19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘उपन्यास समालोचनाः प्रवृत्ति र विश्लेषण’

कृति/समीक्षा भूमिराज बस्ताकोटी May 16, 2012, 9:46 pm

१. विषय परिचय

डा. विष्णु प्रसाद पौडेल (२०२१) नेपाली समालोचनाको क्षेत्रमा आप्mनो परिचयलाई स्थापित गराइ सकेको नाम हो । राष्ट्रिय स्तरमा स्थापित साहित्य समालोचनास“ग सन्दर्भित विभिन्न पत्र पत्रिकाहरू तथा अन्य क्षेत्रीय स्तरका विविध पत्र पत्रिकाहरूमा करिब दुई दशकदेखि मूलतः उपन्यास तथा अन्य विधा र उपविधाहरूमा उहा“का समालोचकीय लेखहरू निरन्तर प्रकाशित भइ रहेका छन् । पुस्तकाकार रूपमा पनि संस्कृत काव्यशास्त्र (२०५७), नेपाली व्याकरण बोध र कृति समीक्षा (२०५८), जगदीश घिमिरेका साहित्यिक रचनाहरूको अनुशीलन (२०६८) यस अघि नै प्रकाशित भइ सकेका छन् भने प्रस्तुत उपन्यास समालोचना (प्रवृत्ति र विश्लेषण) (२०६८) उहा“को चौथो कृतिका रूपमा आएको छ । अन्य विविध विधा र उपविधामा कलम चलाए पनि समग्र समालोचकीय रचनाहरूलाई हेर्दा उहा“को समालोचनाको मुख्य क्षेत्र आख्यान र त्यसमा पनि उपन्यास समालोचना प्रमुख रूपमा देखिन आएको छ ।

दर्जनौ“ फुटकर लेखहरू, स्नातकोत्तर तहको शोध तथा विश्व विद्यालयका आधिकारिक निकायबाट नेपाली उपन्यासका विभिन्न पक्षमा गरिएका लघु अनुसन्धानका साथै २०६२ सालमा त्रि.वि. बाट यथार्थवाद र नेपाली उपन्यास शीर्षकमा विद्या वारिधी गर्नु भएका पौडेलको जगदीश घिमिरेका साहित्यिक रचनाहरूको अनुशीलन पुस्तकभित्र घिमिरेका ‘लिलाम’ र ‘साबिती’ उपन्यासको गहिरो विश्लेषण गरेको देखिनाले पनि उहा“को समालोचनाको प्रमुख क्षेत्र उपन्यास हो भन्ने प्रस्ट पार्दछ । अझ विवेच्य उपन्यास समालोचना (प्रवृत्ति र विश्लेषण) को प्रकाशनपछि उहा“को यस क्षेत्रको लगाव र मिहिनेत गहिरो गरी प्रकट भएको देख्न सकिन्छ ।

२. विषय विश्लेषण

पुस्तक डिमाइ साइजका जम्मा ३४० पृष्ठ (प्रमुख सन्दर्भ ग्रन्थ सहित) मा संरचित छ । १० मूल शीर्षक र विभिन्न उपशीर्षकहरूमा यसको विषय व्यवस्थापन गरिएको छ । पहिलो र दोस्रो शीर्षक उपन्यासको सैद्धान्तिक पक्षस“ग सम्बन्धित रहेका छन् । यसमा मूलतः उपन्यास शब्दको अर्थ, परिभाषा, तात्पर्य सहित उपन्यासका आधारभूत उपकरणहरूको चर्चा गरिएको छ । चर्चा अत्यन्तै ख“दिलो र कसिलो रूपमा प्रस्तुत भएको छ ।

दोस्रो शीर्षक ‘उपन्यास र अन्य साहित्यिक विधा’ रहेको छ । यसमा उपन्यास र अन्य विविध साहित्यिक विधाका साम्य वैषम्यको चर्चा गर्दै उपन्यासस“ग तिनको निकटता र परताको स्थितिलाई आवश्यकता अनुसार कतै सटिक त कतै विस्तारमा चर्चा गरिएको छ । उपन्यासस“ग गरिएको यस तुलनात्मक अध्ययनले अन्य विधाको पनि विधागत स्वरूपलाई बुभ्mन केही सहयोग पुगेको छ ।

