14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

शब्दको रिस

कविता प्रवीण खालिङ February 11, 2012, 4:16 pm

देश हर्बलले बाड़ेको विज्ञापन

जति पनि नपढ़िने त्यसको पर्चाले

राजनैतिक नंपुसकता छर्लङ्ग पार्छ।

त्यसको पोस्टर लेख्ने हातहरूले नै

प्रजातन्त्रको बाह्रखरी मेटाउछ।

अक्षरहरूको अनिकाल परेको बेला

निरक्षरहरू महाकाल भएर

मन्दिर,गुम्पा, गिर्जा र मस्जीदहरूमा पस्छन्

शान्तिलाई गलहत्याएर

आफैलाई ईश्वर घोषणा गरेर बस्छन्।

शब्दहरूलाई नाराको कन्सर्नटेशन क्याम्पमा हालिन्छ

भकाभक अक्षरहरूको टाउको काटिन्छ

प्रजातन्त्र लेख्न बस्यो कि त्यसको निबं भाचिन्छ

वर्णमालाको आँसु बग्छ।

'गालामा आँशुको डोब बस्दैन हजुर

पहरामा खहरेको डोब बसेजस्तो' – पारिजात

त्यसको टुमौटे परिभाषाहरूमा

अटाउँदैन शब्दको सिद्धान्त

मान्छेको मौलिक अधिकार

त्यसको रतन्धो आँखाले ठिम्याउन सक्दैन

त्यसले शब्दको आवेग पनि देख्दैन।

हुन त

त्यसले सत्ताको कुरा गर्छ

त्यसले सत्ताको धाक लगाउँछ

तर त्यसलाई थाहा हुँदैन

शब्दको रिस

जब शब्द रिसाउँछ पानीमा आगो बल्छ

आँखाबाट आँशु होइन आगो बग्छ

संविधान र देश त ढल्छ

त्यतिबेला त्यसको सत्ता कसरी चल्छ

हो त्यतिबेला त्यसको सत्ता कसरी चल्छ ?

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।