14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

घामको चुम्बनमा लोकबोलीको चमत्कार

कृति/समीक्षा वसन्त बस्नेत April 9, 2012, 4:34 pm

नेपाली नियात्रा र निबन्धलेखनमा आफ्नो नढल्ने सत्ता निर्माण गरिसकेका युवराज नयाँघरे हालसालै एउटा नयाँ नियात्रा पुस्तक “घामको चुम्बन” लिएर नेपाली भाषी पाठकमाझ प्रस्तुत भएका छन् । भाषामाथि पूर्ण पकड कायम गर्ने यी लेखकले यही चामत्कारिक शिल्प देखाउँदै “एक हातको ताली” का लागि वि.सं. २०६५ को मदन पुरस्कारको बाजी समेत मारेका छन् । यसअगाडि नै निबन्ध र नियात्राका सातवटा कृति नेपाली साहित्यको ढुकुटीलाई बुझाइसकेका उनका पाठकको भिन्न समुदाय छ । भाषाका कुशल खेलाडी नयाँघरेको पछिल्लो किताब पाठकको भारी अपेक्षा अनुरुपकै शक्तिशाली भएर आएको देखिन्छ । यसका पछाडि अघिल्लो निबन्धकृतिको लोकप्रियताको दबाबले पनि काम गरेको हुनुपर्छ ।

नियात्रा धेरैले लेख्छन् । नियात्राकार पनि धेरै पाइन्छन् । तर थोरै लेखक मात्रै नियात्राकार भइरहन सक्छन् ताकि तिनलाई पाठकले पटक–पटक पढिरहुन् । नयाँघरे त्यही तेस्रो कित्ताका नियात्राकार हुन् जो पाठकलाई यात्रामा आपूmसितै हिँडाउने सामथ्र्य राख्छन् । उनको लेखनप्रवृत्तिको मियो प्रकृति, समाज, साँस्कृतिक सम्पदामाथिको उच्च सम्मान, जीवन र कलाप्रतिको मूल्यबोध हो । तथापि समय, राजनीति र जीवनका यथार्थहरुप्रति उनको लेखक मौन छैन ।

“अनाम पहाडमा फनफनी” नियात्रासङ्ग्रहका यी लेखकको प्रस्तुत कृति “घामको चुम्बन” मा जम्मा तेइसवटा यात्रानिबन्धहरु समाविष्ट छन् । मूलतः यी रचनाहरुलाई हामी तीन खण्डमा विभाजित गरेर हेर्न सक्दछौं । पहिलोखाले रचनाहरु प्रकृति र जीवनका बीचको सम्बन्धमा केन्द्रीत देखिन्छन् । सगरमाथा उक्लेको वर्ष, जोगमाईका छालैछाल, नौडाँडाको तिर्खा र सराङकोटको पानी, हिउँसित कुस्ताकुस्ती, नागार्जुनमा लुकामारी, छिम्काको छेउकुना, हिलेखर्कमा हाइसन्चो र घामको चुम्बन त्यसका उदाहरणहरु हुन् । समाचार नबनेको गाउँमा, महाकालीमा छुटेको मन, सन्धिखर्के सन्त्रासको खिल, ठोरीको ठ्यासपूm जस्ता नियात्रामा राजनीतिले स्रष्टाको समय र नागरिकहरुको मनोविज्ञानमा पारेको असर अनुभूत गर्न सकिन्छ । बुद्धको मावलमा पाहुना, सिम्रौनगढको सफर जस्ता रचनाहरु चाहिँ मानवीय प्रयत्नबाट सृजित सम्पदाहरुको महत्ताबोध गर्छन् । यी तेस्रो प्रकारका नियात्रा हुन् ।

