१. आरम्भ ः
नूतन अनुभव हासिल गर्न तथा जीवनको उल्टोसुल्टो खुट्याउन एकै थलोमा बसेर मात्र सम्भव नहुने तथ्यलाई शायदै कसैले अस्विकार गर्ला । प्रकृतिका अनुपम वैभव, सुन्दरता, छटाछहरा, उकालीओराली, जीवजन्तु, चराचखेवा र मनुष्य जीवनका उहापोहहरुलाई नजिकबाट भोग्ने अवसर यायावरी घुमन्तेले मात्र प्राप्त गर्न सक्दछ । कोठामा बसेर का“सका पर्दाबाट जगत चियाउनुभन्दा तत्स्थानमा पुगेर प्राकृतिक ढंगलेनै परिभ्रमण गर्नु÷अवलोकन गर्नुको मज्जा कता हो कता माथि हुन्छ । परन्तु बसिरहेको थलो छोडेर नया“ स्थानमा पुग्दा कहिले सजिलो त कहिले असजिलो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । यात्रा कहिले सहज हुन्छ त कहिले चुनौती र गाह्रोसाह्रोको थुप्रोले भरिएको देखिन्छ । तथापि यात्रा मानव जीवनको अनिवार्यता हो । अध्ययन, अनुभव, अभ्यास र अनुसन्धानको विधि हो । सुललित, सुरम्य र सार्थक जीवन प्राप्तिको आधार पनि हो ।
स्थलगत खोज, छानविन, अनुसन्धान र अनुशीलनको औजारका रुपमा यात्रालाई धेरैले प्रयोग गर्ने गरेको देखिन्छ । गाउ“ठाउ“, समाज र देशको वस्तुपरक तथ्यवोध गर्नका लागि यात्रा जरुरी पनि छ । कोलम्बसले अमेरिका पत्ता लगाएको, चिनिया यात्री हु यान साङले तत्कालीन नेपालका बारेमा लेखेको वा फादर गुइसेपले ‘द किङडम अफ नेपाउल’ कृति तयार पारेको आधारभूमि यात्राबाट नै सम्भव बनेको पाइन्छ । पछिल्लो समयमा थुप्र्रै लेखक, कलाकार र साहित्यकारहरुले आफूले गरेको यात्रा अनुभवमा आधारित भएर सिर्जना गरेका रचनाहरुले बजार तताइरहेको अवस्था छ । अचेल यात्रामा आधारित लेखनलाई प्राथमिकता दिने स्रष्टासर्जकहरुको संख्या ह्वात्तै बढेको छ । यसै पङ्तिमा ‘यात्री’ उन्यास लिएर देखापरेकाछन् साहित्यकार सदानन्द अभागी ।
२. ‘यात्री’ उपन्यासको सन्दर्भ ः
पेशागत रुपमा कृषिविज्ञ भएकाले सोही क्षेत्रका करिब डेढदर्जन पुस्तक प्रकाशन गरी ३४ वर्षे सरकारी सेवाको उत्तरार्धतिर साहित्य सिर्जनाको क्षेत्रमा हात हालेका पाकापुराना साहित्यकार सदानन्द अभागीकृत यात्री उपन्यास उनको चौथो उपन्यासकृति हो । सम्वत् २०६८ मा प्रकाशित प्रस्तुत उपन्यासको प्रकाशकका रुपमा नवलपरासीको कावासोतीमा रहेको लक्ष्मीस्मृति साहित्य समाज रहेको छ । यस उपन्यासको सेरोफेरो उपन्यासकारको वैयक्तिक अनुभवकै परिधिमा गुजुल्टिएको छ । नेपालको पश्चिमवर्ती जिल्ला बैतडीको गोठालापानीबाट आरम्भ भएको यात्राले मध्यवर्ती काठमाण्डौं उपत्यका, लुम्बिनी आदि स्थानहु“दै पूर्वको झापा–इलाम समेतको परिभ्रमण गरेर पुनः गोठालापानी पुगेर उपन्यासले विश्राम लिएको छ । उपन्यास मूलतः यात्रा सस्मरण जस्तो छ । विवरणात्मक छ । स्थान परिचयको भावमा अथ्र्याउन मिल्ने प्रकृतिको छ । यसका अलावा उपन्यासभित्र केही छोटामोटा कथ्यहरु जोडिएकाछन्, जसले पाठकलाई ‘अब के होला ?’ भन्ने काउकुती लगाइरहन्छ ।
उपन्यासको मूख्य पात्रको रुपमा रहेको ‘यात्री’ आफैमा जागिरे हुन्छ । जागिरका सिलसिलामा गरिएको अन्तरदेशीय भ्रमणका क्रममा गरिएका अनुभव र देखिएका दृश्य तथा घटनाहरुलाई उपन्यासको रुपमा ढाल्ने प्रयासस्वरुप कृति तयार भएको भेउ पाउन कठिन पर्दैन । जम्माजम्मी अठारवटा खण्डमा विभक्त गरिएको उपन्यासको कथानकलाई भिन्दाभिन्दै र्शीषक दिएर प्रस्तुत गरिएको छ भने उपन्यासभित्र समकालीन र ऐतिहासिक जानकारीमूलक विषयलाई पनि उजागर गरिएको भेटिन्छ । उपन्यासभित्र यात्री आफै र चालक गरी दुई मूख्य पात्र छन् भने सन्दर्भ अनुसार अन्य सहायक पात्रहरुको पनि प्रयोग गरिएको छ । पुरुष र महिला पात्रको सन्तुलित प्रयोग गर्न उपन्यासकार चुकेका छैनन् । उपन्यासको आरम्भ हु“दादेखि अन्त्यसम्म पुरुष र महिलापात्रको प्रसङ्ग र सहभागिता प्रशंसनीय देखिन्छ । समाजको भित्री तहमा पसेर सवालहरु खोतल्ने र सतहमा प्रकटीकरण गर्न उपन्यासकार सफल भएकाछन् ।
