19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सम्झना बेथानचोक यात्राको

कविता मणिराज सिंह May 2, 2012, 10:36 am

बेथानचोक

हाम्रा पाइलाहरू

एकपछि अर्को गर्दै

छापिएका छन् बादलको शिरकभित्र

सिमसिमे वर्षात्ले रूझाएर

नयाँ नयाँ आयाम उघार्दै

ढुङ्गा–ढुङ्गामा कोरिएर

बतासझैँ भूगोलको दुर्गम छातीमा

घामजस्तै फुलेर

चित्रमय कोरिँदै

हर्षका चुचुराहरूमा

पसिनामा धारा पुछ्ने

शीतल, शान्त, स्वच्छ

ज्ञानी, मुनिजस्तै

महाभारतकै माउ डाँडो

कुखुराले चल्ला छोपेजस्तै

स–साना डाँडाहरूलाई आफ्नै छायाँमा लुकाउँछ ।

निष्काम, नैसर्गिक, अविनाशी

कामिडाँडा

दुई हत्केला जोडेर

ढ़िडो, गुन्द्रुक र सिस्नुमा

आत्मीय मुस्कान घोलेर

अग्यानिक चियाको तात्तातो घुट्कोसँग

स्वादिलो मालपुवामा चुर्लुम्म डुबेर हाँस्छ

सत्रवर्षे युवतीजस्तै

हजारौँ सपनाहरू सजाएर चञ्चल नयनमा

निर्दोष स्वाभिमानको सुवास फिजाउँदै

न फुर्सदिलो, नहतारिलो समयको बर्को ओढेर

नयाँ नौलो क्यानभासमा

सालिम्बो घाँसजस्तै फैलिएर

मोहक गुराँस भई फक्रन्छ

सम्भावनाका अनन्त मुहान बोकेर

खोला, नाला र हरिया फाँटहरूमा सुसाउँछ

बेथानचोक ।

ढुङ्खर्कको सुन्दर आँगनमा

मायालु सयपत्रीहरू सजाउँदै

स्वागतका जोडी परेवाहरु उडाउँदै

सम्बन्धका नयाँ–नयाँ साँघु कोर्दै

वेदनाका राप लुकाएर

चिटिक्कको च्याल्टीबजारमा

आत्मविकासको सुन्दर प्राङ्गण

कविताको राग घन्काउँछ

महाभारतकै माउ चुचुरो

बेथानचोक ।

बेथानचोक,

इमान जमानको स्तम्भ

पौरख र स्वाभिमानको दुर्ग

विचार, र शिल्प

अनि, घाम–पानीको इन्द्रेणी लर्को

कृष्णगोपालको भब्य स्वागतमा फुर्किएर

हृदयको तोतेबोलीमा

चञ्चल लच्छु र रज्जुहरू

सुन्दर हरफहरूमा लफ्रक्कै भिज्छन्

कमरेड ताराका स्वप्निल इच्छाहरू

कुटो कोदालोसँग झ्याङ्गिएर

कपेरडाँडालाई मुटुमा साँचेर

बाँझो मनको डल्ला फुटाल्न

बाक्लो हुस्सुभित्र चियाउदै

सल्लाका पत्करहरू पन्छाउछे

सम्पूर्ण शक्ति लगाएर

छिनो र घन बोकेर

तन, मन र त्यो सौन्दर्यमय मुस्कानमा

जीवनसँग लय उचाल्दै

रजत–रश्मि शिखरहरूमा

पवित्रता छरिरहेछन् सुन्दर, शालीन

बादलु बर्को र कुहिरोको ओडारमा

छाती चिरेर आफ्नै नङ्ग्राले

चहकिला किरणसँग

उज्यालो लेखिरहेछन्

निश्छ्ल गुँड बुनिरहेछन्

जाही, जुही र लालुपातेका संवेदना सहित

दिगु, पलपल, नरेन्द,्र ओझल, सुरेश

उज्वल सम्भावनाका हातेमालो गर्दै

गतिशील पहाड बोकेर मुटुमा

हावा, पानी र माटोसित

कालोको विरुद्ध छ्याल्ल–ब्याल्ल पोखिएर

बिजुलीझैँ चम्कन्छन्

बादलझैँ गर्जन्छन्

तुफानझै हँल्लन्छन्

सरस्वती, पार्वतीजस्ता ज्ञान मन्दिरहरूको

सपनाको सुन्दर नगर ढुंखर्क

यात्राको आमन्त्रण बोकेर भावनामा

प्रस्थानको स्वधन साँचेर उत्थानमा

मधुर सुवास छरेर वाणीमा

प्रकृतिको काखमा कुरिरहेकी छिन्

मायाको खास्टो ओढेर

महाभारतको माउ डाँडो बेथानचोक ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।