चित्र कोरेजस्ता व्याख्या मार्फत् आपूm वरिपरिको परिवेशलाई सर्लक्क उतार्ने नयाँघरेको लेखकीय वैशिष्ट्य लोकबोलीको चमत्कारबाट अभिव्यक्त भएको देखिन्छ । झर्रा र अनुकरणात्मक शब्दावली, उपमा र अलङ्कारको प्रचुर उपयोग, विषयवस्तुको गाम्भीर्यतालाई दर्शाउने उपुक्त उखानहरुको छनोट आदिले उनको नयाँ कृतिलाई पठनीय बनाइदिएका छन् । कविचेतना नयाँघरेको मौलिकता हुँदै हो । नियात्रा पढदै जाँदा सामान्य र कम सान्दर्भिक लाग्ने विषयहरु पनि यही काव्यिक चेतले गर्दा पठनीय नै बनिरहन्छन् ।

नयाँघरेका नियात्रा पढ्ने पाठकले आपूm पनि लेखक बन्नसक्ने आत्मविश्वास आर्जन गर्न सक्छ किनकि यी लेखक यति सामान्य झैं लाग्ने प्रसङ्गबाट अन्तर्यसम्म छोइन्छन् । ठूला–ठूला विषय लेखेर मात्र स्तरीय कृति लेख्न सकिन्छ भन्ने परम्परागत दिमागको विरुद्धमा यी लेखकलाई पढेपछि जोकसैले यात्रा निबन्ध लेख्ने आकाङ्क्षा आपूmभित्र हुर्काउन सक्दछ । यो सही नै पनि हो तर भाषाको चमत्कार यसै प्राप्त हुने कुरा होइन । सामान्य लाग्ने घटनाहरुको कालीगढीयुक्त प्रस्तुतिको अभावमा नियात्रा भनेर लेखिने धेरै रचनाहरु यात्रा विवरण मात्र हुनसकेका दृष्टान्त नेपाली साहित्यमा धेरै छन् । तिनका सर्जकहरुले घामको चुम्बनका यी लेखकमा अन्तर्निहित शक्तिको बोध गर्नु मनासिब ठहर्नेछ ।

सगरमाथा उक्लेको वर्ष पढेपछि नियात्राक्रमको सुखद् शुरुवात हुन्छ । भात पाकेको छ वा छैन भन्ने जान्न एक सिता छामे काफी हुन्छ भने झैं यो एयरपोर्टको आधारशिविरबाट आकाशमार्ग हुँदै विश्वको सर्वोच्च हिमाल आरोहण गरेका नियात्राकार प्रकृतिसँग आपूmलाई ऐकिक बनाएर भावुकतावश लेख्छन्,

“म खुट्टाविहीन चढेँ समगरमाथा । मनमाथि मन थपेर म उक्लेँ सगरमाथा । आँखामा अनन्त दृष्टि थपथाप पारेर मैले टेकेँ सगरमाथा । हृदयमा भावनाको ऊर्जा, आवाज र शक्ति सँगालेर सर्वोच्च हिउँचुली पुगेँ म । हो मितेरी लाएर फर्के म सगरमाथासँग ।” (पृष्ठ ९)

पाठकलाई आपूmसँगैको सीटमा राखेर हिमालहरुको सौन्दर्य वर्णन गर्दै उडाएको झैं अनुभूत गराउँदै लेखक सगरमाथाको महिमा गाउँछन् । उनी अरुजस्तै सामान्य आँखाहरु भएका मानिस होलान्, तर एउटा सिद्धहस्त लेखक कसरी हेराइहरुमा पनि बहुरङ्ग आविष्कार गर्नसक्छ भन्ने थाहा पाउन यी उपमा र उदाहरण हेरे काफी हुन्छ–

“भर्खरै दही मथेर घिउको थाक लगाएजस्तो थियो – सगरमाथा ।

मेरा आँखाले तनतनी पिए सगरमाथाको अक्षत यौवन । मेरो मनले हतारिएर कस्यो सगरमाथालाई ।

सेतो बादलको डङ्गुर आउँथ्यो – लाग्छ, म काँसबारीभित्र – भित्र गइरहेछु ।

खुला, खुलस्त र खुल्लमखुल्ला– हिमालको तरुनी ज्यान । आ... है... मनमा कुतकुत्यायो के–के कुराले !