३. अभागीको साहित्यिक यात्रा ः
माता स्वर्गीय नन्दकली र पिता कलाधर रिजालको सुपुत्रको रुपमा पर्वत जिल्लाको शंकरपोखरीमा १५ मार्च १९४७ मा जन्मिएका साहित्यकार सदानन्द अभागीको वास्तविक नाम सदानन्द जैसी हो । नामका पछाडि ‘अभागी’ लेख्ने गरेको भएपनि यिनी अत्यन्त भाग्यशाली स्रष्टाको रुपमा चिनिन्छन् । गाउ“ले परिवेशमा हुर्के बडेको शैशवकाल, लामो जागिरे अनुभव, जीवनयात्राका अनेकौं सुख, दुःखका पहेलीहरुको भुक्तमानले यिनलाई उमेरस“गै पाको, परिपक्व र ओजश्वी बनाएको छ । नेपाल सरकारको सेवामा रह“दा माटोविज्ञका रुपमा यिनले नेपालका सबैजशो गाउ“–शहर चाहारेकाछन् भने कुना–कन्दरा र लेकबेसीमा पसिना बगाइरहेका किसानको गाथा बुझेकाछन् । अधिकृतस्तरको सरकारी सेवामा रह“दा इजिप्ट, थाइल्याण्ड, फिलिपिन्स, जापान, भारत लगायतका देशको अध्ययन भ्रमण समेत गरेका स्रष्टा अभागीमा मानव जीवनको अन्तरकुन्तर विचरण गर्नसक्ने द्रष्टा दृष्टिकोण पनि प्रखररुपमा अघि आएको देखिन्छ । बिएस्सी (एजी) अध्ययन पूरा गरेका यिनको जती कृषि प्रविधिमा दख्खल छ, त्यतिनै समाजका अन्तरवस्तुको पत्रपत्र विश्लेषणमा पनि सक्षमता छ । यिनले मानवसमाजको विषमतालाई नजिकबाट छाम्न र पर्गेल्न सुक्ष्मदृष्टि प्रक्षेपण गर्छन् आफ्ना रचनाहरु मार्फत ।
पेशागत लेखनलाई था“ती राखेर साहित्य लेखनका क्षेत्रमा विसं. २०५७ को वरपरबाट पाइला सारेका यिनले एघार वर्षको समयावधीमा जम्माजम्मी एक्काइसवटा कृति प्रकाशन गरिसकेकाछन् भने आधादर्जन कृति प्रकाशनका लागि तयारी अवस्थामा राखेकाछन् । हालसम्म यिनले ३ कविता, ३ कथा, १ खण्डकाव्य, ४ उपन्यास, २ महाकाव्य, १ यात्रा विवरण, १ जीवनी, १ कृषि काव्य, ४ गजलसङ्ग्रह र १ मुक्तक कृति प्रकाशन गरेको देखिन्छ । गोरखा दक्षिण बाहु चौथा र अन्य पुरस्कार तथा सम्मानबाट पुरस्कृत भैसकेका यिनका सिर्जनागर्भमा ग्राम्य समाजका अनुभव, घटना–परिघटना, मिलन–विछोड, घात–प्रतिघात, सफलता–असफलता, विकृति–विसंगति आदिले प्रमुख स्थान पाएका हुन्छन् । यिनी विषयलाई सपाट कोणबाट लेख्न रुचाउ“छन् । बोधगम्य, सरल र सहज लेखनको प्रस्तुति यिनको वैशिष्ट्य हो । ग्रामीण सवालमा लेखिएको रचना गाउ“ले दाजुभाइ–दिदीबहिनीले नै बुझ्न सक्ने हुनुपर्दछ भन्ने यिनको मान्यता रहेको यिनका सिर्जना अध्ययन गर्दा पत्तो लाइहाल्छ । यिनका सिर्जनाभित्र समाजका लागि सकारात्मक र रचनात्मक सन्देशको उछिनपाछिन भेटिन्छ । यात्री उपन्यास पनि यिनै विशेषताले भरिएको पछिल्लो कृति हो ।
लेखनमा क्लिष्टता आभागीको रुचीको विषय होइन । साहित्यलाई बोझिलो, झन्झटिलो र असहज बनाउने प्रवृत्तिस“ग यिनी सहमती राख्दैनन् । जीवन भोगाइका उतारचढावको कलात्मक तथा सिर्जनात्मक प्रस्तुतिलाई रुचाउ“छन् यिनले । यसैकारणले यिनका लेखनमा झर्रा गाउ“ले शब्दावली र पदावलीको बेसी प्रयोग भएको भेटिन्छ । विषयसान्दर्भिक उखानटुक्का, भनाई र उपमाहरुको प्रयोगमा यिनी मस्तले जम्न सक्छन् । यिनले प्रयोग गर्ने भाषाशैली सिनित्तको हुन्छ । उबडखाबड भाषा प्रयोग गरेर आफूलाई उपल्लोकोटीको सर्जक बनाउने चाह सदानन्द अभागीमा नभएको देखिन्छ । आम नेपालीले सजिलैस“ग पढ्न र बुझ्न सक्ने लेख्न पाए हुन्छ भन्ने धारणा राख्ने यिनका सबैजसो कृतिहरु कोराछन् र सिंगारपटार नगरिएकाछन् । कृतिको नामले नै धेरै अर्थ दिनेगरी शीर्षक राख्न रुचाउने अभागीले आफ्ना कृतिमार्फत दिन चाहेको सन्देश सोझै र प्रष्ट ढंगले दिने हैषियत राख्छन् । यसमानेमा सदानन्द अभागी सामाजिक छिन्द्रान्वेषी बन्न सकेको संकेत पाइन्छ ।
४. ‘यात्री’ उपन्यासको अन्तरवस्तु ः
