14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

खेलीगीतको बारेमा देखिएका भ्रमहरू र यथार्थको खोजी

विचार तुलसी प्रवास February 7, 2012, 3:23 pm

१. पृष्ठभूमि :

लोकगीतका विभिन्न प्रकारहरूमध्ये एउटा महत्वपूर्ण गीत खेली हो । लय वा भाका प्रधान भएर वाणीका रुपमा अभिव्यक्त भएको हार्दिक अनुभूति नै गीत हो (खनाल, २०६० ः १२) । जब लोकले आफ्ना विरह वेदना सौन्दर्य तथा श्रृङ्गार भावलाई सहज र स्वाभाविक पाराले उन्मुक्त स्वर लहरीमा पोख्दछ त्यसले लोकगीतको संज्ञा पाउँछ । जहाँ शिक्षाको प्रकाशले स्पर्श समेत गरेको हुँदैन त्यस्तो समाजमा लोकगीत अझै मौलाउन सक्दछ । शिक्षाले ल्याएको आधुनिकताको भुँवरीमा लोकगीत हराउन पनि सक्तछ ।

लोकगीतमा अन्जानमै भए पनि लय, छन्द, विम्ब, अलङ्कार आदि काव्यात्मक गुणहरू भित्रिएका हुन्छन् । नेपाली लोकगीतको आकर्षक पक्ष भनेको लय हो ,जसलाई भाका वा फाँकी भनिन्छ (अधिकारी, २०५७ ः १०) लोकगीत रचना गर्ने व्यक्ति अशिक्षित हुने भएकोले उसलाई शास्त्रीय छन्द, अलङ्कार आदिको ज्ञान हुँदैन । आन्तरिक उद्गार जस्तो भाकामा उद्गारित हुन्छ त्यही छन्द बन्दछ । वेदनाको तरङ्गले अभिव्यक्तिको बाङ्गो, सोझो जस्तो बाटो समाउँछ त्यही नै अलङ्कार हुन्छ (थापा र सुवेदी, २०४१ ः ५९—६०) । दिनभरी मेलापात गर्ने, साँझपख थाकेर लस्त परेको शरीर घिसार्दै उकालीका चँौतारीमा भारी बिसाएर मनको भारीलाई हलुङ्गो पार्न छेउको चिलाउनेको पात टिपेर बजाउने नेपालीहरूले लोकसाहित्यलाई नै मनोरञ्जनको प्रमुख साधन बनाएको पाइन्छ (खनाल, २०६० ः १२)। विभिन्न उखान टुक्का, गाउँखाने कथा आदि नेपालीका जिब्रा—जिब्रामा भुन्डिएका छन् । कुनै कुरा गर्न थाल्यो कि प्रसङ्ग, अनुसारका उखान टुक्काको प्रयोगले उनीहरूका कुराहरू सुनिरहुँ जस्तो लाग्छ । गाउँमा हुने स्वस्थानी,सत्यनारायणको पूजा, सप्ताह आदिमा गुन्जने भजनका अतिरिक्त युवक र युवतीका दोहोरी गीतहरूले सबै गाउँलेलाई नै मनोरञ्जन प्रदान गरेका छन् ।

२. नेपाली लोकगीत र अध्ययन–परम्परा

हरेक मुलुकका आ—आफ्नै संस्कृति अनुसार लोकगीतहरू हुन्छन् । नेपालका पनि पचहत्तरै जिल्लाका लोकगीतहरूको समष्टि स्वरूप नै नेपाली लोकगीतको स्वरूप हो, जसको फेद एउटै छ र इतिहास पनि । मोटामोटी रूपमा मात्र सबैतिरका लोकगीतका सामान्य विशेषताहरू बटुलेर नेपाली लोकगीतहरूको एउटा रुपरेखा तयार पारिएको छ तर विभिन्न क्षेत्रमा पाइने लोकगीतहरूको समग्र संकलन हुन सकेको छैन ।

नेपाली लोकगीतको बीजभूमि खोज्दै जाँदा वैदिक साहित्यसम्म पुगिन्छ उच्च धवल हिमश्रृङ्खलाले घेरिएको , हरिया पहाडहरूले भरिएको, कञ्चन जलप्रवाहका पवित्र हिमनदीहरूले नागबेली परेर सिचिंएको यस नेपाल भूमिमा आर्यहरूको आगमन भएपश्चात् नै उनीहरूबाट यहाँका मनमोहक दृष्यावलीहरूबाट प्रभावित भई वैदिक उद्गारहरू उद्गारित भए जो लोकसाहित्यकै श्रेणीमा रहेर श्रुतिपरम्परामा हजारौं वर्ष गाइँदैं रहे । यसै परम्परासँग हाम्रो लोकगीतको ऐतिहासिक परम्परा सम्बन्धित छ । उतिबेलाको भाषा वैदिक थियो । त्यही वैदिक भाषाा संस्कृत, प्राकृत अपभ्रंश हुदैं ११औं शताब्दीसम्म आइपुग्दा बिभिन्न आर्य भाषाहरूको रूपमा परिणत हुन पुग्यो जसमध्ये एउटा नेपाली हो । लोकसाहित्य पनि भाषिक अभिव्यक्ति नै भएकोले भाषामा परिर्वतन आउँदा यसमा पनि परिवर्तन आउनु स्वाभाविकै हो । माँगल आदि गीतको गायन प्रक्रिया र वैदिक ऋचाको गायन प्रक्रियामा अझै साम्यता पाइन्छ । साथै दुवैको भावभूमि पनि समान किसिमको पाइएबाट यसको ऐतिहासिकता प्रमाणित हुन्छ ।

