मेरो कलिलो भूँडीले,
थाम्न नसकेर
वान्ता गरेका शब्दहरू
आज नारा लगाएर हिँडन
तयार भएका छन् ।
कहिले देखिको बन्दी बनेका
डोमेन् अक्षरहरू,
बल्ल-बल्ल फुत्त फुस्केर
मनपरी गाँठो पर्दै
क्रान्तिकारी शब्दहरुको निर्माण गर्दैछन्।
प्रत्येक भञ्ज्याङपछि मुख आँ...गरेर बसेका अजिङ्गरहरूलाई
अब म नर्भस पारिदिन्छु
ब्ल्याक-होलको कथा सुनाएर।
जालहारीले बिछाएको जालमा
माछाहरू पर्न छोडेको छ कारण
जालबाट उम्कने फर्मूलार्कैँ
चारो बनाएर निल्छन् माछाहरू आजकल।
निर्जीव हाँसो मुखमा ट्याप्प टाँसेर
हिँडेको कारणले गर्दा
तिमीले मेरो अनुहार हसिलो
देख्लाऊ
तर
"ईम्यानुएल कान्ट"ले थिङ ईन् ईट्सेल्फ भनेजस्तै
मेरो अनुहार भित्र लुकेको छ
अर्कै अनुहार
जसलाई देख्न सक्ने
तिम्रो नाङ्गो आँखाहरूमा औकात छैन।।