प्रस्तुत उपन्यासको अन्तर्य एउटा खास परिस्थितिमा मूख्य पात्रले गरेको यात्राविवरणको फेहरिस्तले भरिएको छ । यात्री उपन्यासले यात्राक्रममा अनुभूत गरिएका मीठा–तीता अनुभवहरुलाई श्रृङ्गारिक भावमा प्रस्तुत गरेको छ । यसमा प्रयोग गरिएका सबै पात्र÷पात्राहरु बाचाल छन् । प्रष्टवक्ता छन् । न्यायका पक्ष्ँपाती छन् । अन्याय, शोषण, विभेद, कुसंस्कार र खुराफाती प्रवृतिका विरोधी छन् । मूख्य पात्रका रुपमा रहेको यात्री बढो जानकार, शिक्ष्ँित र अनुभवी लाग्दछ । उसको उपस्थितिले उपन्यासलाई रसमय, ज्ञानबद्र्धक र सर्वउपयोगी बनाएको छ । कृषि क्ष्ँेत्रको प्राविधिक ज्ञान, नेपालको इतिहासबारे विशेष दक्षता, पौराणिक स्थलहरुको राम्रो जानकारी, मानवीय संवेदना र लोकतान्त्रिक चेतना उसका खासखास विशेषताहरु हुन् । उपन्यासकार अभागीले यात्रीपात्र मार्फत नै आफ्ना भावना, विचार र सन्देशहरु स्रम्प्रेषित गरेकाछन् । यसकोणबाट नियाल्दा यात्रीपात्र उपन्यासकार सदानन्द अभागीको ‘फोटोकपी’ वा ‘माउथ स्पिकर’ हो भन्ने ठाउ“ छ ।
उपन्यासको थालनी यात्रीपात्रको बैतडी गोठालापानीबाट आफ्नी श्रीमती (सविता) सहित काठमाण्डौं भ्रमणमा निस्केपछि हुन्छ ।
काठमाण्डौं पुगेपछि यात्रीले श्रीमतीलाई उपत्याकाभित्रका पशुपतिनाथ, मृगस्थली, गुहेश्वरी, शालीनदी, राधाकृष्ण मन्दिर, योगनरेन्द्र मल्लको सालिक, पाटनको कृष्ण मन्दिर, चिडियाखाना, न्यातपोल मन्दिर, दक्षिणकाली मन्दिर, शहीद गेट, टु“डीखेल, धरहरा, काष्ठमण्डप, नारायणहिटी संग्राहलय आदि महत्वपूर्ण स्थलहरुको भ्रमण गराएको र ती स्थलहरुको ऐतिहासिक कथानक एवं महत्वका बारेमा वर्णन गरेको दृष्टान्त प्रस्तुत गरिएको छ । श्रीमतीलाई काठमाण्डौं उपत्यकाको छोटो अवलोकन भ्रमण गराउने क्रममा भोग्नुपरेका परिस्थितिलाई आधार बनाएर उपन्यासकार अभागीले आफ्ना विचारहरु पाठकसामु राखेकाछन् । काठमाण्डौंमा बढेको फोहोरमैला, प्रदुषण, मानवकोलाहल, यातायातका साधनको असुविधा, गाडीवालाहरुको असभ्यता आदि कुरामा उनको नाराजगी व्यक्त भएको छ । गणतन्त्र र लोकतन्त्र आएको यतिका समयसम्म पनि सर्वसाधारण नागरिकले त्यसको उपभोग गर्न नपाएकोमा उनको राज्य सञ्चालकहरु प्रति असन्तुष्टि रहेको छ ।
काठमाण्डौंको भ्रमण सकाएर श्रीमतीलाई गोठालापानी रमाना गरेपछि सोही दिन यात्री त्रिभुवन विमानस्थलमा भेटिएकी नया“ मित्र बसन्तीका साथ धरान प्रस्थान गर्दछन् र बसन्तीकै घरमा रात कटाउ“छन् । जागिरे कामका लागि पूर्व हानिएको यात्री बसन्ती र उनकी आमाको सहयोगमा धरानका बूढासुब्बा, बालाजी मन्दिर लगायतका धार्मिकस्थलहरुको दर्शन गर्दछन् । यसै क्रममा उनीहरुका बीच वीरपुस्ताहरुले नेपालको गौरव उचो राख्न गरेको त्याग र आजका नेताहरुको छुच्चो व्यवहारका बारेमा छलफल चल्छ । उनीहरुले वर्तमान नेताहरुले देखाएको दोहोरो चरित्रको कटु आलोचना गर्दछन् । धरानको बसाइपश्चात यात्री दुहवी हु“दै विराटनगरको यात्रामा निस्कन्छ । दुहवीमा पुगेपछि यात्रीले आफ्नो सहयात्रीका रुपमा चालक (शीतलकुमार) पात्रलाई भेट्छ । तत्पश्चात इलाम क्षेत्रमा गरिएको चीयाखेतीमा प्राङ्गारिक मलको प्रयोग बढाउने सम्बन्धमा प्रचारप्रसार गर्ने र तालिम सञ्चालन गर्ने काममा उनीहरु खटिन्छन् । यसैबीचमा यात्री र चालक इलामको फिक्कल बजार पुग्छन् । चालकको प्रेम प्रसङ्गका कुराले यहा“नेर उपन्यासको उत्कर्ष भेटिन्छ ।
