परिचय
महिला स्रष्टामा कृष्णादेवी शर्मा (श्रेष्ठ)को नाम एक परिचित नाम हो। यिनको जन्म २००९साल फागुन महिनाको १५गते पर्वत जिल्लाको मुडिकुवा गाविस बडानं ५ माहिली चउर भन्ने ठाउँमा भएको हो। पिता स्व. नारायणदत्त रेग्मी (गौडेल) र माता स्व. तुलसा रेग्मी (गौडेल) काी सातौ गर्भकी सुपुत्री कृष्णादेबी शर्मा(श्रेष्ठ) हुन्। मैले जानेकी कृष्णादेवी शर्मा (श्रेष्ठ), काव्यकार, कथाकार, गीतकार गजलकार र स्तम्भकारको रूपमा साहित्यिक क्षेत्रमा परिचित हुनुहुन्छ। उहाँको शिक्षा एम. ए. (नेपाली) हो। कृष्णादेवी शर्मा श्रेष्ठ भनेकी एउटा संघर्षमय जीवनलाई पारगर्दै साहित्यिक यात्रामा जुटेकी नवलपरासीलाई साहित्यिकक्षेत्र बनाएर आँफूलाई साहित्यमा समर्पण गरेकी एउटा सवल नारीस्रष्टा हुनुहुन्छ। उहाँ सामाजिक सेवामा समर्पित पनि हुनुहुन्छ भने उहाँको एउटा लामो समय शिक्षणमा पनि वितेको छ। कृष्णादेवीको साहित्यिक यात्रा पनि विविधताले भरिएको छ जो सवल र सक्षम छ ।
प्रकाशनहरू
हालसम्म कृष्णादेवी शर्मा (श्रेष्ठ)का कृतिहरू सुनाखरी र लालीगुराँसको देश (कविताङ्ग्रह, २०५७.), नाराणहिटी पर्व (तीजगीतसँगालो, २०५८), घरभेटी भाउजू, (कथासङ्ग्रह, २०५९), . अत्याचारी घर(तीजगीत सँगालो, २०५९.), प्रजातन्त्रमा प्रश्नचिन्ह (तीजगीतसँगालो, २०६०.), स्मृतिको एक झल्को (खण्डकाव्य, २०६२.), निर्झरिणी (गजलसङ्ग्रह २०६३) प्रकाशनमा आइसकेका छन्। महाकाव्य र समालोचनाका कृतिहरू प्रकाशोन्मुख छन्।
कृष्णादेवी शर्मा(श्रेष्ठ)ले प्राप्त गरेका सम्मान तथा पुरस्कारहरू
एक सिद्धहस्त लेखिका कृष्णा देवी शर्मा (श्रेष्ठ), कोवलपुरे जनमत सन्मान, वनेपा (२०६४), दामोदर पुडासैनी प्रतिभा सन्मान (२०६४),भरतपुर, चितवन, लछ्मीस्मृति साहित्य तथा नयाँ मौसम पाक्षिक सम्मान, कावास्वती, नवलपरासी (२०६४), कालिका स्रष्टा सम्मान २०६५ कालिका एफ. एम. प्रा.लि., भरतपुर चितवनबाट अभिनन्दित, सम्मानित एवं पुरस्कृृत भै सक्नु भएको छ।
कृष्णादेवी शर्मा(श्रेष्ठ)को विविध क्षेत्रमा आबद्धता
उहाँ एक दर्जन भन्दा बढ्ता साहित्य संस्थामा आवद्ध हुनुहुन्छ जस्तै नारी साहित्य समाज प्रगतिनगर –३, अध्यक्ष एवं संस्थापक अध्यक्ष समेत, ल़छ्मीस्मृति साहित्य समाज नवलपरासीमा उपाध्यक्ष, संरक्षक सदस्य 'जनमत साहित्यिक मासिक, वनेपा काभ्रे, आजीवन सदस्य रत्न श्रेष्ठ पुरस्कार गुठी,बाग्लुङ्ग, आजीवन सदस्य हाम्रो मझेरी साहित्य प्रतिष्ठान, भरतपुर चितवन, आजीवन सदस्य नेपाल बाल सङ्गठन, पर्वत, आजीवन सदस्य मोती पुस्तकालय खानीगाउँ फलेवास, पर्वत, आजीवन सदस्य पल्लव साहित्य प्रष्ठिान चितवन, कोषाध्यक्ष माधुरी साहित्य प्रतिष्ठान, पर्वत सदस्य व्यवस्थापक मण्डल पर्वत साहित्यसङ्गम, पर्वत, सल्लाहाकार सदस्य लोक संस्कृति जगेर्ना समिति प्रगतिनगर,सदस्य यूयशिया रेयुकाई नेपाल उृपशाखा, उपआधार शिविर प्रगतिनगर–३,न.प, सदस्य सञ्चालक समिति, लुम्विनी आदर्श डिग्रीकलेज, कावासोती नवल परासी, सदस्य व्यवस्थापन समिति लुम्विनी आदर्श उचच मा.वी. कावासोती नवलपरासी (,माध्यमिक शिक्षापरिषद सानोठिमीबाट मनोनित )
विभिन्न साहित्यकारको नजरमा कृष्णादेवी र निर्झरिणी गजलसङ्ग्रह
बूँद रानाको नजरमा कृष्णादेबी
