19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कक्षा-2007

कविता सुधीर छेत्री May 21, 2012, 8:06 am

लुगा सिलाउने मसिन जस्तो एउटा लुइरे शिक्षकले

दशपल्ट उध्रिरहने लास्ट-बेञ्चरहरूको दिमागलाई

खुटिरहन्छ।

यो कक्षाको ज्यामिति-बाकसभित्र

स-साना क म्पास र चॉंपहरू

बेमेलको बक्ररेखालाई

तन्काई-तन्काई

तेर्सो पार्ने प्रयासमा छन्।

मेरो श्रेणी कक्षा

राधाकृष्णन् र

कृष्णमूर्तिले टालेका कोटेसन चाखेर

जिब्रो पड्काइरहन्छ अनि दिनहुँ

दिमागको छानाबाट चुहिरहने

विचारका तप्कनाहरू

समयको भूईंमा पछारिइरहन्छ।

समय-तालिका चपाएर

अनुशासनको वान्ता गर्छ

उज्यालोले लाटिएका

पोल्ट्री फार्मका पङ्क्षीहरू।

जुनकिरीको रॉंको बोकेर

उमेरभन्दा अघि-अघि हिडिरहेछन्

दुबोहरू।

काठको टेबलले

आफ्नो संवेदनशीलता बचाउन

छातीभरि कोर्नदिइरहन्छ अङ्ग्रेजी गीतका स्थायीहरू।

हतास फलामका बेञ्चीहरू पनि

कनाइबस्छ ढाड

ग्रफाइटको पेन्सिलले।

इतिहासको किताबबाट

पिरियडैपछि निस्कनचाहने योद्धाहरू

भूगोल र विज्ञानको बीचमा चेप्टिएर

समय-कटनीको लागि

टिफिनको गन्ध सुँघ्दै

मुख मिठ्याइरहेछन्।

बाहिर देखेँ,

बयेरका टफी चुसेर चराहरू

मसीनका आवाजबाट

कर्कशता छिलेर

साङ्गीतिक लेप लाउनलाई

भुर्र-भुर्र हावा हम्किरहेका रहेछन्।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।