वर्तंमान भारतको काश्मीर गडवालतिरबाट नेपाल आउने खसहरू नै नेपाली भाषाका प्रथम वक्ता र प्रचारक मानिन्छन् । यिनकै सम्पर्क र प्रभावमा आएका ११ देखि १७ औं शताब्दीसम्म कुमाउँ,गढवालबाट नेपाल पस्ने हिन्दूहरू नै नेपाली भाषा र लोकगीतका प्रचार–प्रसारकर्ता हुन् । यिनीहरूले पश्चिमबाट पनि पूर्वतिर प्रसारित हुँदैं जाने मौका पाए । आजभोलि पाइने चाँचरी, माँगल, सगुनका गीतहरू पनि तिनै गढवालतिरबाट आउने पूर्खाका देन हुन् ।

पृथ्वीनारायण शाहको एकीकरण अभियानसँगै यस क्षेत्रमा पुनर्जागरण आयो । लोक गायकहरूले राष्ट्रिय गौरव र राष्ट्रिय वीरताको गाथा गाउँ—गाउँमा गाउँदै हिंडी एकीकरण अभियानमा ठूलो सघाउ पु¥याएका थिए । एकीकरणपछि र सुगौली सन्धिअघि कुमाउ, गढवाल नेपालमा हुँदा एउटै राष्ट्रियताको नाताले त्यहाँका कतिपय गीति, लयहरू यतातिर सर्नु पनि स्वाभाविकै हो । सुगौलीपूर्व अंग्रेजसँगको गढवालतिर जाने बाग्लुङका गोरे सिरस र मनवीर खत्रीले त्यहाँ बस्ता सिकेका हाइगौरी आदि कतिपय लयहरू सुगौलीपछि घरगाउँमा फर्केर गाउन थाले, जो ज्यादै लोकप्रिय भए । झ्याउरेका अनगिन्ती भेद र भाकाहरू निस्केका छन् र निस्किदैं छन् । सुगौलीपछि अंग्रेजी सेनामा भर्ती हुने जवानहरूले पनि प्रवासमा बस्दा र घर गाउँमा आएको बेला लोकगीतको विस्तारमा उल्लेखनीय योगदान पु¥याए । जङ्गबहादुरको पालामा लमजुङका म्याक्रुम गुरुङले ‘सालै जो ’ भन्ने लामो भाकाको आविष्कार गरी नेपाली लोकगीतमा नौलो आयाम थपे । वि.स. १९७६ तिर पर्वतका ‘बिर्खे पुन’ र दार्जिलिङकी ‘हंशरानी’ (त्यतिबेलाका प्रसिद्व गायक,गायिका ) आफ्नो कला देखाउन लन्डनसम्म पुग्न पाएका थिए । यिनले नेपाली लोकगीतलाई युरोपसम्म पु¥याए । लमजुङका ‘द्यौ बहादुर दुरा’ लोकगीतका अर्का अविष्मरणीय प्रतिभा हुन् । १९९० सालमा कर्पुटारमा भएको यिनको गीत र नृत्यको बखान जीवन्त छ । यिनैताक पाल्पाका ‘बहादुर सिंह बराल’ र ‘मित्रसेन ’ नेपालका पहाडी भागमा घुमी—घुमी लोकगीतको प्रचार प्रसार गरे यिनै बहादुर सिंहको ‘बरालको आँसु’ नामक लोकगीत संग्रह १९७९ मा प्रकाशित भएको थियो । सन्त ‘ज्ञानदिलदास’ ले झ्याउरे लयमा उपदेश दिने गरेको र स्याङजाका ‘जगन्नाथ पन्त’ ले झ्याउरे छन्दमै पुराणका कथा भन्ने गरेको कुरा प्रसिद्धै छ ।

१९९० सालपछि लोकगीतको अध्ययन, अनुसन्धान र सङ्कलन समेत हुन थाल्यो । महाकवि देवकोटाले झ्याउरेलाई काव्यात्मक उच्चता प्रदान गरे । भद्रकाली रेकर्डस्द्वारा लोकगीतका रेकर्डहरू तयार पारिन थाल्यो । २००३ सालतिर लोकगीतको सामल छर्दै, बटुल्दै धर्मराज थापा आए । सत्यमोहन जोशीले लोकगीत सङ्कलन गर्न थाले । ‘उद्योग’ र ‘शारदा’पत्रिकामा लोकगीतका टुक्राटुक्री छापिन थाले ।

