18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कर्मभूमि सरसर्ती पढ्दा

कृति/समीक्षा सदानन्द अभागी March 9, 2012, 2:29 am
सदानन्द अभागी
सदानन्द अभागी

परिचय

कर्मभूमि ऐतिहासिक खण्डकाव्यका रचनाकार केशवराज अमोदीको जन्म जन्म २०१३ जेष्ठ २० गते तनहूँमा भएको थियो। साहित्यिक थर आमोदी भए पनि उहाँको थर भने भट्टराई हो। उहाँको पिताको नाम कमलकान्त भट्टराई र माताको नाम दमयन्तीदेवी भट्टराई हो। आमोदीजी वाल्मीकि साहित्य सदन, चितवनको अध्यक्ष, चितवन साहित्य परिषद र नेपाल रेडक्रस सोसाइटी(चितवन शाखा) को आजीवन सदस्य हुनुहुन्छ।

सम्मान

थुप्रै साहित्य संस्थाबाट सम्मानित भए पनि यस कृतिमा भने अधुनातन शास्त्रीय कविको रूपमा राष्ट्रउत्थान साहित्यिक समाज चितवनले सम्मान गरेको मात्रै उललेख गरेको देखिन्छ।

प्रकाशित कृतिहरूः–

हिमाल रुन्छ (उपन्यास, २०४७), अरण्य–रोदन (खण्डकाव्य, २०५४),सत्ता–साधन (मुक्तकसङ्ग्रंह, २०५८), गजल दिपिका (शोधकाव्य,२०६०), कर्मभूमि (ऐतिहासिक खण्डकाव्य,२०६०)को साथै कथा कविता गीत गजल, निबन्ध,र समालोचनाहरू विभन्न प्रत्रपत्रिकामा प्रकाशन भएका छन्। उहाँको प्रकाशोन्मुख कृतिहरू पनि करिब आधादर्जन भन्दा बढ्ता भएको व्याक्तिगत विवरणबाट देखिएका छन्।

कृतिको संरचना : –

कृतिको आकार ६२*१२‍‌=७४ पृष्ठको छ। ७ सोपानहरूमा वर्णित यो खण्डकाव्यमा २२३ श्लोकहरू छन् । गोविन्दराज विनोदी अनुसार २१६ शिखरिणी र ७ श्लोक मालिनी छन्दका छन्। यस कृतिको प्र्रकाशन २०६०साल लेखनाथ जयन्तीको अवसरमा त्रिवेणी साहित्य परिष्द नवलपरासीले गरेको थियो। मूल्य रु १००/–छ। कृतिको प्रकाशकीयमा त्रिवेणी साहित्य परिषद नवलपरासीका अध्यक्ष नारायणप्रसाद खनाल लेख्नु हुन्छ– 'यो कृति शिखरिणी छन्दका सुरिला भाका र ऐतिहासिक विषय–बस्तुका माध्यमबाट हरेक तह र तप्काका नेपालीहरूको मन, मस्तिष्क, मुटुलाई एकमुष्ट आकृष्ट गर्न सक्षम छ।' शुभसम्मति शीर्षक दिएर बरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले काव्यको चिरफार गर्नु भएको छ। गोविन्दराज विनोदीको काव्यप्रतिको धारणा यसप्रकार छ –'ऐतिहासिक विषयवस्तुसँग व्यथाकथाको अत्यान्त हृदयस्पर्शी बर्णन प्रस्तुत गरेर काव्यलाई युग चेतनासँग सन्दर्भीकरण गरिएको छ'।