तेस्रो शीर्षकदेखि दसौ“ शीर्षक रुद्रराज पाण्डे हु“दै ध्रुवचन्द्र गौतमसम्मका आठ उपन्यासकारहरूको परिचय, प्रवृत्ति र महŒवपूर्ण मानिएका उपन्यासहरूको विश्लेषणमा केन्द्रित रहेको छ । विश्लेषणको पद्धति लेखकले ‘आप्mना कुरा’मा स्वीकार गरेको संरचनावादी पद्धति वा स्थापित औपन्यासिक उपकरणमा आधारित रहेको छ ।

संरचनावाद विज्ञानसम्मत् आधुनिकताले निर्माण गरेको तार्किक अवधारणा हो । हर एक वस्तुको घटक वा तŒवको खोज गरी तिनीहरूको सार्थकीकरण र त्यसकै आधारमा उक्त वस्तुको निष्पन्नता नाप्ने संरचनावाद (गौतम, २०६४ः७८) ले कुनै पनि साहित्यिक रचनाको विश्लेषण पनि त्यसैका घटकका आधारमा गर्दछ ।

संरचनावादी समीक्षक टेक्स्टलाई अथ्र्याउने क्रममा न लेखकलाई, न बा≈य जगतलाई, न परम्परागत पाठकलाई नै वास्ता गर्छन् (गौतम, २०६४ः८१) तर प्रस्तुत पुस्तकमा विशुद्ध रूपले पाठमा मात्रै केन्द्रित नभएर ठाउ“ ठाउ“मा जीवनीपरकता, ऐतिहासिकता जस्ता कुराको पनि मिश्रण गरिएको छ । लेखकले ‘आप्mना कुरा’मा प्रस्तुत कृति आधुनिक वा संरचनावादकै निकट रही कृतिको स्वर र शिल्प निरूपणमा केन्द्रित छ भन्नु भएको छ तर आधुनिकता र संरचनावादका धेरै कुरा मिले पनि यी बिचमा प्रशस्त अन्तरहरू पनि रहेका छन् । उपन्यासका संरचक घटकहरूलाई मूल आधार बनाउ“दै अनि स्वच्छन्दतावाद, यथार्थवाद, मनोविश्लेषण, विसङ्गतिवाद, जस्ता व्यापक अर्थका आधुनिक धारणाहरूलाई पनि यसमा अपनाइएको र आगमन तथा निगमन दुबै विधिको मिश्रित उपयोग पनि गरिएकाले कृतिको विश्लेषण पद्धति संचनावादलाई आधार मानेर गरिएको आधुनिक पद्धति हो । त्यसैले आधुनिक वा संरचनावाद भन्नुभन्दा आधुनिकता र संरचनावादलाई अपनाएर भन्न पाएको भए कृतिलाई त्यसले बढी समेट्न सक्थ्यो । जे होस् पुस्तकले धेरै मात्रामा संरचनावादलाई पछ्याएको छ र त्यही कारण उत्तर संरचनावादी विविध कोणबाट हेर्न सकिने धु्रवचन्द्र गौतमको (यद्यपि अरूका पनि सकिन्छन्) उपन्यास ‘अग्निदत्त+अग्निदत्त’लाई पनि केही पृथक पार्न खोजे पनि सोही ढा“चा अनुसार विश्लेषण गरिएको छ ।

तेस्रो शीर्षक ‘उपन्यासकार रुद्रराज पाण्डे र उनका उपन्यासहरू’ रहेको छ । यसमा पाण्डेको सङ्क्षिप्त जीवनी, मुख्य औपन्यासिक प्रवृत्तिहरू, पाण्डेका उपन्यासहरूको अध्ययन तथा समग्र निचोड गरी मुख्य चार उपशीर्षक रहेका छन् । पाण्डेलाई पूर्ववर्ती समालोचकहरू इन्द्र बहादुर राई तथा राजेन्द्र सुवेदीले आदर्शवादी (राई, २०५८ः१५, सुवेदी, २०६४ः६०), कृष्णचन्द्र सिंह प्रधान तथा कृष्णहरि बराल र नेत्र एटमहरूले आदर्शाेन्मुख यथार्थवादी (प्रधान, २०५२ः७७, बराल र एटम, २०५८ः९९) मानेको सन्दर्भमा लेखकले पछिल्लो धारणालाई मान्यता दिनु भएको छ जुन उपयुक्त पनि देखिन्छ । पाण्डेका मूलतः रूपमती र अन्य उपन्यासहरूको विश्लेषणमा त्यसलाई तार्किक पुष्टि गर्ने काम पनि भएको छ । पाण्डेका मूलतः रूपमती उपन्यासलाई विस्तृत रूपमा र अन्य चम्पाकाजी, प्रायश्चित्त, प्रेम र हेरफेर उपन्यासको सङ्क्षिप्त रूपमा विश्लेषण गरिएको छ । यीमध्ये पनि प्रेम उपन्यासको केही विस्तारमा चर्चा गरिएको छ ।

