मोवाईलको किप्याडमा थिचेर
डायल गर्दा
रिडायल गर्दा
एकोहोरो तर झिँजो लाग्ने गरी
एउटै वाक्यको मात्र
पुनरावृति भईरहन्छ -
'तपाइँले सम्पर्क गर्न खोज्नु भएको
मोबाईल स्वीच अफ छ !'
ऐजन ऐजन नम्बर थिच्दै
म फेरि डायल गर्छु :
मानौँ
मैले खोजेको सर्वश्व
त्यही मोवाईलको आयतनसम्म मात्र फैलिएको छ
मैले खोजेको भूगोलको परिमित
त्यो एक मुठ्ठी बराबराको मोवाईलको आकारसम्ममा सीमित छ
जो मेरो हातमा छ यतिखेर
त्यसो त
मेरो पहुँच पुगेपछि
एक-एक गरेर कैद गरेको छु :
ईष्ट मित्र
छर छिमेक
घर परिवार
र चिनारू अनुहारहरू
यही मोवाईलको किरिङ मिरिङ तार
र तरङ्गहरुको पछिल्लो ब्रम्हाण्डमा
अफसोच् !
फुल्दै गरेको आरुको फूल जस्तो माया
अचानक भुईमा खस्यो
मायाको बैना बट्टा पनि त्यतिकै रह्यो
भन्थिन् उनले-
'अहा हामी कति भाग्यमानी !
हामी अदेखा आजका मुना-मदन
कसो कसो यही मोवाईलको राजमार्ग भएर जोडिन आईपुग्यौँ ।'
थाहा छैन
खोई कसरी यायावर मायाको राजमार्ग एका एक अबरुद्द हुन पुग्यो ?
खोई कसरी चुँडियो तुईन सम्बन्धको ?
वस् यही मोवाईलको कारण
यतिखेर सबभन्दा नजिकको हृदयको मान्छे
सबभन्दा टाढाको सीमान्तित गोलार्दको एक अचिनारू 'अजनवी' भएको छ
मोवाईलको किप्याडमा थिचेर
डायल गर्दा
रिडायल गर्दा
एकोहोरो तर झिँजो लाग्ने गरी
एउटै वाक्यको मात्र
पुनरावृति भईरहन्छ -
'तपाइँले सम्पर्क गर्न खोज्नु भएको
मोबाईल स्वीच अफ छ !'