15 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हिज्जेमा भाँडभैलो

विचार शरच्चन्द्र वस्ती April 5, 2012, 1:40 am

हिज्जे वा वर्णविन्यास भाषा होइन तर नेपालीमा गुरुहरूले यस्तो छाप पार्दै आएका छन् मानौं भाषा भनेकै ह्रस्व-दीर्घ, श-ष-स, ब-व आदिको प्रपञ्च बाहेक केही होइन। बितेका चार दशकमा नेपालमा सम्पन्न नेपाली भाषा सम्बन्धी सानाठूला सबैजसो गोष्ठी र कार्यशालाहरू मूलतः हिज्जे र व्याकरणकै सेरोफेरोमा केन्द्रित देखिएका छन्। पत्रपत्रिकामा छापिने गुरुवर्गका लेखहरूको विषयवस्तु मुख्यतः यसैमा सीमित रहने गरेको छ।

दुःखलाग्दो कुरा के भने यति गहन र सुदीर्घ गोरखधन्दाका बावजूद हिज्जेका समस्या भने घट्नु वा सुल्भि्कनुको सट्टा बढ्दै, विस्तारित हुँदै र झन् झन् जेलिंदै मात्र गएका छन्। भाषामा भिजिसकेका, प्रयोगकर्ताले पचाइसकेका, देशभित्र-बाहिर एकनासले प्रचलित, शुद्ध-स्वाभाविक हिज्जेलाई थोकको भाउमा जबरजस्ती परिवर्तन गर्न खोज्ने अनधिकार चेष्टाले भाषामाथि अन्याय भएको छ र प्रयोगकर्ताहरू अन्योलको भुमरीमा परेका छन्। परम्परागत लेखन प्रणालीमा अकस्मात् हस्तक्षेप गरी बलपूर्वक लागू गर्न खोजिएका कतिपय कृत्रिम नियमले नेपाली भाषामा बृहत् अव्यवस्था निम्त्याएका मात्र होइन, यसलाई संकुचित र कमजोर समेत बनाउँदै लगेका छन्। यो भुमरी र यो अव्यवस्थाबाट मुक्त हुन अब प्रयोगकर्ताले आफैं पहल गर्नुपर्ने भएको छ।

हाँडीगाउँको जात्राअव्यवस्थाको एउटा बान्की हेरौं। कुश, कोश, अंश, वंश, शेष, शैली, कुशल, शिविर, शिशिर जस्ता शब्दमा लेखिंदै आएको मोटो श जस्ताको तस्तै छ तर जोश, होश, खुशी, शेखी, शर्त, शहर, शिकार, कोशिश, शेयर, फेशन, शोरूम, शेक्सपियर जस्ता शब्दमा रहेको मोटो श लाई जबरजस्ती पातलो बनाइएको छ। नीति, सीमा, नीर, तीर, समीप, गम्भीर, असीम, कुलीन अनि पूर्व, मूर्ख, चूर्ण, सूत्र, उन्मूलन, राजदूत जस्ता शब्दमा रहेका इकार-उकार यथावत् छन्। परन्तु ठीक, बीच, भीड, जीत, जीप, सीट, चीट, टीम, मीटिङ, करीब, गरीब, जमीन, वकील, अपील अनि छूट, लूट, झूट, बूट, तूफान, फूटपाथ, फूटबल, नमूना, सपूत, कानून, स्कूल, मजदूर, कार्टून जस्ता शब्दमा लेखिंदै आएका दीर्घ इकार-उकारलाई बलजफ्ती ह्रस्व बनाइएको छ। 'भूल' लाई अस्वीकार गरेर ('भुल' लेख्नुपर्ने अरे!) 'मूर्खता' लाई शिरोपर गरिएको छ। प्रश्न उठ्छ, पुस्तौंदेखि एक प्रकारले लेखिंदै आएका हजारौं शब्दमध्ये केहीलाई त्यसैगरी लेख्दा ठीक हुने, केहीलाई चाहिं हिज्जे बिगारेर मात्र लेख्न पाइने यो 'हाँडीगाउँको जात्रा' किन? भाषाको भंगिमा त त्यसका प्रयोगकर्ताहरूद्वारा निर्धारित हुन्छ; नेपाली भाषाको चरित्रमा यसका प्रयोगकर्ताहरूले सुइँकै नपाई रातारात त्यस्तो के परिवर्तन भएछ जसका कारण यो जात्रा शुरू गर्नुपर्‍यो? जवाफका रूपमा, लोकमतसँग सरोकार नराख्ने शाही अध्यादेश जस्तो प्रतीत हुने एउटा जंगी नियम उभिएको छ जसले उर्दी गर्छ- ''संस्कृतबाट आएका तत्सम शब्दलाई जस्ताको तस्तै लेख्ने तर अन्य भाषाबाट आएका त्यस्तै शब्दमा चाहिं शुरू र बीचमा रहेको दीर्घ इकार-उकार हटाएर ह्रस्व मात्र लेख्ने, श-ष हटाएर पातलो स मात्र लेख्ने।'' यो जात्रा, यो अव्यवस्था यसैको करामत हो। यसले भन्छ- 'शरीर' शब्द संस्कृतबाट आएको हो त्यसैले यसमा रहेको मोटो श र दीर्घ इकारलाई ससम्मान स्वीकार गर्नुपर्छ ; 'शहीद' शब्द संस्कृतबाट आएको होइन त्यसैले यसमा रहेको मोटो श लाई पातलो अनि दीर्घ इकारलाई ह्रस्व बनाएर 'सहिद' मा विरूपीकरण गरेपछि मात्र मान्यता दिन सकिन्छ। यही हो नेपाली भाषाको मौलिकता र विशेषता!

