विक्षिप्त सङ्क्रान्तिले
अतिशय निराशाबाट
कोरल्न लागेको छ एउटा विप्लव
अब आस्थाका पाकेटमाराहरू
निर्विघ्न हाम्रो ऋजुतामाथि
बेइमानीको मैथुन गर्ने छैनन्
र चुपचाप सधैँभरि हामीले
तिनका अवैध ईप्साका
काला छौंडाहरू जन्माइरहने छैनौँ
हामीलाई लाग्थ्यो
धीरताको बलिदान गरेर
हामीले
त्वरित् सम्प्राप्तिको
अनुष्ठान आवाहन गरेका थियौँ
निमोठेर
यति विघ्न आकाङ्क्षाका पल्लवहरूलाई
हामीलाई लाग्दैन्थ्यो
उनीहरू इतिहासमाथि
यति सारो मजाक गरिरहने छन्
र अबोध विश्वासको पिठ्युँमा चढेर
हाम्रो बलिदानको शिरच्छेदन गरिरहने छन्
अब विप्लवले
नामञ्जुर घोडामाथि चढेर
तिनका रखैल इच्छालाई अस्वीकार गरिसकेको छ
अभद्र तिनका लोभी भू्रणहरू कुल्चँदै
धम्कीको भाषामा बोलिसकेको छ
खबरदार कोही हामीलाई
असम्भव आश्वासनका तन्नामा नसुताऊन्
र प्रलोभनका पुरिया बाँडेर
कुमारी विश्वासमाथि बलात्कार नगरून् ।
शब्दसिर्जना कुञ्ज, मणिग्राम–बुटवल