इलामका आठ ‘अ’ (अलैची, अम्रिसो, आलु, अकबरे खुर्सानी, ओलन, अदुवा, आत्महत्या र आइमाई) का बारेमा रोचक टिप्पणी गर्न उपन्यासकार चुकेका छैनन् । यसबाहेक इलाम बसाइका रोचक प्रसङ्गहरु उपन्यासमा उनिएकाछन् भने चालककी प्रेमिकाको फिक्कल भ्रमण र उनीहरुका बीचको विवाह गर्ने विषयमा भएको भलाकुसारी रोचक रुपमा प्रस्तुत गरिएको छ । यता चालक आफ्नी प्रेमिकास“ग विवाह गर्ने तयारीमा हुन्छ भने उता उसकी आमा अर्कै केटीस“ग उसको वैवाहिक सम्बन्ध गा“स्दिने तयारीमा हुुुन्छिन् । पछि कुरा मिल्छ र चालकको उसैकी प्रेमिकास“ग विवाह सम्पन्न हुन्छ । उपन्यासको बीच–बीचमा अन्य रोमाञ्चक प्रेम प्रसङ्गहरु पनि जोडिएकाछन् । जसले पाठकलाई उपन्यासमा अढ्याइरहन मद्दत गर्दछन् । इलाम र झापास“ग जोडिएका थुप्रै कथावस्तु, नेपाल बन्दका कारणले दिएको पीडा, स–साना विषयमा नै हुने स्थानीयस्तरका बन्द, हड्ताल आदिले पु¥याएको सास्ती आदिका बग्रेल्ती काहानीहरु छन् उपन्यासभित्र । अर्काको गाडी तोडफोडमा उत्रने, विरामी र आकस्मिक सेवा लिनुपर्नेहरुलाई पनि रोकावट गर्ने बन्दकर्ताहरुको व्यवहारको जमेर विरोध गरिएको छ ।
इलामको लामो बसाइपछि यात्री काठमाण्डौं फर्किन्छ । होटलको महङ्गो बसाई र उपत्यका बन्दका कारणले उसस“ग गोठालापानी फर्कनका लागि पैसा हु“दैन । काठमाण्डौंमा बस्ने आफूले चिनेजानेकास“ग उसले सापटी पैसा जोहोगर्न खोज्छ तर कसैले पनि पत्याउ“दैनन् । ‘त“ आ“ट, म पु¥याउ“छु’ भनेजस्तो येनकेन प्रकारेण पैसाको मेसो जुर्छ । उसको घर फर्कने अभिलाषा पूरा हुन्छ र एकदिन ऊ काठमाण्डौंलाई विदा गर्दै गोठालापानी पुग्छ । घरपरिवार र गाउ“घरका आफन्तीस“ग भेट्न पाएर हर्षित हुन्छ । यात्राक्रममा भेट भएका र विभिन्न स्थानमा चिनापर्ची भएका पात्रहरुस“ग पनि फोनबाट कुराकानी हुन्छ । आफूस“ग परिचितहरुको भलो भएको र हु“दै गरेको थाहापाएर यात्री फुरुङ्ग छ । यात्रीको गाउ“फिर्तीले गोठालापानीमा उमङ्ग छाउ“छ । उपन्यास पनि यही“नेर समाप्त हुन्छ ।
५. उपन्यासको सरोकारक्षेत्र ः
मूलतः यात्री उपन्यास छोटो यात्राविवरणको कलात्मक दस्तावेज नै हो । यसमा समाविष्ट पात्र÷पात्राहरु नेपाली समाजकै प्रतिनिधि हुन् । उपन्यासको विषय नेपाली समाजकै अन्तरकुन्तरबाट निकालिएको सन्दर्भ हो । यसभित्र समावेश गरिएका घटना÷परिघटनाहरु कल्पनामा आधारित नभएर अनुभवका ज्यू“दाजाग्दा प्रमाणहरु नै हुन् । यसमानेमा उपन्यास नेपाली समाजको चरित्रचित्रणको अब्बल खजाना बन्न पुगेको देखिन्छ । यसले सभ्य, समृद्ध, सम्पन्न र शालिन हुने मानवोचित आकांक्षालाई उद्घाटित गरेको छ भने समाजमा व्याप्त राक्षसी प्रवृत्तिलाई दुत्कारेको छ । राजनीतिका नाममा हुने अराजनीतिक चरित्रको पर्दाफास गर्नु, मायाप्रेमका बहानामा हुने अमानवीय चरित्रको बद्ख्वाई गर्नु र उल्टो मती भएकाहरुलाई झट्कार्नु उपन्यासको लक्ष्य रहेको देखिन्छ । उपन्यासकार अभागीले आफ्ना पात्रको मुखबाट आदर्श समाज व्यवस्थाको पक्ष्ँमा वकालत गरेकाछन् । लोकतन्त्रमा बद्मासी, बेइमानी, बन्द, हड्ताल, तोडफोड, आगजनी, अराजकता, भ्रष्टाचार, दुराचार, पापाचार, भाइभतिजावाद हुनुहु“दैन भन्ने कुरामा उनको जोड रहेको छ ।
पदमा पुगेर जनतालाई बिर्सने प्रवृत्तिप्रति उपन्यासकारले धेरै ठाउ“मा कटाक्ष गरेकाछन् । विगतको माओवादी युद्धले विकासका क्षेत्रमा पारेको नकारात्मक प्रभावका बारेमा पनि उपन्यासमा चासो व्यक्त भएको छ । उपन्यासमा जागिरे पेशामा लागेकाहरुको विवशता र बाध्यतालाई मनछुने ढंगले प्रस्तुत गरिएको छ । यात्रीकी श्रीमती सविताको ‘...जागिरेकी जोई हुनुभन्दा त कृषककै जोई हुन बेस...।’ भन्ने कथनले जागिरेको पीडालाई उजागर गर्दछ । यसका अलावा उपन्यासभित्र देशको सर्वाङ्गिण विकासका बारेमा चिन्ता जाहेर गरिएको छ । काठमाण्डौंमात्र नेपाल होइन, नेपालको यथार्थता बुझ्न कर्णाली र महाकाली पुग्नुपर्दछ भन्ने भनाई छिराएर उपन्यासकार अभागीले आफ्नो मनको कुरा खुलस्त राखेकाछन् । देशलाई चिनाउन उपन्यासकारले गरेको प्रयास स्तुत्य छ । हिमाल, पहाड, तराई, मधेशले सोभा दिइरहेको भूगोलमात्र होइन नेपाल, बरु गौतमबुद्धको ज्ञान र सगरमाथाको शानस“ग पनि जोडिएको छ नेपालको प्रतिष्ठा । उपन्यासभित्र अभागीले मानिसमा उच्च नैतिकता र आदर्श कायम रहनुपर्ने पक्षमा दलिल गरेकाछन् । सबै नागरिक नैतिक मूल्य, मान्यता र कानुन अनुरुप चल्ने हो भने नया“ नेपाल निर्माण गर्न धेरै समय नलाग्ने कुरामा उपन्यासकार अभागी ढुक्कछन् ।
