(क) विषय प्रवेश
धु्रवचन्द्र गौतम (२००१) द्वारा रचित ‘अलिखित’ (२०४०) उपन्यासमा मुख्यतः देशको राजधानी काठमाडौँबाट टाढा तराईको एउटा गाउँ बिरहिनपुर बरेवामा व्याप्त जिम्दारी शोषण, गरिबी, महामारी, राज्यको उपेक्षा, सर्वसाधारणको भयभीत जीवन, नारीमाथिको यौन दुव्र्यवहार, अशिक्षा, अज्ञानता आदि दुरवस्थाको चित्रण गरिएको छ । यति हुँदाहुँदै पनि यस उपन्यासको प्रसिद्धि प्रयोगपरक औपन्यासिक प्रवृत्ति प्रस्तुत गर्नमा बढी रहेको देखिन्छ । शैलीगत बाह्य स्वरूपका दृष्टिले पनि ‘अलिखित’ पूर्वापेक्षा बढी प्रयोगधर्मी, धेरै कुराको मौलिकता र सीपको दृष्टान्त भइ दिएको छ (प्रधान, २०४३ ः ४०४) । यसको कथानकीय विकासमा पुरातात्त्विक एवं सांस्कृतिक उत्खननका निम्ति राजधानीबाट सो गाउँमा गएको ११ जना व्यक्तिहरूको टोलीको एक वर्षको कार्यकाल प्रस्तुत भएको छ । यस उपन्यासमा पुरातात्त्विक उत्खनन आंशिक रूपमा भए पनि मुख्यतः देशको नक्सामै नपरेको उक्त गाउँका सर्व साधारण जनताका अलिखित रहेका विविध समस्याहरूको उत्खनन मार्मिक रूपमा गरिएको छ । प्रस्तुत आलेखको मुख्य सन्दर्भ ‘अलिखित’ उपन्यासमा अभिव्यक्त शिल्पगत प्रवृत्ति रहेकाले यस लेखलाई त्यसैतर्फ केन्द्रित गर्नु उपयुक्त हुने देखिन्छ र त्यसमा अभिव्यक्त शिल्पगत विशिष्टतालाई तल क्रमशः प्रस्तुत गरिएको छ ।
(ख) संरचनागत नवीनता
ध्रुवचन्द्र गौतमद्वारा रचित ‘अलिखित’ उपन्यासको महत्त्वपूर्ण प्रवृत्ति यसको संरचनामा रहेको नवीनता हो । प्रस्तुत उपन्यासको बाह्य संरचना २२१ पृष्ठ तथा १४ खण्डमा निर्मित भएको छ भने यसको भित्री संरचना देशको नक्सामै छुटाइएको बिरहिनपुर बरेवा गाउँभित्रका मुख्यतः सर्वसाधारण मानिसहरूले भोग्नु परेका शोषण, विपन्नता, राज्यको उपेक्षा, दुव्र्यवहार, रोग, आतङ्क, अशिक्षाका साथै जिम्दार र बाहिरबाट गएका मानिसहरूका गतिविधिको चित्रणमा केन्द्रित रहेको छ । यस उपन्यासमा प्रस्तुत कथानकीय संरचनामा उक्त १४ वटा खण्ड वा परिच्छेदलाई भिन्न महिना र पात्रका नाममा नामकरण गरिएको छ । पहिलो खण्डको शीर्षक ‘अनकन्टार’ भनेर राएिको छ भने अन्तिम खण्डलाई तेह्रौँ महिना ः अनुकल्पित गाउँ बिरहिनपुर बरेवा भनेर नामकरण गरिएको छ । उक्त सुरु र अन्तिम बाहेकका मङ्सिरदेखि कार्तिकसम्मका प्रत्येक महिनामा बेग्लाबेग्लै चरित्रलाई नायकत्व प्रदान गरी बिरहिनपुर बरेवा गाउँका सर्व साधारण जनताको दयनीय एवं विकराल स्थितिको चित्रण गरिएको छ । त्यसरी मङ्सिरबाट सुरु भएका पात्रका नायकत्वलाई क्रमशः ऋषिराम भुर्तेल, नरेन्द्र जोशी कर्णबहादुर थापा, भीम बाग्ले, रामकृष्ण पाठक, राधेश्याम, तिलकबहादुर, शेखरराज, अङ्गुरमान सिंह, शरदकुमार, जिम्दार विश्वनाथप्रसाद सिंह, यी प्रसङ्गका लेखक अर्थात् ‘म’ (गौतम) रहेका छन् । यसरी प्रत्येक महिनामा भिन्न चरित्रको नायकत्व रही त्यस बाहेक अन्य थुप्रै पात्रहरू पनि सहभागी गराई प्रस्तुत गरिएको हुनाले गौतमको यो उपन्यास नेपाली उपन्यास परम्परामै नवीन संरचनाको बनेको छ ।
प्रस्तुत उपन्यासको कथानकीय विकास क्रममा पनि विविधता र नवीनता पाइन्छ । गौतमले यसमा विशृङ्खलित कथानकभित्र शृङ्खलाबद्धताको प्रयोग गरेका छन् (शर्मा, २०५९ ः ८४) । यस उपन्यासमा आएका १४ वटा खण्डका घटना वा प्रसङ्गहरूले आधारभूत रूपमा बिरहिनपुर बरेवाका सर्व साधारण जनताका विपन्नता र दरिद्रताका समस्यालाई नै प्रस्तुत गरेका छन् । यसो भएकाले औपन्यासिक कार्यपीठिका र विपन्नताग्रस्त समस्याका कारण उपन्यासको आधारभूत पक्ष एउटै किसिमको छ । त्यस्तै उपन्यासमा ‘म’ पात्रले सम्पूर्ण खण्डलाई जोड्ने काम गर्नुका साथै कतिपय उनै चरित्रहरू विभिन्न खण्डमा प्रस्तुत भएर उपन्यासको समग्र उद्देश्य र सारवस्तुलाई जोड्ने काम पनि गरेका छन् । यति हुँदाहुँदै पनि यस उपन्यासमा नराखे पनि हुने थुप्रै स्वतन्त्र घटना वा प्रसङ्ग पनि समावेश गरिएकाले यसको संरचनामा विन्यस्तता र सुशृङ्खलता भेटिँदैन ।
