18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत ऋषि बस्ताकोटी June 3, 2012, 1:00 am

'कहिले आउंछौ''नसोध्नु भो, प्रवासमा जानेसित,

सके बरु माग्नु हिसाव देशै लुटी खानेसित,

'कहिले आउंछौ''नसोध्नु भो, प्रवासमा जानेसित

वेथितिको बाङ्गो यात्रा हिंड्दाहिंड्दै थाकेपछि,

च्यापिएर, भत्किएर भित्र-भित्रै पाकेपछि,

माटो छोडी हिंडे पनि माया बोकी गा'को रै'छ,

छामी हेरें मुटुभित्र गहिरै चोट ला'को रै'छ

'निष्ठुरी यो' नठान्नु भो, मनमा माया लानेसित,

सके बरु माग्नु हिसाव देशै लुटी खानेसित,

'कहिले आउंछौ''नसोध्नु भो प्रवासमा जानेसित

बनाउन नसके 'नि भत्काउन हुन्न भन्दै,

हसाउन नसके 'नि रुवाउन हुन्न भन्दै,

भूगोल हैन भावनामा देश बोकी गा'को रै'छ ,

जोखी हेरें देशको माया कति धेरै ला'को रै'छ

दुख हैन गौरव मान्नु, देशको भलो ठान्नेसित,

सके बरु माग्नु हिसाव देशै लुटी खानेसित

'कहिले आउंछौ''नसोध्नु भो, प्रवासमा जानेसित

क्यालगरी, क्यानाडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।