सेतो सुइटरमा ज्यान फालेर सुतेकीजस्तो – देख्छु आकाशलाई ।”

सगरमाथा उक्लेको वर्ष प्रकृतिप्रति अत्यन्तै संवेदनशील एउटा लेखकले तयार पारेको यात्राको दस्तावेज हो । साथै नेपाललाई सिङ्गो पृथ्वीभरि चिनाउने अभूतपूर्व सम्पत्तिप्रतिको जागरुकता पनि । कोठामा बसेर सगरमाथाको गीत धेरैले लेखें । आकाशबाटै सही, तर मनका खुट्टाले हिमाल चढेको प्रमाण संसारलाई सुनाउने, लेखेर देखाउने अक्षरआरोहीहरु औंलाका गिर्खामा गन्न सकिन्छ । नयाँघरे त्यही तेन्जिङ हुन्, जो हिमाल आरोहणको अनुभूतिलाई अक्षरमा उनेर हाम्रो सामू आएका छन् ।

जोगमाईका छालैछाल लेखकको भाषामा बजार होइन, बस्तीको उच्चता हेर्ने अभिलाषाले लिखित अर्को बेजोड नियात्रा हो । आफ्नो घर, परिवेश, जिल्ला, खोलाखोल्साप्रतिको माया हुरुक्कै हुनेगरी यो रचनामार्फत् उनले खन्याएका छन् । ग्रामीण बस्तीतिर प्रचलित उखानै उखानको भण्डार भएर आएको छ यो । बिहेको जन्ती भएर पूर्वी इलामको सेरोफेरो फेरो मार्दाका सामान्य झैं लाग्ने अनुभूतिहरुलाई पनि मीठो भाषाको उपहार यात्रानिबन्धको किस्तीमा हालेर उनले आफ्नो यात्रासित असम्बन्धितसमेत सबैलाई रुचिकर हुनेगरी पस्केका छन् । सजिलो र सुगम मार्गमा त जो पनि हिँड्न खुट्टो उचाल्दो हो । तर नयाँघरे भने घुँडा टेक्दै हिडेको ‘घुँडेटो’ बाटोमा समेत पाइला चालूँचालू झैं अनुभूति दिन सफल देखिन्छन् ।

नयाँघरेको अर्को सशक्त रचना हो– घामको चुम्बन । सहयात्रीहरुसित नगरकोट घुम्न जाने सन्दर्भमा उनले यो नियात्रा लेखेँ । यसैको नामबाट किताबको नाम पनि जुराए । नगरकोटको सूर्योदय हेर्ने उनको मनसुबा पूरा भएको परिणाम हो यो नियात्रा । पृष्ठभूमिमा भरपूर सजीवता दिएर उनी लेख्छन्,

“झुल्क्यो, झुल्क्यो ! लौ झुल्किहाल्यो घाम !

घामको झलमल्ल प्रकाशले सारा हिमाल भए बेग्लै, सारा पहाड भए भिन्नै । सूर्यस्नान पाएर रुखपात र धरतीका हरेक अग्ला ठाउँमा नयाँपनको जीवन सरर्र कुद्यो । ... मैले शरीरै छोडिदिएँ घामलाई– उसले ठाउँ–कुठाउँ छोएर संसार हेर्न दगु¥यो ।” (पृष्ठ २६५)

सृष्टिको नित्य, निरन्तर र अविनाशी घाम मानिसको अटल आस्थाको अर्को नाम पनि हो । मान्छे आ–आफ्नो घाम खोज्न कुदिरहन्छ । त्यो घामलाई भूगोलकै पाइलाले नयाँघरेले पहिल्याउन खोजें । नियात्रा यसै पनि छ ।

अब एकछिन समय र राजनीतिमा नियात्राको प्रवेशबारे कुरा गरौं । उपर्युल्लिखित पंक्ति याद गर्न जरुरी छ । नयाँघरेका रचनामा राजनीति आएको छैन बरु राजनीतिमा उनी गएका छन् । किनकि उनी मूलतः प्रकृति, जीवन र सांस्कृतिक मूल्यको गाथा गाएका बेला बढी सुन्दर देखिएजस्ता लाग्छन् । यद्यपि पठकीय मतहरुबीचका वैविध्यलाई यो पंक्तिकारले सम्मान गर्नुपर्नेछ ।

