19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

केशराशिले झटारो हान्दा

कविता शरद निरोला February 16, 2012, 9:25 pm
शरद निरोला
शरद निरोला

पानीले लतक्क भिजेको केशराशिले

जब मतिर एक्कासी झटारो हान्छ्यौ

उछिट्टिएर मतिर दौडेका ती सहस्र जलबिन्दुहरुमा

आत्मसात भै म निथ्रुक्क हुन्छु

अनायासै बादल बिनाको आकाशमा गर्जन सुन्छु

बिना मौसममैं पनि बर्षाको अनुभूति पाउँछु

तिम्रा मृगनयनद्वारा शुरुमैं हताहत त छँदै थिएँ

कम्मर चुम्ने केशराशिले अर्कै मात लगाएको छ

बडो नराम्रोसंग तिम्रा केशहरुमाझ भौतारिएको यो मुटु

बाहिर आउने बाटो नपाएर अलपत्र छ

तिम्रो रुपरेखा कोर्ने बेलामा ब्रम्हाका नौनारी नै गलेहोलान्

समस्त अप्सराहरूको सौन्दर्य निचोरी तिम्रो नक्सामा हालेहोलान्

“फाइनल प्रोडक्ट” का रुपमा तिमीलाई आफ्नो अगाडि देख्दा

आफैं आशक्तिको द्वन्द्वमा फँसे होलान्

भगवान ब्रह्माकै नियत डाँवाडोल गराउने तिम्रो रुप अघि

यो बबुरो मनुवाको नियतको मूल्य के

मलाई त केवल केशराशिकै भुलभुलैयामा बाँच्नपाए पुग्छ

नबाँचु त जीवनको अर्थ नै के?

मेरील्याण्ड, यू.एस.ए.

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।