चौथो शीर्षक ‘उपन्यासकार रूप नारायण सिंह र उनको भ्रमर उपन्यास’ रहेको छ । यसमा पनि सिंहको सङ्क्षिप्त जीवनी, मुख्य औपन्यासिक प्रवृत्तिहरू, भ्रमर उपन्यासको अध्ययन तथा निचोड गरी चार उपशीर्षक रहेका छन् । सिंहलाई मूलतः स्वच्छन्दतावादी उपन्यासकार मानि आइएको सन्दर्भमा त्यसैलाई स्वीकृत गर्ने काम भएको छ र उनका प्रवृत्तिहरूलाई स्वच्छन्दतावाद केन्द्रित रहेर केलाइएको छ । भ्रमर उपन्यासलाई पनि स्थापित औपन्यासिक उपकरणकै आधारमा वस्तुगत विस्तृत विश्लेषण गर्ने काम भएको छ ।

‘उपन्यासकार लैनसिंह बाङ्देल र उनका उपन्यासहरू’ नामक पाचौ“ शीर्षकमा बाङ्देलको सङ्क्षिप्त जीवनी, मुख्य औपन्यासिक प्रवृत्तिहरू, बाङ्देलका उपन्यासहरूको अध्ययन, बाङ्देलका अन्य उपन्यासहरूको अध्ययन तथा समग्र निष्कर्ष गरी पा“च उपशीर्षक रहेका छन् । अघिल्ला अन्य दुई उपन्यासकारको भन्दा बाङ्देलको जीवनीलाई अलि विस्तारमा चर्चा गरिएको छ । त्यस्तै उनका मुलुक बाहिर, माइत घर तथा लङ्गडाको साथी उपन्यासको विस्तारमा गहन विश्लेषण गरिएको छ भने उनका जीवनीमूलक ‘रेम्ब्रान्ट’ र अनूदित उपन्यास ‘स्याउको रुख’को पनि छोटो नै भए पनि चर्चा गर्ने काम भएको छ । बाङ्देललाई इन्द्र बहादुर राई, कृष्णचन्द्र सिंह प्रधान लगायतका समीक्षकहरूले सामाजिक यथार्थवादी उपन्यासकार मानि आएको सन्दर्भमा राजेन्द्र सुवेदीले आदर्शाेन्मुख यथार्थवादी उपन्यासकार माने (सुवेदी, २०६४ः११२) पनि प्रस्तुत पुस्तकमा सामाजिक यथार्थवादी उपन्यासकारकै रूपमा प्रस्ट्याउने काम गरिएको छ । त्यस्तै उनको ‘लङ्गडाको साथी’ उपन्यासलाई “लङ्गडाको साथी हाम्रोमा अतियथार्थवादको प्रयोग हो” (प्रधान, २०५२ः२४३) भन्ने कृष्णचन्द्र सिंह प्रधानको अभिव्यक्तिपछि कृष्णहरि बराल र नेत्र एटम जस्ता कतिपय समीक्षकहरूले पनि त्यसलाई सकारीरहेको सन्दर्भमा प्रस्तुत पुस्तकमा इन्द्र बहादुर राईकै ‘यथार्थवादी’ मतलाई स्वीकार गरिएको छ । उक्त स्वीकार भावुकतावश गरिएको नभएर दृष्टान्त सहित तथ्य परक ढङ्गमा आएकाले मूल्यवान् देखिएको छ । अघिल्ला दुई उपन्यासकार भन्दा औपन्यासिक कला तथा सामाजिक यथार्थका हिसाबले यिनलाई बढी उत्कृष्ट उपन्यासकारका रूपमा चर्चा गरिएको छ (यद्यपि लङ्गडाको साथी उपन्यासको विश्लेषणको ‘ङ’ उपशीर्षकमा सामाजिक यथार्थवादस“ग मेल नखाने केही सन्दर्भ भनेर कमजोरी केलाइएको पनि छ ) ।

