति जीवनभरि कति ठाउँमा हात फैलाउनुपर्छ । कति ठाउँमा दाँत ङिच्च पार्नुपछ । त्यसैले जन्म कष्टयात्राको आरम्भविन्दु हो भने मृत्यु सुखयात्राको आरम्भविन्दु हो । यो कष्टमय सन्सारलाई विसङ्गतिबाट मुक्त तुल्याएर मृत्युवरण गर्न पाउनु जीवनको सफलता हो । त्यसैले कवि रूपकले “मृत्युसौन्दर्य” शीर्षकको कवितामा मृत्युलाई सौन्दर्यको रूपमा स्वीकारेका छन् । यिनै भाव व्यक्त गर्दै कवि रूपकले आप्mनो “याचना” शीर्षकको कवितामा मृत्युको याचना गरेका छन् ः
कसैसँग कहिल्यै केही मागिन जीवनमा
कुनै भगवानका अगाडि हात पसारिन जीवनमा
आप्mनै पितासित गुनासो गरिन जीवनमा
तर
तिमीसँग केही मागौंमागौं लाग्यो
मलाई ती चैतन्यता वा ब्रह्मज्ञान चाहिएन
तैपनि एउटा याचना गरौंगरौं लाग्यो
दिन्छौ मलाई? गर्छौ वाचा ? भन्छौ तथास्तु ?
इच्छा मृत्यु
१२ निष्कर्ष
नेपालको एउटा गाउँमा जन्मिएर जीवनका आरोहअवरोह पार गर्दै विद्यावारिधिसम्मको उच्च शिक्षा आर्जन सन्सारको उदाहरणीय देश बेलायतमा बसोवास गरेका कवि रूपक श्रेष्ठले आपूmलाई साहित्यसाधनामा आपूmलाई निरन्तर लगाइरहेका छन् । यिनका कवितामा राष्ट्रप्रेमको स्वर गुञ्जित हुन्छ । ती कविता हेर्ने होभने ती कवितालाई निष्कर्षस्वरुप निम्न लिखित् बुँदामा समेट्न सकिन्छ ः
–सन्सार विसङ्गत छ जसलाई मिहिनेत गरे सङ्गतियुक्त तुल्याउन सकिन्छ ।
–राजनीति, शिक्षा, विधिव्यवहार जताततैको विसङ्गतिले थिचिएको हुँदा नेपाल जर्जर
बनेको छ ।
–नेपाललाई सुन्दर तुल्याउन विसङ्गति हटाउने र शान्ति ल्याउने काम गर्नुपर्छ ।
–संसारमा जन्म भनेको कष्टको यात्रारम्भ हो भने मृत्यु त सुखको यात्रारम्भ हो ।
–त्यसैले मान्छेले जन्म लिए पछि आप्mनो जीवनलाई सुन्दर मार्गमा हिंडाल्नुपर्दछ जसले
गर्दा मृत्यु पनि भयरहीत हुन्छ ।
–कवितामा विम्ब, प्रतीक, अलङ्कार तथा मिथकको समुचित प्रयोग छ ।
–विषय तथा शैलीगत विविधताले गर्दा प्रत्येक कविता नवीन र स्वादिला बनेका छन् ।
–झट्ट हेर्दा सरल जस्ता अनुभव भए पनि अधिकतम कविता मार्मिक र गहन देखिन्छन्
–बेलायत तथा विश्वका अन्य स्थान र घटनाका सन्दर्भ जोड्नाले र आगन्तुक शब्दको
प्रयोग हुनाले कतिपय कविता सामान्य पाठकका निम्ति जटील बन्न पुगेका छन् ।
कवि रुपक श्रेष्ठका गद्य कविता जति पढ्दै गयो त्यती नै गुञ्जित हुन्छन् र तिनले पाठकका हृदय तथा मानसपटलमा तरङ्गित हुँदै पाठकलाई सजगराउँछन् । त्यसैले कवि रुपक श्रेष्ठ ठूलो सम्भावना बोकेका यस युगका कवि हुन् । यिनको काव्यप्रवाह अविरल प्रवाहित हुँदै जाओस् ।
पृथ्वीनारायण क्याम्पस, पोखरा