नेपाली साहित्यका विविध विधामध्ये महत्वपूर्ण विधाका रुपमा कथा प्रचलित छ । गद्यात्मक होस् या पद्यात्मक जुन शैलीमा वर्णन गरिएको भए पनि सारमा एउटा कहानी पाइन्छ नै । एकादेशमा एउटा ... भनेर छोटामिठा कथा लेखिएको र तिनै कथा सुनेर र पढेर अरुहरुलाई सुनाउने दन्त्यकथालाई कथाकारहरुले बढाईचढाई या अवस्थाअनुसार काँछछाँट गरेर पुस्तकमा उतारेका थुप्रै कथा हामीले पढ्दै आएका छौँ । कुनै पनि कथामा एउटा न एउटा गम्भीर, महत्वपूर्ण र भावनात्मक गहिराइ हुन्छ । कुनै कथा पढेपछि आँट, हौसला, हिम्मत र शीतलता प्राप्त हुन्छ भने कुनै कथाबाट डरत्रास, रोदन र दुःखद सन्तापहरु प्राप्त हुन्छ । वास्तविकतामा आधारित पौराणिक कथाहरु सुन्दा लेखकको कल्पनामात्र हो कि जस्तो पनि लाग्छ । कल्पनामा आधारित कथाहरु पढ्दा र सुन्दा वास्तविक होइन कि भन्ने शङ्का हुन्छ ।
सन्दर्भतः कथाकार सञ्जु बजगाईंद्वारा लिखित ‘समुद्र र सपना’ कथासङ्ग्रहमा समुद्रपारि पुगेकी एउटी नेपाली चेलीले लेखेकी मर्मस्पर्शी पन्ध्रओटा कथाहरु सङ्कलित छन् । उनले व्यस्त समयका अतिरिक्त यो सङ्ग्रह तयार पारेर पाठकसामु प्रस्तुत गरेकी हुन् । परिस्थितिबश डायस्पोरिक जीवन बाँच्न बाध्य सञ्जुले समुद्रपारि जानेहरुको अवस्था र पीडालाई सङ्ग्रहभित्रका कथामार्फत प्रकट गरेकी छिन् । जन्मभूमिमा बाँच्ने र रमाउने रहर कसलाई हुँदैन ! परिवारको माया र सुखदुःख बाँड्ने एवम् चाडपर्वमा सँगै रमाउने रहर कसलाई हुँदैन । यो उनीहरुको अधिकार र कर्तव्य हो । तर पनि उनीहरु बिदेसिन बाध्य छन् । उनीहरु थोरैजसो रहरले र धेरैजसो कहरले बाहिरिन्छन् । मनभित्र अकासिएका कल्पना र अपार सपनालाई मूर्त रुप दिने उद्देश्य बोकी विदेशी भूमिमा पाइला टेकेका उनीहरुले अन्ततः शोषण, दमन, घृणा र अत्याचार सहनुपर्छ । उनीहरुले यन्त्रले जस्तै काम गर्नुपर्छ । यो नेपाली नारीका लागि कहालीलाग्दो विडम्बना हो । यिनै विडम्बनाहरुलाई सञ्जुले कथाको मालामा उनेर प्रस्तुत गरेकी छिन् ।
विदेश के रहेछ ? कसरी कमाइ हुँदो रहेछ ? नेपालको गाउँघर र बस्तीमा बसेर विदेश गएका छोराछोरीले कमाएर ल्याउँछन् र सन्तोषको सास फेरौँला भनी बसेका परिवारको आशा पूरा गर्न कति गाह्रो पर्दो रहेछ ? यी वस्तुगत सत्यलाई सञ्जुका कथाहरुले छर्लङ्ग पारिदिएका छन् । सन् १९९७ देखि कविता प्रकाशित गरेर साहित्यिक क्षेत्रमा उदाएकी सञ्जुले कथालेखनतर्फ सन् २००६ देखि कलम चलाइन् । ५÷६ वर्षको छोटो अवधिभित्रै उनले पन्ध्रओटा कथाहरु लेखेर विशिष्ट पहिचान बनाइन् । नेपालको सामाजिक, राजनीतिक तथा आर्थिक परिवेशको सङ्गति विसङ्गतिलाई समेटेर पाठकसामु ल्याइन् । डायस्पोरिक जीवनमा भोग्नुपरेका कठिनाइ र नारीका समस्यामाथि केन्द्रित रहेर नारीकै प्रतिनिधित्व गर्न उनी सक्षम बनिन् सङ्ग्रहभित्रका कथाहरुमा । स्वाबलम्बन, स्वाभिमान र कठिन आत्मसम्मान अनि प्रतिष्ठाको संरक्षण सङ्ग्रहभित्रका कथाका सार तत्व हुन् ।
