19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चप्पल छिने के भो र यात्रा जारी छ

कथा नीलम कार्की "निहारिका" April 1, 2012, 7:19 am

साने कुम्लो पछाडि बोकेको छ । टाउकोमा निधारसम्मको टोपी छ । दाँयातिर सारङ्गी भिरेको छ । ऊजस्तै ऊभन्दा उमेरले पाकेको देखिने अर्को मान्छे छ । लवाइ उस्तै छ । कुम्लोको ठाउँमा चेन बिग्रिएको झोला छ उसको । हातमा दुवै लौरो छ, बाँसको ।

तगारो बन्द छ । तगारोमा लौरोले हिर्काउँछ पाकोले ।

कच्चोले ¥याई¥याई सारङ्गी रेट्छ । भित्रपट्टि केटाकेटी झुमिन्छन् । कुकुर भुकिरहेछ ।

अझै जोडले भुक्छ–

हे... हे... हे...

हेर्दाहेर्दै मान्छे जाति भइसके भक्षक

तगारोमा पुग्दा भुक्छ घरको रक्षक

¥याई¥याई...

सारङ्गी पुनः रेट्छ कच्चोले भाखा हाल्दै ।

खोल नानी ढोका खोल

आयौँ गीत गाउनलाई

जोहो गर्दै हिँडेका छौँ

चुहेको घर छाउनलाई

कति राम्रो टुसाएको गैरीछेउ तामा

भूरा मात्र देखियो, कहाँ गइन् आमा ?

¥याई¥याई...

बूढी आमा हातमा लौरो लिएर आउँछिन् र कुकुरलाई खेदाउँछिन् ।

तगारो खोलिन्छ । दुवै भित्र पस्छन् । केटाकेटी खुसीले उफ्रिन्छन् ।

¥याई¥याई...

सारङ्गी रेटिरहेछ ।

साँझको घाम अस्ताउने बेला छ । स्कुलका केटाकेटी डहर हुँदै फर्कदै छन् किताब खोकिलामा चेपेर ।

कच्चोले सारङ्गी रेट्छ गाउँदै–

हे बरै...

हामीलाई पनि मन थियो

गैरी खेतको धान कुटेर

कासको थालमा खानलाई

हामीलाई पनि मन थियो

सेतो पेन्ट, नीलो सर्ट लाएर

साथीसँग स्कुल जानलाई

हेर बरै...

हामीलाई मन थियो

हाम्रो पनि तन थियो

कतै भित्र छुन्छ होला

मनभित्र रुन्छ होला ।

एकछिन रोकिन्छ । केहीबेर टोलाउँछ ।

पाकोचाहिँले चिमोट्छ पाखुरामा ।

हे बरै...

जाऊँ जाऊँ हात धोऊँ

आमा दिन्छिन् खाजा

पकाएर राखेकी छन्

घिउ हाली ताजा ।

आमा भए मेरो पनि

पाउँथे होला पढ्न

छाड्ने थिएन यो उमेरमा

भीरैभीर लड्न ।

आमा पनि छैनन् हजुर

बाबा पनि रहेनन्

हे बरै...

वर्षा लागे पुल छैन

खोला पसी त¥यो

भाग्य पनि कस्तो रै’छ

डुली हिँड्नुप¥यो

पुछ्ने रुमाल छैन हजुर

आँसु ढिका झ¥यो

हे बरै...

साबुन छैैन बुट्टेजामा

खरानीले धुन्छे

सानी मेरी बैनी हजुर

दाजु भन्दै रुन्छे

न त राम्रो आँखा देख्छे

न त कान नै सुन्छे

हे बरै...

महिना दिन यसै गरी

कमाइ गरी जम्ला

दाजु बैनी मिलिजुली

चुलो बाली खाम्ला

दिने भए जडौरी

जाडो छेक्न लाम्ला...

