15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

संरक्षण : कविता र पर्यावरणको

विचार नेत्र एटम February 12, 2012, 4:17 pm

आज हामीले विश्वव्यापी रूपमै पर्यावरणीय सङ्कट र मानवीय संवेदनाको मूल्यह्रास एकैसाथ भोग्नुपरेको छ । एकातिर जीवचक्रमा अवरोध आई पृथ्वीको कलेवर ध्वस्त हुँदै गइरहेको छ भने अर्कातिर कवितालाई जटिल र प्राज्ञिक बनाएर कुलीनवर्गको पेवामा परिणत गरिँदै छ । नेपाली जनजीवन, प्रकृति र बौद्धिक संस्कारको विडम्बना पनि यही हो । वर्तमानको यस्तै प्रवृत्तिबाट दिक्क तर संरक्षणप्रति सचेत साहित्यकारहरूको एउटा समूहले २०५३ साल असोज १० गते पोखराबाट ‘संरक्षण कविता आन्दोलन’ आरम्भ गरेको हो । यसको नेतृत्व चर्चित साहित्यकार सरूभक्तले गरेका हुन् भने आन्दोलनमा सक्रिय रूपले सहभागी हुनेहरूमा हरिदेवी कोइराला, विनोद गौचन, जे. अस्मिता, सुकुम शर्मा, भूपिन व्याकुल आदि स्रष्टाहरू रहेको पाइन्छ । त्यस्तै, यस आन्दोलनका अन्य सहयोगीहरू धनप्रसाद तामाङ, पुष्प आचार्य, नवराज अधिकारी, सरस्वती सरू, दीपक समीप, सरस्वती प्रतीक्षा, सरिता तिवारी आदि पनि भएको देखिन्छ । यस आन्दोलनका उद्देश्य र उपादेयताका बारेमा सरूभक्तकै भनाइ यस्तो छ :

वास्तविक साहित्यिक आन्दोलन वैचारिक सिर्जना मात्र होइन, क्रियात्मक गतिशीलता पनि माग गर्छ । स्रष्टाहरू मात्र आन्दोलित भएर आन्दोलन हुँदैन, जनताहरू पनि आन्दोलित र प्रेरित हुनुपर्छ आन्दोलनमा । यसै उद्देश्यमूलक अवधारणाले संरक्षण कविता आन्दोलनको जन्म भएको हो ।

यो संरक्षण आन्दोलन पाश्चात्य साहित्यमा इसाको १९९० को दशकमा चलेको ‘पर्यावरणीय समालोचना’ (ecocriticism) बाट प्रभावित छ । पर्यावरणीय समालोचना भनेको साहित्य र भौतिक वातावरणका बीच रहने सम्बन्धको अध्ययन, विश्लेषण र मूल्याङ्कन हो । यस समालोचनाले साहित्यको पृथ्वीकेन्द्रित सन्दर्भलाई अध्ययनको विषय बनाउँछ । चेरिल ग्लोटफेल्टीले सन् १९९६ मा दी इकोक्रिटिसिज्म रिडर नामक कृति सम्पादन गरेर पर्यावरणीय समालोचनको ढोका खोलेका हुन् । यसलाई हरित सांस्कृतिक अध्ययन, पर्यावरणीय काव्यशास्त्र, पर्यावरणीय साहित्यिक समालोचना आदि नामले पनि चिनिन्छ । पर्यावरणीय समालोचकहरूले केही यस्ता प्रश्नहरूको जबाफ खोज्ने प्रयास गर्दछन् ः

-कृतिमा वर्णित दृश्यले समग्र सारवस्तुमा कस्तो भूमिका खेलेको छ ?

-कृतिमा रहेका गौण मूल्यहरू के पर्यावरणीय रूपमा महत्त्वपूर्णँ छन् ?

-प्रकृति भनेको के हो र यसलाई कृतिमा कसरी लेख्ने ?

-के कृतिमा वणित कुनै स्थानले खास वर्ग, लिङ्ग र जातिको पृथक् स्वरूप देखाउँछ ?

-बाहिरी दुनियाँबाट बेखबर समाजलाई हामी कसरी हेछौँ अनि यसबारे ऐतिहासिक देष्टिकोणमा केकस्ता भिन्नता पाइन्छन् ?

-वर्तमान पर्यावरणीय सन्दर्भहरू कृतिमा कसरी प्रतिनिधित्व गराइएका छन् र आधुनिकतालाई कस्तो स्थान दिइएको छ ?

-कृतिको विश्लेषणका लागि वातावरणीय चक्रका सिद्धान्तलाई कतिसम्म उपयोग गर्न सकिन्छ ?