जातिवादी चाँजोपाँजोसाँच्चै यही हो त नेपाली भाषाको परिचय? यो संकीर्ण र विभेदमुखी चरित्रको, जड भाषा हो त? कदापि होइन। यो त एकदमै जीवन्त, गतिशील र उदार भाषा हो। माउ भाषा संस्कृत भए पनि यसमा देशभित्र र बाहिरका, छरछिमेक र सात समुद्र पारिका समेत अनेकौं भाषाका शब्द आएका छन् र भविष्यमा त झन् बढी आउनेछन्। संस्कृतबाट आएका शब्दलाई काखमा र अन्य भाषाबाट आएका शब्दलाई पाखामा राख्नुपर्ने क्षुद्र, छुवाछुतवादी, साम्प्रदायिक मान्यता बोकेको भाषा होइन यो। समावेशिता र सबैको पहिचानलाई सम्मान गर्ने प्रवृत्ति नेपाली भाषाको नैसर्गिक गुण हो, राज्य त भर्खर मात्र यसमा प्रवेश गर्न खोज्दैछ। तर, जानेर हो वा नजानेर, 'विज्ञ'हरूको फाँटबाट नेपाली भाषालाई जातिवादी कित्तातिर धकेल्ने दुश्चेष्टा भएको छ। संस्कृतबाट आएका शब्दलाई 'तत्सम' र 'तद्भव' को वर्गमा अनि अन्य भाषाबाट आएका शब्दलाई 'आगन्तुक' को छुट्टै वर्गमा राख्ने चाँजोपाँजो मिलाउनु यसैको प्रमाण हो। तत्सम र तद्भवलाई 'उच्च जातको चुलोचौको' घोषित गर्दै संस्कृत-इतर भाषाबाट आएका शब्दलाई त्यहाँ प्रवेश निषेध गरिएको छ। अनि, छरछिमेक र समुद्रपारिबाट आएका मात्र होइन मैथिली, अवधी, भोजपुरी, 'नेपाल', राई, लिम्बू, तामाङ, मगर, गुरुङ लगायत हामै्र राष्ट्रिय भाषाबाट आएका र भविष्यमा आउने शब्दलाई समेत (चाहे ती जस्ताको तस्तै आऊन् अथवा रूप फेरिएर) आगन्तुक अर्थात् बाहिरिया घोषित गरेर तिनको ठाउँ तल अगेनाछेउ वा दलानमा तोकिएको छ। (जातिवादी नियत नराख्ने हो भने संस्कृत लगायत सबै भाषाबाट आएका शब्दलाई तत्सम र तद्भव अन्तर्गत समेट्न सकिन्छ। पंचायतकाल शुरू भएपछि बनाइएको आगन्तुक भन्ने बेग्लै वर्ग आवश्यक पर्दैन।) र, यही वर्गीकरणलाई मुख्य आधार बनाएर नेपाली भाषामाथि यसको प्रकृति, प्रवृत्ति र चरित्र विपरीत जातिवादी प्रकृतिका अनेकौं नियम-उपनियमहरू लाद्ने प्रचेष्टा गरिएको छ। हिज्जे सम्बन्धी अन्योल र भद्रगोल सृजना गर्न सर्वाधिक भूमिका खेल्ने भर्खरै उल्लिखित जंगी नियम तिनैमध्ये एक हो। त्यसैले, यो चर्चा यसैको सेरोफेरोमा केन्द्रित छ।