२००७ सालको क्रान्तिपछि साहित्य र लोकसाहित्यका क्षेत्रमा पनि क्रान्ति आयो । यसैसाल चैत २० गते रेडियो नेपालको स्थापना भयो । २०१० सालमा धर्मराज थापाको सक्रियतामा भएको लोकगीत प्रकाशन तथा २०१३ सालमा श्री ५ महेन्द्रको राज्यभिषेकका अवसरमा भएको लोकगीत सम्मेलनले यस क्षेत्रमा नयाँ जीवन प्रदान ग¥यो । राजाको अनुरागबाट पारखीहरूले प्रेरणा पाए । लक्ष्मण लोहनीको ‘रोदीघर’ (२०१३), ‘प्रज्ञा प्रतिष्ठानको स्थापना’ (२०१४), धर्मराज थापाको ‘मेरो नेपाल भ्रमण’ (२०१६), काजीमान कन्दङ्वाको ‘नेपाली जन साहित्य’ (२०२०) ‘हाम्रो संस्कृति पत्रिकाको प्रकाशन’ (२०२३) हरिहर राज जोशीको ‘सोरठी’ (२०२३) , ‘संगिनी’ (२०२८), धर्मराजको हरिबहादुर रन्जितकार र भैरबबहादुर थापाको ‘लोकगीत’ (२०२९), ‘कर्णाली लोक संस्कृति’ (२०२८), कालीभक्त पन्तको ‘हाम्रो संस्कृतिक इतिहास’ (२०२८) धर्मराजको ‘गण्डकीका सुसेली’ (२०३०), देवकान्त पन्तको ‘डोटेली लोकसाहित्य’ (२०३२), कालीभक्तको ‘गीतसुधारको राष्ट्रिय बाटो’ (२०३३), जगमान गुरुङको ‘गुरुङ जाति तथा संस्कृति’(२०३४), ‘नेपाली लोक सँँस्कृति संगोष्ठी’ (२०३५), तुलसी दिवसको ‘धिमाल लोकधर्म र संस्कृति’ (२०३९) धर्मराज थापा र हंसपुरे सुवेदीको ‘नेपाली लोकसाहित्यको विवेचना’ (२०४१), कृष्णप्रसाद पराजुलीको ‘नेपाली लोकगीतको आलोक’ (२०५७), चूडामणि बन्धुको ‘नेपाली लोकसाहित्य’ (२०५८) आदि नेपाली लोकगीत तथा लोकसाहित्यको अध्ययन परम्पराका महत्वपूर्ण सङ्गाला हुन् । यसका अतिरिक्त त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयबाट समेत स्नातकोत्तर, विद्यावारिधि लगायत विभिन्न प्रयोजनका लागि प्रशस्तै शोध एवम् अनुसन्धानहरू लोकसाहित्य र लोकगीतका क्षेत्रमा हँुदै आएका छन् ।

३. नेपाली लोकगीत अन्तर्गत खेलीगीत ः

‘खेल’ शब्दमा ‘ई’ प्रत्यय लागेर खेली शब्द बनेको हो । लोकगीतका सन्दर्भमा यसको अर्थ एक प्रकारको गीत भन्ने बुझिन्छ । यो गीत खेलका रूपमा गाउन सकिने सजिलो खालको हुन्छ । त्यसैले ख्यालख्यालमा सजिलै गाइने गीत खेलीगीत हो भनी चिनाइएको छ (न्यौपाने, २०४०ः२०) । हाँसखेलका रूपमा व्यक्त हुने युवा युवतीको सरस र प्रेमपूर्ण अभिव्यक्तिलाई खेली भनिन्छ । यस खेली गीतलाई खेली, ख्याली, आँधीखोले भाका, रोइला, चुड्का नामले पुकारेको पाइन्छ । ख्यालख्यालमा गाइने र खेलेर गाइने भएकाले यसलाई खेली भन्नु सान्दर्भिक भएको कुरा धेरैले औंल्याएका छन् । त्यसेैले यसलाई यहाँ लोककै भनाइअनुसार खेली भनिएको छ । यो गीत रोइलो खालको पनि हुँदैन अनि रुवाइसित सम्बन्धित पनि छैन । त्यसैले यसलाई रोइला नभनी खेली नै भन्नु अर्थपूर्ण देखिएको छ (न्यौपाने,२०६०ः१५) । ब्राह्मण, छेत्री लगायतका जातिमा प्रचलित यो गीत घर, गोठ, वन, पाखा आदि ठाउँमा गाइन्छ । बाजाका रूपमा खैंजडी, मुजुरा लगायतका बाजा बजाउँदा रमाइलो भए पनि यसको गायनमा बाजाको अनिवार्यता हुँदैन । यस्तै यसमा नृत्यको पनि अनिवार्यता हुँदेैन । यो गीत विभिन्न लयमा गाइन्छ । यो गीत रोचक र आकर्षक गीतका रूपमा विकसित भएको छ ।

४. खेलीगीतमा देखिएका अस्पष्टताहरू ः

नेपाली लोकसाहित्यको विषयमा थुप्रै कृतिहरू लेखिएपनि र शोधकार्यहरू गरिएको भएपनि खेलीलाई नै प्रमुख विषय बनाएर भने कुनै कृति र कुनै शोध तयार भएको भेटिएको छैन । माथि उल्लेख भएका पुस्तकहरूमा छिटपुट रूपमा सबैमा खेलीको चर्चा गरिएको छ । धेरैजसो कृतिहरूमा रोइला, ख्याली, चुड्का,आँधीखोले गीत आदि आदि नामले सम्बोधन गरिए पनि लोक समाजले यस्ता गीतहरूलाई खेली नै भनेर पुकार्ने गरेको पाइन्छ ।

दामोदर पन्तले नेपाली लोकगीतको सम्बद्र्धनमा धर्मराज थापाको योगदानमा धर्मराज थापाको गण्डकीका सुसेली भन्ने कृतिको चर्चा गर्दा खेली गीतको बारेमा उल्लेख गरेका छन् । यसमा उनले खेली गीतलाई आँधीखोले रोइला नाम दिएका छन्(पन्त,२०३८ ः६१ )। यहाँ आँधीखोले रोइला भनेर नाम दिएपनि खेली गीतका उदाहरण दिइएको छ ।

