14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

‘जीवन काँडा कि फूल'मा देखिने जीवनप्रतिको प्रबल आस्था

कृति/समीक्षा डा. विष्णुप्रसाद पौडेल May 5, 2012, 1:02 am
डा. विष्णुप्रसाद पौडेल
डा. विष्णुप्रसाद पौडेल

सार

२०६७ सालको मदन पुरस्कार पाएको झमक घिमिरेको ‘जीवन काँडा कि फुल’ कृति लेखकको आत्म कथामा आधारित छ । घिमिरे जन्मतः शारीरिक रूपमा पुरैजसो अशक्त नारी थिइन् । विपन्न र ग्रामीण परिवेशकी अशक्त नारी यिनले परिवार र समाजको सारै साँघुरो सोचका कारण सीमातीत हण्डर र हविगत व्यहोर्नु परेकोे थियो । त्यस्तो कहरपूर्ण अवस्थामा पनि यिनमा समाज र जीवनप्रति गहिरो आस्था रह्यो । जीवनलाई यिनले तिखा काँडाहरू बिच फुल्ने फुलका रूपमा लिएकी छन् । यिनै कुराहरूलाई यस कृतिमा सरल र प्रवाहपूर्ण भाषाका माध्यमले प्रकट गरिएको छ ।

१. विषय प्रवेश

झमक घिमिरे (२०३७) सामान्य मान्छेको भन्दा शारीरिक रूपमा धेरै अशक्त नारी हुन् । यिनले चिकित्सा विज्ञान अनुसार प्रतिमस्तिष्कीय पक्षघात ९अभचभदचब िउबकिथ(अउ० व्यहोेरेकी छन् । विदेशी डाक्टरकै भनाइमा यिनको शरीर सञ्चालन गर्ने दिमाग अवरुद्ध भएको छ अर्थात् मस्तिष्क पक्षघात भएको छ । त्यसको उपचार यस संसारमा छैन (पृ.७७) । सोही कारण देख्न, सुन्न, स्पर्श गर्न, कुरो बुझ्न सक्ने भए पनि बोल्न, अरूले झैं हिँडडुल गर्न, हातको काम गर्न सक्दिनन् । यिनलाई दिशा, पिसाब, नुहाइ, धुवाइ गराइ दिनु र खाना खुवाइ दिनु पर्ने हुन्छ । लेख्न भने यिनकोे आफ्ना देब्रे खुट्टाका बुढी, चोर र साहिँली औँलाका सहायताले लेख्छिन् । मस्तिष्कीय पक्षघात व्यहोरेकी यिनले जे जति शारीरिक काम गर्छिन् त्यो पनि चिकित्सकहरूका लागि एउटा आश्चर्यको विषय बनेको बुझिन्छ । यिनको अदम्य आत्मबलले नै त्यो सम्भव भएको चिकित्सा विशेषज्ञ ठान्दछन् (पृ.७८) ।

नेपाली समाजमा यस्तो शारीरिक दुर्बलतालाई पूर्वजन्मको पाप ठान्ने अन्ध विश्वास एकातिर छ भने अर्कोतिर पुरुष प्रधान यस समाजमा नारीप्रतिको अपहेलित दृष्टिकोण पनि उत्तिकै छ । यो स्थिति सहरी सचेत र सम्पन्न परिवारमा भन्दा ग्रामीण अन्ध विश्वासी विपन्न परिवारमा अझ चर्को रूपमा रहेको छ । झमक घिमिरे यस्तै परिवेशकी शारीरिक रूपमा अशक्त नारी हुन् । यिनले व्यहोरेका त्यस्ता व्यथामय कथाहरूको शृङ्खला जसमा यिनको सङ्घर्षको इतिहास र जीवनप्रतिको अथाह आस्था अभिव्यक्त भएको छ – त्यसैको अभिव्यक्ति यस कृतिमा क्रमशः प्रस्तुत गरिएको छ । त्यसैले यो कृति झमककै व्यक्ति जीवनको विषय वस्तुमा आधारित छ । यसमा झमकले जन्मदेखि २०६५ सालसम्म देखे भोगेका पीडा, व्यथा, सन्त्रास, अत्यास, जीवनका आकाङ्क्षा आफ्नो घरेलु र राष्ट्रिय जीवनको विशेषतः नकारात्मक परिस्थिति बयान गरेकी छन् । यस्तै आफ्नो संस्कृति, सामाजिक मूल्य मान्यता, ग्रामीण समाजको सोच र कतिपय पढे लेखेका मानिसहरूको कर्ममा पनि पाइने अशक्त मानिसप्रतिको नकारात्मक मनोवृत्ति जस्ता कुरा यहाँ प्रस्तुत गरिएको छ । यस्तो परिस्थितिसँग पनि जीवन मोहका कारण दृढ आत्मबलका साथ संयमित बनेर निरन्तर आपूm जुद्धै आएको, आपूmभित्र निस्सासिएका भावव्यक्त गर्न पाएको, त्यसले नै आफ्नो परिचय विस्तार हुँदै गएको, पीडैपीडाको जीवनले केही काँचुली फेर्न थालेको जस्ता कुराहरू पनि यसमा प्रस्तुत गरिएको छ ।