प्रस्तुत उपन्यासमा सूत्र बनाएर घटनाहरूलाई कार्यकारण शृङ्खलामा उन्नेभन्दा पनि फोटो खिचेझैँ आँखा अगाडि जे देखा पर्छ वा सम्झनामा जे आउँछ त्यही देखाउने पद्धतिको उपयोग गरिएकाले यसको कथानकमा परम्परागत सन्तुलन देखा पर्दैन (बराल र एटम, २०५६ ः २७१) । यसका कथानकको विकास तथा चरित्रको महत्त्वलाई परम्पराभन्दा भिन्न रूपमा प्रस्तुत गरिएकाले नै यसलाई अउपन्यास वा किमुपन्यास भनिएको पनि पाइन्छ । यसैले समीक्षकले यसमा परम्परागत उपन्यासमा झैँ आदर्श नायक नायिकाको खिल्ली उडाइएको (किन्नायक, किन्नायिका) भन्दै जोशी, अङ्गुरमान, कर्ण, भीम बाग्ले जस्ता किन्नायक नै बढी लोकप्रिय भएका भन्ने उल्लेख गरेका छन् (पोखरेल, २०६० ः ६३) । यस प्रकारको चरित्र प्रस्तुतिले परम्परागत मर्यादित नायकीय व्यवस्थाको खिल्ली उडेको देखिन्छ । यसरी प्रस्तुत उपन्यासमा कतिपय अनावश्यक र महत्त्वहीन प्रसङ्ग पनि समावेश गरी कार्यकारण सन्तुलनमा मौलिकता प्रदान गरिएको तथा घटना र चरित्रलाई पनि भिन्न भिन्न खण्डमा बहुनायकीयता र प्रयोगपरकता सहित प्रस्तुत गरिएकाले यसको संरचनामा परम्पराभन्दा भिन्न नवीनता देखा परेको प्रस्ट हुन्छ ।
(ग) स्वैरकल्पनाको प्रयोग
ध्रुवचन्द्र गौतमद्वारा रचित ‘अलिखित’ उपन्यासमा स्वैरकल्पनाका माध्यमबाट तत्कालीन राज्य व्यवस्थाका बदनियतप्रति गहिरो व्यङ्ग्य प्रहार गरिएको छ । स्वैरकल्पनालाई उडन्ते कल्पना वा अतिकल्पना पनि मानिन्छ । यथार्थमा भएका विकृति, विसङ्गति र कुरूपतालाई रहस्यको गहिराइमा पुगेर चित्रित गर्ने एउटा विधि स्वैरकल्पना हो । साहित्यमा स्वैरकल्पना भनेको सामान्यतः अतिकल्पना हो, जसमा असम्भाव्य सम्भावनाहरू मार्फत सामान्य, स्वीकृत, मानक, स्थापित वा अधिकृत सत्य एवं तथ्यको अतिक्रमण वा उल्लङ्घन गरिन्छ (शर्मा, २०५५ ः ४५४) । प्रस्तुत उपन्यासका बिच बिचका मिथकीय सन्दर्भमा स्वैरकल्पनाको उपयोग गरिएको भए पनि मुख्यतः अन्तिम खण्डमा त्यसको गम्भीर प्रयोग गरिएको छ । यस उपन्यासका अन्त्यमा आएको सो स्वैरकल्पनाले उपन्यासको समष्टि उद्देश्यलाई नै अभिव्यक्त गर्नमा प्रभावकारी भूमिका खेलेको छ र त्यसले उपन्यासको उचाइलाई हलक्कै बढाएको छ ।
प्रस्तुत उपन्यासले स्वैरकल्पनाका माध्यमबाट तत्कालीन राज्यव्यवस्थाका नकारात्मक एवं गैरजिम्मेवार प्रवृत्तिप्रति व्यङ्ग्य गरेको छ । वस्तुतः यस उपन्यासमा आएको दोरहन्तल पोखरा तत्कालीन शासनव्यवस्था (पञ्चायत) को प्रतीक हो । त्यस पोखराले सिङ्गो बिरहिनपुर बरेवा गाउँलाई सर्लक्कै निलेको देखाइएको छ । गाउँलाई यथार्थमा कुनै पनि पोखराले निल्न सक्तैन । त्यसैले उपन्यासकारले पोखराले गाउँ निल्ने सन्दर्भलाई प्रतीकात्मकताका सहकारितामा स्वैरकल्पनाका माध्यमबाट अभिव्यक्त गरेका छन् । त्यसको अभिप्राय र उद्देश्य के हो भने बिरहिनपुर बरेवाका जनताका पीडाहरूलाई राज्यले निलेको छ वा अनदेखा गरेको छ । त्यस गाउँका सर्वसाधारण जनतामाथि भएका जिम्दारी शोषण, विकराल गरिबी, विपन्नता र दरिद्रतालाई राज्यले हेरेको छैन । त्यहाँका जनताले राज्यको उपेक्षा भोग्नु परेको छ र त्यहाँका नारीहरूले ठुलाबडा भनाउँदा बाहिरिया तथा गाउँकै आफन्त पुरुषहरूद्वारा समेत यौनजन्य दुव्र्यवहारको सिकार हुनु परेको छ अनि त्यस कुरालाई राज्यले नजरअन्दाज गरेको छ । गाउँलेले भोग्नु परेका भयग्रस्ता, धरमपुरबासी र अन्यले गर्ने डकैती अनि गाउँलेका अशिक्षा, अज्ञानता र अमानवीयताका सम्पूर्ण दुस्परिणामहरूलाई राज्यले अलिखित राखि दिएको छ । समष्टिमा भन्दा बिरहिनपुर बरेवाबासीका चह¥याइ रहेका घाउहरूमा मलम लगाउने दायित्व पुरा गर्ने होइन बरु आँखा चिम्म गरेर आफ्नो शासनमा कुनै समस्या नभएको बदनियतपूर्ण बाटो राज्यले रोजेको कुरा यस उपन्यासमा प्रस्तुत गरिएको छ । यस उपन्यासले यही चुरो कुरोको प्रस्तुतिका निम्ति स्वैरकल्पनाको उपयोग गरेको देखिन्छ र त्यसका निम्ति स्वैरकल्पनात्मक विधिको रोजाइ अत्यन्त प्रभावशाली बनेको पनि छ । स्वैरकल्पनाबाट लेखकले आफ्नो कथामा दन्त्यकथाका पुर्जाहरू जड्छ, त्यहाँका चरित्रहरूले मान्छे र समाजका शाश्वत बिम्बहरूको रूप लिन्छन् र सार्वभौम सत्यको खोजी गर्दछन् (पोखरेल, २०६० ः ६४) भन्ने तथ्यलाई ‘अलिखित’ले प्रस्ट गरेको छ ।