हाम्रा पूर्वजहरुले अंग्रेजस“ग भोकभोकै लडेर भए पनि देशलाई विदेशीको गुलाम हुनबाट जोगाए तर आजका दल र तिनका नेताले घिच्नुमाथि घिचेर देशलाई कंगाल बनाउन लागेकोप्रति उपन्यासकारले आफ्ना पात्रहरु मार्फत आपत्ति जनाएकाछन् । देशको विकास गर्न छोडेर सत्ता राजनीतिको घृणित खेलमा चुर्लुम्म डुबेका नेताहरुको चालाप्रति उपन्यासकार अगाभीले नाराजगी जनाएकाछन् । पुरातात्विक महत्वका स्मारक, शालिक र मठ मन्दिर भत्काउने कुराले उनको मन पोलेको छ । मुलुक परमुखापेक्षी बन्दै गएकोमा उनको चिन्ता छ । देशले सही बाटो लिननसक्दा सबैतिर अस्तव्यस्तता र अन्यौलता भएको उनलाई रुचेको छैन । कृषकले ढुक्क भएर कृषिकर्म अघि बढाउन सकेको छैन । उन्नत मल, बीउ, प्रविधिको अभाव छ । कम उत्पादन र बढी लगानीले कृषकहरु मारमा परेकाछन् । रासायनिक मलको जथाभावी प्रयोगले सालैपिच्छे उत्पादन घटिरहेको अवस्था छ भने माटोमा अम्लियपन बढिरहेको छ । यस्तो अवस्थाको अन्त्य गर्न कृषकहरुलाई प्राङ्गारिकखेतीतर्फ आकर्षित गर्नुपर्ने कुरामा उपन्यासकार अभागीको जोड रहेको छ । उपन्यासभित्र यस्ता प्रशस्त सवालहरु उठाइएको छ ।
उपन्यासमा महिलाविरुद्ध गरिने हिंसा, चेलीबेटी बेचबिखन, कमलरीमुक्ती, हलियामुक्ती, दलित जातीको मन्दिर प्रवेश लगायतका प्रसङ्गहरु पनि समेटेर उपन्यासकारले ती आन्दोलनमा आफ्नो सकारात्मक समर्थन रहेको बताएकाछन् पात्रहरु मार्फत । प्रत्येक नागरिकका घरभित्रैबाट समाज सुधारको थालनी गर्नुपर्ने कुरामा उपन्यासकार अभागीले जोड दिएकाछन् । महिला सशक्तीकरणका लागि महिला नै अग्रसर भएर लाग्नुपर्ने सुझाव दिंदै यात्री पात्रले एक प्रसङ्गमा यसरी भनेकाछन्, ‘घर भनेको नै नारी हो र पुरुष भनेको त काठको बार हो । आमा भनेको सत्य हो, बाबु भनेको साक्षी हो । पुरुष शिव हो भने नारी शक्ति हो । शक्ति बिना शिवको केही चल्दैन ।’ महिलामुक्तीका भाषणमात्र गर्ने तर व्यवहारमा परिवर्तन र सुधार नगर्ने हो भने अपेक्षित प्रतिफल प्राप्त हुननसक्ने तथ्यमा उपन्यासले ध्यानाकर्षण गरेको छ ।
देशमा पहाडी र मधेशी, पूर्वीया र पश्चिमीका नाममा बढ्दै गएको द्वन्द्वको परिदृश्यले उपन्यासकारको मुटु छियाछिया भएको छ । उनको मन देशभित्रको भा“डभैलो देखेर अमिलिएको छ । यसैले उनले आफ्ना पात्र÷पात्राको सहयोगमा यस्तो अवस्था अन्त्य गरी आमनेपालीलाई एकताबद्ध हुन आग्रह गरेकाछन् । भाइ फुटे–ग“वार लुटे हुने स्थितितर्फ ध्यानाकर्षण गर्दै उनले मातृभूमिको मुहार फेर्न एकजुट भएर लाग्न सबैलाई आव्हान गरेकाछन् । तर अफशोच, यात्री पात्रले भनेजस्तै ‘जनताले चाहेजस्तो लोकतन्त्र र गणतन्त्र यी कुर्सीका भोकाहरुबाट सम्भव छैन ।’ उपन्यासकारको सविनय आग्रह छ, यिनीहरु सच्चिनुपर्छ । जनताको मतको कदर गर्नुपर्छ र देश निर्माणमा समवेत् जुट्नुपर्छ ।
यात्रीभित्र उपन्यासकारले आफ्नो राष्ट्रियता र माटोप्रतिको आस्थालाई गहिरोगरी समेटेकाछन् । नेपाली समाजको बहुलतामा आधारित संरचनालाई विभिन्न कोणबाट प्रस्तुत गर्दै उनले सबै नेपालीहरुबीचको भातृत्व र एकताको लागि आव्हान पनि गरेकाछन् । जातजाती, भाषाभाषी, भूगोल, सम्प्रदाय र विचारका आधारमा धेरैथरी भएर केही हु“दैन, अपितु मातृभूमिका लागि सबैले आ–आफ्नो क्ष्ँेत्रबाट सकारात्मक योगदान गर्न सक्ने हो भने ‘सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली’ को मर्म सार्थक हुने कुरामा उनले जोड दिएकाछन् । फुटेर होइन, जुटेर नै असहजलाई सहज बनाउन सकिन्छ भन्नेमा उनले विश्वास राखेकाछन् । कामका लागि विदेशमात्रै ताक्नुभन्दा स्वदेशमै आफ्नो क्षमताअनुसार काम गर्नुमा सबैको कल्याण हुने कुरालाई पनि उनले औपन्यासिक पात्रहरु मार्फत उठाएकाछन् ।