किशोर उमेरमै साहित्य लेखनमा सक्रिय घिमिरेले २०५५ सालमा पहिलो पुस्तकाकारको कृति ‘सङ्कल्प’ कविता सङ्ग्रह प्रकाशित गरेकी हुन् । त्यसपछि यिनका तिन वटा कविता सङ्ग्रह (आफ्नै चिता अग्निशिखातिर–२०५७, मान्छे भित्रका योद्धाहरू–२०५७ र नौलो प्रतिबिम्ब–२०६५), एउटा क्वाँटी (विभिन्न विधा) सङ्ग्रह (अवसान पछिको आगमन–२०५७), एउटा लेख सङ्ग्रह (सम्झनाका बाछिटाहरू–२०५७), एउटा कथा सङ्ग्रह (पर्दा, समय र मान्छेहरू–२०६२) र एउटा निबन्ध सङ्ग्रह (बेमौसमका आस्थाहरू–२०६३) प्रकाशित गरी सकेपछि प्रस्तुत कृति आएको छ । फुटकर रचनाहरूमै अभ्यस्त घिमिरेले यस कृतिमा पनि आफ्नो कथालाई छोटा छोटा ४७ वटा निबन्ध वा लेखका रूपमा प्रस्तुत गरेकी छन् । यस्तो विभाजन सहितको प्रस्तुतिले पाठकलाई बिच बिचमा विश्राम र फरक फरक प्रसङ्गको बोधमा राम्रै सहयोग पु¥याएको छ । विधागत दृष्टिले हेर्दा यो आत्मकथा नै हो तर यसमा व्यक्ति वृत्तान्तको एकोहोरो कथन नभई व्यक्तिले देखे व्यहोरेका विभिन्न परिस्थिति र तिनले उत्पन्न गराएको अनुभूति, विचार, आलोचनात्मक दृष्टि वा कथ्य सन्दर्भ पनि राम्रैसँग मुखरित छ । यसले सबै ढुङ्गा उस्तै हुँदैनन् कतिपय शालिग्राम पनि हुन्छन् भन्ने भावलाई वा झमकको अन्तर जीवनको सबलतालाई धेरै हदसम्म खुलस्त पारेको छ ।

२. विषय विस्तार

प्रस्तुत कृतिमा देखिने मूल स्वर भनेको जीवनप्रतिको प्रबल आस्था नै हो । तर यस स्वरलाई सशक्त बनाएर अभिव्यक्त गर्ने अन्य प्रशस्त सहयोगी स्वरहरू यहाँ देखिएका छन् । तिनलाई निम्न बुँदामा समेटेर प्रस्तुत गर्न सकिन्छ ।

२.१ शारीरिक अशक्तता

संसारमा शारीरिक र मानसिक रूपमा स्वस्थ वा सामान्य मानिसहरू मात्रै नभई केही अस्वस्थ वा अशक्त वा असामान्य मानिसहरू पनि हुन्छन् । तिनलाई लुला, लङ्गडा, अन्धा, बहिरा, लाटा र सुस्त मनस्थिति वा कुँजा वा असामान्य मानिस पनि भनिन्छ । आपूmलाई स्वस्थ र सामान्य ठान्नेहरूले अशक्त र असामान्यलाई अपहेलित गर्ने प्रचलन पूर्वीय तथा पश्चिमी दुबै समाजमा प्राचीन कालबाट चल्दै आएको छ । यस्ता मानिसलाई दैवी श्राप÷पूर्वजन्मको पापका रूपमा लिने प्रचलन पनि देखिन्छ । ग्रीक नाटकहरूमै पनि लाटा बहिराहरूलाई तार्किक क्षमता नभएका, हास्य पात्रका रूपमा प्रयोग गरिएको छ । होचा पुड्काहरूलाई चलचित्र र सर्कसहरूमा दर्शकहरूलाई हँसाउनका निम्ति प्रयोग गर्ने प्रचलन अहिले पनि छ । एरिस्टोटलले त आफ्नो ‘पोलिटिक्स’ कृतिमा अपाङ्ग वा अङ्गभङ्ग भएका शिशुहरू कानुनतः समाप्त नै गरिनु पर्ने राय राखेका थिए । अन्धा, मानसिक वा कुनै रूपले अपाङ्ग शिशुलाई जङ्गल, मरुभूमि, नदी (युरोटस नदी), पहाडका खोँच (टेगेटस नामक पहाडी खोँच) जस्ता ठाउँमा लगेर फ्याक्ने प्रचलन पनि थियो । रोममा बाँचिहाले त्यस्ता केटालाई भीख माग्न लगाउने केटीलाई वेश्यावृत्तिमा लगाउने प्रचलन पनि थियो । मध्य युगमा पनि बहिरा, लाटा, पागल वा अन्धा नारीहरू सैतानद्वारा सञ्चालित हुन्छन् वा ती बोक्सी हुन्छन् भन्ने जस्ता गलत सोच थिए (उप्रेती, २०६८ ः २६२) । पूर्वमा पनि श्रापित अष्टवक्रको स्वरूपले अपाङ्गता दैवी श्राप हो भन्ने कुराकै पुष्टि गरेको छ । पूर्वमा प्राणी हिंसा पाप नै ठानिएको हुँदा कमसेकम लुला, लङ्गडा जन्मे पनि आफ्नै यस्ता सन्तानलाई मार्न हुन्न भन्ने परम्परित सोच रहेको छ । यो सोच सकारात्मक भए पनि जन्माएर त्यसलाई जीवनभर पल पल मारि रहने प्रवृत्ति हाम्रो समाजको जुन छ सोही पीडा कथन झमकले यहाँ बारम्बार ठाउँ ठाउँमा गरेकी छन् । आफ्नै छरछिमेक, इष्टमित्रहरूले बेलाबेलामा लगाएका वचन र गरेका क्रूरतर व्यवहार निकै मन छुने किसिमले यहाँ प्रस्तुत गरिएको छ । आपूmप्रति गरिएको अनुभूतिशून्य, अपनत्वशून्य, मानवताशून्य व्यवहारले बारम्बार मन कुडाएर बाँच्नु परेको व्यथा कथन यहाँ धेरैतिर छ । जस्तै –“सबैको आँखामा म देउताबाट श्रापित मान्छे थिए, किनभने पूर्वजन्मको पापको फल यस जन्ममा पाएकी थिएँ । म मान्छेको जन्म जन्मान्तर हुन्छ भन्ने संस्कृति भएको समाजमा जन्मेकी थिएँ । त्यसैले सबैको आँखामा म बिझाउने काँडो थिएँ ।”(पृ.३४) “यसै कारण म यति असमान र तल्लो स्तरको जीवन बाँचे जुन जीवन पशुले मात्र बाँच्थ्यो होला” (पृ.३५) । समाजमा आपूmलाई बाँचेको भन्दा मरेको देख्न चाहनेहरू मात्रै थिएँ । आफ्नै पिताले पनि दशैंको टीकामा आशीर्वाद दिंदा कमसेकम हामीभन्दा बढी नबाचेस् । त्यसपछि कसले सिहार्छ भनेका थिए (पृ.५९) “हाम्रो घरमा आउने सबै मान्छे मेरो मृत्यु माग्थे ।” (पृ.५५) मेरो एकमात्र समाधान उनीहरू मृत्यु देख्थे भन्दै त्यसप्रति चर्को विमति र आक्रोश पनि झमकले यहाँ प्रस्तुत गरेको पाइन्छ । जस्तै–