प्रस्तुत उपन्यासमा दोरहन्तल पोखरीले सशस्त्र मानिसको रूप धारण गरेको छ । सो पोखरीले बरेवा गाउँ र गाउँबासीलाई सर्लक्कै निलेको देखाइएको छ । त्यहाँ पुरातात्त्विक एवं सांस्कृतिक उत्खननका निम्ति गएको टोलीका मानिसलाई पोखरीले तिनतिरबाट घेरेको छ । उत्खनन टोलीका अनुहार पनि साटिएका छन् । ‘अलिखित’ उपन्यासले चित्रित गरेका यस्ता कुरा यथार्थमा असम्भव छन् र तिनको त्यस्तो चित्रणमा स्वैरकल्पनाको उपयोग गरिएको छ । गौतमले सो स्वैरकल्पनाको प्रयोग व्यर्थमा नगरी त्यसबाट शासनव्यवस्थाका चरम लापर्बाही र जनताका समस्यालाई नबुझ्ने प्रवृत्तिलाई गहिराइ एवं व्यङ्ग्यका साथ अभिव्यक्त गर्न चाहेका छन् । उनी दोरहन्तल पोखरा त्यस्तो शासनको प्रतीक हो जसले जनताका समस्यालाई पहिचान गरेर समाधान गर्ने नभई समस्यालाई नै अलिखित राखेर बा चर्चै नगरेर सुशासन कायम भएको हल्ला फिँजाउन चाहन्छ भन्ने कुरा देखाउन चाहन्छन् । गौतमले बिरहिनपुर बरेवा गाउँलाई नै नक्साबाट हटाएको सन्दर्भ मार्फत सोही शासकीय प्रवृत्तिलाई अभिव्यक्त गरेका छन् र जनताका समस्यालाई नजरअन्दाज गर्ने शासनव्यवस्थाको खिल्ली पनि उडाएका छन् । यस उपन्यासमा एउटी बिरहिणीमाथि उसकै छोराछारीहरूका सामुन्ने भएको बलात्कार र त्यस प्रकारका अन्य घटनाका सन्दर्भमा तत्कालीन शासनव्यवस्थाले गर्ने कारबाहीका बारेमा स्वैरकल्पनाको आड लिई यस्तो चित्रण गरिएको छ ः
ड्ड अलिकति सरजमिन हुन्थ्यो र एउटा मुचुल्का नै पर्याप्त हुन्थ्यो, अपराधीका लागि । समय नै लाग्दैनथ्यो । कुनै विशेष कारणवश, ‘केस पेन्डिङ’ भयो भने त्यो ‘पेन्डिङ’ नै मानिन्थ्यो र टुङ्गिएको मानिँदैनथ्यो । पुलिसको सक्रियतामा कुनै कमी आउँदैनथ्यो । राष्ट्रिय पञ्चायतमा दुई चार सदस्य सधैँ जनताप्रति आफ्नो कर्तव्यको वशीभूत भएर प्रत्येक सेसनमा प्रश्न गर्नुदेखि पन्छिँदैनथे (गौतम, २०६६ ः १९९) ।
वस्तुतः राज्यको दायित्व भनेको गाउँ गाउँ र जन जनका समस्याको पहिचान गरी तिनको उचित समाधान खोज्नु हो । तत्कालीन व्यवस्थाले समस्याको त्यस्तो समाधान नखोजी सिङ्गो गाउँ र गाउँबासीलाई नै अलिखित राखी दिने धृष्टता गरेको छ । गाउँ नै अनुल्लिखित रहेपछि गाउँका समस्या पनि रहने भएनन् र तिनको समाधानका निम्ति प्रयत्न गर्नु पर्ने पनि भएन । त्यस प्रकारको शासकीय गैरजिम्मेवारीपनलाई उपन्यासले स्वैरकल्पनाको विधि मार्फत अभिव्यक्त गरेको छ । यसबाट गाउँको गरिबी हटाउने होइन गरिबलाई र गरिबीले ग्रस्त गाउँका तथ्याङ्कहरूलाई नै लुकाएर वा अलिखित राखेर सुशासनको हल्ला मच्चाउने शासकीय दुस्प्रवृत्ति छर्लङ्ग भएको कुरो उपन्यासमा प्रस्ट देखाइएको छ । सो सन्दर्भलाई यस उपन्यासमा यसरी पनि प्रस्ट गरिएको छ ः
ड्ड गाउँ नै छैन भने गाउँमा केही पनि कसरी हुन्छ ? त्यसैले त्यहाँ हत्या, बलात्कार वा कुनै किसिमको पनि मृत्यु हुँदैनथ्यो (गौतम, २०६६ ः २०२)।
ड्ड त्यहाँ कुनै किसिमको हत्या, बलात्कार होस् देशमा कतै आवाज उठ्दैनथ्यो । त्यहाँ अनिकाल प¥यो भने देशमा कुनै असर हुँदैनथ्यो । त्यहाँ बालि भएन ? किन ? यसको जबाफ नभएकाले देश शान्त रहन्थ्यो । तपाईँले कतै पढ्नु भएको छ बिरहिनपुर बरेवाबारे अखबारहरूमा ? छैन किनभने हाम्रा लागि त्यो गाउँ देशको कुनै कुनामा छैन (गौतम, २०६६ ः २०२) ।
समग्रमा ‘नरहे बाँस नबजे बाँसुरी’ को हिन्दी उखानलाई चरितार्थ गर्ने तत्कालीन शासन व्यवस्थाको अनुत्तरदायी क्रियाकलापप्रति ‘अलिखित’ उपन्यासले गहिरो व्यङ्ग्य गरेको छ । यस प्रकारको यथार्थ तत्कालीन समाजको वास्तविकता हो र त्यसलाई सोझै यथार्थ अभिव्यक्तिमा प्रस्तुत गर्नुभन्दा स्वैरकल्पनात्मक अभिव्यक्तिमा प्रस्तुत गर्नुलाई गौतमले प्रभावकारी हुने ठाने र साँच्चै नै सो प्रविधिले यस उपन्यासको प्रयोगात्मकता र विशिष्टतालाई झल्काएको पनि छ ।
(घ) मिथकीय प्रयोग
