अन्तिम लागेको छ मलाई
स्पर्शहरु, न्यानाहरु, प्रेमहरु
अन्तिम मोडहरुबाट
हात हल्लाएसरी
विलीन हुदैछन आफनो गन्तव्यमा
भोलि फर्किदैनन् कि भनी
एउटा अन्तिम आशँका
घर वनेको छ
अचेल !
अन्तिम लागेको छ मलाई
आजका दिनहरु
भोलि–
मिर्मिरेहरु उज्याला छर्दैनन्
अँध्यारै दिनहरुमा
उज्याला अभ्यासहरु
अनि अँध्यारै परिणाम वोकेर
अन्तिम सत्य !
प्रमाण पत्रमा आफनो सम्भाव्य नाम
त्रास वनेर घुमेको छ
अचेल !
आज अधीर !
संयमता गुमाएर
अन्तिम लागेको छ मलाई
यो युगको एक प्रहर
गल्र्याम्म अँगालो हालेर
छोपी खोलेर हेरुं त्यो प्रहर
के लेखेको छ मेरो भागमा
अन्तिम अँशको आशा
रहर वनेर उम्लिएको छ
अचेल !
बागलुङ, हाल ओस्टण्डे बेल्जियम