‘उपन्यासकार हृदय चन्द्र सिंह प्रधान र उनका उपन्यासहरू’ नामक छैठौ“ शीर्षकमा पनि विषय व्यवस्थापन शैली पूर्ववत् नै रहेको छ । प्रधानलाई इन्द्र बहादुर राई, कृष्णचन्द्र सिंह प्रधान, राजेन्द्र सुवेदी लगायत धेरै समीक्षकहरूले प्रगतिशील, आलोचनात्मक यथार्थवादी उपन्यासकारका रूपमा मानेको पाइन्छ तर समीक्षक ऋषिराज बरालले “प्रगतिवादी मानवतावाद नै उनको सौन्दर्य चिन्तनको केन्द्रीय आधार रहेको छ” (बराल, २०६४ः१५५), “प्रगतिवादी उपन्यास क्षेत्रमा यति व्यापक पक्षको उद्घाटन र नायकको यति कुशल चित्रण ‘एक चिहान’पछि अरू कुनै उपन्यासमा पनि हुन सकेको पाइ“दैन” (बराल, २०६४ः२१२, अविरल बग्दछ इन्द्रावती उपन्यासको नायक सोभितेलाई प्रकाश पार्ने सन्दर्भमा) भनेर प्रधानलाई प्रगतिवादी उपन्यासकारका रूपमा चित्रण गरेको पाइन्छ । तर यस पुस्तकमा उनलाई आलोचनात्मक यथार्थवादी उपन्यासकार नै स्वीकार गरिएको छ र अझ प्रगतिवादी नभई ‘एक चिहान’ उपन्यासको अन्त्यको घटनाले बरु ‘नियतिवादी’ भएको (पौडेल, २०६८ः१६६) आरोप पनि लगाइएको छ । एउटा उपन्यासको अन्त्यकै आधारमा उनलाई नियतिवादी ठह¥याउनु त्यति न्याय सङ्गत नभए पनि आलोचनात्मक यथार्थवादी मान्नु चाहि“ उपयुक्त देखिन्छ । पुस्तकमा प्रधानका ‘स्वास्नीमान्छे’ र ‘एक चिहान’ उपन्यासलाई पूर्ववत् शैलीमा नै विश्लेषण गरिएको छ ।

पुस्तकको सातौ“ शीर्षक ‘उपन्यासकार विजय मल्ल र उनका उपन्यासहरू’ रहेको छ । यसमा पनि विषय व्यवस्थापन पूर्ववत् शैलीमा नै गरिएको छ । मनोविश्लेषणवादी उपन्यासकारका रूपमा मल्लका मूल प्रवृत्तिहरूलाई केलाउने काम भएको छ । उपन्यासको विश्लेषणका सन्दर्भमा ‘अनुराधा’ उपन्यासको विश्लेषण गर्दा मूलतः कथानकलाई व्यापक रूपमा चित्रित गरिएको छ । उपन्यासको यस विश्लेषण पढेपछि सम्भवतः यो उपन्यास नपढेका पाठकले पनि विश्लेषणबाटै उपन्यासका मूलभूत कुराहरू सहजै बोध गर्न सक्दछन् । “उपन्यासको मूल रूपको पैmलावटलाई खिपेर सानो स्वरूपमा ढाल्ने (लार्ज साइजको फोटो अटो साइजमा ल्याए भैm“)” (पौडेल, २०६८ः१७४) काम यसमा भएको छ । विश्लेषण अन्तर्गत ‘ङ’ शीर्षकमा ‘केही अकलात्मक पक्ष’ भनेर उपन्यासका भाषगत तथा अन्य कमजोरीहरूलाई पनि देखाइएको छ । मल्लको अर्काे उपन्यास कुमारी शोभालाई सङ्क्षेपमा विश्लेषण गर्ने काम पनि गरिएको छ । मनोवैज्ञानिक यथार्थवादी अझ मनोविश्लेषणात्मकताका हिसाबले मल्ललाई विशिष्ट उपन्यासकार मानिएको छ ।