सङ्ग्रहभित्रको पहिलो कथा ‘समुद्र र सपना’ हो । यसकी मुख्य पात्र कान्छ्यामा हुन् । उनलाई परिवारले तिरस्कार गर्छ । त्यसपछि उनको बसाइ कालिथानमा हुन्छ । उनी मागेर अर्काको निगाहामा पेट पाल्न बाध्य हुन्छिन् । मनभित्र दुखेको घाउ बोकेर बाँचिरहेको अवस्थामा लेखिकाले सहयोग गर्छिन् । उनलाई विदेशको भ्रमण गराएर विदेशी लवाइखवाइसँग परिचित गराउँछिन् । उनलाई कथाकारले सन्तुष्ट पारेकी छन् । कथामा रगतको नातालाई झुट्टा साबित गरिएको छ । जन्म र मृत्यु अनि प्रेममात्र सत्य हो भन्न खोजिएको छ ।
दोस्रो कथा ‘पपेट’ हो जुन आधुनिक उपभोग्य यन्त्र हो जसलाई टी.आर.जीले ल्याए । त्यस यन्त्रले कपडा धुने, स्त्री लगाउने जस्ता घरका सबै काम गथ्र्यो । एकदिन त्यसले मानिसले झैँ कोठामा सधैँ एक्लै बस्नुपर्ने भनी दुःखमनाउ ग¥यो र भन्यो, ‘मेरो पोजिसन चेन्ज गरिदिनुप¥यो ।’ टी.आर. आश्चर्यचकित भए । मर्मतका लागि पो लानुपर्ने हो कि भन्ने उनलाई लाग्यो । आखिर वैद्यकहाँ लगियो । वैद्यसँग पपेटको सम्बन्ध बढ्यो । कालान्तरमा पाँचौँ पपेटले टी.आर.लाई छाड्यो । एउटी महिलाजस्तै गरी पपेट बाहिरियो । यन्त्र अर्थात् एक्काइसौँ शताब्दीको विकासको चरम चुलीलाई लेखिकाले छोटोमिठो रुपमा प्रस्तुत गरेकी छिन् ।
तेस्रो कथा हो ‘गुलाबी फ्रक ।’ धनसरी एउटी अबोध बालिका हो । ऊ इँटाभट्टामा काम गर्न बाध्य हुनुपर्छ । निराश जिन्दगी बाँचिरहेकी बच्चीलाई राम्रो लगाउने र आफन्तसँग भेट्ने अवसर थिएन । लेखिकाले उनलाई भेटेर गरेकी मायाप्रति आकर्षित भएकी बच्चीले अब सायद दुःखी परिवेशबाट छुटकारा पाउने आशा लिएकी छ । ऊ कहिलेकाहीँ निराश बन्दा भगवान्को नामै नलिने र विश्वास नमान्ने भएकी छ । चितवनको घर फर्किने आशा पूरै मरेर बम्बैको कोठीमा अतालिएर बसिरहेकी धनसरीलाई विदेशबाट उद्दार गरेर नेपाल फर्काएको काल्पनिक कथा बडो चोटिलो छ ।
चौथो कथा ‘आत्महत्याको शृङ्खला’ हो । यसमा विवाहको एकदिनमात्र अगि बेहुलीकी हुनेवाला श्रीमानकी भाउज्यूले आत्महत्या गरेकी छ । यसबाट विवाहको तिथि पन्ध्र दिनपछि सरेको छ । बेहुली बनेकी सरुको विवाह डाक्टरसँग हुँदै छ । आत्महत्या गर्ने महिला अर्चना हुन् । उनी एकजना साहित्यकारकी श्रीमती हुन् । यस कथामा अज्ञात रहस्य र अथाह पीडामा पिल्सिनुपरेका नारीहरुको बेथालाई दुःखद रुपबाट पाठकसामु पस्किएको छ ।