“मान्छेको मृत्युमात्र सबै थोकको समाधान हो त ?” (पृ.५५) बाबुको आसिक थाप्न बस्दा भनिएका कुरालाई मैले “के ठाँनु आर्शीवाद या श्राप ?” (पृ.५९), “धिक्कार छ यो समाजका संस्कारका धमिराले खाइ सकेका दिमागलाई जुन दिमागले मानव जीवनका विविध पाटाहरूलाई खोतल्नुको साटो भर्खर फक्रन लागेकी कोपिलाको मृत्युको कामना गरे थे, त्यो पनि हिन्दूहरूको महान् चाड बडादशैँमा ।” (पृ.५९)

झमक यहाँ व्यक्ति झमक नभई अब अशक्त, अपाङ्ग वा असामान्य वर्गको प्रतिनिधि भएर बोल्दैछन् । त्यस्तै आफ्ना पिताको आपूmप्रतिको मृत्युको चाहनालाई नेपाली संस्कृतिका नकारात्मक उपजका रूपमा लिइ रहेकी छन् । आपूmले कसैको सहयोग नपाइकन आफ्नै एकोहोरो लगावले लेख्न पढ्न खोज्नु, किताब कापी चाहनु, जिज्ञासु हुनु, पुस्तकको माग गर्नु, भोकले भाउन्निएर बासी भात झिकेर खानु जस्ता काम पनि परिवारका लागि विशेषतः पिताका लागि अपराध नै लाग्नुले झमकको मन नराम्ररी कुँडिएको छ र भनेकी छन्–

स्वयम् आफ्ना भनिनेहरूको लागि पनि यस्तो दयाको पात्र भएँ म, जसले बिहान बेलुकाको भात सित्तैमा खाइ दिन्थ्यो, जसले जस्ता भए पनि एक सरो लुगा लगाइ दिन्थ्यो । न गरी खानु, न मरी जानुको जिन्दगी बाँचेँ । हुन पनि हो म मान्छेको जिन्दगी पाएर पनि न त गरी खान सक्थेँ न त मरेर जान सक्थेँ । (पृ.९३)

बाबुसँग कलम कपी माग्दा, शरीर बढेर लुगा छोटो भयो यो लाउदिन भन्दा, आफ्नै पैसाले समको ‘स्वास्नी मान्छे’ नाटक मगाएर पढ्दा वा सामान्य चाहना व्यक्त गर्दा पनि बाबुले टोक्ने मात्रै नभई पशुलाई झै लठ्ठीले पिट्ने (पृ.६७, ९३, १११, १२३, १३० आदि) जस्ता व्यवहारबाट यदा कदा झमकमा जीवनप्रति नै अनास्था र मृत्यु चेतना पनि सलबलाएको पाइन्छ । भनेकी पनि छन्–

मलाई जिन्दगीसँग जुधेर बाँच्न कहिल्यै सिकाइएन, जिन्दगीसँग भागेर पलायन हुने कुरा मात्र सिकाइयो । कहिले काही त लाग्ने गथ्र्यो सबैको लागि धेरै बढी भएकी वस्तु म गर्भैमा तुहिन किन सकिनँ । आमाले जन्मिना साथ घाँटी किचेर मारि दिएका भए कति आनन्द हुन्थ्यो ” (पृ.१०४)

तर यस्तो भाव धेरै समय टिकेको छैन । समाजका गलत परम्परा र संस्कृति कै उपजका रूप त्यस्तो व्यवहार आपूmले पाएको ठानेकी छन् । उनको स्पष्ट भनाइ छ – “हाम्रा संस्कृतिमा यस्ता अन्यायपूर्ण परम्परा छन् जसले उपेक्षित वर्गप्रति कुनै सहानुभूति राख्दैनन् ।” (पृ.८२) त्यस्तै संसारमा शारीरिक अशक्त भए पनि होमर, निकोलाई अस्त्रोवस्की, हेलेन कलेर, अंग्रेजी कवि लर्ड वाइरन आदिले पनि आपूm हुनुको फरक अस्तित्व छाडेरै गएका छन् । म पनि त त्यही परम्पराकी एक सदस्य हुन सक्छु भन्ने आत्मबल यिनमा पलाउँदै गएको छ । अझ आफ्नो लागि मात्रै नभई संसारले बेवास्ता गरेका मान्छेहरूका लागि भए पनि बाच्नु पर्छ भन्ने भाव यिनमा देखिएको छ (पृ.८२) । त्यसैले त आफ्नाहरूका तर्फबाट भनेकी छन् –

