19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दिव्ययात्रा

कविता मणि लोहनी January 31, 2012, 8:22 pm

जसरी पढिरहेछु म

आफ्नो जिन्दगीलाई

सर्वाङ्ग उघारेर आफूलाई, पढ्न सकिन्छ

जीवन, एउटा खुला किताब हो ।

लुकाएर पनि देखिने यथार्थहरू छन्

जति छोडे पनि फैलिने उज्यालो छ, शरीरसँग

हो, ढाँटेर पनि बुझिने सत्यहरू छन्

शरीरभित्रै छ तिमीले पुज्ने देउता

र मैले खोजेको ज्ञान

यो नमेटिने प्यास के हो

के हो यो नबुझिने रहस्य

कहीँ नपुगे पनि हिँडिरहनुपर्ने यो नियति के हो

एकपलको जिन्दगीमा पूरै उमेर बाँच्नु, भनेको के हो

असङ्ख्य छन् सवालहरू

र प्रत्येक प्रश्नका हजारौँ जवाफहरू छन्

किन भौँतारिनु यो सम्बन्धदेखि त्यो सम्बन्धसम्म

किन बाँडिनु रङ्ग, जात र राज्यहरूमा

किन अल्मलिनु मन्दिर, मस्जिद, गुम्बा र चर्चहरूमा

शरीरभित्रै छ जीवनको सत्य र सौन्दर्य शरीर नै हो निर्वाणको आरम्भ बिन्दु

हो, शरीरबाटै सुरु हुन्छ स्वधर्मको दिव्य यात्रा ।

र प्रत्येक प्रश्नका हजारौँ जवाफहरुरू छन्

पूर्ण छ मानिस

अपूर्ण भन्नु त अज्ञानता न हो ।

जसरी पढिरहेछु म

आफ्नो जिन्दगीलाई

सर्वाङ्ग उघारेर आफूलाई पढ्न सकिन्छ

जीवन, एउटा खुला किताब हो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।