‘एम्बुस’ शीर्षकको पाँचौँ कथामा ज्योति विदेशबाट आउँछे । त्यसपछि नचिनेको मान्छेको फोन पटकपटक आउँदा उनलाई अचम्म लाग्छ । फोन गर्ने मानिसले आफूलाई मेघ एन्ड इन्टरप्राइजेजको मेघ शर्मा भनेर चिनाउँछन् । पछि उनी ज्योतिको घरमै आउँछन् । ज्योतिले नचिनेपछि ‘वर्षा शर्मा हुँ म’ भनेर परिचय दिनुले सशङ्कित वातावरण निर्माण गर्छ । श्रीमान सरोज एम्बुसमा परेर बितेपछि बाँकी जीवन बिताउन बिदेसिएकी ज्योतिले पिटरसँग विवाह गरेको मेघ शर्मालाई चित्त बुझ्दैन । सम्भवतः मेघ शर्मा अझै पनि ज्योतिसँग विवाह गर्न चाहन्छन् । बातचितका क्रममा ज्योतिले के अझै चाहना छ त ? नत्र म स्वदेशी नै अपनाउँछु पिटरलाई बिर्सिदिन्छु भन्दा अचानक फोन आएर मेघ शर्मा तत्काल चिप्लिन्छन् । आधुनिक लडाइँ र झगडामा पड्किने एम्बुसको करामतले गर्दा नारीहरु विवश भएर बाँच्नुपरेको छ । नेपालीहरुको आपसी मतभेदका सङ्घर्ष दुःखद र अव्यावहारिक थियो भन्नु पनि यस कथाको आशय हो ।
पुरूषपीडित नारीको मानसिक द्वन्द्व र विरोधाभाषसहितको नारीवादी चेतनालाई ‘विद्रोह’ कथाले देखाएको छ । कथामा लोग्नेबाट स्वतन्त्रता पाउन र गणतन्त्रलाई उपयोग गर्न नारीले घरभित्रैबाट सङ्घर्ष गर्नुपर्ने यथार्थलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।
सातौँ कथा हो ‘क्रसरोड ।’ यस कथाले विवशता र बाध्यता बोकेको छ । विदेशमा बिरामी परेका बेलामा अघोर माया र ममता दिएर निस्वार्थ सेवा गरिरहने मिस्टर मोरिसलाई कथाकी पात्रले कुन दृष्टिले हेर्ने ? स्वदेशप्रतिको अगाध माया र सम्झनालाई साकार पारेर नेपाल आउन लागेकी बिरामी नेपाली नारीलाई एउटा विदेशीले दिएको छोरीको स्थान लिएर कसरी विदेशमा बसिरहने ? फेरि दुर्घटनामा मरेकी छोरीको प्रतिबिम्ब मानेर मायाममता दिएर बुबाको स्थान लिन खोज्ने मोरिसलाई कसरी रित्तो हात छाडी नेपाल आउने ? क्रसरोड जस्तै द्विविधाजनक अवस्था सिर्जना भएको छ कथाकी पात्र जमुनाकुमारीका सामु ।
‘बन्द झ्याल’ कथाकी नायिका पश्चिमी सभ्यतामा दशौँ वर्ष हुर्किएकी छ । ऊ विश्वेश्वर र उनकी श्रीमती सरस्वती (जो नेपाली हुन्) को नजिकै कोठामा बस्छे । विदेशी परिवेशमा एकदिन सरस्वतीको जन्मदिनको पार्टी हुन्छ । उनी त्यस पार्टीमा पाश्चात्य शैलीमा रमाउँछे । यसो गर्दा आफ्नोपन छाडी तेस्रो मुलुकमा छु भन्ने बिर्सेर जीवनलाई अघि बढाइरहन चाहेको हो अर्थात् बाध्यता–विवशता हो भन्ने आभाष हुन्छ ।