धु्रवचन्द्र गौतमको ‘अलिखित’ उपन्यासमा विभिन्न किंवदन्तीका रूपमा प्रचलित मिथकहरूको उपयोग गरी औपन्यासिक वस्तुविधानमा नवीनता र विशिष्टता प्रदान गरिएको छ । भनिँदै र सुनिँदै आएका सम्भव वा असम्भव पुराना प्रसङ्गहरूलाई मिथक भनिन्छ । सुदूर प्रगैतिहासिक, पूर्वतार्किक तथा पूर्ववैज्ञानिक समाजका चेतनामा आएका विश्वब्रह्माण्डको उत्पत्ति, ईश्वर, जीवन, मृत्यु, पुनर्जन्म, अतिप्राकृतिक तथा अतिमानवीय पुख्र्यौली अनि बहादुरी सम्बन्धी विषयवस्तु भएका वंशानुगत कथालाई मिथक भनिन्छ (बराल, २०६१ ः १६७) । त्यस्ता मिथकले वर्तमान जीवनमा पनि विभिन्न सन्देश प्रवाह गरी रहेका हुन्छन् । साहित्यिक रचनामा प्रयुक्त त्यस्ता मिथकहरूले कृतिको मूल विषयलाई प्रभावशाली र सुरुचि सम्पन्न बनाएका हुन्छन् । प्रस्तुत उपन्यासको मूल प्रतिपाद्य देशको नक्साबाटै अलिखित वा अचिन्हित राखिएको वा राज्यबाट अनदेखा गरिएको बिरहिनपुर बरेवा गाउँका सर्वसाधारण जनतामाथिको जिम्दारी शोषण, गरिबी, महामारी, राज्यको हेला, नारीमाथिको यौनजन्य दुव्र्यवहार, भय, आतङ्क, अशिक्षा आदिको यथार्थ एवं मर्मभेदी चित्रण गर्नु हो । सो मूल प्रतिपाद्य भए पनि यसका ठाउँ ठाउँमा विभिन्न मिथकहरूको समावेशबाट उक्त प्रतिपाद्यलाई प्रभावकारी बनाइएको देखिन्छ ।
प्रस्तुत उपन्यासमा दोरहन्तल पोखरी सम्बन्धी मिथक सबभन्दा महत्त्वपूर्ण छ । त्यस मिथकले गरिबीले ग्रस्त बिरहिनपुर बरेवा गाउँवासीमा धनप्राप्तिको आशाको सञ्चार गराएको छ भने यथार्थमा सो पोखरी भय र आतङ्कको केन्द्र पनि बनेको छ । त्यस मिथकमा सो पोखरीमा थुप्रै धनराशी रहेको अनि त्यो धन कलियुगका कुनै गरिब दुखीका नाममा राखि दिनु भनी पौराणिक कालका दुर्योधनले लक्ष्मीलाई भनेको र लक्ष्मीले पनि राखी दिएको भन्ने किंवदन्ती पाइन्छ (पृ.३७) । गरिबी, दरिद्रता र अभावग्रस्त प्रत्येक गाउँवासी सो धन आफ्नै नाममा लेखिएको ठान्दै भ्रमपूर्ण आशामा रहेको सन्दर्भ उपन्यासमा प्रस्तुत गरिएको छ । त्यस पोखरीकै सन्दर्भमा त्यहाँको जिम्दार विश्वनाथले पूर्णिमाका दिन कुनै मनुष्यलाई पोखरीमा हुत्याउन सके त्यहाँको अपार सम्पदा उसकै हुनेछ भन्ने दैवी वाणी सपनामा सुनेको र त्यसकै निम्ति आफ्ना गलत कामको विरोध गर्ने इनरालाई पोखरीमा फाली बलि चढाएको सन्दर्भ पनि प्रस्तुत छ (पृ.८८) । यसरी मिथकका रूपमा आएको पोखरी गरिब गाउँलेका लागि भ्रमपूर्ण आशाको स्रोत हुनाका साथै जिम्दारको विरोधी नास्ने ठाउँ अनि सर्वसाधारणका लागि भयग्रस्तताको केन्द्र पनि बनेको देखिन्छ ।
प्रस्तुत उपन्यासमा बिरहिनपुर बरेवा गाउँलाई नै मिथकका रूपमा प्रस्तुत गरिएको छ । सो मिथकले प्रतीकात्मक रूपमा शासकीय एवं सामाजिक अराजकता र व्यभिचारको वीभत्स सन्दर्भलाई सङ्केत गरेको छ । त्यसमा धन कमाएर छोराछोरीका लागि लुगाको भारी लिएर दुई वर्षपछि आउने भनी गएको एउटी बिरहिनीको लोग्ने नफर्केको र सो बिरहिनीमाथि उमेर पुगेका गाउँले पुरुषले उसका छोराछोरीकै सामुन्ने बलात्कार गरेको भन्ने बर्बरतापूर्ण कथा जोडिएको छ । सो बलात्कारपछि त्यही पीडित बिरहिनीले देवी मार्फत गाउँ नै उजाडियोस् भन्ने सराप दिएकी र त्यसपछि गाउँ नै उजाडिन थालेको भन्ने किंवदन्ती प्रचलित छ । यसरी पापका कारण बिरहिनपुर बरेवा गाउँ कसरी समस्याग्रस्त भई नष्ट हुन पुग्यो भन्ने कुरालाई त्यस मिथकले प्रस्ट गर्न खोजेको छ ।
यस उपन्यासमा प्रस्तुत गरिएका विभिन्न मिथकहरूले विपन्नताग्रस्त गाउँवासीका यथार्थताकै सन्दर्भलाई बढी प्रस्तुत गरेका छन् । बिहान बेलुृकाको छाक टार्ने समस्यामा परेका गाउँवासी “बिहान छरे बेलुकी पाकि हाल्ने लौताभौँता धानको कथा (पृ.१०९)” चाख मानी मानी सुनी रहेका छन् । त्यस्तै पहिले खेतमा धानको साटो चामल फल्ने गरेको तर लोभी मानिसले भरपेट खाएर पनि खेतका चमलका बाला सुर्केर मुखमा हाल्ने लोभीपना देखाएकाले धानै फल्न थालेको (पृ.