‘उपन्यासकार इन्द्र बहादुर राई र उनको आज रमिता छ उपन्यास’ नामक आठौ“ शीर्षकको विषय व्यवस्थापन पनि पूर्ववत् नै रहेको छ । नेपाली उपन्यास परम्परामा नवीन शिल्प तथा स्वर लिएर प्रकट भएका इन्द्र बहादुर राईलाई प्रयोगोन्मुख शिल्प र अस्तित्ववादी विसङ्गतिवादी स्वर भएका सशक्त उपन्यासकारका रूपमा प्रस्तुत गरिएको छ । उनको एक मात्र उपन्यास ‘आज रमिता छ’ को विश्लेषणमा आप्mनो भिन्न धारणा अघि सारिएको छ । कृष्णचन्द्र सिंह प्रधान, राजेन्द्र सुवेदी जस्ता पूर्ववर्ती समीक्षकहरूले इन्द्र बहादुर राईले उपन्यासको भूमिकामा “मैले देखे“ जीवन चलि रहेछ तर सुव्यवस्थित भई यो ठिक्क ठिक्क मिलेर चलेको छैन । यो उपन्यासलाई मैले त्यसरी नै नमिलाएको छु”(राई, २०५७ःभूमिका खण्ड) भनेको यस अभिव्यक्तिलाई आधार बनाएर उपन्यासको स्वरस“गै कथानक पनि विसङ्गत वा नमिलेको छ भनी व्याख्या गरेको सन्दर्भमा लेखकले यस उपन्यासको कथानकमा सङगति खोज्ने बलियो काम गर्नु भएको छ । “परिच्छेद विभाजनको अभावमा पनि सतहमा अव्यवस्थित जस्तो देखिएको छ तर कथानक आपैmमा अशृङ्खलित वा अव्यवस्थित वा सङ्गति शून्य भने छैन” (पौडेल, २०६८ः२२९) भनेर तालिकाद्वारा कथानकीय विकास क्रमलाई सङ्गतियुक्त देखाइएको छ । अन्य परम्परागत उपन्यासमा जस्तो त्यति प्रस्ट नभए पनि यसमा देखाइएको कथानकीय क्रमिकता चाखलाग्दो भने देखिन्छ ।

नवौ“ शीर्षक ‘उपन्यासकार मदन मणि दीक्षित र उनको माधवी उपन्यास’ रहेको छ । यसमा पनि दीक्षितको सङ्क्षिप्त जीवनी, अन्य उपन्यासलाई आधार बनाए पनि मूलतः माधवी उपन्यासका आधारमा दीक्षितका मुख्य औपन्यासिक प्रवृत्तिहरूको निर्धारण, माधवी उपन्यासको स्थापित औपन्यासिक उपकरणका आधारमा मसिनो गरी विश्लेषण तथा निचोडलाई मुख्य उपशीर्षक बनाई चर्चा गर्ने काम भएको छ । कथानकीय विश्लेषण निकै विस्तृत रूपमा आएको छ जुन प्रस्तुत उपन्यासका लागि अति आवश्यक पनि थियो । उत्तर वैदिक कालीन समाजको चाल्र्स डार्बिनको विकासवाद तथा माक्र्सवादी चिन्तनका आधारमा औपन्यासिक चित्रण गरिएको सशक्त उपन्यासका रूपमा माधवीलाई चिनाइएको छ । यद्यपि “दुर्लभ जस्तो बनेको त्यो ऐतिहासिक विषय सन्दर्भको यथातथ्य अनुसरण यसले के कति ग¥यो वा गरेन भनेर यहा“ त्यसैको मसिनो जोड घटाउतिर लाग्नुभन्दा पनि (लाग्न सजिलो पनि छैन) यसमा आएको विषय सन्दर्भ के कस्तो छ र त्यसमा औपन्यासिकताको निर्वाहा कत्तिको भएको छ भन्ने कुरा देखाउनतिर लाग्नु उपयुक्त ठानिएको छ” (पौडेल, २०६८ः२६६–६७) भनेर आप्mनो सीमा तथा क्षमता दुबै देखाइएको छ । त्यस्तै विश्लेषणभित्र ‘च’ उपशीर्षकमा ‘उपन्यासका केही परिसीमाहरू’ भनेर त्यहा“ रहेका समयको किटानमा अस्पष्टता, विकासवादी माक्र्सवादी चिन्तनले हेर्दा हेर्दै पनि उपन्यासमा देखिएका अन्ध विश्वासजन्य अवस्थाहरू, गालव तथा विश्वामित्रका चरित्र चित्रणमा देखिएका केही त्रुटीहरू तथा अन्तर्वस्तुमा देखिने कतिपय अन्तर्विरोधलाई देखाउने काम पनि यसमा भएको छ ।