धर्मराज थापाले गण्डकीका सुसेली मा स्याङ्जा जिल्लामा प्रचलित विभिन्न लोकगीतको चर्चा गर्दै खेली गीतको समेत चर्चा गरेका छन् । यसमा उनले खेलीलाई आँधीखोले रोइला , आँधीखोले भुल्काहरू, हेमजा रोइला, झिरमासे (टुक्का) आदि नामले सम्बोधन गरेका छन् (थापा, २०३० ः ७९—१९२) । यी अनेक नाम भावात्मक अभिव्यक्तिका प्रस्तुति मात्र हुन् जसलाई लोकले खेली गीत भनेर पुकार्ने गर्दछ ।

देवीप्रसाद वनवासीले आँधीखोले लोकसंस्कृति मा चुड्का र ख्याली शीर्षक दिएर खेलीका उदाहरण प्रस्तुत गरेका छन् (वनवासी, २०५५ ः२५)। उनले यसमा कुन चुड्का हो र कुन ख्याली हो भन्ने समेत नछुट्याई एकमेसै उदाहरण दिएका छन् । खेली भजनलाई पनि चुड्का भनेर टिपोटमात्र गरिएको यस कृतिले खेली गीतका स्वरूप, प्रकार र विशेषतामा स्पष्ट दिशाबोध गराएको छैन ।

कुसुमाकर न्यौपानेले पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगीतहरूको अध्ययन नामक विद्यावारिधी शोधप्रबन्धमा खेलका रूपमा ख्याल ख्यालमै गाइने गीत खेली हो भनेका छन् (न्यौपाने, २०६६ः१२४) । यसमा उनले खेलीलाई लोककै भनाइ अनुसार खेली नै भन्नु उपयुक्त हुने कुरा औँल्याएका छन् । लोकगीत लोककै नामकरण अनुसार समाजमा विस्तारित हुने भएकाले यस गीतलाई खेली नाम दिई गरिएको सङ्कलन र विश्लेषण आफैमा वस्तुपरक देखापरेको छ । यसैक्रममा खेलीगीतको संरचना, विषयवस्तु, भाषा, लय, शैली, आदिका बारेमा प्रकाश पारिएको छ ।

कृष्णप्रसाद पराजुलीले नेपाली लोकगीतको आलोकमा रोइला र चुड्का शीर्षकमा खेली गीतकै चर्चा गरेका छन् (पराजुली, २०५७ ः १६०—१६४)। उनले यहाँ उल्लेख गरेका रोइला र चुड्काका सम्पूर्ण उदाहरणहरू लोकबोलीका आधारमा खेली नै हुन् ।

चुडामणि बन्धुले नेपाली लोकसाहित्यमा नेपालीका सामान्य गीतहरू शीर्षक अन्तर्गत ख्याली, रोइला उपशीर्षकमा खेली गीतकै उदाहरण प्रस्तुत गरेका छन् । उनले यसमा २ पंक्तिलाई ख्याली र ३ पंक्तिलाई रोइला भनेर चर्चा गरेका छन् (बन्धु,२०५८ ः १३०—१३६)। वास्तवमा २ वा ३ पंक्ति जे भए पनि लोकले खेली नै भन्ने गरेको पाइएको छ ।

विश्वप्रेम अधिकारीले पश्चिमाञ्चलका लोकगीत र परम्परामा चुड्का गीतका फाँकीहरू शीर्षकमा खेली गीतलाई नै उदाहरणको रूपमा प्रस्तुत गरेका छन् (अधिकारी, २०५८ ः१—९) । उनले यस कृतिमा भनेका छन् –“एउटै गीतमा विभिन्न बोल जोडेर गाउन सकिन्छ । चुट्का त्यही हुन्छ, ख्याली त्यही हुन्छ र झामरे पनि त्यही हुन्छ ।” यो भनाइ आफैमा भ्रमपूर्ण छ । चुड्का, ख्याली, झामरे फरक —फरक प्रकृतिका लोकगीत हुन् । यसमा पनि अधिकारीले खेली भनेर कुनै गीतलाई उल्लेख गरेका छैनन् ।

तुलसीराम खनालले आँधीखोले लोकगीतको सङ्कलन, वर्गीकरण र अध्ययन नामक स्नातकोत्तर शोधपत्रमा चुड्का, ख्याली र रोइला विभिन्न नामले खेलीगीतकै चर्चा गरेका छन् (खनाल, २०६० ः ४८—५०)। यो शोधपत्र पनि पूर्ववर्ती कृतिहरूकै अनुशरण गरिएको देखिन्छ ।

भीमनारायण रेग्मीले आँधीखोले रोइला ः एक परिचय भन्ने लेखमा रोइला गीतको चर्चा गर्दै खेली गीतकै उदाहरण दिएका छन् (रेग्मी, २०६० ः १००–१०५) । यस लेखमा पनि खेलीगीतलाई रोइला भनी चर्चा गरिएकोले लोकबोलीको अनुसरण गरिएको पाइन्न ।

