19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खुबै रसिक छन् उनी

कविता नास्तिक February 15, 2012, 2:39 pm

गोडा चारेक पल्ट

गोडा मोलेपछी सम्पादकको

छापियो एउटा कबिता कविज्यूको

जसको शिर्षक् थियो

'स्वाभिमान' !!!

खुबै रसिक छन् उनी

अस्तिमात्र

भेटेको थिए,

भट्टिपसलमा

भन्दै थिए,

देश बिग्रियो असलमा !

म सुन्ने क्षमता राख्थे

केही थान 'स्वाभिमान'हरु

र उनी थिए निकै पछि भेटिएका !

खुबै रसिक !जोसिएका !

आलु र पृथ्वी

दाँजेर लेखेको छु ।

कुरो बुझ्नुभएन के?

उनी भन्दै थिए

आलु चपाउँदै ।

खुबै रसिक छन् उनी

देशको स्थिती हेर्दै लेखे

जहाँ जे ट्याक्क मिल्छ

त्यही लेखे , बुझ्नुभएन के?

घुटुक्क पार्दै भने

मैले घुटुक्क पार्दै सुने ।

काइदाका छन् उनी !

तेस्रो बोतलको

दोस्रो पेगतिरको

कुरा हो

स्वर अचानक सानो पार्दै भने

लगभग खासखुस गर्दै

कुरा सब मिलाई सक्याछु

प्रकाशक

बितरक

सबै ट्याक्क !

अलिकति पैसा

जोहो गर्नु छ

पुरस्कारको लागि !

अनी हाँसेका थिए

हे.. हे.. हे.. हे !

अराजक हुन्छ

काव्य चेत

भन्दै अचेत भएका थिए उनी !

खुबै रसिक छन् उनी !

अहिले

उनैको कविता पढ्दै छु

'स्वाभिमान' !!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।