भ्रमको खेतीविभेदमुखी जगमा खडा गरिएको यो नियम नेपालीमा श-ष र दीर्घ इकार-उकार उच्चारण नै हुँदैनन् भन्ने उदेकको मान्यता बोकेर उभिएको छ। उच्चारण नहुने भएकाले (उच्च जातको चुलो-चौकोमा पस्न पाउने शब्दमा बाहेक) नेपाली भाषाको कुनै पनि शब्दमा यी वर्ण र मात्रा नलेख्नू भन्ने यसको आदेश छ। यसको निष्कर्ष छ- एउटै पातलो स ले काम चल्छ भने श-ष को भारी किन बोकिरहने? ह्रस्व इकार-उकारले नै पुग्छ भने दीर्घको झमेला किन बेसाइरहने? प्रश्न स्वाभाविक छ : कति सही र तर्कसंगत छन् त यी कुरा?पहिलो कुरा, शतप्रतिशत उच्चारणकै आधारमा लेख्नुपर्छ र लेखिन्छ भन्नु गलत हो। भाषामा लेखन र उच्चारणका बेग्लाबेग्लै परम्परा हुन्छन्। एउटाका आधारमा अर्कालाई बिथोल्न पाइँदैन। त्यसमाथि, हाम्रो उच्चारण प्रणाली त्यति बोधो र त्यति कमजोर छैन जसमा श-ष र दीर्घ इकार-उकार उच्चारण नै हुने नगरेको होस्। उदाहरणका लागि निश्छल, दुष्ट र पुस्तक शब्द उच्चारण गरी हेर्नोस्, तीन प्रकारका स अनायास बेग्लाबेग्लै किसिमले उच्चारण भइरहेको स्वयम् अनुभव गर्नुहुनेछ। जिब्रो स्वतः अलग-अलग ठाउँमा ठोकिनेछ, हावाको घर्षण बेग्लाबेग्लै तवरले हुनेछ अनि अलिकति ध्यान दिनासाथ तीनवटै स को फरक व्यक्तित्व तपार्इंको कानले सहजै ठम्याउनेछ। ह्रस्व-दीर्घको मामिला झन् स्पष्ट छ। सामान्य अवस्थामा 'चिसोचिसै छ' भनिरहेका हामी सिरेटो चलेर काम्न थालेपछि त्यही इकारलाई दीर्घ बनाएर 'चीसो भयो' भन्न थालिहाल्छौं। देवकोटाको पंक्ति 'जरूर साथी, म पागल!' वाचन गर्नेले जरूर को रू लाई ह्रस्व उच्चारण गर्नै सक्तैन, किनभने सिंगो कविताको तेज समेटिएको त्यस पंक्तिको ओज र दम त्यही एउटा दीर्घ रू मा संकेन्द्रित छ। उच्चारण भइरहेका, सुनिइरहेका वर्ण र मात्राहरू कसैले छैनन् भनिदिंदैमा 'शून्यमा शून्यसरी' बिलाउने त होइनन् होला! दोस्रो कुरा, 'उच्चारण नहुने' देखिएछ नै भने पनि त्यत्तिको निहुँमा कुनै वर्ण वा मात्रा लेख्न छोडिंदैन। बेहुलो मा ह को उच्चारण नगरेर धेरैले 'बेउलो' किन नभनून्, त्यहाँ ह लेख्न पाइँदैन भन्ने उर्दी कसैले दिन सक्तैन। ह्रस्वमुखी उन्मादमा आधारित यही नियमले पनि सर्दी, गर्मी, रोजगारी, इमानदारी जस्ता शब्दको अन्त्यमा आउने दीर्घ इकार-उकारलाई ह्रस्व बनाउने आँट गर्दैन, जस्ताको तस्तै छोड्छ। उच्चारण नहुने भनिएको वर्ण र मात्रा अन्त्यमा लेख्न हुने, शुरू र बीचमा चाहिं नहुने भन्ने लंगडो तर्क के खाएर पचाउने? पदान्त दीर्घलाई परम्परा मानेर मान्यता दिने हो भने शुरू र बीचका दीर्घ इकार-उकार अनि श-ष पनि त्यही परम्पराका अंग होइनन्? तिनलाई लेख्न के आधारमा बन्देज गर्ने?रह्यो तेस्रो कुरा। एउटै पातलो स अनि ह्रस्व इ-उ मात्रले काम चल्छ भने श-ष र दीर्घ इकार-उकारको बोझ किन बोकिरहने भन्ने जिकिर, एउटै आँखो र एउटै कानले काम चल्छ भने अर्को आँखो फुटाएर र कान काटेर तिनको बोझबाट किन मुक्त नहुने भन्ने तर्क जस्तै हो। यस्तो 'बुद्धिमत्तापूर्ण' प्रयोग आफ्नो नितान्त व्यक्तिगत शरीरमा त कसैले गर्न चाहँदैन भने वर्णमाला जस्तो महत्तम सार्वजनिक सम्पदाका अमूल्य अवयवलाई नृशंसतापूर्वक काटेर कसरी फ्याँक्न सकिन्छ?

कमजोर तर्क'उच्चारण हुँदैनन्' भन्ने तर्क भुत्ते भएपछि 'अर्थभेदक छैनन्' भन्ने भाइतर्क अघि सार्ने गरिएको छ। यसका अनुसार, श-ष र दीर्घ इकार-उकारले उच्चारणका आधारमा अर्थको भिन्नता दर्शाउन सक्तैनन् त्यसैले तिनको काम छैन अरे! क्या फसाद? उच्चारणबाट अर्थको फरक छुट्टिंदैन भने कम्तीमा लेखाइबाट मात्र भए पनि फरक छुट्टियोस् भन्नेतिर लाग्ने कि लेखाइमा पनि फरक मेटाइदिने? उच्चारणबाट फूल र फुल, शहर र सहर (माछा) बीचको फरक छुट्टिएन भनेर शहर र फूल नै लेख्न बन्द गर भन्ने फरमान जारी गर्नु भाषिक विवेक हो कि विवेकहीनता?अर्को तर्क छ, सबैतिर पातलो स र ह्रस्व इ-उ मात्र चलाएपछि लेखाइमा एकरूपता आउँछ र भाषा राम्रो हुन्छ। भाषिक प्रकृति र परम्परा विरुद्ध कस्तो एकरूपताको खोजी हो यो? हात र खुट्टाका औंलाको लम्बाइ फरक छ भन्दैमा हातका औंलालाई पनि खुट्टाका सरह छोटा (ह्रस्व) बनाएर औंलाहरू बीच एकरूपता कायम गर्न अघि सर्नु कति बुद्धिमानी होला? अनि कोसँगको एकरूपता? टीम, जीप, करीब, गरीब जस्ता दुनियाँभरि दीर्घ लेखिने शब्दलाई नेपालीमा मात्र जबर्जस्ती ह्रस्व बनाउँछु भन्नु एकरूपताको खोजी हो कि अनेकरूपता तर्फको एकलकाँटे यात्रा? दुनियाँभरि सबैका ढोका सात फीट अग्ला भए पनि म चाहिं आफ्नो मौलिकता देखाउन घरका सबै ढोका चार फीट मात्र अग्ला बनाएर तीबीच एकरूपता कायम गर्छु भन्नु प्राज्ञिकता ठहर्छ कि बालहठ? पातलो स र ह्रस्व मात्र चलाउँदा 'सरल हुन्छ' भन्ने तर्क पनि सुनिन्छ कहिलेकाहीं। तर सरल भनेको के? र, कसका लागि? नसिक्ता, नसिकाउँदा सबै कठिन; सिके-सिकाएपछि सबै सरल। सरलताका नाममा वर्ण र मात्रा नै हटाउनु जस्तो नादानी के हुन्छ? मुख धुन सरल हुन्छ भनेर कसैले नाकै काटेर मिल्काउँछ र?