बूँद रानाले शुभकामनामा कृष्णिादेवीको गजललाई नै पढेर भन्नुहुन्छ कृष्णा देवीले सबै कुरा भुल्न सक्नुहुन्छ तर गजल लेख्ने काम भने भुल्न सुक्नुहुन्न भन्दै कृष्णादेवीले गजललाई शीर्षस्थानमा राखेको ठान्नु हुन्छ। बास्तबमा गजलले आज साहित्यकारलाई मात्र नभएर पाठकहरूलाई पनि यतिसम्म आकर्षण गरेको छ कि गजल पढ्न र लेख्न थालेपछि सबै कुरा भुलाई दिन्छ।यो कुरा कृष्णामा पनि लागु भएको छ।
डा. घनश्याम न्यौपाने 'परिश्रमी'को नजरमा निर्झरिणी गजलसङ्ग्रहः–
'यिनका गजलमा प्रणयभाव एकातिर मुखरित भएको पाइन्छ भने अर्कातिर समयको बिम्ब, प्रतिबिम्ब भएको पनि देख्न सकिन्छ।'
प्रेमविनोद नन्दनको नजरमा निर्झरिणी गजलसङ्ग्रह:-
'पहाडी झर्नाजस्तै स्वच्छन्द भावधारमा छचल्किएकी छन् सागर भेट्न आतुर निर्झरिणी'
गोविन्दराज विनोदीको नजरले के पाउँछ त कृष्णादेबीको गजलमा:-
'यसमा कृष्णाजीको सहज स्वस्फूर्त काव्य, झलक पाइनाको साथै लयगत सचेतता र अभिव्यक्तिगत निश्छलता कोमलता पाइन्छ।'
धनराज गिरीको नजरले के पाउँछ त कृष्णादेबीको गजलमा :-
'शास्त्रीयता र यान्त्रिकता गजलको प्राण हो। त्यसलाई दिदीले होशपूर्वक पालना गर्नु भएको छ '
केशवराज आमोदीको नजरले के पाउँछ त कृष्णादेबीको गजलमा
केशवराज आमोदीले यस गजल सङ्ग्रहको भूमिका लेख्नु भएको छ र यस सङ्ग्रहको विश्लेषणको साथै गजल लेखनको विविध पक्षलाई समेट्ने प्रयास गर्नु भएको छ। उहाँ लेख्नुहुन्छ – 'वार्णिकछन्दमा कविता सिर्जना गर्नसक्ने क्षमता भएकी कृष्णाले यस सङ्ग्रहमा स्वनिर्मित लयका माध्यमबाट मुसलसल गजल र मुरद्दफ गजलहरूले कृति सजाएकी छन्'
डा. नारायणप्रसाद खनालले प्रकाशकीयमा लेख्नु हुन्छ – 'आशा छ आगामी दिनहरूमा निर्झरिणीले गजलका नायक, सङ्कलक, अनुसन्धाता र पारखीहरूलाई नयाँ स्वाद चखाइदिनेछ।'
संरचना र विवेचना
निर्झरिणीको प्रकाशन त्रिवेणी साहित्य परिषद्ले मिति २०६३/सन् २००७मा गरेको र आकारमा १०२ पृष्ठको छ। मूल्य व्यक्तिगत रु १०० र संस्थागत रु १५० राखिएको छ। यो गजलसङ्ग्रहमा ७०वटा गजलहरूले सुसज्जित गरिएको छ। एक गजल ७शेरको र एक गजल ६शेरको साथै अरु सबै गजलहरू ५ शेरका छन् । गजमा के छ ? र कस्तो छ ? विविधपक्षहरूमा धेरै गजलकार/ साहित्यकारहरूको टिकाटिप्पणीहरूबाटै गजलको बारेमा अवगत भएको छ तर पनि विवेचना भने पछि आफ्नो पनि धारण केही पोख्नु मनासिव हुन्छ। कृष्णादेवी शर्मा(श्रेष्ठ)का गजलमा के छैन, यसमा प्रेमप्रणयमा शिष्टता छ, द्वन्द्वले निम्त्याएको पीडाको साथै हत्या हिंसाको यथार्थ प्रस्तुती छ, पीडा छ, राजनेता प्रतिको व्यङ्ग छ, लोकतन्त्रको सम्बर्धन र शान्ति स्थापनाको कामना/आग्रह छ, राष्ट्र र राष्ट्रियताप्रति अगाध प्रेम छ, जीवनवोधका कुरा छन् नारीवादी चिन्तन आदि विविधताले भरिएको छ गजलसङ्ग्रह । यी सबै पक्षलाई यहाँ केलाउने प्रयास गर्दछु । कृष्णादेवी एउटी प्रौढ गजलकार हुनुहुन्छ उहाँको गजलले प्रौढता र दृढता बोको छ। केशव राज आमोदी लेख्नु हुन्छ–कतिपय गजलका शेरहरूमा अन्दाज–ए वयान र तगज्जुलका साथै इशारत–इशारतर अदाको भावाभिव्यञ्जनापूर्ण छनक समेतको रसास्वादन गर्न सकिन्छ। उदाहरणको लागिगजलकार कृष्णाको एउटा गजल प्रस्तुत छ –
प्रकृतिमा हरियाली छर्ने तिमी हौ कि ?