बोतामा कोदाको बाक्लो जाँड दुवैजनाको अघिल्तिर राखिदिन्छे बूढीआमा ।

केटाकेटी वरिपरी बसेका छन् रमाइलो मानेर । बस्तु हेर्न गएका बाबु पनि आइपुगेछन् । गोठमा बस्तु बाँध्छन् ।

सारङ्गीको धुनसित

लाएको छु मित

घरमालिक आउनुभयो

अब सुन्नुस् गीत

वह मेरो पोख्छु अब

यहाँहरूसित...

सिमलको हाँगामा

दुई ढुकुर जोडी

महिना दिन हुन लाग्यो

हिँडेको घर छोडी

गीतको लय फेर्छ सारङ्गी रेट्दै–

झरीले रुझे पनि

पसिनाले भिजे पनि

घरघर जानु छ

गाइने गीत गाएर

सबको मन खुसी पार्नु छ ।

ऐया भन्न पाइँदैन

तर चोरी खाइँदैन

नभएको जुराएर

गीत पनि गाइँदैन ।

पुष–माघ जाडो होस् कि

चैतको घाम

यही हो हाम्रो पेशा

यही हो हाम्रो काम

बासको ठेगान छैन

सुख भन्ने कैले भैन

जे भए नि लिनु रै’छ

मनमा एक चैन ।

बूढीआमाले टाढैबाट रोटी फालिदिन्छिन् टपरीसँगै अघिल्तिर ।

हे आमै...

काँडा बिझ्यो पैतालामा

ठेला प¥यो हातमा

कोही छैन ठूलो सानो

एकै हुन्छ जातमा ।

फेरी बूढीआमा हाँस्दै जाँड थपिदिन्छिन् । ऊ दुई–चारपटक निल्छ र सारङ्गी रेट्छ–

भाँडा थाप्छु दैलोनिर थप आमा जाँड

नेता जति यो देशका घाँटीको दुःखी गाँड

केटाकेटी बालबच्चालाई अघि बढाएर

कर्फु लाग्दा जुलुस निस्क्यो नारा लगाएर ।

गोली चले छातीमाथि भुरालाई नै लाग्ने

टाठाबाठा नेताहरू ज्यान बचाई भाग्ने

होटलमा बैठक बस्छ, विदेशसँग माग्ने

बालबच्चाको नाम पारी आफ्नो पेट भर्ने

भोका नाङ्गा बालबच्चाको फोटो पठाएर

विदेशसँग सहयोग मागे देश देखाएर

बाल बिक्री बढ्न लाग्यो रोक्ने कसले हो ?

हाम्रा सारा यस्ता पीडा बोक्ने कसले हो ?

गरिबका बालककाझैँ दुःख कसको होला

हाम्रो लागि बोलिदिने मुख कसको होला ?

एकछिन रोकिन्छ ।

पक्कोले पटक–पटक धाप मार्छ कच्चोको काँधमा । पल्लो घरका पनि आइपुग्छन् । गुन्द्री बिछ्याएर बसेका छन् वरिपरी ।

‘भरियाको कर्म गाइदे !’ पाकोको आदेश ।

पाकोले पनि साथ दिन्छ सारङ्गी रेट्दै–

हे हे हे हे...

सानो छ शरीर

सानो उमेर

गहु्रँगो छ भारी

लानु छ डाँडापारि

टोपी खस्ने उकाली

बिसाउन छैन देउराली

यस्तै छ हजुर

कसो गरी त्यो डाँडा चढ्ने होला खै ?

कहिलेसम्म भाग्यसँग लड्ने होला खै ?

हे हे हे हे...

कोही जान्छन् स्कुल

कापी–किताब बोकेर

म जान्छु भारी बोक्न

आफ्नै आँसु पिएर

पढ्न रहर थियो सारै

ज्ञानी गुनी बन्नलाई

साह्रो प¥यो यो जन्ममा

साहुको ऋण तिर्नलाई

बन्धकी यो जिन्दगीमा कसो गरी पढ्ने होला खै ?