— दुर्बलहरूभित्र पनि त मन हुन्छ । उनीहरूभित्र पनि उत्सुकता र जिज्ञासाहरू हुन्छन् । उनीहरूसँग पनि बाँच्ने इच्छा हुन्छ । त्यसमाथि धावा बोल्दै कसैले मृत्युको माग गर्छ भने त्यो भन्दा निर्दयी मान्छे को ? (पृ.५५)

— यहाँ सबै मानिसलाई समान अधिकार छ भने यो दुनियाँको भागमा खोइ कति अधिकार प¥यो या दयाको घोल मात्र प¥यो ? यहाँनेर सबै सचेत मनहरूले सोच्नु पर्ने बेला आएको छ । (पृ.५९)

— हामी दयाका भोका पटक्कै छैनौ । तर किन दयाका थुकका छिट्टाहरू हामी माथि पारिन्छ ? (पृ.६०)

— हाम्रा अगाडि पर्खालै पर्खाल ठिङ्ग उभिएका छन् । यी पर्खाल भत्काएर कहिले हामीले मान्छेको जिन्दगी बाँच्न पाउने ? प्रश्न छ यो युगलाई र युगको मान्छेहरूलाई । (पृ.६०)

माथिका कथनहरूले निश्चय नै पछिल्लो समयमा पश्चिममा देखिएको अशक्त, अपाङ्ग वा असामान्यहरूको चर्को स्वर वा फरक क्षमताको अध्ययनको सन्दर्भलाई समेत मुखरित गरेका छन् । स्रष्टा स्वयं शारीरिक रूपमा अशक्त भएर कथिएका आत्मपीडाबाट यस्ता पक्ष झन् विश्वसनीय र मार्मिक बनेका छन् ।

२.२ नारी हुनुको पीडा

पुरुष प्रधान समाजमा नारी भएर जन्मनुका आफ्नै किसिमका पीडा छन् । नारीवादी चिन्तक र सर्जकहरूले यस पक्षलाई विशेष महत्त्वका साथ प्रस्तुत गर्दै आएका छन् । यहाँ पनि समाजले नारीप्रति गर्ने हेलत्वको भावना ठाउँ ठाउँमा प्रसङ्गवश प्रस्तुत गरिएको छ । आफ्नै हजुर आमा दुई दुई वटी छोरी पाएकी बुहारी वा आफ्नी आमासँग कहिल्यै राम्रोसँग नबोल्ने भए पनि आमाले भाइ पाइ दिंदा मासु भात पकाएर खुवाउन तम्सिने (पृ.३९), नारीले नै आफ्नो गर्भमा छोरी छ भन्ने थाहा पाए गर्भ पतन गराउने (पृ.३८), छोरीलाई अर्काको घर जाने प्राणी ठान्ने, उसले कमाएर ल्याए पनि त्यो लिनु हुन्न भन्ने ठान्ने, उसलाई परिवारको अभिन्न सदस्य नठान्ने जुन प्रवृत्ति छ त्यसप्रति पनि यहाँ गुनासो र आक्रोशको स्वर छ । जस्तै

हाम्रा लागि आकाश समान छैन, धरती समान छैन, हामी जसको कोखबाट बाहिर निस्कन्छौं त्यो केवल हामीलाई तँ स्त्री जाति भनेर घृणा गर्छ, हामी जहाँ जन्मिन्छौं, हुर्किन्छौँ, बढ्छौँ त्यहीँ आँगन, त्यही धरतीको एक अंश हाम्रो हुँदैन । हामी जुन कुल वंशका हौँ, त्यो कुल वंशका हुँदैनौँ । मान्छे भएर पनि मान्छे होइनौँ, म त्यही समानान्तर आकाश र समानान्तर धरती चाहने व्यक्ति, समानान्तर दृष्टिकोण खोज्ने व्यक्ति त्यो मैले कहिल्यै पाइँन । (पृ.२२७)

नारी हुनुको पीडा त छ नै । त्यस बाहेक अपाङ्ग वा शारीरिक रूपमा अशक्त नारीका समस्याहरू यो समाजमा अझै चर्का छन् । यस्ता सामाजिक प्रताडनहरूलाई यहाँ ‘ऋतु धर्म र बैस’ शीर्षक र अन्य विभिन्न प्रसङ्गमा प्रस्तुत गरिएको छ । त्यस्तो अशक्त शारीरिक अवस्थाकी भए पनि बाबुका जड्याहा साथीहरू, घर बनाउन आएका मानिसहरू र सङ्कटकालका सुरक्षाकर्मीहरूले झमकसँग गरेको उत्ताउलो तथा घिन लाग्दो व्यवहारले पनि यहाँको कुरूप सामाजिक संस्कार र चरित्रलाई नङ्ग्याएका छन् ।

