14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

सुत्दैनन मान्छेहरु बस्तीहरुमा

कविता प्रकाश नेपाल January 29, 2012, 3:19 am

जब सुत्दैनन मान्छेहरु बस्तीहरुमा

बुझ्नु पर्छ – उनीहरु आगाका फिलिंगाहरु बनाउदैछन |

हो

उनीहरु आगाका फिलिंगाहरु बनाउदैछन

अनगिन्ती छटपटीका कोइलाहरु बटुलेर

अभावका रापहरुमा अत्तालिदै

बेपत्ता दौदिन्छन र बिश्वाशहरुमा पछारिदै

थाक्छन, सुस्ताउछन र फेरी ब्युतिन्छन |

जोडन जान्दैनन आकाश र पाताल उनीहरु

र जान्दैनन एकादेशका दन्ते कथाहरु

उडाउदैनन घाइते परेवाहरु - नाटक देखाउन

अनि चल्दैनन कुटिल चालहरु चुनाब जित्ने बहानामा

र हुन्छन लाम बद्ध शितलहरका मालचराहरु जस्तै

आगोका थुंगाहरु उन्न |

नसोचे हुन्छ – अब गाउँ सुतिसक्यो

नसोचे हुन्छ – नाटकका पर्दाहरु च्यातिदैनन अब

र बिकुलहरु बज्दैनन अब – शंखघोसको

नबसे हुन्छ ओथारो - बतासे अण्डाहरुमा

नगाए हुन्छ – नानि भुलाउने गीतहरु - बेसुरमा |

बुझेका छौं – एक चुप चाप रात अझ बाँकी छ

जहाँ मसानहरु चाल चल्दैछन अझै

जहाँ बिटुला बैंसहरु गल्दैछन अझै

जहाँ ऐजेरुहरु फल्दैछन अझै

जहाँ बिश्वासहरु ढल्दैछन अझै |

हो

हामी पनि अझै सुतेका छैनौं

बुझे हुन्छ

जब सुत्दैनन मान्छेहरु बस्तीहरुमा

उनीहरु आगाका फिलिंगाहरु बनाउदैछन

अनगिन्ती छटपटीका कोइलाहरु बटुलेर

घाइते विश्वासहरुमा मलम लगाउदै

फेरी उनीहरु ब्युतदै छन!

वाशिंटन डीसी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।