अदृश्य भै मलाई माया गर्ने तिमी हौ कि ?
सपनामा जून बनी गिज्याउँदै हेर्ने
विपनामा छेउ आउन डर्ने तिमी हौ कि ?
बनाउँछु तिम्रो लागि मलमली पथ
वर डाक्दा पर–पर सर्ने तिमी हौ कि ?
म त तिम्रो छाया बनी समर्पित भा'छु
कतै वियागी भै आँखा तर्ने तिमी हौ कि ?
यो दुःखीको आकाङ्क्षालाई निरादर गरी
अर्कै मायालुको मन भर्ने तिमी हौ कि ?
पृष्ठ ५८
माथीका यी शेरले प्रकृति/ईश्वरीय प्रेमको धारण राखेको पनि त भन्न सकिन्छ। यहाँ आकार भन्दा निराकारले स्थान लिएको छ। साधारण अर्थमा प्रेमी प्रेमिकामा प्रतिको प्रेमलाई पनि त लिन सकिन्छ। प्रेममा पनि आशा छ निराशा छ, साहाराको खोजी छ, कतै टुटेको मनको जोडाइको खोजी छ त कतै जवानीको खेल र भदौरे भेलजस्तो कतै लुटिए जस्तो त कतै सक्म्ली प्रेम नपाइने र नक्कली प्रेम नचाहिने, कतै जीवन सखा वनाउने रहरको प्रेम छ त कतै चकोर चन्द्रमा जस्तो प्रेम, यसरी प्रेममा विविधताले भरिएका गजल शेरले गजल कृतिलाई सजाएको छ र बारंबार पढौं पढौं जस्तो लाग्छ। प्रेम यस्तो चिज हो जस्मा फसे पछि जसले भोक तिर्षा निद्रा आदि सबै हरण गरिदिन्छ जस्तै : –
नजरमा निद्रा छैन सपनीमा देख्न पनि
अनिन्द्रा नै साथी बन्यो बिहानको प्रहर भो
( पृष्ठ ९)
गजलकार र प्राकृतिक प्रेमः–
निर्झरिणीमा हामीले प्राकृतिक, प्रकृति र प्रबृति तीनै चिजको अध्ययन गर्न पाउँछो। यो संसारमा प्राकृतिक सुन्दरतालाई मन नपराउने को नै होला? तर आज प्राकृतिक सुन्दरतामा पनि ह्रास छ। बसन्तमा आउने रमझमको ह्रासले गर्दा बसन्तनै रोएको छ जस्तै
फुल्ने छाडे फूल पनि रोइराछ बसन्त
डुल्नै छाडे भमर पनि उत्कर्षले छाइद्यौन
बास्नै छाड्यो घडीचरो पनि व्युझदैन विहानी
मन्द छन् ती रवि–किरण विमर्शले छाइद्यौन
मानवीय प्रवृति पनि आजको संसारमा स्वार्थपूर्ण छ। हुनता स्वार्थ सबैमा चाहिन्छ तर आफ्नो स्वार्थपूर्ति गर्दा अर्को मर्मातह नहोस् /अर्काेे अधिकार हनन् नहोस्। गजलकारले यहाँ राष्ट्रप्रति चिन्तनको स्वार्थ/राष्ट्र र राष्ट्रियता सवल पार्नको लागि स्वार्थ, र मौका पारी स्वयं बन्नको लागिस्वार्थ बोक्ने प्रति, आफ्नो धारण पोख्नु भएको छः –
केही राजनीति गर्छन् राष्ट्रलाई हेरेर
कोही स्वार्थपूर्ति गर्छन् मौकालाई हेरेर
गजलकारको विकासवादी चिन्तन
देश निमार्णमा सबै एक भएर बिकासको बीउ छर्नु पर्ने धारणा राख्नु हुन्छ गजलकारलेजस्तै
विकसको बीउ छर्नु पर्ने हुन्छ एक भै
पूर्ब–मेची पश्चिम काली डुल्न सकिन