महाकालीमा छुटेको मन यो सङ्ग्रहभरिका नियात्रामध्ये सबैभन्दा सघन प्रतीत हुन्छ । यसको निष्कर्ष हुनेछ– विशुद्ध सिर्जनाको उपासक भनिने लेखकहरु जब थाहा नपाए वा नदिएजस्तो गरी जब देश, काल, परिवेश लेख्छन्, उनीहरु साँच्चिकै सर्वकालिक र सार्वभौम समेत हुन्छन् भन्ने कुराको साक्षी समयले इतिहासको कठघरामा बक्छ । उनी लेख्छन्,

“नेपालको र अन्तर्राष्ट्रिय सीमालाई निःसंकोच मिचेर भारतले बनाएको टनकपुर बाँध हेर्दा मलाई लाग्यो– भोलिका सन्तानले हामीलाई थुइय्य भन्ने प्रमाण प्रशस्त छन् । ... आज टनकपुरमा टेक्दा मलाई अरुको ईशारामा हामी चलेजस्तो लाग्यो ।” (पृ. १३५)

“टनकपुरमा लुटिएकै रहेछ नेपाली अस्मिता, टनकपुरमा गरिएकै रहेछ राष्ट्रघाती सन्धि, पराईलाई सुम्पिएकै रहेछ नेपाली भूमि ।” (पृ. १३४)

यहाँ आएर उनको नियात्रामा उनकै शैलीको निबन्ध पस्छ । विचारको घनत्वले यात्राको अनुभूतिलाई फरक पारिदिएको छ । यसमा अक्सर यात्रामा पाइने रोमाञ्चकता पनि छैन । केवल छ, आफ्नै देशको मानचित्रभरि पनि फुक्का भएर हिँडडुल गर्न नपाउँदाको तिखो अनुभव । अनि छ जुनसुकै पंक्तिमा, आफ्नो भनेर केटाकेटी उमेरदेखि नै पाठशालाका पुस्तकहरुमा घोकेको तर अहिले मिथकजस्तो हुन पुगेको मेचीमहाकालीको कथाको दुःखान्त । एउटै नियात्रामा दर्जनौं विम्बहरुको प्र्रभावकारी खेल गरेर लेखकले एउटा मार्मिक कृति आविष्कार गर्न सफलता हासिल गरेका छन् । राष्ट्रियताको संवेदनशीलतालाई उनले जुन गहिराइमा पुगेर अनुभूत गरेका छन्, त्यो महँगो छ । तर पनि उनीभित्रको सार्विक स्रष्टा उभिएर घोषणा गर्छ–

“नेपाल भनिएको यता पनि उस्तै छ । भारत भनिएको उता पनि उस्तै छ । ... यो त राजनीतिले लगाएको भागवण्डा रहेछ, तगारो रहेछ, बलात् जालझेल र स्वार्थ रहेछ र हामीलाई फुटाएर राजनीतिज्ञहरुले कमाइ खाने भाँडो पो रहेछ ।” (पृ. १२९)

महाकाली र नेपालका थुप्रै स्थानहरुमा भारतले नेपालको सिमानाहरु माथि गरिरहेको अतिक्रमणको यो सिलसिला अझैं पुरानो भएको छैन । त्यसैले उनको यो नियात्रा पनि पुरानो नहुने भएको छ । सन्धि र सम्झौताको नाममा टनकपुर र अरु थुप्रै टनकपुरहरुलाई विदेशको दलाल भएर दिनदहाडै बेच्न पछि नपर्ने, दौरासुरुवाल र भादगाउँले टोपीले गद्दारीको परिचय छोप्ने कयौं सम्माननीय र माननीयहरुको उनले खोइरो खनिरहनुपर्ने भएको छ । जीवन र कलाका बारेमा चिन्तन गर्ने उनको कलमले शासकहरुका नपुङ्सकताबाट सृजित अनेकन् झेउलाको बारेमा मन नलागी नलागी सोच्नु पर्नेछ । महकाकालीमा छुटेको मन यसैको परिणति हो ।