कृतिभित्र पस्दा –

यो कृति नेपालको ऐतिहासिक पृष्ठमूमिका लेखिएको खण्डकाव्य हो। पहिलो सोपानमा 'ने'े नामका मुनिको योग र प्रजापालन कर्म गर्दै गोप–युवकलाई राजाबनाएर शासन गर्न लगाएको, मञ्जुश्रीको तपस्या सफल रहेको, गोपहरूको राज्यमा किरातहरूले आक्रमणगरी यलम्बरले राज्य गरेको , जितेदस्ती किरातवंशी सातौ राजाका पालामा गुरुतम् महामानव धरी यहाँ आएर शान्ति–महिमा फिजाएको, किरातव्रशी १४वौं राजा स्थुङ पछि पनि अन्य राजाहरूले राज्यचलउँदै किरातवंशी गस्ती अन्तिम राजा बने। (गस्तीलाई सोमवंशीले हराएर नेपालमा राज्य गरेको पनि इतिहासमा पढ्न पाइन्छ। सोमवंशी राजा भाष्करबर्मा सन्तानहीन भएकाले भूमिबर्मा (लिच्छवि)लाई गोद लिएर राजा बने पछि लिच्छवि शासन सुरु भयो इतिहासले बताउँछ, जो काव्यमा लेखिएको छैन) जेहोस् यसकाव्यले 'ने' मुनि देखि मञ्जुश्री लगायतका स्मरणबाट काव्यको थालनी भएको छ र त्यस पछि कुशल तथा नामी राजाहरू मानदेवलाई वीर, प्रतापी, धर्मात्मा कुशल प्रतिभा भएका राष्ट्रप्रेमी राजाको रूपमा ,लिइएको छ। मानदेवका पालादेखि नै मुद्राको चलन सुरु भएको कला साहित्यमा पनि विकास भयो। लिच्छवि पछि मल्लहरूको उदय भएको मल्ल अरुण, सिद्धि, प्रताप आदि राजाले राज्य गरेको र यी राजाहरूका पालामा भएका राम्रा र नराम्रा पक्षहरूलाई समायोजन गरी काव्यमा राम्रो चित्रण गरिएको छ। मल्ल राजाहरूको पाला भए गरिएका कामको साथै सत्ता टिक्न नसक्नुको कारणलाई कृतिकारले यसरी बर्णन गरेका छन् –

छरेनन् के मल्ल प्रभृति नृपले उन्नति–प्रभा

गरेनन् के सामाजिक नव–सुधारात्मक–सभा

कला सङ्गीतै वा रुचिरमय साहित्य सबमा

दिएकै हुन् सेबा तरपनि टिकेनन् महलमा

राम्रेासँग राज्य संचालन गरको बर्णन सके पछि पहिलो सोपान समाप्त हुन्छ।

द्वुतीय सोपानमा पृथ्वीनारायण शाहले एकिकृत गरी नेपाल राज्यको स्थापना गर्दै राज्य विस्तारमा अघि बढ्दै गए केरु र कुतिसम्म नेपाली सेना (पृथ्वी–सेना) पुगे र लडे, लडाइँमा नेपाली सेनाले देखाएको वीरताको बर्णनलाई कविले यसरी बर्णन गरेका छन् –

खसोस् आकाशै वा नगहरू गिरून् सोत्तर भई

हओस् टुक्रा–टुक्रा धरणीतल यो चर्र चिरिई

भलै पड्कोस् गोला तदपि खुकुरी चालक–दल

भिडे बैरी सामू बिचलित नभै ती पलपल

पृष्ठ ९, श्लोक ३३

भारतमा मुगलराज्यको पतन सुरु भयो। भारतमा पनि अंग्रेजहरूले आफ्नो राज्य बिस्तार गर्दै थिए। नेपालले पनि अङ्ग्रेजसँग लड्नु पर्‍यो धेरै सेनाहरू मरेर सुगौली सन्धी गर्नु पर्‍यो, शाहवंशी राज्यकालमै केातपर्व भयो र जङ्गबहादुरको उदय भयो। राणाशासनले जरो गाड्यो। श्री ३को महाराजको पदवी लिएर रोलक्रममा राज्यसंचालन गर्ने कामको थालनी भयो। राणशासन निकै त्रु्कर शासन भयो। राणाशासनको जीवन्त चित्रण कविले यसरी प्रस्तुत गरेका छन् –