कसो गरी त्यो डाँडा चढ्ने होला खै ?

कहिलेसम्म भाग्यसँग लड्ने होला खै ?

हटेको त छैन अझै

दास दासी बनाउन

उज्यालो खसेदेखि

साँझसम्म कजाउन

हटाउन भेदभाव

ल्याउन समानता

हाम्रो लागि अब को बोल्ने होला खै ?

कसो गरी त्यो डाँडा चढ्ने होला खै ?

कहिलेसम्म भाग्यसँग लड्ने होला खै ?

भाका फेर्छ–

¥याई... ¥याई... ¥याई...

आमा मेरी भन्थिन् ठूलो मान्छे होला

एक दिन ती औलाले हिमशिखर छोला

मेसिन औला सारङ्गी रेट्न छाडेर हेर्छ । आफ्ना औला रोकिएको देखेर पल्लो घरकी पटुका कसेकी बजै जान खोज्छिन् ।

रेटेर सारङ्गी हिँडिरा’छु घर घर

आऊ, सुन गाउँछु गीत, नजाऊ पर पर

वर्षा लाग्यो धमिलो भो बढ्यो झुम्सा खोला

कहन्छु आज मनको विरह सुनिदिनुहोला

आमा छैनन् बाबु भन्ने जिम्दै मरे

टुहुरा दुई भाइ–बहिनी अलपत्र परे

बाका भाइ साना काका आए सरन दिन

गाउँदै हिँड्ने उनैसँग त्यो को होला चिन ?

हामी त हजुर झुम्साको गाइने

हातपात जेमा दे’नि खाने

सानी मेरी बहिनीलाई घर एक्लै छाडी

गाउन आछम काका–भतिज डाँडातल मडी

झोली थाप्छु दिनुस् हजूर यहाँ मन फुकाई

भीख मागेको होइन, गाएँ घाटी मैले सुकाई

अबेर भयो जानु छ अब पल्लो गाऊँ

लौन आमै जे दिने हो सब हामी पाऊँ

बूढी आमा पाथीमा गहुँ लिएर आउँछिन् पाकोले लुगा थाप्छ । आमाले खन्याउँछिन् ।

आमै, एक गिलास पानी देऊ तिर्खा लागेको छ

यो देशले अझै दुई–चार सहिद मागेको छ ।

घरको सानो बालकले पानी ल्याएर पर राखिदिन्छ ।

हे हे...

छुवाछुत नगरौँ तिमी हामी दाजुभाइ

एकजुट हुनुपर्छ शान्ति ल्याउनलाई

जुठो नपारी पानी सक्छ अनि आँगनको पल्लोछेउ ढुङ्गामा राखिदिन्छ अम्खोरा । आमैले अम्खोरा हातमा लिन्छिन् ।

कुम्लो बोकेर उनीहरू बाटो लाग्छन् ।

आउँदा भुकेको कुकुर अहिले पुच्छर हल्लाएर उनीहरूको पछिपछि लागेको छ ।

सबैलाई नमस्कार गरेर उनीहरू तगारो काट्छन् ।

पछिपछि अरू भूराहरू छन् ।

कुम्लो गह्रुँगो छ । घरीघरी माथि सार्छ ।

तर पनि सारङ्गी रेट्दै हिँडेको छ कच्चो, फुरुङ्ग भएर ।

अलिपर पुग्दा चप्पल छिन्छ ।

भूराहरू खि... ती ती... हाँस्छन् ।

ऊ पनि हाँस्छ ।

कुम्लो भुइँमा राखेर गाउँछ–

हे...

चप्पल छिने के भो र यात्रा जारी छ

उज्यालो दिने सूर्य यही डाँडा पारि छ ।

सबै केटाकेटी धूलोमा उफ्रेर ताली बजाउँछन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।