२.३ विपन्नता

हुलाकका सामान्य कर्मचारीकी छोरी झमकको पारिवारिक आर्थिक पृष्टभूमि निम्न मध्यम वर्गीय देखिन्छ । विपन्नताकै कारण पनि झमकले आपूmले चाहेका सामान्य कुरा कलम, कापी, शरीर राम्ररी ढाक्ने कपडा, पेट भर्ने चारो, पढ्ने सिक्ने लालसा पनि पुरा हुन सकेका छैनन् । त्यसैमा अभिभावकको चर्को आक्रोेश र लठ्ठी समेत खानु परेको छ । ल्पास्टिकका बोराको सुरबाल सिलाएर लगाउने, त्यसले जाडोमा चिसो र गर्मीमा पोलेर हैरान पार्ने, त्यो पनि घिर्सिदै हिंड्दा छिटै फाटेर लाज नढाकिने, कपडाकै अभावमा दिन भन्दा रात रमाइलो मान्नु पर्ने, भोकले रन्थनिएर बासी भात झिकेर खाँदा अभिभावकहरूबाट बाघ झम्टाइ बेहोर्नु पर्ने जस्ता दारुण अवस्थाहरू झमकको जीवनमा देखिएका छन् ।

२.४ शासकको सङ्कीर्णता

झमक बाल्यकालबाटै शारीरिक रूपमा अशक्त भए पनि आफ्नो बनेको सोच ÷ धारणाप्रति बढी दृढ देखिन्छिन् । पछि भने यिनले अध्ययनद्वारा आफ्नो धारणालाई तार्किक तुल्याउँदै लगेको पाइन्छ । यही क्रममा जेठो छोरा भएर जन्मेकै कारण शासन सत्ताको उत्तराधिकारी हुने राजतन्त्रप्रति यिनको सम्मति नरहेका कारण राजतन्त्र यिनका पक्षमा नरहेको, राजा वीरेन्द्रले दिने भनी घोषणा गरेको गोरखा दक्षिणबाहु चौथा पदक पनि बेलैमा नदिइएको, शेर बहादुर देउवाको पालामा दिइएको मासिक एक हजार वृत्ति पनि राजा ज्ञानेन्द्रका पालामा काटिएको, सङ्कट कालमा राजतन्त्रको विरोधमा लेखेको भनि शासकले धेरै दुख दिएका जस्ता शासकका सङ्कीर्णता वा दुच्छर व्यवहार यहाँ प्रस्तुत गरिएको छ । यसबाट पनि झमकको जीवनमा अरू जटिलता नै थपिएको देखिन्छ ।

२.५ वैचारिक पूर्वाग्रह

विभिन्न पार्टीसँग सम्बन्धित मानिसहरूले आफ्नो पक्षधर बनेर लेखि दियोस् भन्ने आग्रह राखे पनि आपूm कुनै एक पार्टीसँग सम्बन्धित नरही स्वतन्त्र रूपमा प्रस्तुत हुँदा कतिपयले पूर्वाग्रही भई आफ्नो आलोचना र गलत भ्रम सिर्जन गर्ने काम गरेका हुँदा तीप्रति झमकले यस कृतिमा गुनासो पनि गरेकी छन् । त्यस्तै पढे लेखेका मानिस भए पनि अरूको शारीरिक अशक्ततालाई आधार तुल्याई आलोचना गर्ने, मानवीयतालाई बिर्सने प्रवृत्तिप्रति पनि यहाँ ठाउँ ठाउँमा गुनासा र आक्रोश पाइन्छन् ।

परम्परित साँघुरो मूल्य मान्यतामा जकडिएको पितृ सत्तात्मक नेपाली समाजमा नारी भएर जन्मनु नै एउटा अभिशाप जस्तो छ भने त्यसमाथि पुरैजसो शारीरिक अशक्तता, विपन्नता, शासकीय सङ्कीर्णता, वैचारिक पूर्वाग्रह जस्ता अनेक परिस्थितिले झमकको जीवन अत्यन्त जटिल र त्रासद तुल्याए पनि यिनमा जीवनप्रति प्रबल आस्था प्रकट भएको छ । जस्तै– “मैले जति धेरै आँसु बगाएँ, पीडा भोगे पनि मलाई बाँच्न सुन्दर लाग्यो” (पृ.२२८) । हुन त मर्नभन्दा बाँच्न साह्रै कष्ट छ (पृ.२२८) तर “मेरो बाँच्ने आस्था कहिल्यै ढलेन गलेन ।” (पृ.२२८) आफ्नो शरीर अरू स्वस्थहरूको जस्तो नहुनुमा आफ्नो के दोष छ र ? (पृ.३४) जे जस्तो भए पनि म आपूmलाई सुन्दरै देख्छु । बाह्य सौन्दर्य त गौण कुरा हो । खास सौन्दर्य त भित्री हुन्छ । समाज त्यसलाई बुझ्दैन वा बुझेर पनि लाज पचाउछ । मान्छे वस्तु होइन । मान्छेमा त “मन,मुटु र हृदय हुन्छ” (पृ.८१) । उसका हेराइ राम्रा छन् भने सबै राम्रो देखिन्छ । “मैले कहिल्यै आपूmलाई कुरूप देखिनँ ।” (पृ.१२२) जसरी फुल काँडाहरूको बिचमा मन मोहक भएर फुल्छ त्यसरी नै जीवन पनि दुखहरूका बिचमा मन मोहक बनेर फुल्छ (पृ.२४८) भन्ने झमकको निष्कर्षात्मक कथन छ ।