बोझ होइन, सम्पत्तिशब्दको अर्थ तरल हुन्छ। विषय, प्रसंग, परिस्थिति र बोल्ने-सुन्नेको मनस्थिति अनुसार शब्दले परस्परविपरीत अर्थ पनि दिन सक्छ। 'गोरु' ले कहिले चारखुट्टे बुझाउँछ, कहिले स्नेह त कहिले तुच्छता र गाली। शब्दको उच्चारण बहुरूपी हुन्छ, एक हदसम्म अस्थिर। देश-काल-समाज फरक पर्दा उही शब्द बेग्लाबेग्लै किसिमले उच्चरित भइरहेको हुन्छ। 'रहेछ' को उच्चारण रहेछ-रएछ-रछ-रैछ-रेछ जे पनि हुन सक्छ। ठोस र स्थिर त शब्दको लेखिने रूप अर्थात् हिज्जे मात्र हुन्छ। हिज्जे परम्परामा आधारित हुन्छ। यादृच्छिक। त्यहाँ तर्क चल्दैन। 'यो शब्द किन यसरी लेखिन्छ?' को सबैभन्दा सही र सार्वभौम जवाफ 'किनभने त्यो त्यसरी लेखिंदै आएको छ' भन्ने मात्र हो। व्याकरणले नियम बनाइदिएका कारण शब्दको हिज्जे त्यसरी लेखिएको होइन, त्यसरी लेखिने गरिआएकाले त्यहाँभित्र अन्तर्निहित नियम खोज्ने प्रयास मात्र व्याकरणले गरेको हो। त्यसैले, परम्परागत रूपमा चलिआएको हिज्जेलाई चलाउन मिल्दैन, सितिमिती कसैले चलाउँदैन। देशैपिच्छे असंख्य शब्दको उच्चारण फरक फरक भए पनि सर्वत्र एउटै हिज्जेमा लेखिने गरिएकाले नै अंग्रेजीलाई विश्वभाषाका रूपमा स्थापित हुन सजिलो भएको हो। एक ठाउँको मानिसले उसको शैलीमा बोलेको अंग्रेजी अर्को ठाउँकाले भलै नबुझोस्, दुबैको अंग्रेजी लिखितम्मा त एउटै हो!श-ष, ई-ऊ आदिलाई बेवास्ता गर्न किन पनि मिल्दैन भने तिनले शब्द र त्यसको भावलाई निश्चित आकार, गहिराइ र व्यापकता प्रदान गरिरहेका हुन्छन्। ती हाम्रा सम्पत्ति हुन्, बोझ होइनन्। एउटै स अथवा ह्रस्व मात्रले पुग्ने भए श-ष र दीर्घ इकार-उकारको अस्तित्व नै हाम्रो भाषिक परम्परामा हुने थिएन, इतिहासदेखि आजसम्म लोकव्यवहारमा तिनले निरन्तर मान्यता र स्वीकृति पाउने थिएनन्। भाषा मूलतः बोलिने कुरा हो। वाणी मार्फत शब्दको नाद, ध्वनि, भाव, प्रभाव, गहिराइ, लचक, झड्का, कठोरता, कोमलता, तीक्ष्णता, तरंग, लय र प्रवाहसँग साक्षात्कार गर्नेलाई सम्यक् बोध हुन्छ वर्ण र मात्राहरूको वास्तविक मर्म। त्यो समर्पित रेडियोकर्मी हुन सक्छ, दमदार 'डायलग डेलिभरी' गर्ने कलाकार हुन सक्छ, संवेदनशील कवि, साधनाले खारिएको गायक अथवा एउटा उँचाइमा पुगेको योगी पनि हुन सक्छ। शब्दको स्पन्दन, परम्परा र वंशाणुसँग सरोकार राख्न नचाहने, कागजको सतहमा लेखिएका सपाट अक्षरसँग शुष्क, सतही र यान्त्रिक परिचय मात्र भएकाहरूले तिनको महत्व र प्रयोजन बुझ्न नसक्नु अस्वाभाविक होइन। त्यसबापत उल्टो वर्ण र मात्रालाई नै सजाय दिनु जस्तो विवेकहीनता र अराजकता के हुन सक्छ?