१८०) मिथकका माध्यमबाट मानिस लोभी हुन नहुने कुराको चेतना दिलाउन खोजेको बुझिन्छ । त्यस्तै मिथककै रूपमा भन्ने गरिएका “गढ राजा सेबइ सिंहका राज्यमा बाघ र बाख्रा एउटै घाटमा पानी पिउँथे (पृ.८५)” ले त्यहाँको पहिलेको न्यायपूर्ण र मेलमिलापपूर्ण विगतको शासन र विद्यमान अन्याय, शोषण र अत्याचारको विसङ्गतिपूर्ण शासनलाई प्रस्ट्याई रहेको देखिन्छ । साथै “कुनै राज्यका बासिन्दा विभिन्न काम गर्दागर्दै ढुङ्गामा परिणत भएका (पृ.८६)” भन्ने मिथकले आफूमाथि भएको अत्याचारका विरुद्ध कुनै प्रतिक्रिया जनाउन नसकेका त्यहाँका गाउँलेको जडवत् एवं अस्तित्वहीन जीवनलाई सङ्केत गरेको बुझिन्छ । प्रस्तुत उपन्यासमा आएको “हनुमानको पुच्छर नदीमा चोपेर आगो निभाएको (पृ.६१)” भन्ने पौराणिक मिथकबाट गाउँको प्राकृतिक सुन्दरताको प्रतिबिम्ब उतार्ने काम गरिएको देखिन्छ ।
प्रस्तुत उपन्यासका बिच बिचमा र अन्त्यमा आएका उपर्युक्त मिथकहरूले गरिबी र विपन्नतामा ग्रस्त रहेका तथा राज्यबाट अस्तित्वहीन बनाइएका बिरहिनपुर बरेवाका गाउँलेका समस्यालाई प्रस्तुत गरी रहेका छन् । यस उपन्यासमा आएका धरीछन कोइली, कथनी बुढियाजस्ता पात्रका भनाइका साथै अन्य विभिन्न प्रसङ्गमा पनि त्यस्ता मिथकहरूको प्रायोग गरिएको छ । यस्ता मिथकहरूले ‘अलिखित’ उपन्यासको मूल विषयलाई मार्मिक एवं प्रभावकारी बनाउनमा नै भूमिका खेलेको पाइन्छ ।
(ङ) भाषाशैलीगत विशिष्टता
धु्रवचन्द्र गौतमद्वारा रचित ‘अलिखित’ उपन्यासमा विविध भाषाशैलीगत वैशिष्ट्य फेला पर्छन् । यो नेपाली भाषामा रचिएको उपन्यास हो तर यसमा प्रशस्त वाक्यहरू भोजपुरी भाषाका पनि परेका छन् । नेपालको मध्य तराई बाराको बिरहिनपुर बरेवा गाउँको स्थानीय परिवेशलाई सूक्ष्मताका साथ चित्रित गर्ने क्रममा उपन्यासकारले त्यस्ता भोजपुरी भाषाका वाक्यहरूको प्रयोग गरेका छन् जसले उपन्यासको कथ्यमा स्वाभाविकता थपेको देखिन्छ । यसले स्थानीय आञ्चलिक विशिष्टतालाई पनि यथार्थता र स्वाभाविकताका साथ झल्काएको छ । यस उपन्यासमा आएका भोजपुरी भाषाका वाक्यहरूलाई स्वयं उपन्यासका ‘म’ पात्रले सँगसँगै नेपालीमा पनि अनुवाद गरी दिएकाले बुझ्नमा कठिनाइ उत्पन्न भएको देखिँदैन बरु त्यस्ता प्रसङ्ग भोजपुरी र नेपालीमा पनि आएकाले उपन्यासको कथानकीय गतिमा मन्दता आए पनि बुझाइमा सरलता निर्मित भएको पाइन्छ । यस क्रममा प्रस्तुत उपन्यासमा काठमाडौँबाट गएको उत्खनन टोलीका सदस्यहरू, बिरहिनपुर बरेवा गाउँमा बाहिरबाट गएर विकास निर्माणका फोस्रा आश्वासन बाँड्ने सरकारी मानिसहरू, गाउँकै हेल्थ पोस्टको असिस्टेन्ड रवि, सरजु आदिले नेपाली भाषाको पनि प्रयोग गरेका छन् भने त्यस गाउँका धरीछन कोइली, मतिया, मतियाकी माई, कथनी बुढिया, दुखिया, अनुपसिंह मिस्त्री, बिननी, शिवगुलाम आदि प्रायः सर्व साधारण जनताका साथै जिम्दार समेतले भोजपुरी भाषाको प्रयोग गरेका छन् । भाषा प्रयोगकै सन्दर्भमा यस उपन्यासमा इमर्जेन्सी, नर्वस, वन्डरफुल विट, भर्सटाइल जिनियस, क्युरिओ भ्यालु, जस्ट इमेजिन, हु नोज, अ बिग सेन्टिमेन्टल फ्लावर, नो एम्बिसन एट अल आदि अङ्ग्रेजी शब्द, पदावली र वाक्य समेतको प्रयोग पनि गरिएको पाइन्छ । यस्तो भाषिक प्रयोग प्रायः उत्खनन टोलीकै पढालेखा सदस्यहरूका बिच भएकाले उपन्यासमा अस्वाभाविकता देखिएको छैन ।
‘अलिखित’ उपन्यासको भाषाशैलीगत विन्यासको महत्त्वपूर्ण पक्ष व्यङग्यात्मकता हो । यसमा एकातिर कृतिव्यापी व्यङग्यात्मक अभिव्यक्तिको तीक्ष्णता पाइन्छ भने ठाउँ ठाउँमा श्यामव्यङ्ग्यको मार्मिकता र छेडपेच पनि भेटिन्छ । खास गरी यस उपन्यासमा तत्कालीन शासन व्यवस्थाको कुनियत, उत्खनन टोलीका बुद्धिजीवीका कार्य तथा बिरहिनपुर बरेवा गाउँका सर्वसाधारण जनताको निस्क्रियताप्रति पनि व्यङ्ग्यको झटारो हानिएको छ ।