दसौ“ तथा अन्तिम शीर्षक “उपन्यासकार ध्रुवचन्द्र गौतम र उनको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यास” रहेको छ । गौतमको सङ्क्षिप्त जीवनी, मुख्य औपन्यासिक प्रवृत्तिहरू, अग्निदत्त+अग्निदत्त उपन्यासको अध्ययन तथा समग्र निष्कर्ष गरी चार उपशीर्षकमा विषयको व्यवस्थापन गरिएको छ । गौतमका प्रवृत्तिहरूको निर्धारण उनका लगभग सबै उपन्यासहरूलाई आधार बनाउ“दै गरिएको छ । उनलाई प्रयोग वैचिœ्य भएका अस्तित्ववादी विसङ्गतिवादी उपन्यासकारका रूपमा प्रस्तुत गरिएको छ । अत्यधिक उपन्यास लेखे पनि गुणस्तरता पनि कायम गर्ने र पछिल्ला उपन्यासहरूमा उत्तर आधुनिक विविध विशेषताहरूलाई अपनाउने उपन्यासकारका रूपमा गौतमलाई चित्रण गरिएको छ । ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण पूर्ववर्तीभन्दा केही फरक रहेर यसलाई माध्यमिक कालीन गिरीश वल्लभ जोशीको उपन्यास ‘वीर चरित्र’बाट विनिर्मित उपन्यासका रूपमा उल्लेख गर्दै विषय वस्तुबाट अभिव्यञ्जित विविध सन्दर्भहरूलाई विस्तारमा चर्चा गर्ने काम भएको छ । तर प्रस्तुत उपन्यासलाई उत्तर संरचनावादी विविध कोणबाट हेर्न सकिने भए पनि यहा“ त्यसो गरिएको छैन । पङ्तिकारले नै “स्वैर कल्पना र उपन्यासकार धु्रवचन्द्र गौतम” नामक पुस्तकमा यस उपन्यासको स्वैर कल्पनाका कोणबाट विस्तृत विश्लेषण गरेको छ । त्यस्तै यसलाई विनिर्माण, श्यामव्यङ्ग्य जस्ता अन्य कोणबाट पनि हेर्न सकिने प्रशस्त सम्भावना देखिन्छ । यद्यपि परम्परागत उपन्यासहरूलाई पनि उत्तर संरचनावादी कोणबाट हेर्न नसकिने होइन तर जुन उपन्यास उत्तर संरचतावादकै विविध विशेषताले युक्त छ त्यसलाई त कमसेकम उक्त कोणबाट विश्लेषण गर्नु उपयुक्त हुन्थ्यो । केवल ‘आप्mना कुरा’मा “गौतमका उपन्यासलाई परम्परित विधा सिद्धान्तले मात्रै व्याख्या गर्न सक्ने स्थिति पनि छैन” भनेर उल्लेख मात्र नगरी नया“ मान्यताले विश्लेषणै गर्न पाएको भए पुस्तकको महत्ता अझ बढ्ने निश्चित थियो ।

३. शक्ति

सिङ्गो पुस्तक नै आपैmमा एउटा शक्तिका रूपमा आएको छ । उपन्यासको सैद्धान्तिक पक्ष तथा जति उपन्यासकार र तिनका उपन्यासहरूको चर्चा गरिएको छ, त्यो आपैmमा एउटा उपलब्धि बनेको छ । पूर्ववर्ती इन्द्र बहादुर राई, कृष्णचन्द्र सिंह प्रधान, प्रताप चन्द्र प्रधान, मुरारी प्रसाद रेग्मी, ऋषिराज बराल, राजेन्द्र सुवेदी लगायतका समालोचकहरूका दृष्टिकोण वा मान्यताहरूलाई यथास्थान महŒव दि“दै आप्mनो धारणा पनि प्रस्ट रूपमा राखेकाले पनि यो पुस्तक महŒवपूर्ण सामग्री बनेको छ । यसका मूलभूत शक्तिलाई केही बु“दाहरूमा उल्लेख गर्न सकिन्छ ः

(क) नेपाली समालोचनाका अधिकांश पुस्तकहरूको आवरण प्रायः एकै खाले वा उस्तै उस्तै किसिमको देखिने सन्दर्भमा प्रस्तुत पुस्तकको आवरण अक्सर नेपाली उपन्यासहरूमा चित्रित हुने ग्रामीण तथा सहरी अनि निम्न र निम्न मध्यम वर्गीय समाजको प्रतिनिधित्व गर्ने आकर्षक स्वरूपको हुनु,

(ख) सिद्धान्त खण्डमा केही कुरा छुटे पनि जति कुरा आएका छन् ती लामो समयको गहिरो साधनाले निसृत प्रस्ट धारणाका रूपमा आउनु,

(ग) केही महŒवपूर्ण उपन्यासकार छुटे पनि (जसलाई लेखकले आप्mना कुरामा स्वीकार गर्नु पनि भएको छ ) लगभग ४० को दशकसम्मका मूल धारका उपन्यासकारहरूलाई समेटेर नेपाली उपन्यासको स्वर र शिल्पगत एउटा तस्बिर प्रस्तुत गर्नु,

