19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

स्यानफ्रान्सिस्को

कविता मंजु निरौला February 16, 2012, 9:08 pm

स्यान-ब्रुनो, स्यान-पाब्लो, स्यानटा-रोजा

राजधानी स्याक्रामेनटो जहाँ जहाँ पुगें म

पोखरा-काठमाण्डौको आकृति संग मिल्दोजुल्दो

स्यानफ्रान्सिस्को अति नै सुन्दर पाएँ मैले

नापा भ्याली पुगेपछि अति नै दङ्ग परें म

आफ्नै देउराली पाखाको यादमा चुर्लुम्म डुबें म

कहिले धुलिखेल कहिले थानकोटका डांडा-काँडा पुगें

उपत्यका-बेंसी समुद्री छालका बीच हेलिएको

स्यानफ्रान्सिस्को प्रकृतिको एक अनुपम बरदान पाएँ मैले

गोल्डेनगेटको मुन्तिर सलल बग्दो समुद्री छालमा

विश्वको चुनौती बोकेको वैज्ञानिक आह्वान पाएँ

कहिले गडगडाउँदो महाकालीमा पुगें, कहिले शान्त मेचीमा

झोलुंगे पुलको स्वरूप लिएको त्यस पुलमा पुग्दा

कर्णाली नदीको यादमा चुर्लुम्म डुबें

समुद्रको टापू बनी बसेको एल्काट्राज बन्दीगृहको पाखा देख्दा

पोखरा बाराहीको टापू नै देखें

कहिले वेगनासताल कहिले फेवाताल रारा दह नै पुगें

मेरो देशको सम्झनामा पाखा पहराको छहरामैं पुगें

अति भब्य स्यानफ्रान्सिस्कोको प्रकृतिभित्र

मेरो देशको झझल्को नै देखें

पासाडेनामा बाक्लो कुहिरो लागेको देख्दा

हीलेको बाक्लो कुहिरो धनकुटा नै पुगें

हिमालको दिब्य शृंखला उज्यालो नभए पनि

मकालु धौलागिरिको टाकुरा नभए पनि

स्यानफ्रान्सिस्को पुग्दा मेरो देशकै बगरमा पुगें

मेरील्याण्ड

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।