एउटा सृजनशील मान्छे आफ्नो समयप्रति जिम्मेवार भएका दिन लेखक हुन्छ वा एक व्यक्ति लेखक भइसकेपछि समयको जिम्मेवारी लिन शुरु गर्छ– बहस हुन सक्ला । तर बहसले जे निक्र्यौल गरे पनि सन्धिखर्के सन्त्रासको खिल पढ्ने जोकोही पनि समयको स्रष्टामाथिको पहुँच महसुस गर्न सक्छ । लेखक वनकाँडाहरुभन्दा तीखा लाग्ने यथार्थभन्दा भिन्न यूटोपिया कल्पेर बस्न नसक्दो रहेछ । माओवादी सशस्त्र संघर्ष आमनागरिक मनोविज्ञानमा कस्तो असर छाड्यो भन्ने प्रमाण यो नियात्रा हो । युद्ध सकिए पनि मान्छेको मन कुन हदसम्म भग्न खण्डहर भइरहन सक्छ भन्ने जान्न यति पंक्तिहरु पर्याप्त हुन्छन् । प्रेम बहादुर कार्कीको बोलीलाई उनी उतार गर्छन्–

“... द्वन्द्वमा मरेका भन्दा बाँचेकाहरु बढी लाशजस्ता हुँदा रै’छन् !” (पृ. १७७)

“युद्ध भनेको उत्तेजनाको नारा रहेछ । जसले बढी नारा लगाउँछ, युद्धमा उही अनन्यतम् व्यक्ति हुँदो रहेछ । सन्धिखर्कमा त्यही भएथ्यो । गोली त असिना बर्सेझैं बर्सिए ... । माथ्लो तलामा लोग्ने र तल्लो तलामा छोरो मरेको, बीचको तलामा बसेर हेर्ने आइमाई अहिले सन्धिखर्क बजारमा बहुलाएर नाङ्गै हिँड्ने गर्छे । कतैपट्टिको गोलीले नि न्याय पाइन उसले !” (पृ. १७८)

उत्तरयुद्धकालमा अहिले देश छ । तर कस्तो आङ् नै जिरिङ्ग हुने ऊ बेलाको अक्षरचित्रण यी नयाँघरेको । यिनले युद्धको विभीषिका र मान्छेको भौतिकता आत्मिकता विघटन भएको त्रूmर समयलाई पक्षधरताको मध्यरेखाबाट नियालेका छन् । तर उनी तटस्थ छैनन् । मान्छेले मान्छे खाने युद्धको उनी पूरै विरुद्धमा छन् । यही यो नियात्रामा युद्धले आमन्त्रण गरेको यथार्थलाई पाठकको अन्तर्यमा महसुस गराउन सक्ने उनको लेखकीय सामथ्र्य ।

बुद्धको मावलमा पाहुना माथि चर्चा गरिए झैं पुर्खाहरुको कला र ऐतिहासिक सम्पदाहरुप्रति सम्मान अनुरुप लेखिएको नियात्रा हो । गौतम बुद्धको मावल भनिएको देवदहमा लेखक सहयात्रीहरु सहित पुग्छन् । पर्यटन भनेपछि आँखाले देख्दा राम्रा हिमाल, पहाड, खोला, वन, सहर र झिलिमिली मात्रै होइन । बरु इतिहास अन्वेषण, अति सामान्य र हेर्दा महत्वहीन लाग्ने जरा, बुट्यान, पातपतिङ्गर, धुलो आदि पनि हो । यो आपूmले टेक्ने जमीनप्रतिको आत्मीयता पनि हो । जस्तो कि उनी एउटा प्रसङ्गमा लेख्छन्–

“एउटा पीपलको रुखले मलाई खुसुक्क भन्यो– नयाँघरे, गौतम केटौलीमा मेरा हाँगामा बस्थे र एकोहोरिएर केही सम्झिएजस्तै गर्थे, केही बिर्से झैं गर्थे । (पृ. ९०)

एउटा सानो झारले आपूm हेपिएको ठान्दै विगत स्मरण ग¥यो– हेर्नोस्, मसँग त गहिरो नाता थियो बुद्धको । उनलाई मोक्षमार्गको सङ्केतै मैले दिएको हूँ ।” (पृ. ९०)

