19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

ट्रायल व्यालेन्स नमिलेको जिन्दगीसित

कविता साम्ब ढकाल February 7, 2012, 9:15 pm

दुःखका थुप्रै खातहरूमाथि उभिएर

मैले खोज्न थालेको सुखको उज्यालो

यतैकतै हराएको छ ।

मलाई जिन्दगी किन कहिल्यै अनुप्रासझैँ मिलेको

मलाई जिन्दगी किन कहिल्यै ठ्याक्कै बीजगणितको सूत्रझैँ मेल खाएको

मलाई जिन्दगी किन कहिल्यै कुनै लेखापालको ट्रायल व्यालेन्सझैँ रूजु भएको

कहिल्यै लागेन कहिल्यै ।

जिन्दगीलाई यहाँसम्म ल्याउँदा

प्रवाहशील नदीजस्तो अविरल

पहाडजस्तो दृढ

सालको रूखजस्तै धैर्यशील

हावाजस्तो चलायमान बनाउन निक्कै भगिरथ यत्न गरेँ ।

आँसुमा मैले कैयनपल्ट पौडी खेलेँ

रगत र पसीनाको नदी तरेँ

एकै पाइलाबाट लामोयात्रा शुरू हुन्छ भनेको सुनेकै थिएँ

खुबै हिँडेँ/दगुरेँ

तर कतै पुगिनँ ।

माफ गर्नुस्

म पुग्नभन्दा हिँड्न रमाउने

जम्नभन्दा बग्न रमाउने

हिँडिरहने,सधैँ हिँडिरहने

टुङ्गो भेट्न कहिल्यै नसक्ने

यसरी नै यहाँसम्म टिकाएको रहेछु ।

जिन्दगी यहाँसम्म टिकाउन मसँग

समयका सुन्दरक्षणहरू सँगसँगै हिँडिरहे

दुःखका पहाडहरू उचालिरहेकाहरूसँग सानिध्यमा रहेको

सुखहरूले हरपल दपेटिरहँदा

दुःखका हूलले रखवारी गरेको

समस्याले घेरेका बेलेका

समाधानका बथानहरू आँटका सुरूङबाट फुत्तफुत्त निस्केको

हो मलाई यिनीहरूले नै टिकाएका हुन्

नमिलेका जिन्दगीका हिसाबकिताब यस्तै आकस्मिकताहरूले मिलाएका हुन्

अनेकन उबडखाबडहरूले नै मिलाएका हुन्

मैले बाँचिरहेको जिन्दगीको नमिलेको ट्रायलव्यालेन्स ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।