६. उपन्यासमा प्रयुक्त भाषाशैली ः
यात्री उपन्यासभित्र प्रयोग भएको भाषा शैली र प्रस्तुति सरल छ । सोझो छ । ग्रामीण गाउ“समाजमा बोलिने झर्रा शब्दहरुलाई नै प्रयोग गरिएकाले उपन्यासको विषयवस्तु सम्प्रेषणीय बोध हुन्छ । धेरै ठाउ“मा उपन्यासकार आफै बोलेकाछन् पात्र÷पात्रामार्फत । गाउ“घरमा प्रचलनमा रहेका कहानी, उखानटुक्का र उपमाहरुको प्रयोगले उपन्यासभित्रको सम्बादलाई रोचक र रसिलो बनाएको छ । कुलकी छोरी र मुलको पानी, विकास र विनास स“गस“गै, मर्दले बोलेको र बज्रले हानेको टर न टार, अलिनु पनि खान्न नुनढिका पनि फोर्दिन, चुम्बकको उत्तरी धु्रवले दक्षिणी धु्रवलाई आकर्षण गरेजस्तै, तेलपानी मिल्यो पिना बाहिर, बा“दरले आफ्नो घर पनि बनाउ“दैन अर्र्काको पनि भत्काउ“छ, न घरको न घाटको, हुलहालमा जीउ जोगाउनु अनिकालमा बीउ जोगाउनु, गुनले गुन खायो अब त“लाई खान्छु, चट् मगनी फट् बिबाह आदिजस्ता चलनचल्तीका भनाईहरु प्रयोग गरेर उपन्यासकारले विषयवस्तुलाई सरल बनाएकाछन् । कुनै प्रसङ्गमा भने लैङ्गिक संवेदनशीलता राख्न उनी चुकेको देखिन्छ । ‘थारी आइमाईलाई के थाहा प्रसवको वेदना’ भनेर महिला मर्मलाई कम आ“केको प्रतित भएको छ एक प्रसङ्गमा ।
पूर्व जा“दा पूर्वै प्यारो, पश्चिम जा“दा पश्चिम नै प्यारो भनेजस्तो उपन्यासकारले पूर्वदेखि पश्चिमसम्म स्थानविशेषका आधारमा नै तत्स्थानीय भाषाको प्रयोगलाई प्राथमिकता दिएकाछन् । कुनै कुनै स्थानमा वाक्य पूरा नभएको, पात्र प्रष्ट नदेखिएको बाहेक उपन्यासभित्रको कथ्यमा कुनै अस्पष्टता भेटिंदैन । जनबोलीलाई नै टपक्क टिपेर प्रयोग गरिएकाले पात्रहरु र उनीहरुको प्रस्तुति वास्तविक झैं लाग्दछ । पात्रहरुका बीचको संवादशैली स्वाभाविक र प्राकृतिक ढा“चामा सलल अघि बढेको छ । नबोल्ने पात्रलाई बोलाउन उपन्यासकारले निकै प्रयत्न पनि गरेकाछन् कतिपय ठाउ“मा ।
७. उपन्यासको उपयोगिता ः
प्रस्तुत उपन्यास पठनीय र मननीय दुबै विशेषता लिएर उपस्थित छ भन्न सकिन्छ । समाज जागरण, नागरिक सचेतना, जन–एक्येवद्धता र सर्वतोमुखी विकासका पक्षमा वकालत गरिएकाले यसले दिने सन्देश बालक, युवा, प्रौढ र बृद्धबृद्धासम्मका लागि ग्राह्य छ । स्थानीय परिवेश अनुकुलका पात्रपात्राले आफ्नो परिवेशलाई चित्राङ्कन गरेको, ऐतिहासिक वस्तुगत विवरणहरु समेटिएको, स्थान परिचय दिइएको तथा समस्या उठानमात्र नभई समाधानका उपायहरु समेत सुझाइएको हुनाले सबै उमेर, पेशा, तह र तप्काका पाठकका लागि एकसरो अध्ययन गर्न उपन्यास उपयोगी नै हुने देखिन्छ । यसबाहेक समाजमा व्याप्त कुरुपता र कुसंस्कारलाई खुट्याउन पनि यसको अध्ययन सहयोगीसिद्ध हुन सक्छ ।
पाठकीय प्रयोजनका दृष्टिले हेर्दा लघु आकारको भएकोले पनि एउटै बसाईमा यसलाई पढि सिध्याउन सकिन्छ भने सीमित सन्दर्भहरु मात्र भएकाले एकसरो पढाइमा नै उपन्यासको मर्म पहिल्याउन सहजता हुन्छ । यसैगरी देशभक्तीको भावना, परिवारप्रेम, समाजप्रतिको दायित्व र राष्ट्रिय एकता प्रवद्र्धन गर्ने सम्बन्धमा विचार सम्प्रेषित गर्न पनि उपन्यास सहयोगी औजार बन्न सक्ने देखिन्छ । वस्तुतः नेपाली समाजको बहुआयामिक विशेषतालाई संक्षिप्तमा भएपनि छुस्सछुस्स छोएकाले थोरै पढेर पनि धेरै जान्ने अवसर दिन यसले भूमिका खेल्न सक्दछ । समाजका