जीवनप्रतिको अटल आस्थाकै कारण यहाँ कला साहित्यप्रतिको अनुराग, हत्या हिंसाप्रतिको नकार, अन्याय अत्याचारप्रतिको विरोध, सत्यन्यायप्रतिको प्रतिबद्धता, प्रजातन्त्र, समानता र स्वतन्त्रताको चाहना वा व्यापक स्वतन्त्रताको अपेक्षा, स्वतन्त्रताका नाममा हुने अराजकताको विरोध, विश्व मानवतावाद, आत्म निर्भरताको अपेक्षा, हरेक क्षेत्रमा सकारात्मक सोच, युग सापेक्ष सिर्जना गर्ने अठोट जस्ता कुराहरू पनि प्रसङ्गवश प्रस्तुत गरिएको छ । कृतिका निम्न कथनहरूले सोही कुराको पुष्टि गर्दछन् ।

— “सिर्जनाले रोएको बेला हाँस्न सिकाउनु पर्छ, निराश बनेको मान्छेलाई आशा दिएर ज्युन सिकाउनु पर्छ ।” (पृ.१८४) (दरबार हत्याकाण्डपछि शोक विव्हल स्रष्टाहरूको पलायन मुखी शोकमय धेरै रचनाका सन्दर्भमा )

— “म जीवनलाई साहित्यमा जोड्न चाहन्थे, विचारलाई साहित्यमा उतार्न चाहन्थे ।”(पृ.२०१) (साहित्य विचार शून्य ऐयासी वस्तु होइन भन्ने सन्दर्भमा)

— “शरीर अपाङ्ग हुँदैमा विचार, विवेक र भावना अपाङ्ग थिएन ।”(पृ.१६३) “उनीहरू जे देख्थे त्यो म थिइनँ ।”(पृ.१६३) (अपाङ्ग नाथेले के लेख्छन् भनेर हेप्नेहरूप्रतिको स्पष्टीकरणको सन्दर्भमा)

— “म शब्दले मात्र होइन, रङ्गहरूले पनि नियाल्छु संसारलाई ।”(पृ.२०३) (कलाकार पनि हुँ भन्ने सन्दर्भमा)

— “विचार दिन शब्दले गाह्रो भइ रहेको बेला रङ्गले व्यक्त गर्न कति सजिलो ।”(पृ.२०२) (सङ्कट कालकोे साहित्य लेखनको बन्देज कलाको अमूूर्ततामा त्यति लागू हुन नसकेको भन्ने सन्दर्भमा)

— “सिर्जनाकारहरूले सुखमा पनि गर्भ बोक्छन्, दुखमा (पनि) गर्भ बोक्छन् ।”(पृ.२४२) (सर्जकहरूका लागि सबै विषय आवश्यक हुन्छ भन्ने सन्दर्भमा)

— “म स्रष्टा भएर कुनै पनि क्रूर, पाशविक कामलाई पटक्कै समर्थन गर्न सक्तिनँ । न त सेतोलाई कालो भन्न सक्तछु न त कालोलाई सेतो देखेको स्वाङ् रच्न सक्छु । मानवता, शान्ति, स्वतन्त्रता र प्रजातन्त्र नै मेरो लेखनको मूल अभीष्ट थियो ।” (पृ.२४३) (द्वन्द्व कालीन शासक र विद्रोही दुवैका कू्ररताको विरोधको सन्दर्भमा)

— “मैले सबै खालका बर्बरता विरुद्ध मानव मसाल बोकेकी थिएँ, अन्याय र अत्याचारको विरुद्धमा न्यायको मसाल बोकेकी थिएँ ।” (पृ.२३१) (आपूm व्यक्ति, समुदाय र वर्ग विशेषको पक्षधर नभई सबैका गलत प्रवृत्तिको विरोधी सबैका सही कर्मको समर्थक हुँ भन्ने सन्दर्भमा)

— “म सधै मानव धर्मको जगमा उभिरहेँ ।”(पृ.१७४) अरूको धार्मिक स्वतन्त्रतामा मैले कुनै दखल दिइन ।” (पृ.१७१) (आपूm सबैको धार्मिक स्वतन्त्रताको पक्षधर भए पनि कुनै परम्परित धर्ममा नलागी मानव हितमा लाग्छु भन्ने सन्दर्भमा)

— “संसारलाई सुन्दर आँखाले हेर्दा यहाँका प्रत्येक चिज सुन्दर देखिँदा रहेछन् ।”(पृृ.१४२) (सुन्दरता वस्तुमा नभई दृष्टिमा हुन्छ भन्ने सन्दर्भमा)

— “मैले कुनै पार्टीको झण्डामुनि बसेर आपूmलाई सञ्चालन गर्न चाहिँन किनभने मलाई त्यो परिधि सानो र साँघुरो हुन्थ्यो ।” (पृ.१८१) (स्रष्टा पार्टीको सीमित दायरामा खुम्चिन चाहन्न भन्ने सन्दर्भमा)

— “म जातका आधारमा बनेको ठूलो र सानो, छुत र अछुतको पर्खाल जरैदेखि भत्काउन चाहन्थेँ ।” (पृ.१२७–२८) (हजुर आमाले अपनाएको जातीय छुवाछुतको भावनाका विरोधका सन्दर्भमा)

— “अन्ध विश्वासी समाजले मलाई कहिल्यै सकारात्मक दृष्टिले नहेरे पनि मैले आपूmलाई सधैँ सकारात्मक दृृृृष्टिले हेरेँ ।” (पृ.१६४) “समाजको दृष्टि अपाङ्ग कि म ?” (पृ.१६५) (समाजको साँघुरो सोचप्रति व्यङ्ग्य गर्ने सन्दर्भमा)

— “होे एउटी महिला, सबै अर्थमा स्वतन्त्र हुन आर्थिक रूपमा आत्मनिर्भर हुन आवश्यक छ । यो जिन्दगीले सिकाएको कुरा हो मलाई ।” (पृ.१७५)