‘सम्बन्धको दूरी’ नवौँ कथा हो । नेपाली नारी र पुरूषका बीचमा भएको खानदानी पाराको घमन्डलाई यस कथामा देखाइएको छ । घमन्ड आडम्बरमा आधारित छ । त्यसबाट पारिवारिक कलह उब्जिन्छ । इज्जतका लागि पनि पढेलेखेकी नारीहरुले घरधन्दामै सीमित हुनुपर्ने र जागिर (नोकरी) गर्दा परिवार तथा खानदानकै इज्जत जाने मनस्थिति बोकेको दिवसले श्रीमतीले क्याम्पसमा पढाउने जागिर खाएको कुरालाई बेइज्जती ठानेर नाटकीय ढङ्गबाट सम्बन्ध विच्छेद गरेको छ । यस्तो सम्बन्ध विच्छेदबाट एउटी नारी रूनु दुःखी हुनु र पीडा महसुस गर्नुपर्ने हो तर यस कथाकी पात्राले कुनै दुःख पीडा महसुस नगरी हरेक घटनालाई सामान्य मानेर आफ्नो जीवन मुक्ति भएर चलाउँछे । यस कथाले नेपाली पढेलेखेकी नारीलाई कथाकी पात्रले झैँ आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने महान् सन्देश दिएको छ ।
दशौँ कथा ‘अर्को मोड’ले साँच्चै नेपालबाट समुद्रपारि गएकी एउटी विवाहिता नारीले जानी नजानी श्रीमानलाई छाडेर विदेशी समलिङ्गी केटी मारियासँग विवाह गरेर बार्सिलोनामै बस्न पुग्नु कहाँसम्मको मात्तिएको व्यवहार हो ? के उनलाई उनका पतिले श्रीमतीको आवश्यकता महसुस गरेर त्यहाँसम्म पु¥याएका होइनन् र ? आफूले आफैलाई बिर्सिन सक्ने र मौका परे जे पनि गर्ने नारी चरित्रलाई व्यङ्ग्यात्मक रुपबाट यस कथाले प्रस्तुत गरेको छ ।
एघारौँ कथा ‘ईष्र्या’ अति सरल र मनोवैज्ञानिक कथाका हो । रमिता बाह्र वर्षकी छ । ऊ नोकर्नीका रुपमा हुर्किएकी जवान केटी हो । उसका घरबेटी सुवर्णको विवाह हुन लागेको छ । त्यही बेला उनका मनमा तरङ्ग, तरेली र कौतूहल उठ्छन् । उनी आफू र उनलाई दाँजेर हेर्छिन् । त्यस क्रममा ऊ आफू र सुवर्णका बीचमा धनी र गरिब, साना र ठूलाका बीचको पर्खाल उभिएको पाउँछे । पद र इज्जतका हिसाबले पनि दुवैका बीचको हैसियतमा ऊ फरक देख्छे । यस्ता कुराले उसमा मनोवैज्ञानिक असर पार्छ । यस्तै बेला अचानक अफिसर्नी कोठाभित्र पस्छिन् । बाह्र वर्षसम्म काम गरेर बसेकी आफूलाई उसले अब अन्तै गए पनि रोक्दैनौँ भन्छे । यस्ता दुर्वचन सुन्दा ऊ छाँगाबाट खसे जस्तो हुन्छे । यसबाट कथा पढ्ने पाठकको भित्री मनमा हुने पीडा तथा दुखाइलाई कथाले राम्ररी समेटेको छ ।
‘यो ग्याँस चेम्बरको छेउबाट’ सन्देशमूलक कथा हो । कथामा जीवन सङ्घर्ष हो र यसलाई भागेर होइन भोगेर बिताउनुपर्छ भनिएको छ । विशेषतः विदेशमा बस्ने नेपाली नारीका सन्दर्भमा यस सन्देशलाई प्रसार गरिएको छ । दुई बच्चाकी आमा ज्ञानुदेवी बैदेसिक रोजगारीका क्रममा मेडम रुथका घरमा उनको स्याहारसुसार गर्न पुगेकी छ । त्यहाँ उनले भोग्नुपरेका पीडा, रुथले सुनाएकी हिटलर र यहुदीका बीचको नरसंहार, ग्याँस च्याम्बरमा जलाउन लागेका बेला भागेर बचेकी रुथको वास्तविक कथालाई प्रस्तुत गरिएको छ । यति हुँदाहुँदै पनि ज्ञानुले निभाउनुपर्ने भूमिका कम कहालीलाग्दो छैन । तर पनि अन्त्यमा मेडम रुथले लगाएकी गुनलाई ज्ञानुले बिर्सेकी छैन ।