-प्रकृतिको बारेमा लेख्दा कृतिकारको लैङ्गिकता कसरी प्रकट भएको छ ?

-औद्योगिक संस्थान, सरकारी अधिकारी, विज्ञापन एजेन्सी, पर्यटकहरूले प्रकृतिलाई कस्तो फरक दृष्टिले लिएका छन् र त्यसको प्रभावका पक्षबारे के प्रतिक्रिया दिन्छन् ?

-अन्य विषयहरू जस्तै ः इतिहास, दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञान आदिले प्रकृतिको अध्ययन र संरक्षणमा कसरी योगदान गर्न सक्छन् ?

संरक्षण कविता आन्दोलनमा पनि पर्यावरणीय समामालोचनाका कतिपय प्रश्नहरूको उत्तर दिने चेष्टा भएको पाइन्छ । यसमा वैज्ञानिक सचेतताको त्यति व्यापक प्रभाव नदेखिए पनि स्थानीय रूपमा यसले स्रष्टालाई ग्रामीण क्षेत्रसम्म पुग्न, वास्तविकतमा आधारित रहेर सिर्जना गर्न प्रेरित गर्ने, भौतिक प्रकृति र सांस्कृतिक प्रकृतिका बीच समन्यवय स्थापित गर्न तथा कथित सभ्यताबाट टाढा रहेका गाउँघरका श्रोतापाठकको रुचि परिष्कार गर्ने राम्रो अवधारणा प्रयोग गरेको छ । यसको स्वरूप र गन्तव्यबारे सरूभक्त भन्छन् ः

हामी त्यस युगका कवि हौँ, जुन युगमा कविताले संरक्षणको माग गरिरहेको छ । हामी प्रकृतिको त्यस कालखण्डमा उभिएका कवि हौँ, जब सम्पूर्ण विश्व–प्रकृति, जनजीवन संरक्षणको एक सिर्जनात्मक अन्तर्दृष्टि माग गरिरहेछ । अतीतका स्वच्छन्दतावादी कविहरूझैँ हामी प्रकृतिका पुजारी होइनौँ, संरक्षणवादी हौँ । प्रकृति मनमोहक, सौन्दर्यसहित मात्र होइन, आफ्ना सम्पूर्ण कुरूपता र विभीषिकासहित हामीसामु उपस्थित छ ।

यसरी हेर्दा संरक्षण आन्दोलन प्रकृतिकै संरक्षणबाट मानवीय बुद्धिमत्ता प्रकट हुन्छ र संसारमा जीवनको चमत्कार फैलाउन पाइन्छ भन्ने यथार्थवादी मान्यतामा अडिएको छ । २०५५ साल असोज ६ गतेका दिन मुक्तिनाथ क्षेत्रको रानीपौवामा गरिएको पहिलो गोष्ठीमा सार्वजनिक गरिएको संरक्षण कविता आन्दोलनको घोषणापत्रका पाँच सूत्रहरू र तिनले व्यक्त गरेका विचारहरूको व्याख्या यसप्रकार छ ः

१. 'संरक्षण नै जीवन हो, जीवन नै संरक्षण हो ।’

यस बुँदामा आन्दोलनको मूल विचार पाइन्छ । संरक्षणलाई यहाँ भौतिक प्रकृति, बोटबिरुवा, सांस्कृतिक मूल्यमान्यता, मानवीय संवेदनशीलता र तिनको सम्बन्धका रूपमा परिभाषित गर्ने दार्शनिक चेतना देखिन्छ । प्रकृति र मानवका बीचमा निरन्तर चल्ने सङ्घर्षबाट नै आजसम्मको सभ्यताको इतिहास रचिएको भए पनि प्रकृतिको राक्षसी विध्वंसबाट जीवन चल्न सक्तैन भन्ने जैविक मान्यता यसले अङ्गीकार गरेको छ । क्लोरोफ्लोरो कार्बनको अधिक प्रयोगबाट ओजोनमण्डल प्वाल परेपछि संसारभरी आएको सचेतता र बचावटका लागि भएका प्रयासले यही द्वन्द्व र निकट सम्बन्ध देखाउँछ । अहिले बहुप्रचारित पृथ्वीको तापक्रममा भइरहेको वृद्धि र हिउँको पग्लाइबाट उत्पन्न समस्यालाई समाधान गर्न पनि संरक्षणको आवश्यकता परेको छ ।