हिज्जे अर्थात् शरीरअझ महत्वपूर्ण कुरा त के हो भने, हिज्जे शब्दको ढाँचा हो, दृश्य स्वरूप। लेखिएको शब्दसँग चक्षुरिन्द्रियद्वारा ग्रहण गरिने त्यही ढाँचा, त्यही दृश्य मार्फत प्रयोगकर्ताको परिचय भएको हुन्छ ; भावनात्मक संलग्नता विकसित भएको हुन्छ। त्यो ढाँचा हेरफेर गरिदिने हो भने उसका लागि शब्द बिरानो मात्र होइन, वास्तु बिग्रिएको घर जस्तो हुन पुग्छ। लेखिएको हरेक शब्द एउटा विशिष्ट चित्र हो जसले एक-एक अक्षर तथा मात्राका रेखा र आकारको समग्रतामा प्रतिबिम्बित हुने बहुआयामिक बिम्बको सिर्जना गर्छ, जससँग त्यस शब्दले बुझाउने वस्तुको बिम्ब र छवि एकाकार भएर हाम्रो मन-मस्तिष्कमा स्थापित भएको हुन्छ। एउटा अक्षर वा मात्रा मात्र फेरबदल गर्नासाथ त्यसको रूप, त्यसको लय, त्यसले सिर्जना गर्ने बिम्ब, त्यसले पार्ने प्रभाव र त्यससँगको तादात्म्य भताभुंग हुन पुग्छ। पातलो स को उन्मादमा शब्दकोश लाई कसैले 'सब्दकोस' लेखिदियो.भने त्यसको व्यक्तित्व, रूपसौन्दर्य र गरिमा मात्र समाप्त नभएर त्यसबाट प्राणै झिकिदिए जस्तो हुन्छ। शब्दको शरीर पनि हो हिज्जे। शरीरलाई लुगा त फरक फरक लगाइदिन सकिन्छ तर आदेशका भरमा कसैको अंग बदल्न सकिंदैन, काटेर फ्याँक्न पनि पाइँदैन। सामूहिक रूपमा कुनै वर्ग वा जातिविशेषको अंगभंग गर्ने नादिरशाही फरमान त झन् कदापि जारी गर्न पाइँदैन।