— “कलम आफैमा स्वतन्त्र हुन्छ, स्रष्टा आफैमा स्वतन्त्र हुन्छ ।” (पृ.१७७)

— “मैले स्वतन्त्रता र स्वच्छन्दताको चाहना सधै गरिरहेँ तर नाङ्गो र अराजक पाराको स्वतन्त्रता र स्वच्छन्दताको चाहना कहिल्यै गरिनँ ।”(पृ.१७७)

— “म ......... जुनसुकै भूगोलमा रहुँ मलाई त्यो ठाउँले आत्मीयताको व्यवहार गरेन भने त्यो भूगोललाई आफ्नो भन्न सक्तिनँ ।” (पृ.२१८)

— “कसैको तरिका मलाई सापटी लिएर बाँच्नु थिएन, म मेरै शैलीमा बाँच्न खोजे र नै जिन्दगीमा धेरै रोएँ । तर सम्झौता कसैसँग गरिन ।” (पृ.२२८) (स्वाभिमान गुमाएर बाँचिन, मैले यसका लागि धेरै मूल्य चुकाएँ भन्ने सन्दर्भमा)

— “मलाई अब एउटै कुराको चिन्ता छ युगले अपेक्षा गरे अनुसार मैले सिर्जनाका पूmल फुलाउन सक्ने हुँ कि होइन ? मलाई गिज्याएर मृत्यु नहाँसोस् । त्यो पनि असमयमै नआओस् किनभने समयलाई मैले अझै धेरै कुरो दिनु छ । ”(पृ.२४९)

निश्चय नै माथिका कथनहरूले झमकको जीवनप्रतिको गहिरो अनुरागलाई मात्रै देखाएका छैनन् समाज र जीवनप्रतिको सकारात्मक सोचलाई पनि देखाएका छन् । कला जीवनका लागि भन्ने सोचले नै यिनले आफ्नो सिर्जना प्रक्षेपण गर्न चाहेको बुझिन्छ । समाजका अव्यवस्था, असङ्गति र अराजकताप्रति यिनको दृढ चाहना पनि पाइन्छ । त्यस्तै आफ्नो व्यक्ति जीवन र कला साहित्य सिर्जनामा पूर्ण स्वतन्त्रताको वकालत पनि निकै सबल ढङ्गमा गरेको पाइन्छ । यस पक्षमा यिनको दृष्टिकोण विश्वेश्वर प्रसाद कोइरालाको एकदमै निकट पनि देखिन्छ (अधिकारी, २०५८ ः ६३, कोइराला, २०५४ ः २९, कोइराला, २०५८ ः १५५ र पौडेल, २०६८ ः १००–१०९) । यस्तै युगको अपेक्षा अनुरूपको सिर्जना गर्नु पर्छ भन्ने यिनको सोच पनि पाइन्छ । हाम्रा सन्दर्भमा यी सबै कुरा एउटा सामान्य अवस्थाको वा आपूmलाई सबलाङ्ग ठान्ने सर्जकका निम्ति पनि उल्लेखनीय मानिन्छन् भने झमकको शारीरिक अशक्तताको पृष्ठभूमिमा आएका तिनले अझ बढी महत्त्व राख्दछन् । सर्जकको शारीरिक, मानसिक, पारिवारिक, सांस्कृतिक र उसको सामाजिक तथा राष्ट्रिय परिवेश निरपेक्ष भएर यस कृतिको मूल्याङ्कन गर्न सकिन्न; गरियो भने पनि सर्जक र कृतिप्रति न्याय हुन्न । त्यसैले सौन्दर्य शास्त्रको सौन्दर्य चेतनाका कोणबाट मात्रै हेर्दा पैलिने कलात्मक न्यूनतालाई यहाँ चर्चाको विषय बनाइएको छैन र पनि त्यसप्रति विशेष चनाखो त सर्जक हुुनै पर्छ । यसको अर्थ कृति सौन्दर्य शास्त्रीय दृष्टिले दुर्बलै छ भन्ने पनि होइन । यसको भाषिक सरलता, ठाउँ ठाउँको कथनको सहज सरसता, अनुभूति प्रवाहको निरन्तरता, विषय सन्दर्भको यर्थाथता, समाज र जीवनको जटिलतम पीडा बिच पनि जीवनप्रतिको आस्था र सकारात्मक सोचले यसमा सौन्दर्यको सञ्चार गरेका छन् । तिनलाई अझ परिष्कृत गर्दै वर्तमान युगबोध सहितको विचार र कलाको घनत्व अबको झमकको सिर्जनामा आउनु पर्दछ । माथिको पछिल्लो उद्धरणमा देखिएको यिनको भावी सिर्जनाप्रतिको चिन्ताबाट पाठक यस कुरामा आशावादी हुने ठाउँ भने राम्रै देखिन्छ ।

