19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

घामको लगाम समातेर ध्वजे

कविता सिजन नयन March 12, 2012, 10:27 pm

हावाको लिगमा घिस्रिँदै घिस्रिँदै

आइपुगेको छ,

ठ्याक्कै ढुङ्गाजस्तो आकृति

ध्वजेको थाप्लोमा

समात्न– घामसँगको प्रिय आलाप

संसर्गको अमूर्त पृष्ठभूमिबाट

भर्खरै जन्मिएको बछेडो गुराँस

चोरेर त्यही आलापको पोको

नाघेर जान्छ–

कुन क्षितिज ?

मरुभूमिको सफरमा निस्केको ध्वजे*

बीच बाटोमै अल्मलिएको छ

उसले जाँदाजाँदै भेटेको

ईश्वरको दुुुर्लभ हस्ताक्षर

कुन गर्तमा ?

लुकाएर जान्छ

मलाई नै बिर्सेर ध्वजे

मेरै छेउबाट

पगालेर जान्छ

ध्वनिको– कुन आवृत्ति ?

अझ

मैले नै रङ्गाएको उन्मक्त परिवेशमा

घामको लगाम समातेर ध्वजे

दौडन्छ– कुन दिशा ?

– कति कोस ?

उक्लन्छ– कुन पहाड ?

*ध्वजे— धनकुटाको डाँडाबजार गाविसमा अवस्थित प्रसिद्ध डाँडा । जहाँबाट सूर्याेदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।