नोक्सानै नोक्सानजे गर्न हुँदै हुँदैन त्यही गर्न अग्रसर बनेको छ यो नियम। श-ष र दीर्घ इकार-उकारको उच्छेद गर्न उत्सुक यस नियमबाट फाइदा एउटै देखिँदैन भने नोक्सानको कुनै गन्ती र सीमा छैन। चौतर्फी नोक्सानका प्रमुख पाँच पक्ष यस्ता छन् : एक : यसले सरलताका नाममा नेपाली शब्दको हिज्जेलाई झन् झन् जटिल, अस्थिर, अव्यवस्थित, अन्योलग्रस्त र अराजक बनाउँदै लगेको छ। सहजतासाथ चलिरहेको, समस्या नभएको, सबैले स्वीकारेको हिज्जेमाथि एकाएक बर्बर धावा बोलेर यसले ती प्रयोगकर्ताको अपमान र अवमूल्यन गरेको छ जसमा भाषाको सम्प्रभुता निहित हुन्छ। एउटा गलत कदमले आफू स्थापित हुने प्रयासमा अनर्थको ताँती लगाउँछ। नेपाली भाषामा पनि त्यो क्रम प्रारम्भ भइसकेको छ। श-ष, ई-ऊ मात्र होइन ञ-ण, ऐ-औ जस्ता अनेकौं वर्णलाई समेत (उच्चार्य) वर्णमालाबाट हटाइसकिएको छ। दिवंगत साहित्यकारहरूका रचनामा तिनले प्रयोग गरेको हिज्जे 'नयाँ नियम' अनुसार बदलिदिने प्रच्छन्न अभियान शुरू भएको छ। साथै भक्तिलाई भक्ति, बुद्धलाई बुद्ध, विद्यालाई विद्या, विद्वानलाई विद्वान, प्रतिष्ठानलाई प्रतिष्ठान लेख्नु ठीक हो भन्ने 'सिद्धान्त' पारित भइसकेको छ, नियम बनेर लादिन मात्र बाँकी छ। दुई : नेपाली भाषालाई यसले उल्टो बाटो अर्थात् प्रतिगमन तर्फ डोर्‍याएको छ। देवनागरी लिपिमा लेखिने खुशी, कोशिश, स्कूल, कानून, नजीर जस्ता शब्द विश्वका अनेक मुलुक र सबै महादेशमा एकै किसिमले लेखिन्छन्, हामीले मात्र कसैसँग नमिल्ने गरी अशुद्ध लेख्नुपर्ने भएको छ। पहिले 'ग्यांजेज्' लेखिरहेको विश्वभाषा अंग्रेजी समेत आफ्नो गल्ती सच्याएर सबैसँग मिल्ने शुद्ध रूप 'गंगा' लेख्न थालेको छ, हामी चाहिं त्यसको विपरीत छँदाखाँदाको खुशीलाई कसैले नचिन्ने 'खुसी' बनाउन अभिशप्त छौं। अरूभन्दा बेग्लै देखिनुपर्छ भन्ने हठमा सर्वप्रचलित शुद्ध रूपलाई तिरस्कार गरेर अशुद्ध रूपतर्फ लहसिने यो क्रम नरोकिने हो भने नेपालीहरू विश्वभर फैलिए पनि नेपाली भाषा चाहिं उत्तरोत्तर संकुचित, संकीर्ण र कमजोर हुँदै जानेछ। भाषाबाट भाषिका तर्फको यात्रा यस्तै हुन्छ। तीन : एकरूपताको नारा लगाउने यस नियमका घातक कीटाणुहरूले संस्कृतबाट आएका तत्सम शब्दलाई पनि आफ्नो शिकार बनाउन शुरू गरेका छन्। पत्रपत्रिका र नयाँ किताबहरूमा स्रोता, सुन्य, सिल्प, सिर, सम्पुर्ण, मयुर, प्रतिसत, नविन, सिविर, अनसन, सिलालेख जस्ता गलत हिज्जे लेखिएका (अशुद्ध) शब्दहरू केही समय यता दनादन प्रयोग हुन थालेका छन् र यो क्रम बढ्दो छ। कसैले हिज्जे बिगारौं भनेर यसो गरेको होइन, 'पातलो स र ह्रस्व मात्र लेख्नुपर्छ' भन्ने बुझाइ विस्तारित हुँदै गएकाले यो प्रवृत्ति गतिमान भएको हो। सिकार, सायरी र फेसन लेख्न आदेश दिएपछि सिसिर, सारदा र निर्देसन लेख्न थाल्नु ; स्कुल, जागिर र बेलुन लेखाएपछि स्तुप, जिबन र पुरक लेखिन थाल्नु अस्वाभाविक हुँदै होइन। एकरूपताको घनचक्करमा प्रारम्भ भएको यो निर्बाध अराजकताले हाम्रो भाषालाई कुन दुर्गतिमा पुर्‍याउने हो, अनुमान गर्न पनि कठिन छ। चार : नेपाली भाषाका प्रयोगकर्ताहरूमा यसले गाढा निराशा र हीनभावना सृजना गरिदिएको छ। आफूले पढेको, लेखेको, देखेको, सिकेको, जानेको, चलिआएको हिज्जे लेखौं- गल्ती हुने त्रास। नयाँ नियमको शरण परौं- कुन कुन शब्द संस्कृतबाट आएका हुन् भन्ने थाहा नभएसम्म नेपाली शुद्धसँग लेख्न सकिने सम्भावना नै रहेन। तर त्यो कहिले र कसरी थाहा पाउने? यसबाट सामान्य प्रयोगकर्ताको त कुरै छोडौं, सधैं शब्दसँग खेल्नुपर्ने लेखक, साहित्यकार र पत्रकार समेत यस जुनीमा आत्मविश्वास पूर्वक शुद्धसँग नेपाली लेख्न नसक्ने अवस्थामा पुगेका छन्। आफ्नै मातृभाषाका सामु नेपालीले आफूलाई असहाय, अकिंचन र लघुताभासपूर्ण महसूस गर्नुपर्ने यो स्थिति साँच्चै टीठदाग्दो छ। यस्तो कुण्ठा र हीनभावनाका कारण कति संवेदनशील प्रतिभाले आफूलाई अगाडि ल्याउन सकेनन् र त्यसबाट नेपाली साहित्यले कति नोक्सान बेहोर्नुपर्‍यो, त्यसको हिसाबकिताब कसले गरिदिने? पाँच : थप पीडादायी कुरा के भने, भाषिक जातिवादको ध्वजावाहक यस नियमले राष्ट्रिय भाषाभाषीहरूमा नेपाली भाषाप्रतिको अपनत्व घटाउन र मानसिक दूरी बढाउन रणनीतिक योगदान गरिरहेको छ। देशका भाषिक समुदाय र जातिहरू आफ्नो पहिचान स्थापित गर्न संकल्पित छन्। पहिचानको एउटा मुख्य आधार भाषा नै हो। तर यस नियमले तिनका सबै भाषाहरूलाई पराई ठान्ने र ती भाषाबाट आएका शब्दलाई आगन्तुक घोषित गर्दै दोयम दर्जामा राख्ने प्रपञ्च स्थापित गरेको छ। यसका कारण उनीहरूले नेपाली भाषालाई सामन्ती एवं जातिवादी ठान्नु अस्वाभाविक होइन। राष्ट्रिय भाषाहरूप्रति हेपाहा व्यवहार गर्ने दम्भी प्रवृत्तिले जातीय तथा भौगोलिक समुदायहरूमा राष्ट्रभाषाप्रति पृथकताको भावना मात्र होइन, द्वेष र त्यसका साथसाथै घृणा समेत बढाउन सघाउ पुर्‍याउँछ। संवेदनशील भएर समयमै समुचित कदम चाल्न सकिएन भने यसले कालान्तरमा भाषिक टकराव र द्वन्द्वतर्फ डोर्‍याउन सक्ने सम्भावनालाई नकार्न सकिंदैन। त्यसवेला, भाषिक जातिवादका हिजोदेखि आजसम्मका महारथीहरूमध्ये कोही पनि जिम्मेदारी सकार्न अगाडि आउनेछैनन्, प्रयोगकर्ताहरू भ्रममा नपरे हुन्छ।