नेपाली लोकगीतको चर्चा गर्दा हरेकले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आ–आफ्ना कृतिहरूमा खेली गीतको बारेमा चर्चा गरे तापनि खेलीलाई नै प्रमुख विषय बनाएर यसका विविध पक्षमा अनुसन्धान हालसम्म भएको पाइएको छैन । खेली गीतमा पाइने प्रेम, विरह, श्रृङ्गार लगायतका भावहरूको विषयमा सबैजना मौन छन् । खेली गीत नेपाली समाजको यति लोकप्रिय विधा भएर पनि यसको विषयमा व्यापक खोजी हुन नसक्नु आफैमा दुःखलाग्दो कुरा हो । नेपाली लोकसाहित्यको यस्तो अनमोल सम्पत्ति विकृत बन्दै अब लोप हुने अवस्थामा पुगिसकेको छ । यसका बारेमा अनेक काल्पनिक भ्रमहरू सिर्जना गरेर जसरी अनुकूल हुन्छ त्यसरी व्याख्या हुन थालेको छ ।

५. खेलीगीतको यथार्थता

५.१. खेली र रोइला ः

खेली गीतलाई कसैकसैले रोइला नामले पनि पुकारेको पाइन्छ । विशेष गरी आजभोलि पढेलेखेका शिक्षित वर्गले यसलाई रोइला भने पनि लोकमा गएर बूढापाकाहरू जसले गाउँ, ठाउँमा खैँजडी र मुजुरा बजाउँदै, वनपाखामा घाँस दाउरा गर्दा एवम् अनेक समय र परिवेशमा गाउने गरेका मानिसहरूले यस्ता गीतहरूलाई रोइला नभनी खेली गीत भनेको पाइन्छ । ‘रोइला’ शब्दको अर्थ र यस्ता गीतहरूको उदाहरण बीचमै पनि तालमेल पाइदैन । अतः रोइला भन्ने शब्दले जुन अर्थ व्यक्त गर्ला जस्तो लाग्छ त्यस्तो अर्थ रोइला भनेर चिनाउने गरिएका गीतमा पाइँदैन (न्यौपाने, २०६६ः१२४) । स्याङ्जा, पर्वत, गुल्मी, बागलुङ आदि जिल्लाका बूढा पाकाहरूले यस्ता गीतलाई रोइला नभनी खेली नै भन्ने गरेको पाइन्छ । जस्तै ः

भोलि यतिबेला

चामल पैसा झोलामा

रुँदै आँधीखोलामा ।

गाई चराउनी चौर

बाख्र्रा चर्नी वन छैन

बोल्न पनि मन छैन ।

यस्ता गीतहरूलाई कसैले चुड्का, कसैले रोइला, कसैले ख्याली भनेर पुस्तकहरूमा उल्लेख गरेको भएपनि गीतको प्रकृति र लोकगायक तथा लोकगायिकाको भनाइका आधारमा पनि यस्ता गीतलाई ‘रोइला’ नभनी ‘खेली’ नै भन्नु सान्दर्भिक र अर्थपूर्ण देखिन्छ ।

५.२. खेली र ख्याली ः

खेली र ख्याली एउटै जस्तो लाग्ने शब्द हुन् । धेरैजसोले खेलीलाई नै ख्याली भनेको पाइन्छ । पुरानो पुस्ताका ग्रामीण लोकगायकहरूले भनेको प्रत्यक्ष वाणी सुन्दा खेली गीतहरू नै भन्ने गरेको सुनिन्छ । ‘खेली गाउने’ भन्ने सुनिने गरेकाले यस्ता गीतहरूलाई ख्याली नभनी खेली नै भन्नु उपयुक्त देखिन्छ । अर्को कुरा ‘ख्याली’ शब्दले बुझाउने अर्थ र ‘खेली’ले बुझाउने अर्थमै पनि भिन्नता छ । ख्याली भन्नाले ‘बाजाको ताल’ भन्ने पनि बुझिन्छ भने अर्कोतर्फ ‘सोरठी’ गीतमा गाइने एक पंक्ति जसलाई छिटो लयमा गाइन्छ र नाचिन्छ, त्यसलाई पनि ख्याली भन्ने गरिन्छ (पराजुली,२०५७ ः १६५) । जस्तैः

ंं ...........................................

..........................................

(सारी र मेरो मैदानै लरक्यो)

यसरी खेली र ख्याली गीतमा अन्तर देखिन्छ । हामीले रोइला, ख्याली, चुड्का भनेर आधुनिक नाम दिएका गीतहरूलाई लोककै भाषा अनुसार ‘खेली’ शब्दले नै सम्बोधन गर्नु उपयुक्त देखिन्छ ।

६. खेलीगीतका प्रकार ः

‘खेलीगीत’ नेपालको पुरानो सम्पत्ति भएकोले आजसम्म आइपुग्दा यसका विभिन्न प्रकार—उपप्रकारहरू देखा परेका छन् । यसलाई विभिन्न विद्वानहरूले आ आफ्नै तरिकाले सम्बोधन गरेका छन् । यसका मुलतः तीन प्रकार छन् । ती तीनवटाका पनि अनेक उपप्रकारहरू पाउन सकिन्छ । डा. कुसुमाकर

न्याौपानेले खेलीलाई यसप्रकार वर्गीकरण गरेका छन् ः

(न्यौपाने, २०६६ः१२४)

समग्रमा लोक समाजले गाउँदै आएको खेलीगीतको वर्गीकरण गर्दा माथि उल्लेखित प्रकारहरू सान्दर्भिक हुने देखिन्छ । सोही वर्गीकरणका आधारमा खेलीगीतलाई विश्लेषण गरिएको छ ।