(घ) पूर्ववर्ती समालोचकहरूलाई यथास्थान महŒव दि“दै र सम्मान गर्दै आप्mनो प्रस्ट र इमान्दार धारणा व्यक्त गर्नु,

(ङ) सरल र प्रवाहपूर्ण भाषिक शैलीमा आप्mना गम्भीर धारणा प्रकट गर्नु,

(च) संरचनावादी शैलीमा गरिएको उपन्यासहरूको विश्लेषणमा विविधता प्रकट गर्नु (मूलतः कथानक र पात्रहरूको विश्लेषणका सन्दर्भमा)

(छ) उपन्यासको विश्लेषणका सन्दर्भमा कताकति सामान्य आभाष भए पनि मूलतः पूर्वाग्रह मुक्त भएर वस्तुपरक विश्लेष गर्नु,

(ज) स्नातक तथा स्नातकोत्तर तहका नेपाली साहित्यका विद्यार्थीदेखि बौद्धिक वर्गका साथै उपन्यासमा रुचि राख्ने आम पाठकलाई पनि प्रयोजनपरक हुनु, आदि ।

४. सीमा

नेपाली उपन्यास समालोचनामा अत्यन्तै महŒवपूर्ण पुस्तक हु“दाहु“दै पनि प्रस्तुत पुस्तकभित्र केही सीमाहरू पनि रहेका छन् । कतिपय सीमाहरूलाई लेखकले ‘आप्mना कुरा’मा आपैmले स्वीकार पनि गरि सक्नु भएको छ ।

पुस्तकको पहिलो र दोस्रो खण्ड उपन्यासको सैद्धान्तिक परिचय र उपन्यास तथा अन्य विधास“ग यसको सम्बन्ध देखाउनमा केन्द्रित रहेको छ । अभिव्यक्तिहरू सटिक छन् । लेखकले बोध गरेको सैद्धान्तिक धारणालाई गहकिलो र ख“दिलो प्रस्तुति यसमा गरिएको छ । विधागत सिद्धान्त भन्ने कुरा करिब करिब स्थिर र स्थापित धारणा भएकाले पनि सायद लेखक त्यसप्रति बिस्तारित हुन नचाहेको देखिन्छ । तर पनि पछिल्लो समयमा उत्तर आधुनिक चिन्तनस“ग नेपाली उपन्यासलाई लिएर गोविन्द राज भट्टराई, कृष्ण गौतम, सञ्जीव उप्रेती, मोहन राज शर्मा लगायतका समीक्षकहरूले व्यापक चर्चा गरि रहेको सन्दर्भमा प्रस्तुत पुस्तकमा अझ बिस्तारमा ती कुरा सहित आप्mनो धारणा आउनु पर्ने अवस्थामा सामान्य चर्चा पनि नहुनु प्रमुख सीमाका रूपमा देखिएको छ । लेखकले ‘आप्mना कुरा’मा उत्तर संरचनावादी समयमा त्यसको (संरचनावाद) अपूर्णता देखिन थालेको छ भनेर आपैmले स्वीकार गरको कुरालाई पूर्ण बनाउनतिर लाग्नु पथ्र्याे । त्यस्तै गरी उपन्यासको सैद्धान्तिक चर्चा गरि सकेपछि नेपाली उपन्यासको इतिहासलाई पनि देखाउनु राम्रो हुन्थ्यो । विशेषतः नेपाली उपन्यासमा आधुनिकताको थालनीका सन्दर्भमा देखिएका मत मतान्तरहरूलाई केलाउ“दै आप्mना प्रस्ट धारणा दिन सकिने ठाउ“ थियो त्यो । यी र यी बाहेक अन्य केही सीमाहरूलाई बु“दागत आधारमा देखाउन सकिन्छ ः

(क) सामान्य रूपले स्वीकृत वा सहजै बोधगम्य कुराको पनि सन्दर्भ दिइनु

(ख) लैनसिंह बाङ्देलका उपन्यासमा अभिव्यक्त अन्ध विश्वासजन्य धारणालाई तत्कालीन सामाजिक पात्रहरूको स्वाभाविक चित्रणका रूपमा लिइनु तर उस्तै रूपमा आएका रूपमतीका पात्रहरूले बोकेको विश्वासलाई लेखकीय आदर्शवादितागत कमजोरी मानिनु,