न इतिहास, न भविष्ययो यस्तो भुइँफुट्टा नियम हो जसको न इतिहास छ, न वर्तमान, न त भविष्य नै। इतिहास छैन किनभने गरीब, शहर, कानून, कोशिश, शहीद जस्ता शब्द हाम्रा अग्रज लेखक-साहित्यकारहरूले शुद्ध रूपमै लेख्ने गरेका थिए। तिनकै साहित्य पढेर, त्यही हिज्जे लेखेर, त्यसैमा बानी परेर हामी हुर्क्यौं। वर्तमान छैन किनभने साढे तीन दशकदेखि राज्यको सारा शक्ति र संयन्त्र प्रयोग गरेर लागू गर्न खोज्दा पनि यो नियम लागू हुन सकेको छैन, प्रयोगकर्ताहरूले पचाउन सकेका छैनन्। लोक र समयले यसको अयोग्यता, अस्वीकार्यता स्वतः प्रमाणित गरिसकेको छ। भविष्य छैन किनभने अबको पुस्ता विवेकशील र तार्किक छ, ठोस कारण र व्यावहारिकताले चित्त नबुझेसम्म कसैले हठ गरेकै मात्र आधारमा कुनै नियम उसले स्वीकार्नेवाला छैन। न संस्कृतका शब्दलाई एउटा, अरूलाई अर्को व्यवहार भन्ने तर्क नयाँ पुस्तालाई पच्नेछ, न त दुनियाँभर एक प्रकारले बोलिने-सुनिने-लेखिने शब्दलाई ताल न सुरसँग बिगार्न नै ऊ तयार हुनेछ। बुझ्नुपर्ने कुरा के हो भने, चार दशक पुरानो मनस्थिति बोकेर आज भाषालाई नियन्त्रित गर्न सकिंदैन। त्यसवेला संसार निकै 'ठूलो' थियो, एउटा देश र भाषाका शब्द घुम्दैफिर्दै, बास बस्द,ै मन्द गतिमा अर्को भाषामा आइपुग्दा तिनको उच्चारण फरक पर्‍र्थ्यो। त्यही अनुसार हिज्जे पनि बेग्लै बन्थ्यो। तर, संचार-प्रविधि र श्रव्य-दृश्य माध्यमको कल्पनातीत विकासले आज संसार निकै 'सानो' भइसकेको छ। हामी आफ्नै घरमा बसेर पूरै संसारलाई देख्न-सुन्न मात्र होइन, जहाँसुकैबाट विश्वसमुदायसँग आँखामा आँखा जुधाएर प्रत्यक्ष दोहोरो संवाद पनि गर्न सक्छौं। यस क्रममा, ज्ञानविज्ञान र लोकव्यवहारसँग सम्बन्धित अनन्त विधा, पेशा र व्यवसायलाई आवश्यक पर्ने शब्दहरू विश्वभरिबाट नेपालमा तत्काल आउन अनि प्रयोग हुन थालेका छन्। उसवेला जस्तो उच्चारण र हिज्जे फरक भएर होइन, जस्ताको तस्तै, शुद्ध, तत्सम रूपमा। यो वेग, यो प्रवाह कसैले रोकेर रोकिनेछैन बरु भविष्यमा झन् झन् तीव्र हुँदै जानेछ। यही मेसोमा पहिले उच्चारण/हिज्जे फरक पारेर बोलिने/लेखिने गरेका शब्दहरू पनि हिजोआज आफ्नो मूल रूपतर्फ अभिमुख बन्दै गएका छन्। कप्तान क्याप्टेन भएको छ, सितम्बर-नवम्बर-दिसम्बरहरू सेप्टेम्बर-नोभेम्बर-डिसेम्बर तिर फर्किरहेका छन्। शब्दको शुद्ध, तत्सम रूपसँग हिमचिम बढ्दै गएपछि प्रयोगकर्ताले त्यसैलाई अँगाल्नु स्वाभाविकै हो। यस्तो अवस्थामा, पहिलेदेखि नै शुद्ध रूपमा प्रचलित शब्दहरूको हिज्जे गिजोलेर 'नेपालीकरण' गर्ने प्रयास एउटा हास्यास्पद चेष्टा बाहेक केही ठहरिन सक्दैन।