६.१. खेलीगीत ः

प्रेम गीतको रुपमा गाइने खेलीलाई खेलीगीत भनिएको पाइन्छ । यस्ता गीतहरू दुई पंक्तियुक्त र तीन पंक्तियुक्त साथै एकोहोरी र दोहोरी रूपमा गाइन्छन् । तिनका उदाहरण यसप्रकार छन् ः

दुई पंक्तियुक्त एकोहोरी ः

माया उतातिर

(कर्के नजर मतिर)२

दुई पंक्तियुक्त दोहोरी ः

केटी ः छोप मयालुले

(फूल बगायो नदीले)२

केटी ः मैलाई बगाउला कि

(फूल बगाउने नदीले)२

तीन पंक्तियुक्त एकोहोरी ः

अलि यता सर

तेता चिसो भैँ भयो

माया मारे झैँ भयो....।

तीन पंक्तियुक्त दोहोरी ः

केटा ः ए....बोल न हजुर

बोली तिम्रो राम्रो छ

सुन्ने इच्छा हाम्रो छ ।

केटी ः ए.... बोलौँ भने पनि

बोली छैन लयालु

के बोलौँ खै मयालु ।

६.२. खेली भजन ः

धार्मिक पूजाका अवसरमा गाइने गीतलाई भजन भनिन्छ (बन्धु, २०५८ ः १५३ ) । भजनमा पूजा गरिएका देवदेवीहरूको गुण, शक्ति र सामथ्र्यको बयान गरिएको हुन्छ । खेली प्रेमगीत अन्र्तगत राखेर अध्ययन गरिएको पाइन्छ भने भजन धार्मिक गीत अन्तर्गत राखेर अध्ययन गरिएको पाइन्छ (खनाल, २०६० ः ३७) । कहिलेकाहिँ पूजाआजाको समयमा खेलीकै भाकामा पनि भजन गाउने चलन नेपाली लोकसमाजमा रहेको छ । त्यसैगरी खेली भजनलाई बीच —बीचमा चुड्का जोडेर पनि गाउने चलन छ । उदाहरण ः

दुई पंक्तियुक्त एकोहोरी ः

रामलाई बनिबास

(भरतलाई रजाईँ)२

दुई पंक्तियुक्त दोहोरी ः

केटा ः राधा पियारी

(खै लेऊ मेरो मुरली)२

केटी ः खै लेऊ मेरो सारी

(लैजाऊ तिम्रो मुरली)२

६.३. खेली चुड्का ः

लोकसाहित्यका अध्येताहरूले आ—आफ्नै तरिकाले चुड्का, खेली, भजन, रोइला जस्ता गीतहरूलाई चिनाउने प्रयास गरिएको भेटिन्छ । कसैको पनि यी गीतहरूको बारेमा एकमत पाइदैन । लोकसमाजमै गएर लोकबोलीकै आधारमा खोजी गर्ने हो भने अहिले भन्ने गरिएका रोइला, चुड्का, भजन, आदिलाई खेली नै भनिएको भेटिन्छ । विभिन्न टुक्काहरू जोडेर खेलीकै भाकामा गाउने गीतलाई यहाँ खेली चुड्का भनी चिनाउने प्रयास गरिएको छ । उदाहरण ः

चुड्का दोहोरी ः

केटा— कल्लाई लाग्दैन र ! सुतेपछि निदरी २ ?

कांकरीलाई थांकरी त फरसीलाई छानु,

कहिले थियो अभागीलाई बैकुण्ठमा जानु

सुतेपछि निदरी,

कल्लाई लाग्दैन र !सुतेपछि निदरी ...२

केटी — रामुन्नेको दरबारमा पूर्व—पश्चिम किल्ला

अघिदेखि धर्म गरे, पछि स्वर्ग मिल्ला

सुतौँ पालैसित एकै लाग्छ निदरी, राम कल्लाई लाग्दैन र !

सुतौँ पालैसित एकै लाग्छ निदरी.....२

(थापा, २०३० ः १८८)

माथिको खेली चुड्कालाई धर्मराज थापाले आफ्नो पुस्तक गण्डकीका सुसेलीमा झिरमासे (टुक्का) भनेको पाइएको छ तर लोक समाजले यस्ता खालका गीतलाई खेलीकै रुपमा गाउने गरेको पाइन्छ ।

७. खेलीगीतको सङ्कलन ः

खेली गीत नेपाली ग्रामीण समाजका उपज हुन् । यिनको स्रोत पनि गाउँ हो । गाउँका बूढापाकाले जसरी गाउँछन् त्यो नै यसको मूल स्वरूप हो । शहरमा, कोठामा बसेर खेलीगीतको वास्तविक स्वरूप पहिचान गर्न सकिदैन । गाउँका तिनै अघोषित आशुकवि जसले घण्टौँसम्म निरन्तर खेली गाउन सक्छन्, तिनै लोक गायकहरूबाट सङ्ककलन गरिएका केही गीतहरू यहाँ प्रस्तुत गरिएको छ ः

१.बोल न मयालो,

बोली तिम्रो सुन्दर

बोली राखे हुन्न र !

२. बोलाए बोलूँ कि

त्यसै लरी परुँ कि

सधैँ वालिम झरुँ कि ?

३. आँधीखोला कुहिरो

हिउँचुलीमा झुल्के घाम

हिँड सेन्दाइ लाहुर जाम

४. आधा बारी तोरी

आधा बारी चम्सुर

के कुरामा कम छु र !