प्रस्तुत उपन्यासको कृतिव्यापी व्यङ्ग्य निकै प्रभावकारी र तीक्ष्ण छ । त्यसमा बिरहिनपुर बरेवाका जनताका पीडा, शोषण, गरिबी, अभावग्रस्तता, रोगको महामारी, छिमेकी गाउँबाट हुने डकैती र लुट, नारीमाथिको यौन शोषण र अन्य दुव्र्यवहार आदिलाई र त्यस्ता घाउहरू बेहोरी रहेको गाउँलाई देशको तथ्याङ्कबाटै अलिखित वा नामेट पारेर तत्कालीन शासकहरू विकास निर्माण र शन्ति सुरक्षा अनि अमनचैनको बाजा बजाई रहेका छन् भन्ने बिडम्बनाको उद्घाटन गर्नु हो । यो कुरा देशको नक्साबाट हटाइएको सो गाउँको सन्दर्भ र तत्कालीन पञ्चायती शासनको प्रतीक बनेर आएको दोरहन्तल पोखरीले गाउँलाई सर्लक्कै निली दिएको सन्दर्भले नै बुझाएको छ । यो प्रस्तुत उपन्यासको कृतिव्यापी व्यङ्ग्यको सबभन्दा मारक पक्ष हो । त्यस्तै यस उपन्यासले उक्त गाउँका जीवित मानिसहरूले भोगी रहेका दर्दनाक र वीभत्स पीडाहरूप्रति कथित बुद्धिजीवी भनाउँदा व्यक्तिहरूको सरोकार छैन र तिनीहरू केवल कुन प्रोजेक्ट मार्फत कसरी आय आर्जन गर्न र रकम निकासा गरी खान पाइन्छ भन्ने कुरा सोच्दछन् भन्ने कुरा पनि प्रकट गरेको छ । यो पनि यस कृतिले समग्रतामा दिएको व्यङ्ग्यको झटारो नै हो । यस उपन्यासमा यस सम्बन्धी भनाइ टोलीकै एउटा सहभागी ऋषिरामले यसरी भनेको पनि छ “एउटा पुरात्त्वविद्लाई मान्छेमा होइन, ढुङ्गामा बढी रुचि हुन्छ । मान्छेमा भए पनि हाड–कङ्कालको रूप लिएपछि मात्र हुन्छ भन्छन् (५०) ।” त्यस्तै प्रस्तुत उपन्यासमा बिरहिनपुर बरेवा गाउँका सर्वसाधारण जनतामा रहेको निस्क्रियता, निरीहता र कातरपनप्रति पनि व्यङ्ग्य गरिएको छ । यस उपन्यासमा त्यहाँका गाउँलेले जिम्दारले गरेको शोषण, अन्याय, अत्याचार तथा अमानवीय क्रियाकलाप तथा त्यस क्रियाकलापका विरुद्ध छिटफुट रूपमै भए पनि आवाज उठाउन खोज्ने इनरा, सुनरा र सलिमा मुसलमानका क्रियाकलापलाई साथ दिने सक्रियता देखाउन सकेका छैनन् । यस तथ्यबाट गाउँमा सक्नेले जे गरे पनि हुने र त्यसका विरुद्ध कुनै विरोध वा विद्रोह नभएपछि त्यो गाउँ वा त्यो देश बिरहिनपुर बरेवा हराएजस्तै वा अलिखित रहेजस्तै रहन सक्छ भन्ने अभिव्यक्ति पनि प्रस्तुत गरी गाउँलेको निस्क्रियताप्रति पनि परोक्ष व्यङ्ग्य गरिएको छ । यस सन्दर्भमा उपन्यासमा यसो भनिएको पाइन्छ “वास्तवमा विद्रोह नभएकाले त्यो गाउँ नष्ट भयो । जुन जातिमा विद्रोह मर्छ, त्यसको कू्ररता विरुद्धको प्रतिरोधता समाप्त हुन्छ, एक दिन त्यो नष्ट हुन बाध्य हुन्छ । बरेवामा विद्रोह थिएन भने पनि भयो (पृ. २१९) । “ यसरी आफूमाथिका अन्याय अत्याचार र शोषणका खिलाफमा उठ्न नसक्ने र उठेका आवाजलाई पनि सघाउन नसकी भयभीत जीवन बिताउने गतिहीन गाउँले सर्वसाधारणप्रति पनि ’अलिखित‘ उपन्यासले व्यङ्ग्य हानेको छ ।
प्रस्तुत उपन्यासका विभिन्न प्रसङ्गमा मार्मिक व्यङ्ग्यका तिखा सुइरा फेला पर्छन् । त्यस प्रकारका व्यङ्ग्यमा श्यामव्यङ्ग्यको प्रयोगलाई महत्त्वपूर्ण मानिएको छ । श्यामव्यङ्ग्यलाई असित व्यङ्ग्य पनि भनिन्छ र यसको मूल शक्ति भनेको बर्बरता र मनोविनोदलाई जोडेर विसङ्गतिमाथि प्रहार हो (बराल र एटम, २०५६ ः २६३) । यसले अत्यन्त गम्भीर र संवेदनशील कुरालाई पनि सामान्य र तल्लो स्तरको कुरासँग जोडी पाठकलाई जीवनका कटु यथार्थसँग परिचित तुल्याई तिनका दोषी वा प्रतिकूल परिस्थितिमाथि कठोर व्यङ्ग्य प्रहार गर्दछ । ‘अलिखित’मा प्रयुक्त श्यामव्यङ्ग्यका केही दृष्टान्त तल प्रस्तुत गरिएका छन् ः
ड्ड बरु बन्धकी मात्र राख्नेलाई विश्वनाथ एउटा सुविधा अवश्य दिन्थे, उनी त्यसलाई सधैँ छुटाउन सकिने रूपमा तत्पर राख्थे, तबसम्म जबसम्म गहनावाला स्वयम् थकित भएर र ब्याज चढेकाले निकै जोशिलो भएर त्यसलाई बेच्ने सादर निवेदन गर्दैनथ्यो (गौतम, २०६६ ः १६१) ।
ड्ड गीत निकै सुझबुझका साथ तयार पारिएको थियो र बलात्कारको आनन्द लिएपछि बिरहिनको कथामाथि सहानुभूति उमारेर गीतकारले आफ्नो धर्मको पालना गरेको थियो (गौतम, २०६६ ः २०१) ।
ड्ड सारा गाउँका उमेर पुगेका मानिसले बिरहिनलाई विधिवत् अर्थात् पशुवत् र पुरुषवत् बलात्कार गरे । उसका केटाकेटीहरूका उपस्थितिमा त्यो रसिक कार्य गरिएको थियो (गौतम, २०६६ ः १९९) ।
ड्ड के त्यो जाडैले म¥यो त ? यी सब भन्नु व्यर्थ हो । उभिने मानिसमध्ये केही बाजी ठोक्न तयार थिए । त्यसको मृत्युमा दरिद्रताको हात थियो कि थिएन (गौतम, २०६६ ः १५१) ।