२. ‘आजको आवश्यकता गाउँमुखी कविताको सिर्जना हो । हामी सहरबजारमा बसेर गाउँको कविता रचना गर्ने युगको अन्त्य चाहन्छौँ । गाउँको कविता गाउँमै बसेर गाउँलेहरूका लागि रचना गरिनुपर्छ ।’

यस बुँदामा आन्दोलनको प्रक्रिया र पद्धतिका बारेमा मार्गदर्शन गरिएको छ । यसमा गाउँ र कविताको सम्बन्ध जोड्ने आग्रह छ । अहिलेका सन्दर्भमा साहित्य सहरिया बुद्धिजीवीहरूको आस्वादन र चर्चामा मात्र सीमित भएको छ तर यसले सामान्य जनमानसलाई उपेक्षा गरेको देखिन्छ । पुस्तकको प्राप्तता एवम् आर्थिक दृष्टिकोणले पनि गाउँ साहित्यिक माहौलबाट सधैँ टाढा परेको छ । सुविधासम्पन्न सहरमा बसेर गाउँको रोमान्टिक सम्झना गर्ने तर त्यहाँको छातीमा खोपिएको दुःख नदेख्ने प्रवृत्ति बढेका सन्दर्भमा यो बुँदा सान्दर्भिक छ । त्यसो हुँदाहुँदै पनि गाउँमा गएर लेख्नासाथ सौन्दर्यपूर्ण साहित्य लेखिन्छ र त्यसले गाउँलेलाई फाइदा नै पुग्छ भन्नेचाहिँ सही होइन बरु त्यसले गाउँलेहरूमा साहित्य र साहित्यकारप्रति उत्प्रेरणा र सम्मानको भावना जगाउने काम गर्छ ।

३.‘कविताले ग्रामीण प्रकृति, संस्कृति र ग्रमीण जनताको सुखदुःखमा सोझै संवाद स्थापना गर्नुपर्छ ।’

यस बुँदामा आन्दोलनले समेट्ने विषयवस्तुको दिग्दर्शन गराइएको छ । प्रकृति, संस्कृति र मानवका बीचको सुसम्बन्ध गाउँमै देख्न पाइन्छ । जिउनका लागि प्राकृतिक स्रोतमा निर्भरता, परम्परगत संस्कृतिका सबल पक्षलाई मानवीय उदारताका लागि समर्पण एवम् सरल मानवीय स्वभावको उच्छलन गाउँमा नगई अनुभव गर्न सकिन्न । वास्तविक अनुभूतिबिना लेखिएका रचना खोक्रा आदर्श मात्र बन्ने वा कल्पनाका उडानमा सीमित हुने डर हुन्छ । यो गाउँफर्काइ हेपिएको, अछुतो ठानिएको, योजनाबाट अनभिज्ञ राखिएको र परिधीय जीवन बाँच्न बाध्य परिएको गाउँको महत्त्व बुझेर तथा त्यसको शक्ति पहिचान गरेर समग्रताको राष्ट्रिय संस्कृतिनिर्माणतर्फको चासो हो, स्वच्छन्दतावादी खालको तपस्या गर्न गुफा वा वटवृक्ष खाज्ने खालको हिँडाइ भने होइन । यो यर्थार्थवादी र भविष्यप्रति सचेत वैचारिकता हो ।

४.‘कविताले ग्रामीण जनजीवनमा जागरणको शङ्खघोष गर्नुपर्छ ।’

यस बुँदामा आन्दोलनको उद्देश्य वा लक्ष्यका बारेमा स्पष्ट गरिएको छ । कविताको प्रयोजन पाठकसित निरपेक्ष रहेर कवितासिर्जनामा मात्र सीमित गर्ने कलावादी मान्यतालाई यसले अस्वीकार गरेको देखिन्छ र कवितालाई जागृतिको माध्यमका रूपमा लिइएको पाइन्छ । संरक्षण भन्नासाथ पनि उपयोगितावादी अवधारणा नै बुझिन्छ र कविताले उपलब्ध भइरहेका सामग्रीलाई बचावटका लागि सन्देश दिनुपर्छ भन्ने कुरालाई यस आन्दोलनले महत्त्व दिएको छ । सहरियाहरू चेतना भएर पनि यान्त्रिक छन्, हरेक कुरालाई एन्जीओकरण, पैसाकरण गर्छन् तर यसलाई प्रकृतिको नजिक बसेर संवेदनशील बनेका गाउँलेहरूचाहिँ वास्तविक संरक्षणकर्ता बन्न सक्छन् । जनताको आवश्यकता, अनुभव र सचेततालाई अघि बढाउने काममा कविताको विशिष्ट भूमिका हुनुपर्छ भन्ने सन्दर्भलाई यसले जोडदार ढङ्गले उद्घाटन गरेको छ ।