सम्पत्ति कमाएपछिको आनन्दका लागि श्रीमानलाई विदेश पठाएकी मनुदेवीको खुसीको समय केवल एक हप्ताको मात्र छ । श्रीमानले कमाएर ल्याएका धनसम्पत्तिमा चैन गर्ने र भर्खर विदेशबाट आएका श्रीमानसँग हाँसखेल गर्ने सपना छायातुल्य बन्न पुग्यो मनुदेवीका लागि । ग्रहदसा कटाउन सप्तकोसीको जलस्पर्शले नै कालको बाहुबल भएर तान्यो उनको जिन्दगीलाई । न जिउँदो हुँदा उनको आत्माले सन्तोषको सास फेर्न पायो न त मृत्युपश्चात् नै उनको मृतात्माले शान्ति पायो । बालक छोरो क्रियापुत्री बसेको छ र छोरी खास्टो ओढेर अर्धचेत अवस्थामा बसेकी छ । आफन्तहरु आफ्ना जीवनसँगीलाई हरतरहले सम्झाउँछन् । त्यो दृश्य उनका मृतात्माले घरको सँघारमै बसेर टुलुटुलु हेर्छ । समयले कोल्टे फेर्छ । श्रीमान बेहुला बन्छन् । यी आदि काल्पनिक तर केही यथार्थमा कोरिएका अक्षर हुन् । उनको जीवन अब कथामा सीमित रहन पुगेको छ । लेखिकाकी प्यारी साथीको कथा ‘सप्तकोसीको किनार’ मा संरचित छ ।
चौधौँ कथा ‘मार्गरेट र मेरी आमा’ हो । यसमा कथाकारले एउटी सम्पन्न विदेशी बूढीको जीवनलाई नेपालको कुनाकाप्चामा जीवन बिताउन बाध्य आफ्नी आमाको जिन्दगीसँग तुलना गरेकी छिन् । यस कथाले विदेशी र हामीबीचको भिन्नतालाई यथार्थ रुपमा चित्रण गरेको छ । नेपालको बन्द र हड्तालले देशका जनतालाई पिरोलेको छ । यही मर्म र पीडा बाँच्नेहरुले खुड्काका रुपमा सबै कुरा सहँदै र बेहोर्दै आएका छन् । कहिलेसम्म यस्तै रहने हो ? कसले यो बन्द र हड्ताललाई बन्द गर्न सक्छ । विदेशमा रहेकी डायस्पोराले यस्तो चिन्तन गर्नु तर नेपालमा रहेका र गर्छु भनेर उठेकाहरुले गर्न नसक्नु कहाँसम्मको विडम्बना हो ? यसरी व्याख्या गर्दा के फरक पर्ला र ?
पन्ध्रौँ अर्थात् अन्तिम कथा हो ‘फेरि उही सपनामा’ । कथाकार बजगाईंले मार्मिक र चोटिलो ढङ्गबाट कथा लेखेकी छिन् । विदेश जाँदा एउटी आमाले बच्चालाई छलेर कति दह्रो छाती पारेर जानुपर्ला र कालान्तरमा बालकको मन दुखेर कति टाढा रहला ? आमा र बालकका बीचको यस्तै सम्बन्धलाई यस कथामा प्रस्तुत गरिएको छ । विदेश गएकी आमा पात्र शकुन्तला र नेपालमा छाडिएकी छोरी निलिमा र हजुरआमाका बीचको फोनकुराकानी र निलिमाको भनाइ यथार्थ छ । बचपनमै छाडेर गएकी आमाप्रति निलिमामा माया हराइसकेको छ । ऊ आमा आउने कुरामा खुसी बेखुसी केही देखिन्न । बरू ऊ बाबु को हुन् र कहाँ छन् ? भनी खोजीमा तल्लीन हुन्छे ।
अन्त्यमा कथाकारले नवीन ढङ्गले कथारचना गरेको अनुभूति हुन्छ । सङ्गृहीत कथाहरुबाट आधुनिक र पाश्चात्य जीवन शैली बिताइरहेका नेपाली नारीको भोगाइ र व्यवहारमा कति फरक छ भन्ने कुरालाई राम्ररी बुझ्न सकिन्छ । यस सङ्ग्रहका आधारमा कथाकारबाट अरु पनि प्रभावकारी कथाको आशा गर्न सकिन्छ ।
टिकापुर ३, रामेछाप