19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

क्रान्ति

कविता रुपेश राई February 16, 2012, 9:22 pm

अब, कस्तो क्रान्ति चाहियो हँ?

प्रश्नै प्रश्न मात्र उम्लिरहन्छ

अरुवा उम्लने गाउँमा। सहरले

छ्वाइँय भुटुन हाल्यो राजमा दाल।

बास्ना चल्दैन गाउँमा

रुगाले प्याल-प्याल सिङान मात्र झारी बस्छ। गाउँ।

शून्यबाट करायो क्रान्ति,

गाउँको दक्षिणा हरायो। सयबाट उफ्र्यो क्रान्ति,

गाउँको अस्तित्व हरायो।

अब, कस्तो क्रान्ति चाहियो हँ?

गाउँलाई विश्वमा खोज्न पर्ने

या त विश्वलाई गाउँमा खोज्न पर्ने!

होइन कि... बरू

डक्युमेन्ट्री बनाएर गाउँलाई

अस्कर विजेता हुन पर्ने।

गाउँले विश्व जान्यो र...!

बरू... विश्वलाई पो

गाउँ जान्न देऊ। क्रान्तिले भाका फेरिहाल्छ नि...

चाहे यो सहरबाटै हिँड्न परोस्

या त गाउँबाटै... तर मेरो

प्रश्न भन्दा बेग्लै क्रान्ति होस्!

केवल शब्द, शब्द रहोस्...!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।