राजनैतिक, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक र मनोवैज्ञानिक विषयलाई सम्बोधन गर्दै कथानक तयार परिएकाले पनि प्रस्तुत उपन्यासले नव–पाठकदेखि विज्ञ–पाठकसम्मको ध्यान खिच्न सक्ने विश्वास गर्न सकिन्छ । उपन्यासले यो वा अर्को कोणबाट आन्तरिक पर्यटनलाई प्रवद्र्धनगर्न पनि मद्दत गरेको छ । विदेशी पर्यटकको मात्र मुखताकेर नबसी हामी नेपालीहरु पनि देशका विभिन्न स्थलहरुको छोटो–लामो भ्रमण गरेर स्थानीय पर्यटन व्यवसायलाई बढावा दिन सक्छौं भन्ने सन्देश सम्प्रेषण गर्न पनि उपन्यास सहयोगी बन्न सक्दछ ।
८. उपन्यासको सीमा ः
यात्री उपन्यास अवश्य पनि सबै दृष्टिले पूर्ण छैन । औपन्यासिक विषय छनोट, लेखकीय संरचना, प्रकल्पना, कलात्मकता, श्रृङ्गारिकता, प्रस्तुतीकरणको शिल्प आदि पक्षमा उपन्यास नजमेको महशुष हुन सक्दछ पाठकलाई । उपन्यासकारको वैयक्तिक जीवन भोगाइको आलोकमा लेखिएको र यात्राविशेषरुपमा प्रस्तुत गरिएकाले यसले औपन्यासिक रुप ग्रहण गरेको देखिएन भनेर कसैले तर्क ग¥यो भने ‘नाई’ भन्ने आधार नभेटिए नमज्जाको विषय हुनेछ । यस तर्कलाई उपन्यासकारले आफ्नो लेखकीयमा ‘हेर्दा यात्रासस्मरण जस्तो लाग्छ तापनि यात्रालाई उपन्यासमा उतार्न खोजिएको हो ।’ भनी घुमाउरो ढंगले स्वीकार पनि गरेकाछन् । उपन्यास पढ्दै जा“दा बीच–बीचमा जवर्जस्त घुसाइएका प्रसङ्गहरुले पाठकलाई नमीठो अनुभव हुनसक्छ । धेरै परिघटनाहरुलाई लघु आकारप्रकारको उपन्यासमा अटाउन खोज्दा विषयवस्तु खा“दिएर र परस्परमा खप्टिएर प्रस्तुत भएको अनुभव गर्न सक्छ बजु्रक पाठकले ।
९. टुङ्याउनी ः
गरिबी, बेरोजगारी, भोकमरी, अशिक्षा, रोग, भोक र शोकको घनचक्करमा परेर अक्करिएका आम नेपालीहरुको प्रतिनिधि विषय हो यात्री उपन्यासले वर्णन गरेको यात्रा । नेपाल सानो छ तर यहा“ अनेकौं विविधताहरुछन् । ‘कोइ त भने जहाजमा सरर, कोही त भने पसिना धरर..’ को नियती हाम्रो औसत यथार्थता हो । हाम्रोमा ठूला–ठूला कुरा गर्ने मानिसहरुको कमी छैन, परन्तु गरिखाने श्रमजीवि र मेहनतकस जनताको आवाजको सुनुवाइ पनि भएको छैन । देशमा भएको जनशक्ति, जमिन, जंगल र जडिबुटीको सही उपयोग हुन सकिरहेकोछैन । खाने मुखहरु थपिइरहेकाछन् तर उत्पादनमा बृद्धि गर्न सकिएकोछैन । जलस्रोतमा विश्वको दोस्रो धनी मुलुक हाम्रै देश हो तर दिनमा सोह्र घण्टा अ“ध्यारोमा बस्न बाध्य छौं हामी । विश्वलाई नै चकित पार्ने ऐतिहासिक सम्पदाले भरिपूर्ण छ देश तर प्राकृतिक÷सांस्कृतिकरुपमा धनी भएर पनि गरिब हुनुको अभिशाप शिरोपन गरिरहेछौं हामी ‘गोर्खाली’ । बाटाघाटा धेरै छन् तर हिउ“दमा धुलो उडाउ“दै गाडी कुद्छन् भने वर्षातमा ठप्पै । यात्री उपन्यासले यी र यस्ता कैयन सवाललाई मुखरित गरेको छ ।
बालबिबाह, अनमेलबिबाह, जातीय छुवाछुत, लैङ्गिक विभेद, असमान उत्पादन सम्बन्ध, अव्यवस्थित विकास प्रक्रिया आदि हाम्रा आघिल्तिर समस्याका पहाड बनेर जिस्काइरहेकाछन् । राजनैतिक खिचातानी, छलकपट, धुत्र्याइ र बलमिच्याइले देश उ“धोगति लागेको प्रतित भैरहेछ । विषादीको प्रयोग, वन विनास तथा जमिनमाथिको अतिक्रमणले दिनानुदिन समस्याहरु थपिइरहेको अवस्था छ । यस्तो भयावह अवस्थालाई रोकथाम गर्नतर्फ सम्बन्धित सरोकारवालाको ध्यान गएको छैन । तसर्थ उपन्यासकार अभागी देशको गतिछाडा र पानीमरुवा नेतृत्वप्रति नाराजछन् । प्रेम, स्नेह, सहयोग, सद्भाव र सहकार्यको संस्कृति ओझेल पर्दै गएकोमा उनलाई असीम चिन्ता छ । उनी सुझाउ“छन्, ‘सुन्दरताको फूल हेर्नलाई मिल्छ, त्यसलाई अंगाल्न पनि मिल्छ तर निचोर्न भने मिल्दैन । फूल शीरमा राख्न सुहाउ“छ तर खुट्टाले कुल्चन मिल्दैन ।’ अपितु, विडम्बना जे गर्न नुहुने हो हाम्रो समाज त्यहि गर्न उद्दत छ । सच्याउने कसले ? सम्हाल्ने कसले ?