प्रजा रोए सारा नृपतिवर रोए धरधर

हरे! रोएगंगाा, गिरिवन तला, शैल' शिखर

सबै रोए गुम्बा, स्तुप, विहारादिक पनि

अहौ ! पिल्सी सकससित नेपाल जननी

पृष्ठ १५ श्लोक १५

जनताले धेरै सास्ती व्यहोर्न पर्‍यो। माथिका श्लोकको अध्ययनबाट के पत्ता लाग्छ भने राडाशासनको दमनको कारणले सारा देश जनता राजा प्रजा सबै रोए। जसको फलस्वरूप जनआन्दोलन भयो दशरथ, गंगा र शुक्र सहिद भए र त्रिभुवनले गद्दी त्यागेर भारत पसे। राणाशासन हट्यो र प्रजातन्त्र आयो। जनताहरू रमाए र नेपालको गौरव बढ्यो भन्दै कविको कथन यस प्रकार छ –

'उदायो क्या रम्रो जगमग प्रजातन्त्र मनमा

छचल्क्यो पानी झै हृदयतलको हर्षजनमा

ढल्यो राण–सत्ता चमचम उज्यालो जग भयो

प्रभाती छाएझै मुख अवनिको सुन्दर भयो'

पृष्ठ १८, श्लोक २८

कवि राष्ट्रियतामा आँफूलाई पूर्णरूपमा समर्पण गरेका छन्। राष्ट्रभावले भरिएका अभिव्याक्तिले सबैको मन छुन्छ। यसरी 'ने' मुनी देखि राणाशासन ढल्दासम्मको सजीव चित्रण र सुन्दर राष्ट्रियअभिव्यक्तिले भरिएको छ पहिलो र दास्रो सोपान।

यस काव्यको तेस्रो सोपानमा गद्दी त्यागगरी भारत गएका राजालाई पुनः नेपाल ल्याएर राजा बनाइयो। प्रजातन्त्रमा सबै खुसीमा थिए तर यो खुसी धेरै दिन टिक्न सकेन मैलो कालो पञ्चायतले प्रजातन्त्रको हरण गर्‍यो र जनताहरूका हक अधिकारहरू सबै छिनिए । जनताका सारा उमङ्ग, आकाङ्क्षाहरू समाप्त भए जसको बर्ण कवि यसरी गर्दछन् –

मरे आकाङ्क्षाका मिहिन पिपिरा, पल्लव झरे

रुखो, बाँझो, धर्तीमय प्रकृति देखा पनि परे

सबै वैल्याएझै मलिन दिन पारी दिन दिन

प्रजा छाती पिट्दै भय, विकल बस्थे छिनछिन

पृष्ठ २२ श्लोक ४

जनताहरूले यो स्वीकार्न सकेनन् । आन्दोलन चलिरह्यो, सत्याग्रह थालियो यो पनि सफल हुन सकेन, तर जनताको चाहना प्रजातन्त्रमा अडिग रहेकोले पञ्चायत ढल्यो, प्रजातन्त्र आयोको बर्णनको साथै प्रजातन्त्र र देशका विभूतिहरूको बर्णन यसखण्डमा गरिएको छ सोपानमा भने नेपालको व्यापकता र नेपालीको सहासप्रति पनि भावना पोखिएका छन्–

जहाँ नेपाली छन् चमकमय नेपाल छ त्यहीं

जहाँ गोर्खाली छन् अधिकतमको सहास त्यहींं

जहाँ राष्ट्र–प्रेम प्रवलतमको मन्त्र सरस

त्यही मेरो धर्ती रहरमय वैशाख सदृश्य

नेपाली आत्मा पुगेको ठाउँमा नेपाल पाइन्छ र गोर्खाली पुगेको ठाउँमा सहास मिल्छ भन्दै कविले आफ्नो धारणा राख्दै गरिमामय राजतन्त्रको र प्रजातन्त्रको बर्णनसहित यो सोपान समाप्त हुन्छ ।

चतुर्थ सोपान

यसमा कविले यस देशमा पूजिने देवता, यसदेशको कर्म रीतिरिवाज, नरनारीहरूले गर्ने कठोर ब्रतहरू, ऋतुहरू, गंगाले मनुजमतिको कल्मष पखाल्ने,यहीं नै सत्यात्माको, उपस्थिति र साहित्यिक मनहरूको उपस्थिति सावित्रीको सदृढ मय आदर्श, अहिल्याको जस्तो अचल तप,मैत्रैयीको प्रतिभा आभा आदिको बारेमा बर्णन गरिएको पाइन्छ –