५. माया पुरानियो

(नभने है हजुर) २

६. देखे माया लाउनी

के जन्मिछौ पापिनी

झन झन माया थपिनी !

७. राती सपनीले

लाउँ कि माया झैँ हुनी

दिनमा भेटै नहुनी ।

८. खरबारीमा जान्छु

मुठी लिन्छु टोलाउँछु

दाइ भनेर बोलाउँछु

९. आको खरबारीमा

भिरको बाटो खनेर

सेन्दाइ आउँछौ भनेर

१०. अब वर्षा लाग्यो

सेखु छैन रुझाउँछ

यो मन कल्ले बुझाउँछ

११. माया लाउने थिएँ

भिर थियो गाई चरेन

मन थियो पाइ परेन

१२.निगाली काटेर

टुप्पो रह्यो वनैमा

धोको रह्यो मनैमा

१३. पत्थरै हो मन

कएरी भए रसाउँथ्यो

फूल भए बसाउँथ्यो

१४.छोप मयालुले

फूल बगायो नदीले

फूल बगायो नदीले

१५. मै छु किनारैमा

फूल बगाउन के दिम्ला

चोखो जोवन मै लिम्ला

१६. कस्को सरिमले

मुख छोपेको ढाकाले

गाइदेऊ नौलो भाकाले

८. खेलीगीतको संरचना ः

खेली गीतहरू ठाउँ र परिवेश अनुसार फरक फरक संरचनाका हुन्छन् । यस्ता गीतमा यति सहजता छ कि आफूलाई जसरी सजिलो हुन्छ त्यसरी नै गाउन सक्छन् । २ पंक्ति, ३ पंक्ति, एकोहोरी, दोहोरी जसरी पनि यसलाई गाउन सकिन्छ । खेलीको एउटै संरचना ठोकुवा गरेर भन्न पनि सकिदैन । खेलीका पंक्तिको अक्षर संरचना पनि एकनास पाइदैन । यो नियमको जटील साङ्ले जालोमा बाँधिन सक्दैन । यसो भन्दैमा खेलीको आपm्नो संरचना नै छैन भन्ने होइन । खेली मूलतः भाका प्रधान हुने भएकोले भाका मिल्यो भने र अनुप्राश मिल्यो भने अक्षरको एकरूपता यसमा बाध्य छैन ।

जस्तै ः पानी नलाउनाले (७)

बाँझै रह्यो खेत पनि (८)

हुनै छाड्यो भेट पनि (८)

त्यसैगरी,

हुनि थियो भेट (६)

बेँसी मकै छरे त (७)

आउनी जानि गरे त (८)

माथिको एउटै दोहोरीमा पनि एकै अक्षर संरचना भेटिदैन । त्यसैले खेली कुनै बाध्यात्मक शाष्त्रीय संरचनाले जकडिएको गीत नभई मानव हृदयको स्व—स्फूर्त अभिव्यक्ति हो । गाउँदै जाँदा मानिसलाई जसरी सहज हुन्छ त्यसरी नै यसलाई गाउने गरिन्छ । त्यसैगरी खेलीको लयमा पनि एकरुपता छैन । ठाउँ—ठाउँमा फरक फरक तरिकाले गाइन्छ ।

९. छन्द, लय ः

खेली गीतको लय लोक लय नेै हो । यसलाई लामो सुर निकालेर फलाक्दै पनि गाउने चलन छ । जस्तै ः

ए.............

जाऊँ जाऊँ लाग्यो

(गोसाईँकुण्ड तिरीथ)२

यसरी गीत सुरु गर्नुृभन्दा अगाडि लामो सुरमा ए...... भनी बल्ल गीत निकाल्ने र त्यसलाई ४—५पटकसम्म गाउने चलन छ । खैँजडी, मुजुराको तालमा यसलाई कहिले छिटो र कहिले ढिलो गरी गाइन्छ भने विना बाजा पनि वन, पाखा, चौतारो, मेलापातमा

पनि यसलाई गाउन सकिन्छ । ठाउँ अनुसार यसको लय फरक—फरक भएको पाइन्छ ।

१०. विषयवस्तु र भाव ः

खेली गीतको विषयवस्तु मूलतः प्रेम नै हो । यसलाई धेरै विद्वानहरुले प्रेमगीत अन्तर्गत राखेर चर्चा गर्ने गरेको पाइन्छ । दोस्रो, यसको विषयवस्तु धर्म, संस्कार हो । पूजाआजा तथा विभिन्न धार्मिक कार्यहरूमा खेली भजनको रुपमा पनि यसलाई गाउने गरिन्छ ।

त्यसैगरी खेलीगीत भावपूर्ण लोकगीत हो । यसमा प्रेम, करुणा, भक्ति आदिजस्ता भावहरू अभिव्यक्त भएका हुन्छन् । विशेषतः श्रृङ्गार, करुण र भक्ति रसको प्रधानता खेली गीतमा पाउन सकिन्छ ।