देवता भाकेर देशले सही दिशा लिनेभए उपन्यासकार अभागीले कुन मन्दिरमा, कुन गुम्बामा, कुन मस्जिदमा र कुन चर्चमा गएर पूजा गर्न बा“की राख्थे होलान् ? धरानको पिण्डेश्वरदेखि डोटीको शैलेश्वरीसम्म पुग्दा पनि उनको पूजाले विजय पाइसकेको छैन । मानिसले मानिसको मानमनितो नराख्ने, आफैले बनाएको मूर्तिपूज्न मन्दिरपस्न नपाउने, पानीपधेरामा छोइछिटो गर्नेजस्ता विभेदकारी घटनाले उनको मानसपटललाई छियाछिया पारेको छ । ‘जननी जन्मभूमिश्चः स्वार्गादपी गरियसी’ को मान्यतामा अडिग उपन्यासकार देश दर्शनमा निस्केर देशलाई नजिकैबाट चिन्नमात्र होइन, देशको काया बदल्ने उपाय खोज्न तल्लिनछन् उपन्यासमा । यात्रागर्ने क्रममा कतिपय सन्दर्भमा उनी मायावी बनेकाछन् र पिरतीका गीत गाएकाछन् भने कतिपय स्थानमा आफ्नो प्राविधिक ज्ञानमार्फत पाठकलाई सुसुचित गरिरहेकाछन् । यात्री उपन्यासको अन्तरकुन्तरमा उपन्यासकार अभागीको कविछवि पनि छताछुल्ल हुन्छ । एउटा कवि हुनुका नाताले अभागीले आफ्नो उपन्यासमा काव्यसिल्प अनायासै प्रयोग गरेकाछन् र कवितामार्फत सम्बाद गरेकाछन् । गीति लयमा लेखिएका कवितात्मक सम्बादले एकातर्फ उपन्यासको ओझ बृद्धिगरेको छ भने अर्कातर्फ उपन्यासलेखन परम्परामा नवीन ढा“चाको उद्बोधन पनि गरेको छ । आफूले भ्रमण गरेको इलाम जिल्लाको बखानमा उनले राखेको एउटा कविताका केही पङ्ति यस्ताछन्,
अम्रिसोले भरेको छ कान्ला आली सबै
आलुबाली लहलह कमी हुन्थ्यो कबै ।
अकबरे खुर्सानी त भिटामिनको खानी
इलामको चिया बगान आ“खाको त नानी ।
अभागीको समीक्षित उपन्यासमा औपन्यासिक विषयका भिन्दाभिन्दै उपक्रम, बान्की र झलकहरुछन् । सन्दर्भका विविधताछन् । तथापि उनले दिन खोजेको सन्देश सादृश्य छ । खुलस्त छ । जीवन यात्रा हो यो सबैले मानेकाछन् । यात्रा सुखद, मंगलमय र हार्दिक हुनसके कति जाति हुन्थ्यो । तर सधैं र सबै अवस्थामा यस्तो मेसो जुट्दो रहेनछ । यायावर बनेर निक्केपछि जस्तै आ“धीबेहरी र हुण्डरीलाई सह“दै अघि बढ्ने आत्मविश्वास र दृढता जरुरी हुन्छ नै । यात्री उपन्यासभित्र पनि उपन्यासकार अभागीको यात्रा सुरम्य, सुवासित र सुललितमात्र रहेन । उनले यात्रामा विछोड देखे । पीडा देखे । रोदन देखे । अनिष्ट बेहोरे । रुढीबादी दृष्टिकोण भेटे । अतिसार सहे । मगन्ते भए । थिचाहाहरु भोगे । मिचाहाहरु भोगे । अह......यात्री पटक्कै थाकेनन् । सुखमा मात्तिएनन् र दुःखमा आत्तिएनन् । निरन्तर सत्य, समृद्धि, सदाचार र सहअस्तित्वका लागि हिंडिरहे... । हिंडिरहे... । देशमा लोकतान्त्रिक संविधान बनेर दीगोशान्ति स्थापना भएमात्र जनताको भविष्य सुनिश्चित हुने यात्रीको विश्वासलाई अन्यथा मान्न पनि सकिंदैन । उपन्यासको समाप्तिस“गै यात्री भन्छन्, ‘दोषीले कानुन बमोजिम सजाय“ भोग्नेछन्, देशमा शान्ति छाउ“ने छ । मैले यसपटकको यात्रामा जति दुःख भोगे पनि अबको यात्रा यस्तो हुनेछैन....।’ सम्भवत उपन्यास आद्योपान्त पढिसक्दा जो कोही पाठकले पनि यात्रीको अभिव्यक्तिमा सहमतीको भावनात्मक सही ठोकेर भन्नेछ, ‘प्रस्तुति होस्, यस्तो पो...।’ अस्तु ः