यसरी अरुले सामान्य ठानेका विषयवस्तुको सुक्ष्मतालाई गहिरो गरी आत्मसात् गर्ने योग्यता थोरै नेपाली लेखकहरुले राख्दछन् । नयाँघरे ती मध्ये एक हुन् । लेख्न गम्भीर र ठूला भनिने घटना खोज्न अभ्यस्त लेखकहरुबीच सामान्य नागरिकका दिनचर्याहरु र चिन्तनलाई निबन्ध र नियात्रा बनाउने यी लेखक आफ्नो साधनामा सफल छन् । एउटा कुरा ध्यानमा राख्नैपर्छ, सबै कृतिले सबै पाठकको अपेक्षा शायद गर्दैनन् । यस्तै यसले पनि नगर्ला । कसैलाई विषयले बढी प्रभाव देला कसैलाई शैलीले ।

प्रत्येक सृजनाका आ–आफ्नै सीमा हुन्छन् । ती कृतिसँगै थाहा नपाइकन पाठक हृदयमा प्रवेश गर्छन् जसलाई कृतिकारले पत्ता पाएकै हुँदैन । कति ठाउँमा पढ्दा यस्तो लाग्छ, एकपटक राम्रो सम्पादकलाई किताब देखाएको भए नयाँघरेको केही बिग्रने थिएन । भाषा खेलाउने क्रममा केही ठाउँमा सही र प्रभावकारी सम्प्रेषण हुन सकेका छैनन् । जस्तो,

“चियाको तलतल थाम्मरथुम्मर पार्छु ।” (पृ. ८८)

यहाँ, थाम्मरथुम्मर शब्दले अर्थ प्रवाह नगरी बेग्लै छनक दिएको छ । यस्ता अन्य निकै शब्द र दृश्यहरु भेट्न सक्छौं हामी ।

यस्तै विषयान्तर भएको विचारले रचनाको गुरुत्वलाई कसरी कमजोर र विरुप बनाउँछ भन्ने उदाहरण बुझ्न हेलो माडी फाँट पढे पुग्छ ।

“त्यहाँ साँध सारिएको प्रसङ्ग उर्लियो, त्यहाँ सुस्तामा सिमाना मिचेको चर्चा चल्यो, त्यहाँ महेशपुरमा जङ्गे कीलो फेरिएको तर्क तेर्सियो । गाउँगाउँमा राष्ट्रिय अस्मिताको चासो–चौचौ हुनु त ठीकै हो, तर आफ्नै आँगनमा बाढी, पैरो र अनिकालले दरफराएका घाउहरु बिर्सेर अनपेक्षित अन्तर्राष्ट्रिय डिङ हाँक्ने बकम्फुसे जम्को चाहिँ गुन्द्रुके गन्थनभन्दा उपल्लो लाग्दैन मलाई । त्यसकै झल्को यो आँगनमा नपाइएको भने होइन ।” (पृ. ११५)

उल्लिखित पंक्ति पढेपछि पाठक मगज एकपटक अलमलमा पर्छ । के गरिखाने औसत नेपालीले सुस्ता र महेशपुरको कुरा सोच्नु नाजायज हो ? राष्ट्रियता फगत संसद भवनमा उराल्नु पर्ने भाषण वा सडकछेउका भित्ताहरु रङ्गाउनु पर्ने नारा हो ? एउटा नागरिकको सरोकारको सीमाना आफ्नो घरछेउको पहिरो र जग्गाको साँधभन्दा पर पनि कतै किन हुन सक्दैन ? अनि सुस्ता, महेशपुर कुनै अन्तर्राष्ट्रिय भूगोल हो ? कि त्यो आफ्नै माटो हो ? यदि हो भने नागरिकहरुले आफ्नो माटोको पैरवी किन नगर्ने ? पहिरो शान्त भएका दिन आँगन चाहिँ आफ्नो रहेन भने के गर्ने होला ? नयाँघरेको राष्ट्रभक्त हृदयमा यसको जवाफ पक्कै होला तर यो नियात्रामा चाहिँ छैन । गुन्द्रुकसिन्की, पँधेरो, हलोजुवाको सम्मानमा आठ–आठ वटा किताब लेख्ने यी लोकलेखकले किन यस्ता गन्थनलाई गुन्द्रुके भनेर होच्याए होलान्, यो अज्ञानी पंक्तिकार रनभुल्लमा परेको छ ।