५.‘नेपाली साहित्यमा सहरिया आन्दोलनहरू धेरै भए, अब हुने आन्दोलन गाउँघरबाट थालिनुपर्छ ।’

यस बुँदाले क्षेत्रगत अवधारणलाई प्राथमिकता दिएको छ । सहर र गाउँ, राजधानी र मोफसल आदि विभाजनले मूल रूपमा प्राज्ञिक वा पढेर जान्ने र व्यावहारिक वा परेर जान्नेका बीचको भिन्नता कोरेको प्रस्ट देखिन्छ । नेपालीमा चलेका हलन्त बहिस्कारदेखि झर्राेवादी, आयामेली, राल्फाली, अस्वीकृत जमात, अमलेख, बुटपालिस, तरलतावादी आदि सबै आन्दोलन सहरबाट थालिएका हुन् र तिनको प्रभाव पनि सहरिया बुद्धिजीवीवर्गमा परेको देखिन्छ । त्यस्ता कुराले सामान्य साहित्यप्रेमीहरूसित सरोकार राख्नेभन्दा पनि प्राज्ञिक अनुसन्धान तथा समालोचनामा मात्र स्थान राखेको पाइन्छ । त्यसैले अबका आन्दोलनहरू गाउँघरबाट थालिनुपर्छ भन्नुको अर्थ प्रचलनमा आउने हलचलले सामान्य जनताको व्यवहार र विचारमा परिवर्तन ल्याउन सक्नुपर्छ भन्ने हो ।

घोषणापत्रका यी बुँदाहरूले प्राकृतिक वातावरण, मानव, सांस्कृतिक परिप्रेक्ष्य, ग्रामीण परिवेश र कविताका बीच अन्योन्याश्रित सम्बन्धलाई परिभाषित गर्छन् । यसबाट बिग्रँदो पर्यावरण र त्यसप्रति चेतनशील स्रष्टाको क्रियाकलापका बीच अन्तर्सम्बन्ध प्रकट हुन्छ । सांस्कृतिक सम्पदा, भाषा र साहित्यको सम्बन्धबाट के स्पष्ट हुन्छ भने प्रत्येक वस्तु अरू सबै वस्तुसित सम्बन्धित हुन्छ । त्यसैले यस संरक्षण कविता आन्दोलनललाई विश्वमा शक्ति, पदार्थ र विचारमा हुने जटिल अन्तक्र्रियाको स्वरूपका सन्दर्भमा हेर्दा विषयवस्तु, प्रयोजन, भाषा, क्षेत्र आदि दृष्टिले परिधीय पक्षलाई साहित्यको मूल धारमा ल्याई कवितालाई पुनस्र्थापित गर्ने जाँगर देखाउँछ । त्यसो हुँदाहुँदै पनि यो आन्दोलन धेरै समय सक्रिय रहन नसक्नु, केही सीमित क्षेत्रको घुमफिर र अनुभूतिको लेखनमा झराटराइ मात्र देखिनु तथा घोषणाअनुसारको दार्शनिक अवधारणालाई सिर्जनामा प्रयोग गर्न नसक्नु यसका कमजोरी हुन् ।

नेपालीमा चलेका सबै खालका भ्रमपूर्ण र व्यक्तिगत महत्त्वकांक्षाका साहित्यिक आन्दोलनहरूभन्दा फरक, आमचासोको विषय र भौतिक तथा जैविक प्रकतिसित कवितालाई जोड्न खोज्ने संरक्षण कविता आन्दोलनको चिन्तन हाम्रामाझ महत्त्वपूर्ण रहेको छ । यसले समकालीन विश्वमा स्थापित हुँदै गरेको पर्यावरणीय समालोचनालाई नेपालीमा स्थापित गर्न खोजेको पाइन्छ । विश्वव्यापीकरण र स्थानीयताको सेतु बन्न सक्ने खालको अनि प्रकृति र संस्कृतिलाई बचाउन प्रयासरत यस्तो आन्दोलन हाम्रो परिप्रेक्ष्यमा आवश्यक पनि छ । त्यसो हुँदाहुँदै पनि क्षेत्रीय स्तरका पाठकश्रोतमा पारेको प्रभाव र केही साहित्यिक सिर्जनात्मक उपलब्धिका दृष्टिकोणले यो चर्चित भए पनि यसलाई समग्र नेपाली साहित्यमा खासै प्रभावकारी तथा व्यापक आन्दोलनका रूपमा मूल्याङ्कन गर्न सकिँदैन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।