(ग) वस्तुपरक वा संरचनावादी विश्लेषण भन्दा भन्दै पनि जीवनीपरकताको पनि प्रभाव देखिनु, (मूलतः रुद्रराज पाण्डे, लैनसिंह बाङ्देल र विजय मल्लका उपन्यासको विश्लेषणमा)

(घ) कतिपय उपन्यासको मिहिन व्याख्या (मूलतः विश्व विद्यालयको पाठ्यक्रममा समावेश भएका) गरिनु तर कतिपय (पाठ्यक्रममा नपरेका) लाई त्यसरी विश्लेषण नगर्नु,

(ङ) उपन्यासकारको प्रवृत्ति उस्तै उस्तै भए पनि फरक फरक शीर्षकमा चर्चा गर्नु (मूलतः राई र गौतमका)

(च) उपन्यासकारको विचार संवाहक पात्र भए पनि अन्य प्रमुख पात्रलाई छाडेर चरित्र चित्रणमा (एक चिहान उपन्यासमा) रञ्जना देवीलाई प्रमुख स्थान दिइनु,

(छ) वर्ण विन्यासगत मान्यता पछिल्लो धारणालाई अपनाएको स्वीकार गरिएको तर कतिपय ठाउँ पुरानै पनि देखिनु जस्ता केही त्रुटी पाइनु ।

५. उपसंहार

वर्तमान समयको अत्यन्तै लोकप्रिय विधा उपन्यासका बारेमा नेपाली समालोचनाले प्रशस्त पुस्तकहरू दिन थालि सकेको छ । यद्यपि अधिकांश पुस्तकहरू, आप्mनो प्रस्ट र गम्भीर धारणा दिनु भन्दा पनि मूलतः विद्यार्थी केन्द्रित रहेर गाइड प्रकारमा सीमित बन्न पुगेका छन् । पौडेलको ‘उपन्यास समालोचना (प्रवृत्ति र विश्लेषण)’ ती गाइड प्रकारबाट धेरै माथि उठेर उच्च बौद्धिक पाठकदेखि विद्यार्थीसम्म सबैलाई उपयोगी हुने किसिमको महŒवपूर्ण समालोचनात्मक पुस्तकका रूपमा हाम्रा सामु आएको छ । संरचनावादी विधा सिद्धान्तमा प्रस्ट धारणा तथा नेपाली उपन्यास परम्परामा पूर्व व्याख्यायित उपन्यासहरूलाई आप्mनो स्पष्ट धारणा सहित गरिएको मिहिन विश्लेषणले जरुर नै नया“ मूल्य प्राप्त गर्ने छ । कतिपय सामान्य कमी कमजोरीहरू रहे पनि नेपाली उपन्यास समालोचनामा यस पुस्तकले आप्mनो उपयोगिता सिद्ध गर्ने छ भन्नेमा भने पूर्ण विश्वस्त हुन सकिन्छ ।

सन्दर्भ कृति

गौतम, कृष्ण (२०५९), दो.सं. आधुनिक आलोचना ः अनेक रूप अनेक पठन, ललित पुर ः साझा प्रकाशन ।

गौतम, कृष्ण (२०६४), उत्तर आधुनिक जिज्ञासा, काठमाडौ“ ः भृकुटी एकेडेमिक पब्लिकेसन्स् ।

पौडेल, विष्णु प्रसाद (२०६८), उपन्यास समालोचना (प्रवृत्ति र विश्लेषण), काठमाडौ“ ः भु“डी पुराण प्रकाशन ।

प्रधान, कृष्णचन्द्र सिंह (२०५२), तेस्रो सं. नेपाली उपन्यास र उपन्यासकार, ललित पुर ः साझा प्रकाशन ।

बराल, ऋषिराज (२०६४), साहित्य र समाज, ललित पुर ः साझा प्रकाशन ।

बराल, कृष्णहरि र नेत्र एटम (२०५८), दो.सं. उपन्यास सिद्धान्त र नेपाली उपन्यास, ललित पुर ः साझा प्रकाशन ।

राई, इन्द्र बहादुर (२०५७), चौ.सं., आज रमिता छ, ललित पुर ः साझा प्रकाशन ।

राई, इन्द्र बहादुर (२०५८), ते.सं., नेपाली उपन्यासका आधारहरू, ललित पुर ः साझा प्रकाशन ।

सुवेदी, राजेन्द्र (२०६४), दो.सं. नेपाली उपन्यास परम्परा र प्रवृत्ति, ललित पुर ः साझा प्रकाशन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।