गजल/गजलकार र नारीवाद
गजलकार आँफै नारी भएर होला उनका गजलमा नारीहकहीत र नारीको उत्थानका कुराले पनि सजिएको छ गजलसङ्ग्रह। नारीको उत्थान हुन सकेको छैन, नारीमा दवाव छ, नारीको उत्थानका कुरा केवल नारामामात्र, सीमित छन् र नारीहरू रूढीबूढीको हतकडीले बाँधिएकी छन् र वेदनाको शूलले पिल्सिएका छन् भने त्यसबाट मुक्तिको लागि अधिबढ्नु पर्ने धारणा छ गजलकारको –
पुरुषका कमजोरी दवाएर भित्र
अवलालाई औंल्याउने ठूलै हुँदोरहेछ
नारामात्र सीमित छ नारी उत्थानको
कोमल त्यो नारी दिल फूलै हुँदोरहेछ
रूढीबूढी हतकडीले बाँधिएकी नारी
असाध्य त्यो वेदनाले शूलै हुँदोरहेछ
(पृष्ठ१८)
संविधान निमार्ण र गजलकारको धारणा
आज जनतामा संविधान कस्तो बन्ने कहिले बन्ने, या नबन्ने हो, भन्ने भावनाले सत्तिएका छन्। सारा साहित्यकारहरूको कलम आज यसैमा दकुरी रहेको छ। गजलकार कृष्णादेवीले पनि आफ्नो धारणा यसरी पस्कनु भएको छ –
संविधान बन्नु पर्छ गरिबको हित हुने
अभिजात बर्गसँग मानजवीय जीत हुने
( पृष्ठ ६७)
राष्ट्रियताप्रति जलकारको धारणा
गजलकारको राष्ट्रवादी चिन्तन गहिरो छ। जनता राष्ट्रको सेवाको भावनाले ओतप्रोत हुनु्पर्दछ। हामी राष्ट्रको सेवक हुनुपर्दछ नकिराष्ट्रको भारजस्तै –
स्वराष्ट्रको सेवा मैले गर्नु वेस छ
भार बनि बस्नुभन्दा मर्नु वेस छ
द्वन्द्व र गजलकार
देश हरेक किसिमका द्वन्द्वले त्रसित छ। हत्या, हिसा, बन्दहडताले गर्दा देशको आर्थिक, सामाजिक राजनीतिक अवस्थामा नै प्रभाव परेको छ। यो जटिल सवालमा गजलकारको मन कसरी थामिन्थ्यो र यस सम्बन्धमा पनि गजलकारले मार्मिक वेदनाहरू पस्कनु भएको छ –
मन दुःख्यो रगतको होली खेल्ने मेलाले
दाजु भाई आपसमा हिंसा गर्ने भेलाले
(पृष्ठ१)
वम र गोलाले छिद्र भएको सर्बाङ्ग देखेर पनि
निर्भिक भोरको भाले भएर म कहाँ बास्न सक्छु र
( पृष्ठ ५)
आज तिम्रो सबै अङ्ग जल्या छ नि आमा
त्यो देखेर मेरो आत्मा बल्य छ नि आमा
कृष्णादेवीका गजलका शेरहरूको निमार्ण
गजल लेख्दा सर्बप्रथम शेरको निमार्णमा ध्यान दिनुपर्दछ किनकि शेर भनेको गजलको आधारस्तम्भ हो। गजलका प्रत्येक पंक्तिलाई मिसरा भन्दछन्। यसमा पनि पहिलो पंक्तिलाई मिसरा ए–उल्ला र दोस्रो पंक्तिलाई मिसरा ए–सानी भन्दछन्। मिसरा ए–उल्ला र मिसरा ए–सानी मिलेर एउटा शेरको निर्माण हुन्छ जस्तै –
सत्ता बाँडी जनतासँग मिल्न सक्नुपर्थ्यो (मिसरा ए–उल्ला)
शिरमाथी मयूर शिखा खिल्न सक्नुपर्थ्यो ( मिसरा ए–सानी).