ड्ड तिनताक मानिसको अनुहारमा चौबीसै घण्टा एउटा आतङ्क पनि लिपिएको हुन्थ्यो । निद्रामा समेत । स्वास्नीसँग सुतिरहँदा पनि (गौतम, २०६६ ः ७५) ।
यस प्रकारका विषम परिस्थितिको निर्माण गरी व्यक्ति र समाजका विडम्बनाको प्रभावकारी उद्घाटन ‘अलिखित’का पाना पानामा जस्तै पाइन्छ । मानवीय कालिमा तथा शुक्लताको चापबाट निःसृत मर्मान्तता र मार्मिकताको अद्भुत समागम श्यामव्यङ्ग्यका जन्मको कारण बन्छ (शर्मा, २०६३ ः १३) । बिरहिनपुर बरेवाको विसङ्गत जीवनसँग सम्बद्ध प्रस्तुत उपन्यासको श्यामव्यङ्ग्यात्मक अभिव्यक्तिले पाठकका ओठमा मुस्कान छरिँदा नछरिँदै दिमागमा विडम्बनाको तिखो सुइरो रोपिएको हुन्छ । श्यामव्यङ्ग्यको यो प्रस्तुति प्रस्तुत उपन्यासको र गौतमको पनि महत्त्वपूर्ण वैशिष्ट्य मानिन्छ ।
‘अलिखित’ उपन्यासमा बिम्बात्मक भाषाशैलीको व्यापक हरियाली पाइन्छ । लेखकले आफ्नो प्रतिपाद्य प्रसङ्गलाई मिल्ने गरी बाह्य जगत्को स्थूल, इन्द्रिय गोचर वस्तु वा मनोजगत्को भावलाई वस्तुगत रूप दिई लेखनमा समाहित गर्नुलाई बिम्बात्मकता भनिन्छ (उपाध्याय, २०५५ ः ५२६) । प्रस्तुत उपन्यासमा धु्रवचन्द्र गौतमले विभिन्न बिम्बहरूको कलात्मक आयोजन मार्फत आफ्ना मनोभावको अभिव्यक्ति प्रस्तुत गरेका छन् र पाठकका मन मस्तिष्कमा त्यस्ता भावको जीवन्त प्रतिमूर्ति खडा गरि दिएका छन् । यस उपन्यासमा प्रयुक्त बिम्बात्मक भाषाका केही रूप तल प्रस्तुत गरिएको छ ः
ड्ड कुनै कुनै माछोभन्दा के कम हुन्छ र आशा ? त्यत्तिकै चिप्लो, राम्रो र स्वादिष्ट र त्यत्तिकै फुत्केर जाने (गौतम, २०६६ ः ३६) ।
ड्ड समय सगरमाथाको हिउँझैँ पग्लिँदै, समुद्रको विस्तारमा बदलिँदै गयो । समयमा लटपटिएर कैयौँ घटनाहरू द्वीपजस्तै निर्मित हुँदै समुद्रको गर्भमा लुके अथवा कि मैनाक पर्वतझैँ माथि उक्सेर उभिइ रहे (गौतम, २०६६ ः ३९) ।
प्रस्तुत उपन्यासमा आएका उपर्युक्त बिम्बात्मक अभिव्यक्तिमध्ये पहिलो उद्धरणले मानवीय आशा वा आकाङ्क्षालाई चिप्लो, राम्रो, स्वादिष्ट र फुत्केर जाने माछोमा बिम्बीकृत गरेको छ । त्यसले मान्छेका आशाहरू निकै हुन्छन् ती राम्रा र प्राप्त गरूँ गरूँ लाग्ने हुँदाहुँदै पनि ती सबलाई प्राप्त गर्न कठिन हुन्छ भन्ने स्थितिबोध गराएको छ । माछाझैँ चिप्लिएर अप्राप्य पनि हुने आशालाई बिम्बात्मक अभिव्यक्ति मार्फत प्रभावशाली बनाएर प्रस्तुत गरिएकाले सो कथन कलात्मक बनेको छ । त्यस्तै दोस्रो उद्धरणमा समयको गति र मानिसको स्मृतिलाई हिउँझैँ पग्लने, समुद्रको विस्तारझैँ फैलिने, द्वीपझैँ स्मरणमा रही आई पुनः लुक्ने अनि पर्वतझैँ स्मृतिपटलमा स्थिर रहने रूपमा बिम्बीकृत गरिएको छ । यसरी लेखकीय मनोभावमा उत्रेका अनेकौँ पक्षहरूलाई मूर्तीकृत गरी सादृश्यताका साथ अभिव्यक्त गरिएकाले प्रस्तुत उपन्यासको भाषाशैली कलात्मक बिम्ब विधानबाट सुसज्जित बनेको छ ।
‘अलिखित’ उपन्यासको भाषा शैलीगत विशेषतामा चेतनप्रवाह शैलीको प्रयोग पनि महत्त्वपूर्ण छ । यसमा बिरहिनपुर बरेवा गाउँका विभिन्न पक्षहरूको चित्रण खास शृङ्खलामा छनोटपूर्ण तरिकाले नगरी मन लागे जति सबैको चित्रण गरिएको छ । चेतनप्रवाह भनेको पानीको भलजस्तै विचार अघिल्तिर बग्ने मनको प्रक्रिया हो र यस (अलिखित) मा त्यसै प्रक्रियाको प्रयोग गरिएको छ (पोखरेल, २०६० ः ६१) । यसमा सामान्य वा असामान्य, महत्त्वपूर्ण वा महत्त्वहीन घटना वा पक्षहरू वा उपन्यासको कथानकसँग अन्वित भएका वा नभएका पक्षहरू पनि चित्रित र वर्णित भएका देखिन्छन् । कुनै मुभी क्यामराले आफ्नो दृष्टिमा परेका सबै फोटो खिचेझैँ वा गाडीको हेड लाइट बाल्दा त्यसको उज्यालोले समेटेका कुरा सबै देखिएझैँ उपन्यासकारले आफ्ना मनका अगाडि उम्रेका भावहरूलाई पस्की दिएका छन् । यसैले उपन्यासमा दिशा बसाइको दृश्य पनि चित्रित छ भने नागाबाबाको लिङ्गको आकार प्रकारको पनि वर्णन छ । यसमा कर्णबहादुर थापाका दिमागमा उब्जेका अस्वस्थ यौनेषणाका विकृत मनस्थितिको चित्रण पनि गरिएको छ भने लुतो र कुकुरझिँगाले ग्रस्त कुकुरको वर्णन पनि गरिएको छ । यसरी परम्परित उपन्यासका स्थापित मान्यता र नियमभन्दा बाहिर गएर कथानकको निर्माण, चरित्रको चित्रण आदि गरिएकाले प्रस्तुत उपन्यासलाई अउपन्यास वा किमुपन्यास पनि भनिएको पाइन्छ (पोखरेल, २०६० ः ६३) ।