भाषाशास्त्र होइन, भाषायी कुरा सुन्दा हाम्रा कतिपय भाषाशास्त्रीको कन्पारो तात्न सक्छ। उनीहरू नेपाली भाषालाई जातिवादी बनाउनैपर्छ, भाषा-भाषाबीच पक्षपात गर्नैपर्छ, राष्ट्रिय भाषाहरूलाई बाहिरिया र तिनबाट आएका शब्दलाई आगन्तुक मान्नैपर्छ, श-ष-ई-ऊ जस्ता वर्ण नेपालीमा कदापि उच्चरित हुँदैनन्, तिनलाई घोक्रेठ्याक नलगाएसम्म नेपाली भाषाको उन्नति हुँदैन, तिनको उच्चारण भएको देख्नु मूर्खता हो, ती वर्ण अथवा मात्रा नै होइनन्, व्याकरण र भाषाशास्त्रले यही भन्छ भन्दै बुरुकबुरुक उफ्रन सक्छन्। तर यो भाषाको कुरा हो, भाषाशास्त्रको होइन। भाषा लोकव्यवहारबाट निर्देशित हुन्छ, भाषाशास्त्रद्वारा होइन। यो छलफल, यो पीडाविरेचन, यो सरसल्लाह प्रयोगकर्ताद्वारा, प्रयोगकर्तासँग र प्रयोगकर्ताका लागि हो - भाषाशास्त्रीका लागि होइन। भाषाशास्त्री वा भाषावैज्ञानिकको काम 'मानवीय भाषाको वैज्ञानिक अध्ययन गर्नु' हो। त्यो उनीहरूले जति गरे पनि हुन्छ। जे-जे सिद्धान्त र परिभाषा बनाए पनि हुन्छ, शास्त्रार्थमा जति टाउको जुधाए पनि हुन्छ। त्यसमा प्रयोगकर्तालाई कुनै आपत्ति छैन। तर, त्यसो भन्दैमा, आफ्नो सीमा नाघेर भाषामाथि हस्तक्षेप गर्ने अधिकार भाषाशास्त्रीलाई हँुदैन। उसको काम भाषामाथि शासन गर्नु होइन। निरंकुश शासकीय उन्मादमा शब्दको अंगभंग र विरूपीकरण गर्नु त झन् किमार्थ होइन। कसैले त्यसो गर्न खोज्छ भने त्यो स्वीकार्य हुन सक्दैन। वेदान्त दर्शनले संसार र यसका समस्त कार्यव्यापारलाई एउटा भ्रम, एउटा मिथ्या मान्छ। लोकलाई त्यसमा आपत्ति छैन। तर, त्यसो भन्दैमा, वेदान्तशास्त्रीहरूले आफ्नो सीमा बिर्सेर 'चोरी, डकैती, हत्या, बलात्कार सबै मिथ्या हो, तसर्थ यसबापत दण्डसजाय दिने पद्धति खारेज गर्नुपर्छ' भन्न थाले भने लोकले त्यसलाई स्वीकार गर्ला त? गतिशील भाषा जड भएर बस्दैन। भानुभक्त वा उनीभन्दा पहिलेको नेपाली भाषा आजसम्म आइपुग्दा धेरै बदलिइसकेको छ। यो स्वाभाविक हो। प्रयोगका क्रममा भाषा अनायास बदलिंदै जान्छ। शैली पनि, शब्द र शब्दार्थ पनि, यदाकदा हिज्जे नै पनि। अज्ञानतावश कुनै शब्दको हिज्जे गलत लेखिन थाल्यो भने त्यसलाई सायास सुधार्ने समेत चलन हुन्छ। तर लोकले आत्मसात् गरिसकेको एउटै पनि शुद्ध शब्दको हिज्जे कुनै पनि तर्क दिएर कसैले पनि परिवर्तन गर्न पाउँदैन। अझ एउटा फरमान जारी गरेर हजारौं शब्दको हिज्जे एकमुस्ट परिवर्तन गर्न खोज्नु त पूरापूर अनधिकार चेष्टा हो। विद्वानहरूको प्रचण्ड बहुमतबाट पनि यो काम गर्न मिल्दैन। यसले भाषिक विवाद र अराजकताको बाटो खोल्छ। भोलि अर्काले यस्तै बहुमत जुटाएर आजको निर्णय बदर गर्ने परम्परा चल्न थाल्छ। यस्तो कुचक्रमा परेपछि भाषा अन्ततः दुर्गतिको शिकार हुन पुग्छ। यसो गर्नु भाषामाथिको अन्याय र अत्याचार मात्र होइन भाषाविरुद्धको अपराध पनि हो। प्रश्न कुन भाषाशास्त्रीले के भन्छ र कुन व्याकरणकारको मत के हो भन्ने होइन ; नेपाली भाषालाई जातिवाद, अव्यावहारिकता र अराजकताको दुश्चक्रबाट कसरी मुक्त गर्न सकिन्छ भन्ने हो। प्रयोगकर्ताको अवमूल्यन गरेर ल्याइएका अप्राकृतिक नियमको जंजालबाट उम्काएर सहज-स्वाभाविक गतिमा कसरी अघि बढाउन सकिन्छ भन्ने हो। विवेकशून्य विद्वत्ताले विनाशतर्फ डोर्‍याउँछ। निर्दोष-निरपराध हिज्जेमाथि स्वेेच्छाचारी अतिक्रमण गरेर भाषिक अन्योल र अराजकता बढाउनु अग्रगमन होइन प्रतिगमन हो। यसको मतियार हुन सकिंदैन।

गर्ने के त? यो अन्योल, यो अराजकतालाई निस्तेज पार्न हामी प्रयोगकर्ताले गर्न सक्ने र गर्नुपर्ने काम एउटै छ। त्यो हो- सहीबाट गलत तर्फ, शुद्धबाट अशुद्ध तर्फ र उज्यालोबाट अन्धकार तर्फ डोर्‍याउने यो कथित नियम अस्वीकार गर्दै भाषामा भिजिसकेका, पचिसकेका, सर्वत्र प्रचलित शब्दहरूलाई हिज्जे नबिगारी, तोडमोड नगरी शुद्ध रूपमै लेख्न थाल्ने। जोश, होश, खुशी, शर्त, शहर, कोशिश, शायर, फेशन, शेक्सपियर आदि शब्दको मोटो श लाई नचलाउने। ठीक, बीच, सीट, टीम, करीब, गरीब, नमूना, कानून, स्कूल, कार्टून आदि शब्दका दीर्घ इकार-उकारलाई नबिगार्ने। मोटो श र दीर्घ इकार भएको 'शरीर' लेखेजस्तै 'शहीद' पनि लेख्ने। हिज्जेका समस्या थुप्रैखाले छन् र तिनबाट मुक्ति पाउन गर्नुपर्ने काम पनि कम छैनन्। तर, हामीलाई कदम-कदममा सर्वाधिक पिरोलिरहेका अत्यधिक समस्याहरूको मुख्य उत्पत्तिस्रोत यही नियम हो। त्यसैले, यत्ति एउटा काम गरेर हामी नेपाली भाषालाई हिज्जेको अराजकताबाट ठूलो राहत दिलाउन समर्थ हुनेछौं। आफू स्वयम् हिज्जेको अन्योलबाट मुक्त हुने र शब्दलाई अन्यायबाट मुक्त गराएर गौरवान्वित हुने त छँदैछ। यस कदमले, कहींबाट स्वेच्छाचारी नियम लादिए पनि प्रयोगकर्ताले नेपाली भाषा भाँडिन दिंदैनन् भन्ने नजीर स्थापित गर्नेछ। साथै भाषाको सम्प्रभुता लोकमा हुन्छ, भाषाशास्त्री वा व्याकरणकारमा होइन भन्ने सत्यलाई पनि नवजीवन प्रदान गर्नेछ। हाम्रो भाषाको स्वाभाविक विकास, विस्तार र अग्रगामिताका लागि यो सानो उपलब्धि हुनेछैन।

साभार: नागरिक दैनिक

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।