यति झर्रा भाषा उनी प्रयोग गर्छन् कि ग्रामीण र खाँटी नेपाली परिवेशबाट आएको पाठक भनिनेले पनि कतिपय ठाउँमा शब्दकोश पल्टाउनु पर्छ । तथापि यो लेखकको नभएर पाठकको सीमा हो र नेपाली भाषी भइकनको विडम्बना पनि । यति हुँदाहुँदै पनि शब्दको सिरकले विषयवस्तु सर्लक्क छोपिएको देख्ता पाठकले आपूmले यतिञ्जेल पढेँ चाहिँ के भन्ने मेसो नपाउन सक्छ । यो चाहिँ तिनको सीमा नहोला कि ? प्रत्येक नियात्राको प्रस्तुति शैली लगभग उस्तै भएकाले पठनमा एकोहोरोपन जबर्जस्त हावी हुन्छ । समालोचक महेश पौड्याल प्रारम्भको यही कृतिमाथि द काठमाण्डु पोष्टमा लेखिएको एक पंक्ति उठाउनु यहाँ सान्दर्भिक ठहर्न सक्छ– “नयाँघरेको नवीनतम् कृति पठनीय छ । यद्यपि उनको लेखनीमा धेरैथोरै पृथक स्वाद पस्किनु आवश्यक भइसकेको छ ।” उनले भनेजस्तै नियात्रा पढ्ने पाठकले घटना र प्रसङ्गको अदलबदलसँगै प्रस्तुतिमा पनि नवीनता अपेक्षा गर्नु अनौठो हुँदैन । त्यसमा पनि झन् अनाम पहाडमा फनफनीका लेखकबाट ।

किताबका शीर्षक राख्ने उनको कला बिछट्टको हुन्थ्यो । तर यो किताबको नाम नयाँघरे ब्राण्डभन्दा फरक परेको प्रतीत हुन्छ । तैपनि नाममा के नै छ र !

धेरैजसो समीक्षक किताबमा भएका भन्दा नभएका विषय अपेक्षा गर्छन् । यो मलाई अलि नसुहाउने लाग्छ । नभएका कुरा सोच्ने क्षमता भएकाहरुले आफैं किताब लेखेर लेखिएको कृतिलाई तनावमुक्त पारे नेपाली साहित्य र साहित्यकार कति सन्तोक मान्थे हुनन् । किताबमा भएका कुरा पो कुरा । नभएका कुरा के कुरा !

भाषागत शिल्पनिर्माणका लागि पढिनु पर्ने औंलामा गन्नमिल्ने नेपाली लेखकमध्ये युवराज नयाँघरे एक मुर्धन्य हुन् । अझ गाउँबेसी, उकाली, देउराली, खोल्सी, याक्सा, गोठालाको परिवेशका यी आफ्ना लेखक हुन् । नियात्रा लेखनको क्षेत्रमा एउटा लामो रिक्तता भङ्ग गर्ने यी सर्जक यसै पनि धन्य छन् । गाउँघर, प्रकृति र भूइँमान्छेका कथा भन्ने यी नियात्राकारको सुदूर भूगोल यात्राको क्रममा सिर्जेका यी अनुभूतिहरुका प्रतिवेदनहरुलाई सहरले कसरी पढ्ला ? त्यो हेर्न बाँकी छ ।

कदाचित सहरले यो किताब पढेका दिन अझै कृत्रिमता, ढोङ र दुई नम्बरीवाला जीवन बाँच्ने मोह राखिरहला ? त्यो पनि हेर्न बाँकी छ । साँच्चै, सहरले यो किताब कसरी पढ्ला ? पढेका दिन सहर–सहरमा बस्ला ?

कीर्तिपुर, काठमाडौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।