१.३ उपसंहार

जन्मतः गम्भीर शारीरिक अशक्तता लिएर जन्मे पनि मानसिक रूपमा भने सामान्य रहेकी झमक घिमिरे नेपाली समाजको सङ्कीर्ण सोचका कारण अत्यन्त प्रताडित भएर बाँच्नु परेको यर्थाथता प्रस्तुत कृतिमा एकातिर रहेको छ भने अर्कातिर जति नै सीमातीत विषम परिस्थितिलाई पनि जीवनप्रतिको गहिरो आस्थाका कारण दृढ इच्छा शक्तिका साथ समन गर्ने प्रवृत्ति पनि यिनमा देखिएको छ । वेदना र समस्याले जीवन खाँदाखाद भयो भनी मृत्यून्मुखी सोच बनाउने हामी जस्ता सबल र स्वस्थ कहलाएका मानिसका लागि झमकको सङ्घर्षपूर्ण उपस्थिति नै एउटा पेचिलो चुनौती बनेको छ । त्यसमाथि यिनका सिर्जना कर्मले त हाम्रो अल्छीपन र आत्मरतिको प्रवृत्तिलाई अझ ज्यादै नराम्ररी भित्तो लगाइ दिएको छ । अझ भनौँ हाम्रो मानव हुँ भन्ने अहंलाई लघु मानवमा साटि दिएको छ । यसलाई सकारात्मक कोणबाट हेर्दा झमकको जीवन सङ्घर्ष र यिनको जीवनप्रतिको गहिरो आस्था अनि त्यसैबाट अभिप्रेरित कुरूप समाजको आलोचना तथा सुरूप समाजको आकाङ्क्षा सबै मानव समुदायका लागि प्रेरणाका दरिला आधार बनेका छन् । त्यसमाथि अपाङ्ग र अशक्त मानव समुदायका निम्ति त ती प्रेरणाका उत्कृष्ट मानक नै भएका छन् । यही भएर मदन पुरस्कारका पूर्व विजेता जगदीश घिमिरेले झमकलाई “प्रेरणाको एक अनुपम शिखर” र यिनको यस रचनालाई “प्रेरक साहित्यको शिखर रचना” का रूपमा उचित मूल्याङ्कन नै गरेको पाइन्छ । विश्व साहित्यमा पछिल्ला एक दुई दशकदेखि विशेष चर्चामा आएको फरक क्षमताको अध्ययनका दृष्टिले पनि प्रस्तुत कृति विशेष महत्त्वको बनेर देखिएको छ । किनभने यो सबलाङ्गले अपाङ्ग र अशक्तहरूका पक्षमा लेखेको नभई अपाङ्ग र अशक्त ठानिएकाले नै उनीहरूकै पक्षमा लेखेको कृति हो । यहाँका अनुभूति र बयानहरू अनुमानित नभई प्रत्यक्ष देखे व्यहोरेका कुरा हुन् । “अचानोको चोट खुुकुरीलाई के थाहा” भन्ने स्थितिबाट यो मुक्त छ किनभने अचानो बनेको जीवनानुभूतिले नै यो भरिएको छ । झमकको जस्तो जीवन नियति व्यहोरेर लेख्नेहरू विश्व साहित्यमै आठ दश जना भन्दा बढी नभएको पनि बुझिन्छ । सबै ढुङ्गा उस्तै नभई कुनै शालीग्राम पनि हुन सक्ने कुरा झमकमै लागु भएको देख्न सकिन्छ । यस्ता सकारात्मक, सबल सामाथ्र्यका कारण नै प्रस्तुत कृतिले २०६७ सालको नेपालको प्रतिष्ठित मदन पुरस्कारद्वारा सम्मानित हुने अवसर पाएको छ र त्यसपछि यस कृति र कृतिकारका बारेमा प्रशस्त चर्चा हुन थालेका छन् । यसले नेपाली सचेत समाज मानवता विरोधी छैन, यो अपाङ्ग र अशक्तहरूकै पक्षमा रहेको छ भन्ने प्रमाणित गरेको छ । यस्ता कुराले झमकलाई आफ्नो अहिलेको सिर्जनात्मकता अझ धेरै परिष्कार गरेर सघन सौन्दर्य र सकारात्मक अन्तर्दृष्टि सहितका गुणस्तरीय रचना रच्न अभिप्रेरित गर्नेछन् । निश्चय नै यिनका हितैषी पाठकको यही अपेक्षा हुनु पर्छ ।

मुख्य सन्दर्भ ग्रन्थ

अधिकारी, शिव, अन्तर्वार्ताकार (२०५८). ‘‘वी.पी. एक व्यक्ति दुई व्यक्तित्व’’, वी.पी. कोइरालाका छरिएका सामग्री. जीवन चन्द्र कोइराला (सङ्कलक÷सम्पादक) दोस्रो सं., काठमाडौं ः मनिका कोइराला, पृ.६१–६५ ।

उप्रेती, सञ्जीव (२०६८). सिद्धान्तका कुरा.काठमाडौ ः अक्षर क्रियसन्स ।

कोइराला, विश्वेश्वर प्रसाद (२०५४). जेल जर्नल. ललित पुर ः जगदम्बा प्रकाशन ।

——————————————— (२०५८ख). ‘‘कला, कलाको दायित्व र मानवीय जीवन’’,वी.पी.कोइरालाका छरिएका सामग्री. जीवन चन्द्र कोइराला (सङ्कलक÷सम्पादक) दोस्रो सं., काठमाडौं ः मनिका कोइराला, पृ.१५३–५६ ।

घिमिरे, जगदीश “प्रेरणाको एक अनुपम शिखरः झमक घिमिरे”

www.samakalinsahitya.com/reloaded.php? Show= detail and art-id=2552

घिमिरे, झमक (२०६८). जीवन काँडा कि पूmल. पाँचौ पुनर्मुद्रण, काठमाडौं ः झमक घिमिरे साहित्य कला प्रतिष्ठान ।

पौडेल, विष्णु प्रसाद (२०६८) “ विश्वेश्वर प्रसाद कोइरालाका प्रमुख साहित्यिक मान्यताहरू” विचार प्रवाह. (प्रजातान्त्रिक विचार समाज, पोखरा), पृ.१०१–११० ।

प्रधान, भिक्टर (२०४४). नेपाली जीवनी र आत्मकथाको सैद्धान्तिक तथा ऐतिहासिक विवेचना. काठमाडौ“ ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।