११. निष्कर्ष र सुझाव ः

नेपाली समाज लोकसंस्कृतिको भण्डार हो । यस भण्डारमा अनेक विधा र उपविधाहरूले आ—आफ्नो पहिचानसहितको स्वरूप निर्धारण गरेका छन् । यिनै विधा उपविधामध्ये लोकगीत एउटा महत्वपूर्ण विधा हो र यसका विविध प्रकारहरूमध्येको एउटा हो खेली गीत । खेलीगीतको आफ्नै पहिचान छ । यसलाई गाउनको लागि बाजाको रुपमा खैँजडी र मुजुरा प्रयोग गर्न सकिन्छ । आजको पश्चिमा संस्कृतिले भित्र्याएका बाजाहरू खेलीमा प्रयोग गर्न सकिदैन र गरिहाले पनि त्यो नसुहाउँदो हुन्छ । खेली गीतको बारेमा अझै अध्ययन र अनुसन्धानको खाँचो छ । कोठाभित्र २—४ वटा पुस्तक जम्मा गरेर र लाइब्रेरीका २—४ वटा शोधपत्रहरू हेरेरमात्र यसलाई अथ्र्याउन खोज्नु मूर्खतामात्र हुन जान्छ । ग्रामीण लोकसमाज जहाँ अशिक्षित वर्ग छन् जसमा आधुनिकताको प्रभाव परेको छैन र जो ७०—७५ पार गरिसकेका छन् तिनको मुखबाट उद्गारित शब्दहरूलाई लिएर अनुसन्धान गर्ने हो भने यस्ता गीतहरूको वास्तविक रूप र वास्तविक नाम प्रस्ट हुन्छ । तिनै व्यक्तिहरूसँगको प्रत्यक्ष भेटघाट, प्रत्यक्ष सहभागितामा यस लेखमा खेली गीतलाई वास्तविक रूप दिने प्रयास गरिएको छ । खेली नेपाली लोकगीतको महत्वपूर्ण पाटो हो । यस पाटोलाई वास्तविक रूपमै अध्ययन गरी यस सम्बन्धी विस्तृत रहस्यहरू उजागर गर्नु अबको आवश्यकता बनेको छ । पहिलेका अनुसन्धानकर्ताहरूले जे जसरी यसलाई नामकरण गरे त्यो आफैमा त्रुटिपूर्ण छ । त्यसैलाई आधार बनाएर आधुनिक लोकगायकहरूले पनि आफ्ना एल्बमहरूमा यस्ता महत्वपूर्ण खेली गीतलाई रोइला गीत भन्ने गरिएको पाइन्छ । वास्तविक लोकगायक हो भने कोठाभित्र बसेर अरुले लेखेका पुस्तकको आधारमा खेलीको नाम नबिगार्न म कलाकारहरूलाई सुझाव दिन चाहन्छु । त्यसैले खेलीजस्तो नेपाली लोक साहित्यको अमूल्य सम्पत्तिलाई जे मन लाग्यो त्यही भनेर नपुकारी यसको वास्तविक नाम जसलाई हाम्रा पुर्खाहरूले न्वारान गरेका थिए त्यही ‘खेली’ नामले नै पुकार्नु उपयुक्त हुने देखिन्छ ।

सन्दर्भ सामग्री

अधिकारी, नारायणप्रसाद (२०४३), स्याङ्जाली लोकगीतको अध्ययन, सङ्कलन र वर्गीकरण

(ज्याग्दी खोलामा केन्द्रित), स्नातकोत्तर शोधपत्र ः त्रि.वि.वि. ।

अधिकारी, बिश्वप्रेम (२०५७), आँधीखोले लोकसंस्कृति र लोकगीत, स्याङ्जा ः विजयकुमार

अधिकारी ।

खनाल, तुलसीराम (२०६०), आँधीखोले लोकगीतको सङ्कलन, वर्गीकरण र अध्ययन,

स्नातकोत्तर शोधपत्र ः त्रि.वि.वि ।

थापा, धर्मराज र सुबेदी हंसपुरे (२०४१),नेपाली लोकगीतको विवेचना, काठमाडौँ ः

पा.वि.के,त्रि.वि. ।

........................................(२०३०), गण्डकीका सुसेली, काठमाडौँ ः ने.रा.प्र.प्र. ।

न्यौपाने, कुसुमाकर (२०६०),धवलागिरी अञ्चलमा प्रचलित लोकगीत,एक अध्ययन (लघु

अनुसन्धान) काठमाडौँ ः विश्वविद्यालय अनुदान आयोग ।

.............................(२०६६), पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगीतहरूको

अध्ययन विद्यावारिधी शोधपत्र ः त्रि.वि.वि.

पराजुली, कृष्णप्रसाद (२०५७), नेपाली लोकगीतको आलोक, काठमाडौँ, वीणा प्रकाशन ।

बन्धु, चुडामणि (२०५८), नेपाली लोकसाहित्य, काठमाडौं ः एकता बुक्स ।

रेग्मी, भीमनारायण(२०६०) आँधीखोले रोइला ः एक परिचय, गरिमा (वर्ष २१, अङ्क १०, पूर्णाङ्क

२५०) काठमाडौँ ः साझा प्रकाशन ।

वनवासी, देवीप्रसाद(२०५५) आँधीखोले लोकसंस्कृति, स्याङ्जा ः चित्रलेखा प्रकाशन ।

(नेपाल प्रज्ञाप्रतिष्ठान काठमाण्डौं र पृथ्वीनारायण क्याम्पस पोखराको संयुक्त आयोजनामा २०६८ मङ्सिर ३ र ४ गते गरिएको नेपाली लोकसाहित्य राष्ट्रिय सङ्गोष्ठी कार्यक्रममा प्रस्तुत)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।