पृष्ठ ५२
बास्तबमा कृष्णादेवीका गजलङ्ग्रहका शेरहरू सुन्दर, हृदयसंवेद्य, भावनात्मक र उत्तमोत्तम छन् जसले गर्दा कृति पठनीय, दर्शनीय, सङ्ग्रहणीय र अनुकरणीय बन्न पुगेको छ। गजलको पहिलो शेरलाई मतला भनिन्छ जस्को अर्थ उदय हुनु हो र अन्तिम शेरलाई मकता भनिन्छ जसको अर्थ समाप्त हुनु मानिन्छ। मतला जति मर्मस्पर्शी र प्रभावोत्पादक हुन्छ गजल त्यति प्रभावकारी बन्दछ। यसरी नै मकता पनि गजलमा विशिष्ट मानिन्छ र यसले गजललाई जीवन्त पार्दछ।
काफिया गजलको प्राण हो। यो गजलको मतलामा र त्यस पछि गजलको हरेक दोस्रो पङ्क्तिमा रफिद भन्दा पहिला आउने शब्द हो। यसमा हामीले ध्यान दिनु पर्ने कुरा के छ भने काफियामा शब्द परिवर्तन त हुन्छ तर स्वर भने परिवर्तन हुन सक्दैन। कृष्णादेवीले काफियाको प्रयोगमा पूर्णरूपले ध्यान दिएको पाइन्छ।
गजलमा तखल्लुसको प्रयोगः–
गजलकारले मकतामा आफ्नो नाम वा उपनाम जोडेको लाई तखल्लुस भनिन्छ। गजल सिद्धान्त अनुसार गजलमा तखल्लुसको प्रयोग गर्नु पर्दछ तर यो प्रयोग गर्नैपर्छ भन्ने छैन। कतिपय गजलकारले तखल्लुसको प्रयोग गरेको पाइँदैन। यस सङ्ग्रहमा पनि गजलका शेरहरूमा हामीले तखल्लुस् प्रयोग भएका र नभएका दुबै थरिका गजलहरू पाउँछौं तापनि अधिकांश गजल भने तखल्लुस् प्रयोग बिनानै लेखिएका छन् –
गन्धहीन पलास झै वाध्य नजरमा कृष्ण
आत्मा चस्किरहने 'कृष्णा'को रहर भो
तखल्लुस् प्रयोग भएको शेर
मन मेरो छताछुल्ल प्रेमरसले भरिदिइन्
गोधूलिको हिमाचलमा रविकिरण छरेजस्तो
तखल्लुस् प्रयोग नभएको शेर
गजलमा रदिफको प्रयोगः–
यसको प्रयोग मतलाको दुबै पंक्तिको अन्त्यमा र मतला पछि आउने शेरको दोस्रो पंक्तिमा निरन्तररूपमा प्रयोग हुन्छ। काफियाको पछि आउने शब्द या शब्द समुह नै रदिफ हो। कृष्णादेवीको यस गजलसङ्ग्रहमा रदिफ रहित र रदिफ सहितका दुबै किसिमका शेरहरू प्रयोग भएको पाइन्छ। गजलमा रदिफको प्रयोगगर्न अनिवार्यता छैन
रदिफ रहितका शेर
नक्कली प्रेम चाँइदैन
सक्कली त्यती पाइइँदैन
(पृष्ठ ५२)
रदिफ सहितका शेर
मन मुटु फुटेको छ
वेदना त्यो जुटेको छ
(पृष्ठ ५३)
चौपारी नै छैन ऐले मन विसाउन
आफन्त नै छैन मेरो मन रिसाउन
(पृष्ठ २७)
अन्त्यमा
गजलसङ्ग्रहको भाषा सरल छ। गजलका शेर स्वनिर्मित लयमा सजिएका छन्। शेरहरू गाउन सकिने खालका छन्। काफिया र रदिफको प्रयोग सुललित मञ्जुल र सान्दर्भिकरूपमा प्रयोग गरिएको पाइन्छ। मिठासपूर्ण प्रस्तुतिले सजिएको छ गजलसङ्ग्रह। माथी नै भनिएको छ कि भर्नाको झराई नदीको बगाईजस्तै सलल भावना साधनाले सजिएको छ गजलसङ्ग्रह पठनीय छ अनुमरणीय छ। यस्तो गहन गजलकारीताको लागि धन्यवादकी पात्र हुनुहुन्छ गजलकार।
सन्दर्भ सामागी:
एउटा बन्द खाम, ललिजन रावल,विवेक सिर्जनशील पर्काशन २०६६