यही नेपालको परमपदको पूर्ण नगरी,

यही नेपाली सुयश–तपको धर्म –नगरी,

यही नेपालीको सफल जुनिको कर्म नगरी

यही नेपालीको प्रगति–पथको स्वर्ण–नगरी

श्लोक २० पृष्ठ ३३

कविले यस भूमिको हरक्षात्रबाट प्रकाशिलो र उन्नती पथमा अघि बढाउन सकियोस् भन्ने धारणा राखेका छन्, यस सोपानमा।

पञ्चम सोपानमा कविले यस देशको प्राकृतिक बर्णन यहाँका थलचर, जलचर, नदी–नाला, वनस्पति, वीर सपूतहरू, कवि लेखक, उच्च पहाड(हिमशिखर)हरू, ताल–तलैया हिमशिखर चुम्मे व्यक्तिहरू, बाजा धर्म संस्कृतिक आदि विविधताको बर्णन गर्नु भएको छ।

षष्ठ सोपानमा सत्यलोकको उज्यालो, त्रेताको अलिकति चित्र धमिलो जनताले प्राप्तगरे स्वाद अमिलो, द्वापर कलह भयले गलित भयो र छली, ढोंगी, आडम्वरी आदि बोक्दै ढल्यो भने कल्मष कलि त अँध्यारोमा नै लम्क्यो जस्ले गर्दा आस्थाका गमला टु्ट्नु, भाषाका सरसभावहरू हराउनु मानवतामा विश्वास हटनु सस्कृति र आदर्शजस्ताको ह्रास, ठगी, चोरी, हत्या छलकपट, आतङ्क, नराम्रो प्रतिस्पर्धा ईर्ष्या, कलह, घात, स्पृहा, लोभकांक्षा, दम, मद र मात्सर्यले पूर्णता पायो भने, माया मैत्री, प्रणय करुणा अलप हुन गएकामा कविले गहिरो चिन्ता व्यक्त गरेको पाइन्छ–

समाजै उल्टो भो स्थिति , चलन उल्टो हुन गयो

यहाँ एउटा मान्छे पनि मिलन गाह्रो हुन गयो

न आफ्नो भो आफ्नो पनि,अब पराईसरि भयो

न देख्ने भो आफ्नो परिजन कुनै बेग्लिन गयो

श्लोक १६ पृष्ठ ४८

आजकेाे कुसंस्कृतिको अवलम्वन्, अबुझ मति, माग्ने प्रवृति,आदिले गर्दा संस्कृति सबै खरानीमा परिणत हुने भयो भनि कवि चिन्तित छन् सबै खाले कुलतत्यागेर सुमार्गमा आउन कविले आव्हान गर्दछन् –

सबै त्यागि आऊ कुलत जति छन् दुर्व्यन ती,

दया, मैत्री, माया अविरल जगाऊ असल ती

भयो मैलो, पर्यावरण, धरणी दुषित भयो

भई मान्छे लोभी अवनतितिरै ओर्लिन गयो

श्लोक ३२ पृष्ठ ५२

युग पनि परिवर्तन भयो, ज्ञान विज्ञानले छायो, यस्तो परिवर्तनमा राम्रो मार्ग समाउला भन्दा छल कपट जुवाले भेल बगायो, जनतामा कटुता बढ्यो, कलह बढयो प्रकृति–छवि विगार्नेमात्र काम भयो भन्दै यो सोपानले बिदालिन्छ ।

सातौ सोपानमा नेपाली भाषा, संस्कृति र परम्परामा विदेशी प्रभाव बढ्दै गएको कविको ठम्म्याई छ । खास गरेर अङ्ग्रेजीले हाम्रो भाषा संस्कृतिमा आक्रमण गरेको कविको धारणा छ र यो कटुसत्य पनि हो । कविको धारणलाई यहाँ हेरौं–