‘अलिखित’को उपन्यासमा मूलतः प्रथम पुरुष दुष्टिविन्दुको प्रयोगका साथै कतिपय प्रसङ्ग तृतीय पुरुष दृष्टिविन्दुमा परिवर्तित भएको पनि देखा पर्छ । भाषाशैलीमा अनौपचारिकता वा बोलीचालीको शैली र कतिपय सन्दर्भमा प्रश्नात्मक कथन पनि प्रयुक्त भएको देखिन्छ । यस उपन्यासमा प्रयुक्त भएको अनौपचारिक तथा प्रश्नात्मक वार्तालापको दृष्टान्त तल प्रस्तुत गरिएको छ ः
ड्ड के होला ? अलिकति विपत्ति थपिएला, किन ? नसहनु ? यसैको त अभ्यास तिनीहरू (बिरहिनपुर बरेवावासी) गर्थे जीवनभरि । भने , यही ठीक छ । अनि यदि ठीक छैन भने पनि, यही ठीक भइ रहन्छ कसो ? (गौतम, २०६६ ः २०२)
उपर्युक्त कथन अर्को उपस्थित श्रोताका सामुन्ने नभई पाठकलाई नै सम्बोधन गरेर प्रश्नका साथ अनौपचारिक तरिकाले प्रस्तुत भएको छ । यसका साथै प्रस्तुत उपन्यासको भाषाशैलीमा पात्रका बौद्धिक एवं भाषिक स्तर अनुरूपको भाषाशैलीको प्रयोग पनि देखा पर्छ । समग्रमा विविध भाषाशैलीगत प्रयोगपरकता एवं विशिष्टताले ‘अलिखित’ उपन्यासको महत्त्व बढाएको देखिन्छ ।
(च) निष्कर्ष
धु्रवचन्द्र गौतम नेपाली उपन्यास सिर्जनामा नौला नौला प्रयोग भित्र्याउने महत्त्वूर्ण स्रष्टा हुन् र उनको ‘अलिखित’को शिल्पमा नयाँ प्रयोगका विभिन्न रूपहरू देखा पर्छन् । यस उपन्यासले मुख्यतः नेपालको तराईस्थित गाउँमा व्याप्त जिम्दारी शोषण, अभावग्रस्त सर्वसाधारणको जीवन, राज्यको चरम उपेक्षा, नारीमाथिको दुव्र्यवहार, हाकाहाकी हुने डकैती र अन्य प्रकारको भयग्रस्तता, अशिक्षा र अज्ञानता आदि कथ्यगत पक्षहरूलाई नवीन एवं प्रभावकारी शिल्प सँरचनामा प्रस्तुत गरेको छ । यसको नवीनता भिन्न भिन्न खण्डलाई महिनामा र ती महिनामा पनि भिन्न भिन्न पात्रलाई नायकत्व प्रदान गरी कथानकका प्रसङ्गमा स्वतन्त्रता अनि चरित्रमा बहुनायकीयता प्रदान गर्नुमा पनि अभिव्यक्त भएको छ । यसमा यथार्थका विकृत एवं विसङ्गत पक्षलाई प्रभावकारी एवं मार्मिक बनाउनका निम्ति स्वैरकल्पना एवं मिथकीय प्रयोग पनि गरिएको छ । साथै यसको भाषा शैलीगत पक्षमा देखिएको भोजपरी र आगन्तुक शब्द मिश्रित अभिव्यक्ति, बिम्बात्मक, व्यङ्ग्यात्मक, चेतनप्रवाहात्मक एवं अनौपचारिक कवितात्मक शैली पनि उपन्यासको प्रयोगशीलता र विशिष्टतालाई उचाइमा पु¥याउन सहायक देखिएको छ । समग्रमा समकालीन नेपाली उपन्यास लेखनमा नौला नौला प्रयोगमा अभिरुचि देखाउने गौतमको ‘अलिखित’ उपन्यास शिल्पगत वैशिष्ट्यको प्रयोग स्थलकै रूपमा देखा परेको छ ।
सन्दर्भ सामग्री
उपाध्याय, हृषिकेश (२०५५), ‘बिम्ब विधान’ नेपाली साहित्यकोश, काठमाडौँः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
गौतम, धु्रवचन्द्र (२०६६), अलिखित, (छै.सं.) ललितपुरः साझा प्रकाशन ।
पोखरेल, माधवप्रसाद (२०६०), ‘अलिखित उपन्यासको रचना शिल्प’ आख्यानपुरुष डा. धु्रवचन्द्र गौतम, नेपालः
चितवन वाङ्मय प्रतिष्ठान ।
बराल, कृष्णहरि र नेत्र एटम (२०५६), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, ललितपुरः साझा प्रकाशन ।
बराल, कृष्णहरि (२०६१), वस्तुपरक समालोचना, काठमाडौँ ः स्टुडेन्टस् बुक्स पब्लिसर्स एण्ड डिस्ट्रिब्युटर्स ।
भण्डारी, पारसमणि र अरूहरू (२०६६), नेपाली गद्य र नाटक, काठमाडौँ ः विद्यार्थी पुस्तक भण्डार ।
शर्मा, मोहनराज (२०५५), समकालीन समालाचना ः सिद्धान्त र प्रयोग, काठमाडौँ ः नेपाल राजकीय
प्रज्ञाप्रतिष्ठन ।
, (२०५९), ‘उपन्यासकार डा. धु्रवचन्द्र गौतम’ समकालीन साहित्य, १३ ः २, पूर्णाङ्क ४७,
कार्तिक–पुस, पृ.८२–८५ ।
, (२०६३), ‘सूत्र उपन्यासको सिद्धि र फूलको आतङ्क’ फूलको आतङ्क, (दो.सं.), ललितपुरः
सहप्राध्यापक, पृथ्वी नारायण क्याम्पस, पोखरा