नमस्ते 'गुडमर्निङ्' सित बदलियो प्रेम 'लभ'मा

उहाँ हेराफेरी असफल पुग्यो 'फेल' गफमा

बढयो अङ्ग्रेजीको लवज सबमा आज यसरी

प्रियालाई 'डार्लिङ्' इलुइलु भनु लौन कसरी

श्लोक ६ पृष्ठ ५५

अहाजको नेतृत्व बर्गसँग पनि कवि सहमत देखिदैनन्। कविको चाहना समुन्नत नेपालको निर्माण हो तर देश हाँक्ने तथा देशलाई समुन्नततिर लाने व्यक्तित्वको हृदय दह्रो हुनुपर्ने थियो त्या हुन सकेन बरु लोभ लालचा, ढटुवा, गफडीका राजा, भएर देशलाई उन्नती तिर नभै अवउन्नतीतिर धकेलेको स्वार्थी नेतृत्वको नग्ननृत्य, आदर्शको क्षति, सत्य, निष्ठामय राजनीतिको समाप्तिलाई कविले यसरी पस्केका छन् –

तिमी स्वाथी लोभी, रसिक –मदिरा–भक्त ढँटुवा

पजेरोमा रम्ने, सदन–सुविधा–लाज पचुवा

तिमी कालो मान्छे हृदय पनि कालो गरिरह्यौ

प्रजामा झन कालो अप्रियकर जालो तरिरह्यौ

श्लोक १९ पृष्ठ ५८

खण्डकाव्य शुक्षम छ तर गहन छ । राष्ट्रिय भावनाले भरिएको छ। आमोदीजीलाई सफल काव्यकार, शब्द शिल्पीमा कलाकार, राष्ट्रप्रेमी भावनाको पोखाइको लागि मानौ एक बेजोड पूर्बाधार, शब्द संयोजनमा प्रभाकर शब्द कोमलतामा कलाधरको रूपमा लिएको छु मैले। संङ्क्षेपमा भन्नु पर्दा नेपाल नामाकरण, नेपालमा राजगर्ने विविध राजवंशहरू, एकिकरण समयमा नेपालीहरूको वीरता र सहास, राणाशासनको अत्याचारी राज्य संचालन, राणातन्त्र उखेल्न जनताको संघर्ष, नेपालको गौरवमय प्राचीनता तथा प्राकृतता आर्यवर्त प्राचिन नेपालको प्रशंसा, राष्ट्रियता,नेपालको प्राकृतिक सौन्दर्यता, नेपालीको विशेषता, सस्कृतिको ह्रास, अङ्ग्रेजी भाषाको प्रवलता र अङ्ग्रेजी भाषले नेपाती भाषा माथी गरेको अतिक्रमण, राजनैतिक व्यक्तिले राष्ट र राष्ट्रियताप्रति पुर्‍याउन नसकेको दायित्व आदि विविधताको तुलनात्मक बर्णमा सजिएको छ खण्डकाव्य। प्रशंसाको डोरो बाट्दैमा खण्डकाव्यमा पूर्णता छ त ठाडो प्रश्न उठ्न सक्छ। पूर्णता त कसैमा पनि हुँदैन, पूर्णता भन्नुको अर्थ बिकासको गति सुस्ताउनु हो। यो खण्डकाव्य ऐतिहासिक भनिएको छ र हो पनि तर सत्ययुगदेखि कलियुगसम्म समेट्ने प्रयास गरिएको छ तर इतिहासलाई राम्रोसँग समेट्न भने सकेको छैन काव्यले। उनले चाहेको र बर्णन गरिए जस्तो रूपमा प्रजातन्त्रले जनताको भावनालाई समेट्न सकेको छैन तर पनि काव्यको गहनप्रस्तुतिलाई आत्मसात गर्नै पर्छ। राष्ट्रभक्ति भावनाले भरिएको गहन खण्डकाव्यका कृतिकार केशवराज आमोदीबाट पुन यस्ता सुन्दर कृतिको प्राप्तिको आशा राख्दै काव्यकारलाई धनयवाद दिंदै विदा चाहान्छु।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।